News Summary
Generated by OK AI. Editorially reviewed.- नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल लगातार तीन खेलमा पराजित हुँदै अंक तालिकामा पछाडि परेको छ।
- विदेशी कन्डिसनमा नेपाली ब्याटरहरूले डट बल बढी खेल्ने र धैर्यता गुमाउँदा टोलीको ब्याटिङ प्रदर्शन निकै कमजोर देखिएको छ।
- टोलीको कमजोर प्रदर्शनसँगै टिम संयोजन, ब्याटिङ अर्डर र खेलाडी छनोट प्रक्रियामाथि समेत गम्भीर प्रश्न उठ्न थालेका छन्।
१२ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालको प्रदर्शन थप चिन्ताजनक बन्दै गएको छ । नेदरल्यान्ड्समा भइरहेको लिग २ को ओडीआई शृङंखलामा लगातार तेस्रो हार बेहोरेपछि नेपालको शीर्ष चारमा पुग्ने सम्भावना मात्र कमजोर बनेको छैन, टोलीको ब्याटिङ शैली, खेल योजना, टिम संयोजन र तयारीमाथि पनि गम्भीर प्रश्न उठ्न थालेका छन् ।
नामिबियाविरुद्धको पछिल्लो हारसँगै नेपालले यो शृङ्खलामा लगातार तेस्रो पटक अपेक्षाभन्दा कमजोर ब्याटिङ प्रदर्शन दोहोर्याएको छ । विदेशी कन्डिशनमा बलको स्विङ र सीमको सामना गर्न नसक्ने पुरानै समस्या फेरि सतहमा आएको छ ।
तर समस्या केवल प्राविधिक पक्षमा सीमित छैन । अत्यधिक डट बल खेल्ने प्रवृत्ति, दबाब बढेपछि हतारमा खराब शट छनोट गर्ने बानी र ठूलो इनिङ्स खेल्न नसक्ने कमजोरीले नेपाललाई बारम्बार हारतर्फ धकेलिरहेको देखिन्छ ।
सोमबारको खेलपछि कप्तान रोहित पौडेलले धेरै डट बल खेल्दा दबाब थपिएको प्रतिक्रिया दिएका थिए । हुन पनि हो, नेपाली खेलाडी ब्याटिङ गर्न संघर्ष गरिरहेका छन् र त्यो कुरा पछिल्ला तीन खेलमा छर्लङ्गै देखिएको छ ।
सोमबारको हार नेपालले घरभन्दा बाहिर बेहोरेको लगातार सातौं हार थियो । यसले नेपाल विदेशी कन्डिशनमा खेल्न निकै संघर्ष गरेको कुरा प्रष्टै देखिन्छ ।
नेपालले विदेशी भूमिमा गएर राम्रो ब्याटिङ गर्नै सकेको छैन । अहिले भइरहेको शृङ्खलामा नेपालले सुरुवाती दुई खेलमा १५७ रन मात्र बनाउन सक्यो । तेस्रो खेलमा २१२ रनको लक्ष्य पछ्याउँदा ३ रनले पराजित हुन पुग्यो ।
यसअघि नेपालले घरेलु मैदानमा लगातार आठ ओडीआई खेल खेलेको थियो । त्यसमा नेपालले ६ वटा खेल जितेको थियो । त्यसअघि यूएईमा भएको ओडीआई शृङ्खलामा नेपालले चारवटै खेलमा हार बेहोरेको थियो ।
लामो समयदेखि समस्याको रूपमा देखिँदै आएको नेपालको ब्याटिङ घरेलु मैदानमा भएको खेलमा राम्रो देखिएपनि बाहिरी कन्डिशनमा भने ब्याटिङ धराशायी बन्दै गइरहेको छ ।

अर्धशतक बनाउनै मुस्किल
नेपालका लागि पछिल्ला ओडीआईहरूमा सबैभन्दा ठूलो समस्या व्यक्तिगत ठूलो इनिङ्सको अभाव बनेको छ । शीर्ष क्रमका ब्याटरहरू राम्रो सुरुआतलाई ठूलो स्कोरमा बदल्न सकिरहेका छैनन् भने मध्यक्रमले पनि जिम्मेवारी लिन सकेको छैन ।
