News Summary
Generated by OK AI. Editorially reviewed.- धेरै महिलाहरू भावनात्मक पीडा र तनावमा रहे पनि सामाजिक संस्कार र आत्मसुरक्षाका कारण म ठीक छु भनी आफ्नो वास्तविक अवस्था लुकाउने गर्छन्।
- भावना दबाएर राख्दा मानसिक समस्याका अतिरिक्त टाउको दुख्ने, निद्रा नलाग्ने र पाचन प्रणालीमा समस्या जस्ता शारीरिक असरहरू देखिने गर्छन्।
‘के भयो ? आज अलि उदास देखिएकी छौ ।’
‘केही होइन… म ठीक छु ।’
यो संवाद घर, कार्यालय, विद्यालय, कलेज वा साथीभाइबीच दैनिकजसो सुनिन्छ । धेरै महिलाहरू बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै तनाव, दुःख, चिन्ता, निराशा वा भावनात्मक पीडासँग संघर्ष गरिरहेका हुन सक्छन् । तर, कसैले ‘के भयो?’ भनेर सोध्दा उनीहरूको उत्तर प्रायः एउटै हुन्छ—‘केही छैन ठीकै छ ।’
वास्तवमा उनीहरू सधैं ठीक हुन्छन् त ? धेरै अवस्थामा यसको उत्तर ‘हुँदैन’ भन्ने हुन्छ । मनोविज्ञानका अनुसार महिलाहरूले आफ्ना भावना लुकाउनु केवल व्यक्तिगत बानी वा निर्णय मात्र होइन । यसको पछाडि मस्तिष्क, स्नायु प्रणाली, हर्मोन, विगतका अनुभव, पारिवारिक वातावरण र सामाजिक संस्कारले संयुक्त रूपमा काम गरिरहेका हुन्छन् । त्यसैले ‘म ठीक छु’ भन्ने वाक्य धेरै पटक वास्तविक अवस्थाभन्दा पनि आफूलाई भावनात्मक रूपमा सुरक्षित राख्ने प्रयास हुन सक्छ ।
किन भन्छन् महिलाहरू ‘म ठीक छु’ ?
धेरै महिलाले यस्तो भन्नुको अर्थ झुट बोल्नु होइन । उनीहरूले आफ्ना भावना दबाएर राख्नुको प्रमुख कारण अरूलाई दुःख नदिनु, अनावश्यक विवादबाट बच्नु वा आफूलाई कमजोर देखाउन नचाहनु हुन सक्छ।
धेरै महिलाले आफूभन्दा पहिले परिवार, सन्तान, जीवनसाथी वा वरपरका मानिसहरूको आवश्यकतालाई प्राथमिकता दिन्छन् । उनीहरूलाई लाग्छ, ‘मेरो समस्याले अरूलाई तनाव दिनु हुँदैन’, ‘म बलियो देखिनुपर्छ’ वा ‘सबै कुरा मैले नै सम्हाल्नुपर्छ ।’ यही सोचले उनीहरूलाई आफ्ना वास्तविक भावना लुकाउन प्रेरित गर्छ ।
मस्तिष्कले कसरी सिक्छ पीडा लुकाउन ?
मानिसको मस्तिष्कको सबैभन्दा ठूलो काम भनेको हामीलाई सुरक्षित राख्नु हो । त्यसैले हाम्रो मस्तिष्कले हरेक क्षण वरपरको वातावरणको मूल्याङ्कन गरिरहेको हुन्छ । यसले निरन्तर तीनवटा प्रश्न सोधिरहेको हुन्छ ।
के म अहिले सुरक्षित छु ?
के यहाँ कुनै खतरा छ ?
अहिले मैले कस्तो प्रतिक्रिया दिनुपर्छ ?
