+
+
Shares
सिनेमा :

ओडिसी : युद्धको घाउ बोकेर आफ्नै घरमा पराइ बनेको कथा

युद्ध जितेर घर फर्कनु मात्र ठूलो कुरा होइन, बरू मानसिक र आध्यात्मिक रूपमा घर फर्कन कति गाह्रो हुन्छ भनेर सन्देश फिल्मले दिन खोजे । 

सापेक्ष सापेक्ष
२०८३ साउन ८ गते ९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक क्रिस्टोफर नोलनले प्राचीन ग्रीक महाकाव्य \'ओडिसी\'लाई आधुनिक र मानवीय धरातलमा पुन: परिभाषित गर्दै युद्धको मनोवैज्ञानिक असरलाई पर्दामा उतारेका छन्।

एउटा पुरानो झुपडी । समुद्री टापुको धुमिल र खैरो साँझ । भोकले व्याकुल र थकित केही सैनिकहरू मासुका कचौरामा यसरी झुत्तिएका छन्, मानौं उनीहरूले वर्षौंदेखि जीवनको स्वाद चाखेका छैनन् । ती सैनिकहरूलाई खान दिएकी एउटी स्त्री (सर्सी) वरिपरि घुम्दै मासु खान उक्साइरहेकी छिन् । 

उनीहरू जति धेरै खान्छन्, उति नै जङ्गली र हिंस्रक बन्दै जान्छन् । बिस्तारै उनीहरूको मानवीय स्वरूप फेरिँदै जान्छ । सर्सीले कसैको गाला सुम्सुम्याउँछिन् त कसैको बंगारा जबरजस्ती तन्काइदिन्छिन् । र क्रमश: उनीहरू सुँगुरमा रूपान्तरण हुँदै जान्छन् ।

यो दृश्य जति विभत्स छ, क्रिस्टोफर नोलनको क्यामेरामा भने उत्तिकै सुन्दर र कलात्मक देखिएको छ । यो नोलन निर्देशित ओडिसीको एउटा दृश्य हो । र, यस्त– यस्तै दृश्यहरूले ओडिसी भरिभराउ छ ।

000

प्रदर्शनरत नोलनको यस फिल्म प्राचीन ग्रीक कवि होमरको सोही नामको कृतिमा आधारित छ ।

करिब ३ हजार वर्ष पुरानो मानिने ओडिसी पुस्तक बजारमा अनेकन् स्वरुपमा उपलब्ध छ । सामान्यदेखि क्लासिक भाषासम्मका । तीमध्ये सन् २०१७ मा आएको एमिली विल्सनको अनुवाद नोलनले पढे । विल्सनले आफ्नो त्यस अनुवादमा ओडिसियस (मूल पात्र)लाई अ कम्प्लिकेटेड म्यान (एक जटिल मान्छे) भनेर चिनाएकी छिन् । त्यो शब्दले नोलनलाई तान्यो । 

नोलन आफैं सधैं जटिल पात्र र उनीहरूको अस्तित्वको सङ्घर्षलाई पर्दामा उतार्न मन पराउने निर्देशक हुन् । उनका अधिकांश फिल्ममा यो गुण देखिन्छ । त्यसैले पनि होमरको यो क्लासिक कथा उनका लागि एउटा सही क्यानभास बन्न गयो ।

अर्कोतिर सन् २०२३ मा रिलिज भएको उनी निर्देशित ओपेनहाइमर व्यापक सफल भइसकेको थियो । सायद त्यो भन्दा बढ्ता केही गर्ने रहर उनमा पलायो । त्यसपछि डिसेम्बर २०२४ मा युनिभर्सल पिक्चर्सले आधिकारिक रूपमा यो फिल्मको घोषणा गरेको थियो ।

फिल्मको घोषणादेखि नै नोलनका फ्यानहरू बडो उत्साहित थिए । किनकि, एक त नोलन दिमागले बढी सोच्न पर्ने र कम्प्युटरबाट तयार पारिने दृश्यहरूभन्दा आफैंले ती सिर्जना गर्न रुचाउने निर्देशक हुन् ।

