+
+
Shares

सार्वजनिक बसमा पाकेटमारी गर्ने चार जना पक्राउ, एक जना फरार कैदी

पक्राउ परेकामध्ये जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका कैदीसमेत परेका छन् ।

कपिल कोइराला कपिल कोइराला
२०८३ साउन ७ गते १८:५२

७ साउन, काभ्रेपलाञ्चोक । सार्वजनिक बसमा पाकेटमारी गरी नगद चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका कैदीसमेत परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन विष्टका अनुसार पक्राउ पर्नेहरूमा बेथानचोक गाउँपालिका–६ वर्ष ३० का आकाश भन्ने विनोद आलेमगर, वर्ष ३१ को रिक्सन तामाङ भन्ने श्याम तामाङ, वर्ष ३० को सोनाम लामा र मकवानपुर  फापरबारीका वर्ष ३५ को बालकृष्ण मगर पक्राउ परेका हुन् ।

उनीहरूलाई बिहीबार बनेपा नगरपालिका–८ स्थित तीनदोबाटोमा काठमाडौं जाने बस चढेर भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसअघि बुधबार उनीहरू पनौतीबाट काठमाडौं जाँदै गरेको सार्वजनिक बसमा सवार तीर्थबहादुर तामाङको जुहारीकोट काटेर नगद चोरी गरी फरार भएका थिए ।

पक्राउ परेकामध्ये सोनाम  लामा यसअघि पनि चोरीकै मुद्दामा झुम्का कारागारमा कैदी थिए । जेनजी आन्दोलनका क्रममा उनी जेलबाट भागेको खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, आकाश भन्ने विनोद आले मगर अभद्र व्यवहार, लागुऔषध र चोरीको घटनामा पटक–पटक पक्राउ पर्ने गरेको डीएसपी विष्टले जानकारी दिए ।

अर्का रिक्सन तामाङ भन्ने श्याम तामाङ पनि काठमाडौंमा विभिन्न ७ वटा मुद्दामा संलग्न रहेको देखिएको उनले बताए ।

उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?