यदि मस्तिष्कले कुनै अवस्थालाई भावनात्मक रूपमा असुरक्षित ठान्यो भने जस्तै अपमान, अस्वीकार, आलोचना, गाली, हिंसा वा भावनात्मक बेवास्ता – त्यसले तुरुन्तै शरीरको सुरक्षा प्रणाली सक्रिय गर्छ ।
उदाहरणका लागि, यदि कुनै महिलाले विगतमा आफ्ना भावना व्यक्त गर्दा ‘नाटक नगर’, ‘यति सानो कुरामा किन रोएकी ?’, ‘तिम्रो गल्ती हो’ जस्ता प्रतिक्रिया बारम्बार सुनेकी छिन् भने, उनको मस्तिष्कले बिस्तारै एउटा सन्देश सिक्न थाल्छ– ‘पीडा देखाउनु सुरक्षित छैन, त्यसैले चुप लाग्नु राम्रो ।’ समयसँगै यो केवल बानी मात्र रहँदैन, बरु मस्तिष्कको स्वचालित प्रतिक्रिया बन्न पुग्छ ।
बाल्यकालको अनुभवले पनि असर गर्छ
धेरै महिलाको यस्तो व्यवहारको जरो बाल्यकालमै हुन्छ । सानैदेखि छोरीहरूलाई मिलेर बस्न, सबैलाई खुसी राख्न, धेरै भावुक नदेखिन र आफ्नोभन्दा अरूको आवश्यकतालाई प्राथमिकता दिन सिकाइन्छ ।
यदि बाल्यकालमा हिंसा, भावनात्मक उपेक्षा, दुर्व्यवहार, असुरक्षित सम्बन्ध वा बारम्बार आलोचना भोग्नुपरेको छ भने, उनीहरूको मस्तिष्कले आफ्ना भावना दबाउनु नै सुरक्षित विकल्प हो भन्ने निष्कर्ष निकाल्न सक्छ । यस्तो अवस्थामा भावना लुकाउनु कमजोरी होइन, बरु आत्मसुरक्षाको मनोवैज्ञानिक रणनीति बन्छ ।
अरूले आफैं बुझून् भन्ने अपेक्षा
धेरै महिलाहरू आफ्ना भावना तुरुन्तै व्यक्त गर्न सक्दैनन् । उनीहरू पहिला अर्को व्यक्तिले आफूलाई बुझ्छ कि बुझ्दैन भन्ने चाहिरहेका हुन्छन् । त्यसैले धेरै महिलाले आफ्ना मनका कुरा केवल अत्यन्त नजिकका व्यक्तिसँग मात्र साझा गर्छन् । कतिपय अवस्थामा उनीहरूको अपेक्षा हुन्छ कि जीवनसाथी, परिवार वा साथीले आफूले केही नभने पनि अनुहार, बोली वा व्यवहारमा आएको परिवर्तनबाट आफ्नो अवस्था बुझुन्।
जब यस्तो हुँदैन, उनीहरू आफू अझै एक्लो भएको महसुस गर्न सक्छन् र झन् बढी आफ्ना भावना दबाउन थाल्छन् ।
आलोचना र अस्वीकृतिको डर
धेरै महिलाले आफ्ना भावना व्यक्त गर्दा आफूलाई गलत बुझिन्छ, आलोचना गरिन्छ, कमजोर ठानिन्छ वा सम्बन्ध बिग्रन्छ भन्ने डर पनि राख्छन् । विशेषगरी विगतमा आफ्ना भावना व्यक्त गर्दा नकारात्मक प्रतिक्रिया भोगेका व्यक्तिहरू भविष्यमा पनि आफ्ना पीडा लुकाउने सम्भावना बढी हुन्छ ।
यद्यपि, यस्तो व्यवहार महिलामा मात्र सीमित छैन । धेरै पुरुषहरू पनि ‘पुरुष रूनु हुँदैन’ वा ‘कमजोरी देखाउनु हुँदैन’ भन्ने सामाजिक धारणाका कारण आफ्ना भावना व्यक्त गर्न हिच्किचाउँछन् ।
भावना दबाउँदा शरीरमा पनि देखिन्छ असर
धेरैलाई लाग्न सक्छ— भावना मनभित्रै राखेपछि सबै कुरा त्यत्तिकै समाप्त हुन्छ । तर वास्तविकता त्यस्तो होइन । मनोविज्ञानमा यसलाई इमोशनल सप्रेशन अर्थात् भावनालाई सचेत रूपमा दबाउने प्रक्रिया भनिन्छ । भावना दबाएर राख्दा ती हराउँदैनन् । बरु शरीरले विभिन्न संकेतमार्फत त्यसको असर देखाउन थाल्छ ।
जस्तै:
–बारम्बार टाउको दुख्ने
–घाँटी, काँध वा ढाड कसिएको महसुस हुनु
–छाती भारी हुनु वा सास फेर्न गाह्रो हुनु
–पेट दुख्ने वा पाचनसम्बन्धी समस्या देखिनु
–सधैं थकाइ लाग्नु
–निद्रा नलाग्नु वा बारम्बार ब्यूँझिनु
–चिन्ता र बेचैनी बढ्दै जानु
लामो समयसम्म तनाव र भावना दबाएर राख्दा शरीरमा कोर्टिसोल जस्ता तनावसम्बन्धी हर्मोनको मात्रा बढ्न सक्छ । यसको असर मानसिक स्वास्थ्यमा मात्र होइन, प्रतिरक्षा प्रणाली, मुटुको स्वास्थ्य, रक्तचाप तथा समग्र शारीरिक स्वास्थ्यमा पनि पर्न सक्छ ।
त्यसैले भन्ने गरिन्छ मनले दबाएका पीडाहरू हराउँदैनन् । ती शरीरको धड्कन, थकान, पीडा, निद्राको समस्या र निसास्सिएको सासमार्फत कुनै न कुनै रूपमा अभिव्यक्त भइरहन्छन् ।
अनुसन्धानले के भन्छ ?
