News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता टाइगर श्रोफ प्रतिष्ठित १३५औं डुरान्ड कप फुटबल प्रतियोगिता खेल्ने तयारीमा जुटेका छन्।
- टाइगर श्रोफ मुम्बे एफसीको टोलीमा समावेश भई नियमित प्रशिक्षण गरिरहेका छन् र समूह चरणको अन्तिम खेलमा उनी मैदान उत्रने सम्भावना छ।
- मुम्बे एफसीले पहिलो पटक डुरान्ड कपमा सहभागिता जनाउँदै समूह ‘ई’ मा रहेर शिलङ लाजोङलगायतका टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
१२ साउन, काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ प्रतिष्ठित डुरान्ड कप फुटबल प्रतियोगिताबाट व्यावसायिक फुटबलमा डेब्यु गर्ने नजिक पुगेका छन् ।
भारतीय सञ्चारमाध्यम रेभस्पोर्ट्जका अनुसार १३५औं संस्करणको डुरान्ड कपका लागि टाइगर मुम्बे एफसीको टोलीमा समावेश भएका छन् । उनले पछिल्लो समय टोलीसँग नियमित प्रशिक्षण गरिरहेका छन् र समूह चरणको अन्तिम खेलमा मैदान उत्रने सम्भावना रहेको बताइएको छ ।
मुम्बे एफसी जुलाई ३० मा समूह चरणका खेल खेल्न शिलोङ जाने कार्यक्रम छ । क्लबसँग निकट स्रोतलाई उद्धृत गर्दै रेभस्पोर्ट्जले टाइगर टोलीमा दर्ता भइसकेको र अन्तिम समूह चरणको खेलमा मैदान उत्रने सम्भावना बलियो रहेको जनाएको छ ।
टाइगरले सन् २०२४ मा मुम्बे एफसी सार्वजनिक गरेका थिए र हाल क्लबका ब्रान्ड एम्बासडर पनि हुन् । क्लबले छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्दै उद्घाटन महाराष्ट्र स्टेट क्लब लिगको उपाधि जितेको थियो ।
गत सिजन आई–लिग ३ मा तेस्रो स्थान हासिल गरेपछि मुम्बे एफसीले पहिलो पटक डुरान्ड कप खेल्ने अवसर पाएको हो ।
समूह ‘ई’ मा रहेको मुम्बे एफसीले शिलङ लाजोङ एफसी, नोङ्क्सेह स्पोर्ट्स एन्ड कल्चरल क्लब तथा ल्याङ्स्निङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणका सबै खेल शिलङमै हुनेछन् ।
यदि टाइगर मैदान उत्रिए भने उनी भारतीय फुटबलसँग जोडिने बलिउड हस्तीहरूको सूचीमा थपिनेछन् । यसअघि अभिनेता जोन अब्राहम पनि इन्डियन सुपर लिग क्लब नर्थईस्ट युनाइटेड एफसीसँग आबद्ध रहँदै आएका छन् ।
प्रतिक्रिया 4