यता ओडिसीमाथि फिल्म बनाउने नोलन पहिलो निर्देशक थिएनन् । ७० वर्षअघि सन् १९५४ मा युलिसिस नामक फिल्म आएको थियो, जुन ओडिसीको डिरेक्ट एडप्टेसन थियो । युलिसिस बाहेक पनि अनेकन् फिल्म, टीभी मिनिसिरिज, पेन्टिङ आदि बनाइएका थिए ।

त्यस्तै ओडिसी अघिको कथा भएको इलियड माथि पनि ट्रोय (२००४) जस्तो सबैभन्दा मुख्यस्ट्रिम र भिजुअल्ली राम्रो मानिएको फिल्म बनाएको थियो । ट्रोयमा ओडिसीमा समेत रहेको ट्रोजन युद्धको दृश्य छ।

 अर्कोतिर ओडिसीको मूल कथामा इथाका नामक राज्यका राजा ओडिसियस १० वर्षे ट्रोजन युद्धपछि घर फर्कन लागेको अर्को १० वर्षे यात्राको वर्णन गरिएको छ । जुन यात्रामा ओडिसियसले रिसाएका देवताहरूबाट अनेकन् बाधा खेप्नुपर्छ ।

त्यति धेरै सिनेमाहरू बनिसकेको अवस्थामा अत्यन्तै पुरानो कथालाई नोलनले कसरी प्रस्तुत गर्छन् भन्ने सिनेफाइलमाँझ निकै चासो थियो । 

000

साहित्यिक कृतिमा आधारित रहेर फिल्म बनाउँदा सधैं एउटा जोखिम हुन्छ- निर्देशकले मूल कथालाई कति न्याय गरे ? यसमै रहेर धेरै दर्शकहरूले सर्वप्रथम फिल्मलाई न्याय गर्ने गर्छन् । त्यो आधारमा नोलनको यो फिल्म कतिपय दर्शकहरूका लागि चिडिने कारण बन्न गएको छ । किनकि, नोलनले होमरको महाकाव्यलाई शब्द–शब्द पछ्याउनुको साट्टा यसको आत्मालाई समातेर एउटा मानवीय कथामा सीमित राखिदिएका छन् ।

नोलनले मुल कृतिमा भएको सबैजसो देवताहरूलाई फिल्मबाट हटाएका छन् । होमरको कृतिमा ओलम्पस पर्वतमा देवताहरू ओडिसियसको भाग्यलाई लिएर बहस गरिरहन्छन् । अर्कोअर्थमा भन्दा देवताहरूका कारण नै कथा अघि बढेको छ । तर नोलनले यसलाई पूर्णतः मानवीय धरातलमा ल्याएका छन् । फिल्ममा देवताहरू पात्रहरूको विश्वास, डर वा भ्रममा मात्र सीमित छन् । कहिलेकाहीँ एथेना (जेन्डाया) लाई मात्र साक्षीका रूपमा देखाइएको छ ।

नोलनले प्राचीन ग्रीक मानसिकतालाई बुझाउन खोज्नुको सट्टा यसलाई एउटा आधुनिक न्याचुरलिस्टिक स्वरूप दिएका छन् । यही‍ कारण फिल्म हेरिरहँदा ओडिसी पौराणिक कथा भन्दा बढी एउटा युद्ध फिल्म जस्तो लाग्छ । 

अर्को मुख्यत: ओडिसियस महान योद्धा हुन् । उनी अत्यन्तै चलाख हुन्छन् । तर, नोलनले यो फिल्ममा ओडिसियसलाई युद्धको पीरले पिल्सिएको थाकेको सिपाहीका रूपमा प्रस्तुत गरेका छन् । अनि उनले होमरको ओडिसीबाहेक अर्का रोमन कवि भर्जिलको महाकाव्य एनेइडबाट ट्रोजन हर्सको प्रसङ्ग लिएर विस्तार गरेका छन् । यसबाट ओडिसियसको मनमा रहेको अपराधबोध, हीनताबोध र कमजोरीलाई अझ राम्रोसँग देखाउन नोलनले सकेका छन् । 

