News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव मंगलबार उग्र भएको छ ।
- प्रदर्शनकारीले प्रशासनद्वारा जारी कर्फ्यू उल्लंघन गर्दै विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट र सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।
- स्थानीय राजनीतिक दलले मृतकलाई शहीद घोषणा, घाइतेको उपचार र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
१२ साउन, विराटनगर । दुई समूहबीचको विवाद नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि सुरु भएको विवादले सुनसरीमा उग्र रूप लिएको छ ।
आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका थिए । सो घटनापछि सुरु भएको विरोध प्रदर्शनले मंगलबार उग्र रूप लिएको हो ।
स्थानीय प्रशासनले दक्षिण क्षेत्रका ५ वटा बजारमा कर्फ्यू जारी गरे पनि प्रदर्शनकारीले त्यसको उल्लंघन गर्दै आगजनी, तोडफोड र लुटपाट भएको छ ।
प्रहरी स्रोतका अनुसार सोमबार एउटा पक्ष मात्र सडकमा देखिएको थियो । मंगलबार भने दुवै पक्ष सडकमा निस्किए । केही ठाउँमा दुई समूह आमनेसामने भयो, जसलाई नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्यो ।

सुनसरीको कोशी गाउँपालिकामा पर्ने कोशी कटान क्षेत्रमा रहेका पसलहरूमा आगजनी र लुटपाट भएको छ । लुटपाटकै क्रममा होटलका कामदारमाथि निर्घात कुटपिट र धारिलो हतियार पनि प्रहार भयो ।
धारिलो हतियार र रड प्रहार हुँदा कोशी गाउँपालिका– ४ का प्रेमकुमार मलाह माझी घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । कोशी कटान क्षेत्रमा प्रदर्शनकारीको समूह ठूलो भएका कारण घटनास्थल पुगेको प्रहरी टोली निरीह बनेको थियो ।
मंगलबार दिउँसो एक समूहले कप्तानगञ्ज क्षेत्रका बस्तीमा पसेर आगजनी गरेको छ । जसमा ४ वटा घर जलेको छ । प्रदर्शनकारीले बजारबाट बस्तीतर्फ जाने सडक अवरुद्ध पारेर घरहरूमा आगो लगाएका थिए ।
हिंसात्मक प्रदर्शनका क्रममा देवानगञ्ज-२ का ४२ वर्षीय सञ्जय यादवमाथि मंगलबार दिउँसो आक्रमण भयो । काम सकेर घर फर्किने क्रममा देवानगञ्ज बजारमा रहेको पेट्रोल पम्प नजिकै ३०-३५ जनाको समूहले उनीमाथि आक्रमण गरेको हो । उनको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको गाडी तोडफोड र सुरक्षाकर्मीमाथि आक्रमण
मंगलबार इनरुवा बजार बन्द गराउँदै हिँडेको समूह र प्रहरीबीच झडप भएको छ । प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अन्य क्षेत्रमा पनि प्रहरीले अश्रुग्यास प्रहार गर्यो ।
घुस्की क्षेत्रमा प्रदर्शनकारीले एक प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणबाट घुस्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक बलराम यादव घाइते भएका छन् ।
प्रहरीका अनुसार उनको हातको पातो खुस्किएको छ । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीका डीएसपीले प्रयोग गर्ने दुई वटा गाडी तोडफोड गरेका छन् ।
सेनाको हवाई गस्ती, कर्फ्यू कायमै
मंगलबार कर्फ्यू आदेश उल्लंघन गर्दै अराजक समूह सडकमा निस्कदा हरिनगर, देवानगञ्ज, कोशी, भोक्राहा नरसिंह गाउँपालिका र इनरुवा नगरपालिकाको अवस्था असामान्य बन्यो । भोक्राहानरसिंह, हरिनगर र देवानगञ्ज गाउँपालिका चोकहरूमा दुई पक्षबीच ढुङ्गामुढा भयो ।
कप्तानगञ्ज क्षेत्रमा कर्फ्यू तोडेर सडकमा निस्किएका प्रदर्शनकारी र सेनाबीच आमनेसामनेुको स्थिति सिर्जना भएको थियो ।

हरिनगरको सीमावर्ति बजारको घुस्कीमा प्रदर्शनकारीलाई नेपाली सेनाले रोकेको थियो । नेपाली सेनाको टोलीले मंगलबार बस्तीहरूमा हवाई गस्ती गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काले प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अधिकतम संयमता अपनाएको बताएका छन् । ‘अवस्था अझै सामान्य भइसकेको छैन, त्यसैले कर्फ्यु हटाइएको छैन,’ डिएसपी खड्काले भने, ‘पूर्वपश्चिम राजमार्गको कोशी कटानदेखि पकलीसम्मको २ सय मिटर आसपास, इनरुवा बजार र दक्षिण क्षेत्रका ५ वटा बजारमा कर्फ्यू जारी छ ।’
मृतकको घरमा पुग्यो प्रशासन
कप्तानगन्जमा आइतबार राति दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा सशस्त्र प्रहरीले गोली चलाउँदा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । मृत्युको दुई दिनपछि स्थानीय प्रशासन मृतकको घरमा पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालसहितको टोलीले मृतकको परिवारलाई भेटेको हो । यो भेटमा देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन मेहता पनि सहभागी थिए । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घटनाको दोषीलाई कारवाही गर्ने र परिवारलाई राहत उपलब्ध गराउने बताएको पालिका अध्यक्ष मेहताले जानकारी दिए ।
शहीद घोषणा गर्न माग
देवानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका युवाहरूलाई शहीद घोषणा गर्न स्थानीय राजनीतिक दलले माग गरेका छन् । मंगलबार पालिका प्रमुख बेचन मेहताले सर्वदलीय बैठक बोलाएका थिए । बैठकले मृतकलाई सहिद घोषणा गर्ने माग गर्ने निर्णय गरेको हो ।

बैठकले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग पनि माग गरेको छ । घाइतेको उपचार र राहत तथा क्षतिपूर्तिकाे पनि माग गर्ने निर्णय गरेको छ ।
सर्वदलीय बैठकले मृतकलाई सहिद घोषणा, राहत, घाइतेको उपचार र घटनाको छानविन गरी दोषीलाई कडा कारबाहीको माग गर्ने निर्णय गरेको छ,’ उनले भने,’बैठकपछि प्रमुख जिल्ला अधिकारीलाई बोलाएर अवस्थाको बारेमा जानकारी गराएका छौं ।’
देवानगञ्ज घटनाको छानबिनका लागि गृहमन्त्रालयले गठन गरेको छानबिन समिति पनि फिल्डमा छ ।
सोमबार बेलुका घाइतेको बयान लिएको समितिले मंगलबार बस्तुस्थितिको विश्लेषण गरेको छ । घटनास्थलको निरीक्षण र प्रत्यक्षदर्शीको बयानका लागि बुधबारबाट देवानगञ्ज जाने तयारी छ । मंगलबार बसेको सर्वदलीय बैठकले छानबिन समितिलाई अनुसन्धानका लागि सहयोग गर्ने सहमति गरेको अध्यक्ष मेहताले बताए ।
प्रतिक्रिया 4