News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवलका दुई रेस्टुरेन्टबाट बालश्रममा संलग्न तीन जना बालकको उद्धार गरिएको छ ।
- संयुक्त अनुगमन टोलीले बालश्रम प्रयोग गर्ने दुवै रेस्टुरेन्टलाई प्रति रेस्टुरेन्ट ५० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ ।
- उद्धार गरिएका बालकहरूलाई श्रम ऐन अनुसार पारिश्रमिक र क्षतिपूर्ति उपलब्ध गराई आफन्तको जिम्मा लगाइएको छ ।
१४ साउन, बुटवल । रुपन्देहीको बुटवलका होटलमा काम गर्दै आएका ३ जना बाल श्रमिकको उद्धार गरिएको छ । बुटवल उप–महानगरपालिका वडा नम्बर ६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट तीन जना बाल श्रमिकको उद्धार गरिएको हो ।
श्रम तथा व्यवसायजन्य विभागका अनुसार श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको संयुक्त अनुगमनका क्रममा राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टमा बालश्रम प्रयोग भइरहेको भेटिएको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका र सिविन नेपाल बाल हेल्पलाईनको संयुक्त टोलीले उक्त स्थानमा निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा राजु रेस्टुरेन्टमा एक जना र सुशान्त रेस्टुरेन्टमा दुई जना बालक श्रमिकका रूपमा कार्यरत रहेको फेला परेको थियो । उद्धार गरिएका ती बालकहरूलाई तत्काल संरक्षणका लागि सिविन नेपालको आपतकालीन बासगृहमा पठाइएको थियो ।
बालश्रम प्रयोग गरेको कसुरमा टोलीले दुवै रेस्टुरेन्टलाई प्रति रेस्टुरेन्ट ५० हजार रुपैयाँका दरले जरिबाना गर्ने निर्णय गरेको छ । यसका साथै, श्रम ऐन अनुसार उनीहरूले काम गरेको अवधिको आधारमा बाँकी पारिश्रमिक र क्षतिपूर्ति बापतको रकम भुक्तानी समेत गराइएको छ ।
राजु रेस्टुरेन्टमा कार्यरत बालकका लागि ३ लाख ८४ हजार ३ सय ४९ र सुशान्त रेस्टुरेन्टमा कार्यरत दुई बालकका लागि क्रमशः १ लाख ८७ हजार ४ सय ८६ र ४१ हजार ५ सय ३६ रुपैयाँ क्षतिपूर्ति बापतको रकम भुक्तानी गराइएको छ ।
रेस्टुरेन्ट सञ्चालकहरूलाई अब उप्रान्त बालश्रम प्रयोग नगर्न सचेत गराइएको छ । उद्धार गरिएका बालकहरूलाई आवश्यक प्रक्रिया पूरा गरी हाल निजका आफन्तको जिम्मा लगाइसकिएको छ ।
प्रतिक्रिया 4