एकदिवसीय क्रिकेटमा कुनै एक ब्याटरले लामो समय क्रिजमा टिकेर विपक्षीलाई दबाबमा राख्नु आवश्यक हुन्छ । तर नेपालका लागि अहिले व्यक्तिगत अर्धशतक नै चुनौती बन्दै गएको छ । एक–दुई चौका प्रहार गरेपछि विकेट गुमाउने क्रमले टोलीलाई बारम्बार संकटमा पारिरहेको छ ।
नेपालको ब्याटिङमा अर्को स्पष्ट कमजोरी डट बलको संख्या हो । सुरुवाती ओभरदेखि नै लगातार डट बल खेल्दा रनरेटमा दबाब बढ्ने, त्यसपछि जोखिमपूर्ण प्रहार गर्नुपर्ने अवस्था आउने र त्यसकै क्रममा विकेट गुम्ने क्रम दोहोरिइरहेको छ ।
नेदरल्यान्ड्समा भइरहेको शृङ्खलामा हालसम्म भनेको सर्वाधिक व्यक्तिगत स्कोर ४५ हो । आसिफ शेखले सोमबारको खेलमा ४५ रन बनाए तर उनले ८९ बल खेलेका थिए । यसअघि दोस्रो खेलमा आरिफ शेखले ९० बल खेलेर ४१ रन बनाए ।
सोही खेलमा कप्तान रोहित पौडेलले ४१ अनि आरिफ शेखले ३८ रन बनाए । कुशल भुर्तेलले ३४ रन बनाए ।
ओपनरद्वय कुशल भुर्तेलले सुरुवाती दुई खेलमा २ र ९ को स्कोर बनाएका थिए । आसिफ शेखले सुरुवाती दुई खेलमा १६ र १४ को स्कोर बनाए । इशान पान्डेले कुनैपनि खेलमा २० रन कटाएका छैनन् । उनले ८, ४ र १४ को स्कोर बनाएका छन् । उपकप्तान दीपेन्द्रले ३०, २१ र ३ को स्कोर बनाएका छन् ।

आधुनिक एकदिवसीय क्रिकेटमा स्ट्राइक रोटेसन अत्यन्त महत्वपूर्ण मानिन्छ । तर नेपालले एक रन निकाल्ने सामान्य अवसरसमेत गुमाइरहेको छ । यसले विपक्षी बलरलाई थप आत्मविश्वास दिएको छ भने नेपाली ब्याटरहरू झन् दबाबमा परेका छन् ।
विदेशी पिचमा धैर्य आवश्यक हुन्छ । तर नेपालका ब्याटरहरू पटक–पटक अनावश्यक आक्रामक प्रहारमा आउट भइरहेका छन् । राम्रो बललाई सम्मान गर्नुको सट्टा कठिन अवस्थामा ठूलो सट खेल्ने प्रयासले विकेट गुमाउने क्रम निरन्तर देखिएको छ ।
पुरुष क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले नेपाली खेलाडी बाहिरी विकेटमा खेल्न नसकिरहेको कुरा प्रष्टै देखिएको बताउँछन् । ‘बाहिर अब ग्रासी (घाँसे) विकेट हुन्छ, नेपालमा अब अलि फ्ल्याट पिचमा खेलेको बानी पनि भएर बाहिरको विकेटमा राम्रो ब्याटिङ हुनै सकिरहेको छैन’ खड्काले भने ।
विदेशी कन्डिसन अझै पनि ठूलो चुनौती
नेपालले घरेलु मैदानमा धेरै पटक उत्कृष्ट प्रदर्शन गरे पनि युरोपेली कन्डिसनमा भने उही पुरानो समस्या दोहोरिएको छ । सीम र स्विङ हुने विकेटमा फुटवर्क, शट छनोट र इनिङ्स बिल्डअप तीनै पक्ष कमजोर देखिएका छन् ।
