News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रणका लागि सुरक्षाकर्मीले गरेको हवाई फायरका क्रममा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।
- घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले सोमबार बिहान ७ बजेदेखि नै जिल्लामा कर्फ्यु आदेश जारी गरेको छ ।
- राष्ट्रिय मानव अधिकार आयोगले घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन तथा घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।
११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर आइतबार राति एक युवकको ज्यान गयो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेका अनुसार हटिया क्षेत्रमा दुई समुदाय पक्षधरबीच मेलाको विषयमा विवाद भएको थियो । एउटा समुदायले सोमबारका लागि शिव भजनकिर्तन राख्न भन्दै हटिया क्षेत्रमा ठूलो आवाजमा डिजे बजाएको थियो ।
डिजेले आफूहरूलाई डिस्टर्ब गरेको अर्को समुदायको आरोप थियो । चर्को आवाजमा डिजे बजाइएको विषयमा दुई पक्षबीच विवाद सुरु भएको थियो । आइतबार राति १० बजेतिर बोलबमका लागि भन्दै कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै एउटा समूह कप्तानगञ्ज चोकतर्फ गइरहेको थियो ।
चर्को आवाजको डिजेको विषयलाई लिएर दुई पक्ष बीच भनाभन र धकेलाधकेल सुरु भयो । त्यसपछि त्यो दुई पक्षको भीड झडपमा परिणत भएको सीडीओ घिमिरेले जिल्ला सुरक्षा समितिमा ब्रिफिङ गराएका छन् ।
झडप हुन थालेपछि इलाका प्रहरी कार्यालयल देवानगञ्ज इन्स्पेक्टर राकेश राईको टोली घटनास्थल पुगेको दाबी गरिएको छ । दुवै पक्षलाई सम्झाउन खोज्दा पनि नमानी घरेलु हतियारसहित आक्रमणमा उत्रिएको दाबी सुरक्षा निकायको छ ।
त्यसपछि अवस्था तनावपूर्ण बनेको, इन्स्पेक्टर राईकै टाउको फुटेको प्रहरीको भनाइ छ । प्रहरीको टाउको फुटेपछि सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको, सशस्त्रलाई पनि भिडले आक्रमण गर्न थालेको र आत्मरक्षाका लागि सुरक्षाकर्मीले हवाई फायर गर्नु परेको दाबी सुरक्षा निकायको छ । २० राउन्ड जति हवाई फायर भएको रिपोर्टिङ आफूलाई आएको सीडीओले दाबी गरेका छन् ।
तर हवाई फायर भनिए पनि सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । ९ जना सर्वसाधारण घाइते भएका छन् । सुरक्षाकर्मीतर्फ १३ जना घाइते भएको बताइएको छ ।

संवेदनशील स्थल
अहिले झडप भएर एक जनाको मुत्यु भएको र करिब दुई दर्जन घाइते भएको ठाउँ पहिल्यैदेखि संवेदनशील मानिन्छ । सुरक्षाका हिसाबले निकै संवेदनशील मानिएको ठाउँ र आइतबार राति झडप हुनुभन्दा केही दिन पहिलादेखि नै विवाद हुँदा पनि सुरक्षामा संवेदनशीलतामा खेलाँची गर्दा मानवीय क्षति हुने अवस्था आएको छ ।
कप्तानगञ्जको यो विवाद भने चार दिन पहिलेदेखि भएको थियो । चार दिन पहिले भएको विवादका बारेमा प्रशासनले गम्भीर रुपमा लिएर छलफलबाट विवाद नटुंग्याउँदा यो अवस्था आएको छ । यसमा सुरक्षा निकायका साथै जिल्ला प्रशासन कार्यालयको पनि कमजोरी देखिन्छ ।
एउटा झण्डा राखिएको र उक्त झण्डा हटाउने विषय, डिजेको अर्को आवाज जस्ता विषय अहिलेको यो झडपमा देखा परेका छन् । चार दिन पहिलेको यो विषयमा प्रशासनले तदारुकता नदेखाउँदा आइतबार राति दु:खद घटना भएको छ ।
आइतबार राति घटना भएपछि अहिलेसम्म सुनसरीमा तनाव छ । तनाव सिर्जना भएपछि सोमबार बिहान ७ बजेदेखि सुनसरीमा कर्फ्यु लगाइएको छ ।
अहिले सडकमा नेपाली सेनाको टोली हतियारसहित उपस्थित भएको छ । माइकिङ गर्दै घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । सार्वजनिक केही भिडियो, तस्बिरहरूमा भाटा लिएर सडकमा केही व्यक्तिहरू निस्केको पनि देखिन्छ ।
घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा पनि सुनसरी घटनमा सुरक्षा कमजोरीबारे उल्लेख गरेको छ ।
आयोगका प्रवक्ता टिकाराम पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सुनसरीमा देखा परेको कमजोर शान्तिसुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचार गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।’

