News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी लगायतका क्षेत्रमा भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबैलाई संयम रहन आग्रह गरेका छन् ।
- उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता नै देशको गौरव तथा पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न नहुनेमा जोड दिएका छन् ।
- देशको मौलिक मान्यताविपरीतका यस्ता अवाञ्छित घटनाप्रति चिन्ता व्यक्त गर्दै सबै नेपालीलाई आपसी मेलमिलाप र सद्भाव कायम राख्न उनले आह्वान गरेका छन् ।
१४ साउन, काठमाडौं । सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
निर्मल निवासस्थित संवाद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा उनले चिन्ता व्यक्त गरेका हुन् ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश भएको र यही विविधता नै देशको गौरव तथा पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न नहुनेमा उनले जोड दिएका छन् ।
नेपाली समाज सधैं आपसी मेलमिलाप र सद्भावमा बस्दै आएको उल्लेख गर्दै, देशको मौलिक मान्यताविपरीत यस्ता अवाच्छित घटनाहरू हुनु चिन्ताको विषय भएको बताइएको छ ।
‘यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो । त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं । हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो,’ विज्ञप्तिमा छ ।
प्रतिक्रिया 4