७ साउन, सिरहा । पाँच लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले थप अनुसन्धानका लागि बर्दिबास लगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिहीबार कार्यालयमै ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पाललाई रंगेहात पक्राउ गरेको थियो ।
पक्राउपछि आवश्यक मुचुल्का, बरामद विवरण संकलन तथा प्रारम्भिक अनुसन्धान प्रक्रिया पूरा गरी करिब साढे ४ घण्टापछि उनलाई थप अनुसन्धानका लागि आयोगको बर्दिबास कार्यालय लगिएको अख्तियारका एक अधिकृतले जनाएको छ ।
स्रोतका अनुसार सिरहा सुपर मार्केटको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर अधिकृत पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै सुरुआतमै ५ लाख रुपैयाँ घुस मागेका थिए ।
अडिटका क्रममा कम्पनीलाई कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ दायित्व देखाइएको थियो । पालले कम्पनीका थप कागजात पेस गरेपछि दायित्व अझै बढ्नसक्ने भन्दै १२ लाख रुपैयाँ दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव राखेको बताइएको छ ।
कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि अन्तत: ५ लाख रुपैयाँमा सहमति भएको स्रोतको दाबी छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने आयोग स्रोतले जनाएको छ ।
प्रतिक्रिया 4