विभिन्न मनोवैज्ञानिक अध्ययनहरूले आफ्ना भावना निरन्तर दबाएर राख्ने व्यक्तिहरूमा तनाव, चिन्ता र डिप्रेसनको जोखिम बढी हुने देखाएका छन् । साथै, यस्ता व्यक्तिहरूमा सम्बन्धमा दूरी बढ्ने, आत्मसम्मान घट्ने र समस्या समाधान गर्ने क्षमता कमजोर हुने सम्भावना पनि बढ्न सक्छ ।
विश्व स्वास्थ्य संगठनले पनि मानसिक स्वास्थ्यलाई केवल मानसिक रोग नहुनु मात्र नभई, तनाव व्यवस्थापन गर्न सक्ने, स्वस्थ सम्बन्ध कायम राख्न सक्ने र आफ्नो क्षमता उपयोग गर्न सक्ने अवस्थाका रूपमा परिभाषित गरेको छ । त्यसैले आफ्ना भावना स्वस्थ तरिकाले व्यक्त गर्नु मानसिक स्वास्थ्यको महत्त्वपूर्ण पक्ष हो ।
के गर्ने ?
यदि वरपर कसैले बारम्बार ‘म ठीक छु’ भन्दै आफ्ना भावना लुकाइरहेको छ भने, उसलाई जबरजस्ती बोल्न बाध्य पार्नु आवश्यक छैन । बरु उसले सुरक्षित महसुस गर्ने वातावरण बनाउनु महत्त्वपूर्ण हुन्छ ।
–ध्यान दिएर सुन्ने ।
–बीचमै रोकेर निर्णय नगर्ने ।
–‘यति सानो कुरामा किन दुःखी ?’ जस्ता प्रतिक्रिया नदिने ।
–समय दिएर फेरि मायालु ढंगले सोध्ने ।
–आफ्ना भावना व्यक्त गर्नु कमजोरी होइन भन्ने विश्वास दिलाउने ।
–समस्या लामो समयसम्म रहिरहेमा मनोवैज्ञानिक वा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिन प्रोत्साहन गर्ने ।
ध्यान दिनुपर्ने कुरा
धेरै महिलाका लागि ‘म ठीक छु’ भन्ने वाक्य केवल उत्तर होइन, जीवनभर सिक्दै आएको आत्मसुरक्षाको एउटा शैली पनि हुन सक्छ । तर आफ्ना भावना सधैं दबाएर राख्नु समाधान होइन । मनभित्र थुनिएका पीडाहरू हराउँदैनन्, बरु मानसिक र शारीरिक स्वास्थ्यमा विभिन्न रूपमा देखापर्न थाल्छन्।
त्यसैले महिलाले आफ्ना भावना खुला रूपमा व्यक्त गर्न सक्ने सुरक्षित वातावरण सिर्जना गर्नु परिवार, साथीभाइ र समाज सबैको साझा जिम्मेवारी हो । कहिलेकाहीँ कसैले भनेको ‘म ठीक छु’ भन्दा पनि उसको अनुहार, मौनता र व्यवहारले धेरै कुरा भनिरहेको हुन्छ । त्यसलाई बुझ्ने प्रयास गर्नु नै साँचो साथ र संवेदनशीलता हो ।
प्रतिक्रिया 4