यी कारणले नेपालले डट बल खेल्ने अनुपात पनि बढाएको छ । विश्वकप छनोटको लक्ष्य राख्ने टोलीका लागि विदेशी कन्डिसनमा प्रतिस्पर्धात्मक प्रदर्शन अनिवार्य मानिन्छ । तर पछिल्ला खेलहरूले नेपाल अझै त्यस स्तरमा पुग्न बाँकी रहेको संकेत दिएका छन् ।
नेपाली ब्याटरहरू शर्ट बलमा फसिरहेका छन् । विपक्षी टिमले निरन्तर शर्ट बलको प्रयोग गर्दा नेपाली ब्याटरहरू धैर्यता गुमाएर ठूलो शट खेल्ने क्रममा आउट भएका छन् ।
यसले विदेशी कन्डिशनमा खेल्न अझै पनि धेरै एक्सपोजरको कमी रहेको कुरा दर्साएको छ ।

पुरुष क्रिकेट टोलीका कप्तान रहिसकेका अर्का पूर्वखेलाडी पवन अग्रवालले विदेशी कन्डिशनमा खेल्नका लागि नेपाली खेलाडी पूर्णरूपमा तयार नै हुन नसकेको बताउँछन् । ‘हाम्रा खेलाडी टी-२० अत्यधिक खेल्छन् । टी-२० बाट ओडीआईमा स्वीच हुन केही समय लाग्छ नै’ उनले भने, ‘युरोपियन कन्डिशन धेरै नै कठिन हुन्छ खेल्न, यस्तोमा हामीले राम्रो ब्याटिङ गर्न सकेनौं भने जित त सम्भव नै हुँदैन ।’
घरेलु संरचनादेखि नै सेटअप तयार गर्नुपर्ने र त्यो राम्रोसँग हुन नसकेको अग्रवालले बताए । ‘हामीले घरेलु संरचना सुधार गर्नैपर्छ । ५० ओभरको विश्वकप खेल्ने भनेपछि घरेलु संरचना सुधार गर्नुको त विकल्प नै छैन । हाम्रोमा अब पीएम कपबाहेक अरु प्रतियोगिता हुँदैन, अनि खेलाडीहरू टी-२० धेरै खेलेकाले लामो फर्म्याटको दबाब झेल्नै सक्दैनन्’ अग्रवालले भने, ‘हाम्रो सुरुवात नै टी-२० बाट बढी हुन्छ, त्यसकारण ५० ओभरमा खेल्न गाह्रो देखिएको छ ।’
नेपालमा मात्र नभएर बाहिरी कन्डिशनमा पनि बेला बेला ओडीआई सिरिजहरू खेल्नुपर्ने अग्रवालको भनाइ छ ।
यस्तै पूर्वकप्तान राजु खड्काले एक्सपोजरको कमी सबैभन्दा गम्भीर विषय रहेको औंल्याएका छन् । ‘एक्सपोजरको कमी त पहिल्यैदेखि कमजोरीकै कुरा हो, एक्सपोजर त एकदमै चाहिन्छ ओडीआई क्रिकेटमा । हामीसँग अब घरेलु क्रिकेटमा नै कम प्रतियोगिता भए, छोटो प्रतियोगिता हुन्छन् त्यहीभएर राम्रो एक्सपोजर नै पाउँदैन’ खड्काले भने ।
यस्तै उनले टी-२० क्रिकेटमा बढी केन्द्रित हुनाले पनि ओडीआई खेल्न समस्या भइरहेको बताए । ‘अब खेलाडीहरू नै बढी टी-२० केन्द्रित भएपछि ओडीआईको दबाब झेल्न मुस्किल भइहाल्छ, यसले गर्दा पनि ओडीआईमा एक्सपोजर हुन पाइरहेको छैन’ उनले भने ।
खेलाडीहरू क्वीक क्रिकेटमा बढी केन्द्रित हुँदा खेलाडीहरू ५० ओभरको खेलमा चुकिरहेको खड्का बताउँछन् ।
टिम सेलेक्सनमाथि पनि प्रश्न
लगातार कमजोर नतिजासँगै टोली चयनमाथि पनि बहस सुरु भएको छ । लामो समयदेखि अपेक्षित प्रदर्शन गर्न नसकेका खेलाडीलाई निरन्तर अवसर दिनु उचित हो वा नयाँ विकल्पलाई मौका दिनुपर्छ भन्ने प्रश्न उठ्न थालेको छ ।