भनौं, नोलनले पौराणिक कथालाई न्याय गर्नुको साटो पुन: परिभाषित समेत गरेका छन् ।

स्टोरीटेलिङ

नोलनको फिल्म भन्नु नै समयसँगको रोमाञ्चक खेल हो । 

इन्सेप्सन, टेनेट, ओपेन्हाइमर जस्ता फिल्महरूमा जस्तै ओडिसीमा पनि नोलनले समयलाई एउटा सिधा रेखामा नभई नक्सा जस्तो फैलाएका छन् । अर्थात् समयलाई तलमाथि गर्दै ननलिनियर शैलीमा फिल्मको कथा भनेका छन् । त्यो क्रममा नोलनले विगत, वर्तमान र भविष्यलाई यसरी मिसाएका छन् कि दर्शकलाई कतिपय ठाउँमा वर्तमान ठम्याउन गाह्रो पर्छ ।

फिल्मको सुरुवात नै भोज भइरहेको कक्षमा कथा सुनाइरहेको पात्र (ट्राभिस स्कट) बाट हुन्छ । यसबाटै फिल्मको मुख्य थिम – कथाको शक्ति र यसले दिने भ्रम – स्थापित भएको छ । अर्कोतिर नन लिनियर शैलीमा कथा भनेकै कारण ओडिसियसको मानसिक अवस्थालाई नोलनले अझ राम्रोसँग देखाउन सकेका छन् । यसका साथै दुई फरक स्थिति– ओडिसियसको यात्रा र इथाकाको अवस्थालाई समान देखाउन सकेका छन् ।

साउन्ड र क्यामेराको जादु

अहिलेको समयमा हलिउडका सबैभन्दा सफल र चर्चित फिल्म कम्पोजर मध्येका एक हुन्, लुडविग गोरान्सन । उनले ३ वटा अस्कार जितिसकेका छन् । एउटा त नोलनसँगको सहकार्यपछि हो । उनले ओपनहाइमरबाट बेस्ट ओरिजिनल स्कोरका लागि अस्कार जितेका थिए ।

ओडिसीका लागि नोलनले उनै लुडविगसँग सहकार्य गरे । र, यसपटक फिल्ममा साउन्ड डिजाइन असाध्यै बलियो बनेर आएको छ । यस फिल्मका लागि लुडविगले सिर्जना गरेको धून अर्को सशक्त पात्र नै बनेको छ । ड्रमको ढुकढुकीका कारण समुद्रमा हुने भय र पात्रको आन्तरिक द्वन्द्व जीवन्त देखिन्छ । यद्यपि, केही ठाउँमा साउन्ड एडिटिङ यति धेरै ठूलो र अस्पष्ट छ कि पात्रहरूले बोलेका संवादहरू सुन्न गाह्रो पर्छ । 

अर्कोतिर सिनेमाटोग्राफीको जिम्मा नोलनका विश्वासिला सहयोगी होयते भान होयतेमाले सम्हालेका थिए । भान होयतेमाले समुद्रलाई नीलो रङमा देखाउनुको साटो जलेको, रङ उडेको जस्तो देखाएका छन् । उनले शून्यताको आभास हुने गरी बालुवा र समुद्रको दृश्यहरू खिचेका छन् ।

अर्कोतिर यो फिल्म इतिहासकै पहिलो यस्तो फिचर फिल्म बन्यो, जुन पूर्णरूपमा आईम्याक्स ७० एमएम क्यामेरामा खिचिएको छ । यद्यपि नोलनले खिचेको स्तरमा फिल्म हेर्न भने आईम्याक्स ७० एमएम प्रोजेक्टर भएका हलहरू विश्वभर करिब ४१ वटा मात्र छन् । दु:खको कुरा आईम्याक्सको अरु प्रोजेक्टर भएता पनि यो स्तरको हल दक्षिण एसियामै छैन ।