ओमप्रकाशको मृत्युमा जिम्मेवार को ?
दुई पक्षबीच विवाद हुँदा सुरक्षाकर्मीले अनावश्यक रूपमा बल प्रयोग र गोली चलाएको आरोप छ । सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले त गोली चलाउनु नपर्ने अवस्थामै सुरक्षाकर्मीले गोली चलाएको आरोप लगाएका छन् ।
‘यो घटनामा कुनै पनि हालतमा कहीं पनि गोली चलाउनुपर्ने कन्डिसन छँदैछैन’ सांसद थापाले भनेका छन्, ‘नागरिकमाथि डङ्डङ् गोली चलाको छ । कमसेकम एउटा मर्यादा हुन्छ नि !’

सांसद थापाले भने जस्तै सुरक्षाकर्मीले चलाएको गोली अधिकांशलाई कम्मरभन्दा माथि लागेको छ । घाइते जयप्रकाश मेहताको पेट, मिथलेश यादवको बायाँ कोखामा, अमलेश मेहताको बायाँ काँधमा, मिथलेश मेहताको बायाँ कोखामा, अमित कुमार यादवको कोखामा, रवीन्द्र मेहताको तिघ्रामा, अमित कुमार यादवको कम्मरमा, सुनिल कुमार मेहताको घुँडा र कुहिनामा चोट लागेको छ ।
यो घटनाले सुरक्षाकर्मीको बल प्रयोग शैलीमाथि फेरि प्रश्न उठाएको छ । नेपाल प्रहरीका एक पूर्वडीआईजी पनि अधिकांशको कम्मरमाथि गोली लाग्नुमा प्रहरीको बल प्रयोग शैलीमाथि प्रश्न उठ्ने बताउँछन् ।
यसअघि गृहमन्त्री सुधन गुरुङ आफैंले यस्ता घटना हुँदा सरकारले नागरिकको हत्या गरेको आरोप लगाउने गरेका थिए । अझ जेनजी आन्दोलनमा त प्रहरीको कारबाहीको विषयलाई लिएर ठूलो विवाद नै भयो । मुद्दा दर्ता गरेर पक्राउ गर्नेसम्मका घटनाहरू भए ।
अहिले यो घटना पनि सरकारले जिम्मेवारी लिनुपर्ने भन्दै आवाज उठ्न थालेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले त यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको भन्दै गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने उनले औंल्याएका छन् ।
यता सुनसरीका एक सुरक्षा अधिकारीको दाबी भने फरक छ । गोली चलाउनुपर्ने अवस्था नै थिएन भन्ने दाबी गलत रहेको ती अधिकारी बताउँछन् ।
‘अहिले सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । अनावश्यक गोली चलाइयो भन्ने तर्क पनि छ। गोली नै नचलाएको भए दुई पक्षको झडपमा अरू थुप्रै मानवीय क्षति हुनसक्ने जोखिमलाई पनि हामीले बुझ्न आवश्यक छ’ ती अधिकारीको दाबी छ ।

गृहमन्त्रीको दौडाहाले काम गरेन
सुधन गुरुङ गृहमन्त्री बनेपछि सबैभन्दा बढी दौडाहा उनले तराई केन्द्रित नै गरेका छन् । पूर्वीतराईदेखि मध्य तराईका विभिन्न जिल्लाहरूमा अनगुमन, सुरक्षा निकायलाई निर्देशन दिनेदेखि सीमा नाकाको निरीक्षणसम्म गरेका छन् ।
तर, उनको तराई दौडको कुनै अर्थ नरहेको अहिलेको घटनाले पुष्टि गरेको तराई मामलाका जानकार चन्द्र किशोर बताउँछन् । ‘गृहमन्त्रीज्यू सबैभन्दा बढी तराई–मधेश केन्द्रित नै भएको देखिन्छ । तर उहाँ तराई आएर के गर्नुहुन्छ ? उहाँको छड्के कति प्रभावकारी छ भन्ने अहिलेको घटनाले प्रष्ट पारेको छ’ चन्द्रकिशोरले भने ।
फरक–फरक समुदाय बसेको ठाउँमा विशेषरी, होली पर्व, साउन र दशैंको बेलामा विशेष सतर्कता अपनाउनुपर्ने र सोही अनुसारको सुरक्षा निकायलाई आदेश, निर्देशन तथा ब्रिफिङ हुनुपर्ने ३० वर्ष प्रहरी सेवामा बसेर बिताएका एक पूर्वएआईजीको बुझाइ छ ।
तर सुरक्षा निकायलाई औंला ठड्याएर कारबाही मात्रै गर्छु भनेको भरमा सुरक्षा सदृढ नहुने ती एआईजी बताउँछन् । ‘कुनै जिल्लामा अनुगनमा जाँदा त्यहाँको सुरक्षा अवस्था कस्तो छ । त्यहाँको भूगोल कस्तो छ । कुन जातजातिको बसोबास छ । सुरक्षा चुनौती के हो र सुदृढ गर्नुपर्ने विषय के हो भन्ने यकिन गरेर मात्रै निर्देशन दिनुपर्ने हुन्छ’ ती एआईजी भन्छन्, ‘तर औंला ठड्याएर दाँया बाँया भयो भने कारबाही गर्छु भनेर मात्रै सुरक्षा सुदृढ हुन सक्दैन ।’