ओपनिङ संयोजन, मध्यक्रमको भूमिका, फिनिसरको अभाव तथा ब्याटिङ क्रमबारे समेत पुनर्विचार आवश्यक देखिएको छ । १५ सदस्यीय टोलीबाट प्लेइङ ११ चयन गर्दा पनि केही रणनीतिक कमजोरी देखिएका छन् ।
नेपालको हालको टोलीमा वान डाउनमा खेल्न सक्ने तीन खेलाडीहरू रहेका छन् । इशान पान्डे, भीम सार्की र कप्तान रोहित पौडेल सबै तीन नम्बरमा खेल्ने खेलाडीहरू हुन् । इशान बाँयाहाते ब्याटर, भीम ओडीआई विशेषज्ञ ब्याटर भएकाले कसलाई तीन नम्बरमा खेलाउने भन्ने द्विविधा देखिएको छ ।
तेस्रो खेलमा नामिबियासँग इशानले नै तीन नम्बरमा ब्याटिङ गरे । ललित राजवंशीको स्थानमा खेल्ने मौका पाएका भीमले चौथो नम्बरमा ब्याटिङ गरे । भीमबाट १ रनको मात्र योगदान हुन सक्यो । कप्तान रोहित पाँचौं नम्बरमा ब्याटिङमा आएका थिए भने उपकप्तान दीपेन्द्र छैटौं स्थानमा धकेलिए । ब्याटिङ अर्डर परिवर्तन हुँदा पनि नतिजा भने फेरिएको देखिएन ।
३ जना मात्र मुख्य बलर खेलाएर ८ जना ब्याटर मात्र खेलाउँदा पनि नतिजा परिवर्तन नहुनुले समस्या निकै गहिरो रहेको देखाउँछ ।
क्रिजमा टिकेर खेल्न सक्ने युवा ओपनर अर्जुन कुमालले हालसम्मका तीन खेलमा अवसर पाएका छैनन् । टप अर्डर र मिडल अर्डर दुवैमा खेल्न सक्ने ब्याटर विनोद भण्डारीले पनि मौका पाएका छैनन् ।
पूर्वकप्तान खड्काले टिम छनोटमा पनि केही फरक गर्नुपर्ने सुझाव दिन्छन् । ‘हामी पनि सेलेक्सन कमिटीमा हुँदा राम्रो प्रतियोगिता जितेर आएका थियौं, अब अहिले कस्तो छ त्यो त्यति राम्रोसँग थाहा छैन । तर ओडीआई र टी-२० खेल्ने टिममा कम्तीमा आधा संख्यामा चाहिँ फरक खेलाडी हुनुपर्छ जस्तो लाग्छ’ खड्काले भने ।
पूर्वप्रशिक्षक एवम् सेलेक्टर एलबी क्षेत्रीले पनि दुई फर्म्याटका लागि खेल्ने नेपाली टोलीमा केही परिवर्तन आवश्यक रहेको कुरा औंल्याएका छन् । पूर्वखेलाडी र प्रशिक्षकको भनाइबाट टिम छनोट पनि निराशाजनक रहेको बुझ्न सकिन्छ ।
***
लिग २ क्रिकेटमा मा नेपाल अझै शीर्ष ४ को दौडबाट बाहिरिसकेको छैन । तर अबको चुनौती अंकतालिकाभन्दा पनि टोलीभित्रको प्रदर्शन सुधार गर्नु हो ।
बाँकी खेलहरूमा ब्याटिङमा आमूल परिवर्तन नगरे शीर्ष चारको सम्भावना मात्र होइन, भविष्यका अन्तर्राष्ट्रिय प्रतियोगिताप्रतिको विश्वाससमेत कमजोर बन्न सक्छ ।
नेपालसँग अझै अवसर बाँकी छ । तर त्यो अवसर उपयोग गर्न विदेशी कन्डिसनमा खेल्ने मानसिकता, धैर्य, प्राविधिक तयारी र टिम संयोजनमा ठोस सुधार अपरिहार्य देखिएको छ ।
अहिलेको अवस्थामा हारभन्दा पनि चिन्ताको विषय नेपालको ब्याटिङ क्षमता बनेको छ, जसले एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्न टोली अझै धेरै टाढा रहेको संकेत गरिरहेको छ ।
प्रतिक्रिया 4