यसो हुँदा अझैं पनि नेपाली दर्शकहरूले नोलनले देखाउन खोजेको अनुभव नेपालमा हेर्ने दर्शकहरूले पाउँदैनन् ।

अभिनय

प्राविधिक पाटो जस्तै यो फिल्मको अर्को बलियो पक्ष अभिनय पनि हो ।

विशेषगरी ओडिसियसको भूमिकामा रहेको म्याट डेमनको अभिनय । धेरै फिल्म समीक्षकहरूले उनले आफ्नो करियरकै उत्कृष्ट काम गरेको बताइरहेका छन् । हुन पनि हो, उनको अनुहारमा देखिने त्यो अथाह थकान र उदासीले युद्धपछिको रिक्ततालाई राम्ररी बोलेको छ । 

ओडिसियसकी श्रीमती पेनेलोपीको भूमिकामा रहेकी एने ह्याथवे सदावहार देखिएकी छिन् । पेनेलोपीलाई विवाह गर्न बल गरिरहेको एन्टिनोअसको भूमिकामा रहेको रबर्ट प्याटिन्सनले देख्नेबित्तिकै दर्शकको मनमा घृणा पैदा गर्न सक्ने अभिनय गरेका छन् । सर्सीको भूमिकामा रहेकी सामन्था मोर्टनको भाग छोटो तर डरलाग्दो र स्मरणीय छ । 

यद्यपि, केही पात्रहरू जस्तै लुपिता न्योङ्गो (हेलेन) र जेन्डाया (एथेना) लाई भने नोलनले धेरै ठाउँ दिएका छैनन् ।

अर्कोतिर, कास्टिङलाई लिएर धेरै फ्यानहरूले आलोचन गरिरहेका छन् । हेलेनको भूमिका निभाएकी लुपिता न्योङ्गोलाई धेरै फ्यानहरूले अझैं पनि स्वीकार्न मानिरहेका छैनन् । होमरको महाकाव्यमा हेलेनलाई सेतो हात भएको भनेर वर्णन गरिएको छ । तर, नोलनले त्यस्तो देखाएका छैनन् । यसबाहेक ग्रीक योद्धा सिनोनको भूमिकामा देखिएका ट्रान्सजेण्डर कलाकार इलियोट पेजलाई लिएर पनि फ्यानहरूले असन्तोष जनाइरहेका छन् ।

अर्कोतिर आधुनिक अमेरिकी संवादहरू प्रयोग गरिनुलाई पनि केहीले राम्रो मानिरहेको देखिँदैन ।

नोलनको सफलता

बक्स अफिसको कुरा एउटा छ, राम्रो समीक्षाको अर्को कुरा – यी बाहेक नोलनले जे देखाउन ओडिसी रोजे, त्यसमा उनी सफल भएका छन् । 

किनकि, प्राचीन कथालाई लिएर यो फिल्ममार्फत उनले युद्धको वास्तविक मूल्य बुझाउन खोजे । युद्ध जितेर घर फर्कनु मात्र ठूलो कुरा होइन, बरू मानसिक र आध्यात्मिक रूपमा घर फर्कन कति गाह्रो हुन्छ भनेर सन्देश दिन खोजे । 

युद्धको घाउ बोकेर आफ्नै घरमा पराइ बनेको देखाए । एउटा सच्चा नेतृत्वको पछाडि चलिरहेको हुरी देखाए । एउटा नायक पनि अपराधी हुन सक्छ र उसको वीरताको पछाडि कति धेरै क्रूरता लुकेको हुन्छ भनेर देखाए । युद्ध र वीरताको परिभाषामाथि सोच्न बाध्य पारे ।

इतिहासको धुलैधुलोमा भेटिएको आधुनिक नायक देखाए । समग्रमा, नोलनले चाहे जस्तै एउटा जटिल पात्रको मनोविज्ञानलाई पत्रपत्र देखाउ सके ।  

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?