स्थानीयस्तरमै समाधान खोज्नुपर्छ
अहिले सुनसरीमा भएजस्तै घटना यसअघि धनुषा, सर्लाही, पर्सा, रौतहट, बाँके जस्ता जिल्लाहरूमा पनि देखिएका थिए । ती घटनाहरूलाई बेलैमा सम्बोधन गर्दा ठूलो विवाद र क्षति हुन पाएको छैन ।
पर्सामा त कतिसम्म भने गत निर्वाचनको पूर्वसन्ध्यामा मुस्लिम समुदायको मन्दिरमा सुँगुरको टाउको फालेर हिंसा भड्काउने प्रयास समेत भएको थियो । सुरक्षा निकाय चनाखो भएकाले घटना हुनुपूर्व नै नियन्त्रणमा लिन सफल भएको थियो ।
तर, सुनसरीको घटनामा भने स्थानीय प्रशासनको कमजोरी देखिएको चन्द्रकिशोरको बुझाइ छ । दुई फरक समुदायको बसोबास छ । अनि साउनको महिनामा बोलबम जान्छन् भन्ने विषय पनि नौलो होइन । यस्तोमा प्रशासन चनाखो हुनुपर्नेमा त्यहाँ कमजोरी भएको उनी बताउँछन् ।

पूर्वतयारीमा ध्यान नदिएको प्रशासनले अब भने स्थानीयस्तरमै समझदारी गराउन ढिला गर्न नहुने उनी बताउँछन् । पछिल्ला वर्षमा विशेषगरी तराईका जिल्लाहरूमा चर्को आवाजमा डिजे बजाउनेदेखि विभिन्न पर्वहरूमा हतियार प्रदर्शन गर्नेसम्मका घटनाहरू हुने गरेका छन् ।
‘एउटा पक्षको धार्मिक आस्था भएको ठाउँमा अर्को पक्ष गरेर नाराबाजी गर्ने, शक्ति प्रदर्शन गर्ने चलन छ । अनि त्यसको बदलामा अर्को पक्षले फेरि त्यही शैली अपनाउँदा यस्ता घटनाहरू दोहिरिएको देखिन्छ’ चन्द्र किशोर भन्छन्, ‘ अब उत्सव मनाउने पनि एउटा आचारसंहिता नै बनाएर कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।’
डिजे बजाउँदा कति साउण्डको बजाउने, कहाँ प्रदर्शन गर्ने, कसरी उत्सव मनाउने, अर्कोको आस्था भएको ठाउँमा प्रदर्शन गर्ने/नगर्ने जस्ता विषय आचारसंहितामै उल्लेख गरेर कार्यान्वयन गरिनुपर्ने उनी बताउँछन् । यस्ता घटनालाई स्थानीयस्तरमै समाधान गर्न सामाजिक र राजनैतिक पहल थालिनुपर्ने बुझाइ उनको छ ।
अहिले सुनसरीमा भएको दंगा पोइजन (विष) जस्तो गरी फैलन सक्ने जोखिम रहेकाले जतिसक्दो चाँडो स्थानीयस्तरमै समाधान खोजिनुपर्ने सुरक्षाका जानकारहरूको पनि बुझाइ छ ।
‘यसलाई जतिसक्दो चाँडा स्थानीय स्तरमै, स्थानीय समुदायलाई नै राखेर समाधान गर्नुपर्छ । यस्तो विषयमा धेरै गहिरिएर खोतल्ने भन्दा पनि जतिसक्दो चाँडो पहिला समाधान खोज्ने र पछि अन्य पाटाहरू खोजेर दीर्घकालीन सामाधान खोजिनुपर्छ’ नेपाल प्रहरीका एक पूर्वएआईजी भन्छन् ।
प्रतिक्रिया 4