News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४३औं बैठकले सुनसरीलगायत तराई-मधेशमा देखिएको साम्प्रदायिक तनाव र सुरक्षा चुनौतीको गम्भीर समीक्षा गरेको छ ।
- बैठकमा सुनसरीको घटनामा परी सर्वसाधारणको मृत्यु र घाइते भएको विषयमा छलफल गर्दै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने र राजनीतिक संवाद अघि बढाउने तयारी गरेका छन् ।
- तनावग्रस्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री सुधन गुरुङ सुनसरी प्रस्थान गर्नुका साथै नेपाली सेनाले समेत प्रभावित जिल्लाहरूमा सुरक्षा कमान्ड लिई अवस्था नियन्त्रणमा खटिएको छ ।
१४ साउन, काठमाडौं । सुनसरी घटनाको चार दिनपछि प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक तराई-मधेशमा पछिल्लो समय देखिएको घटनाक्रममा केन्द्रित रह्यो ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा विशेषगरी सुनसरी घटना कसरी भयो, गोली कसरी चल्यो, त्यसपछि उत्पन्न परिस्थिति, सुरक्षा चुनौती लगायतका विषयमा छलफल भयो ।
बैठक सकिएपछि परिषद्का सदस्यसचिव समेत रहेका रक्षासचिव केदारनाथ शर्माले राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिको समेत विश्लेषण र समीक्षा गरिएको बताए ।
‘राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय घटनाको विश्लेषण गरियो । बाह्य परिस्थितिको समेत विश्लेषण गर्दै आगामी दिनमा यस किसिमका घटना घट्न नदिन सरोकारवाला निकाय, प्रदेश सरकार, स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने विषय उठ्यो,’ रक्षा सचिव शर्माले भने ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिव रहने व्यवस्था छ । बैठकमा सबै उपस्थित थिए ।
बैठकमा प्रधानसेनापति अशोकराज सिग्दलले सुनसरीलगायत तराईको घटनाक्रमबारे विश्लेषण गर्दै त्यसपछि हुन सक्ने राष्ट्रिय सुरक्षा चुनौतीको विषय उठान गरेका थिए । कर्फ्यु जारी भएका जिल्लाहरूमा भने नेपाली सेनाले सुरक्षा कमान्ड परिस्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको उल्लेख गरेका थिए ।

अहिले सुनसरीलगायत, सिरहा, धनुषामा नेपाली सेना ब्यारेकबाट निस्केर फिल्डमा खटिएको छ । सुरुमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा बस्ने भनिएको बैठक पछि प्रधानमन्त्रीको कार्यालयमा बसेको थियो । सुरक्षा परिषद्को यो ४३औं बैठक हो ।
बैठकमा १० साउनमा सुनसरीको कप्तानगञ्जमा भएको विषयलाई मुख्य केन्द्रमा राखेर छलफल भएको थियो । आइतबार राति सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो ।
झण्डा नहटाएको र चर्को आवाजमा डिजे बजाएको विषयमा दुई समुदायबीच तनाव उत्पन्न भई झडप भएको र स्थिति नियन्त्रणमा लिने क्रममा मेहताको मृत्यु भएको बताइएको छ । यो घटनामा अरू ९ सर्वसाधारण घाइते भएका थिए ।
यसैलाई केन्द्रमा राख्दै भएको बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्नुदेखि राजनीतिक संवाद अघि बढाउनु पर्नेसम्मका विषय उठेको बैठकमा सहभागी एक सदस्यले बताए ।

‘बैठकमा सहभागीहरूको सुझावअनुसार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नु भएको हो,’ बैठकमा सहभागी एक सदस्यले भने । राष्ट्रिय सुरक्षा परिषद्मा उठेको विषयअनुसार नै प्रधानमन्त्री बालेनले अहिले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।
उनीहरूले यस्तो अवस्थामा प्रधानमन्त्रीले नै राष्ट्रको नाममा सम्बोधन गर्नु उचित हुने सुझाव दिएका थिए । साम्प्रदायिक सद्भावलाई बढावा हुने क्रियाकलाप गर्नुपर्ने, साथै राजनीतिक तहमा पनि संवाद र छलफल अघि बढाउनुपर्ने विषय छलफलमा उठेको थियो ।
प्रधानमन्त्रीको सम्बोधनका साथै गृहमन्त्रीलाई फिल्डमा पठाउनुपर्ने, मृतक, घाइतेका परिवारसँग भेट गर्नुपर्ने, राजनीतिक, सामाजिक, संवाद अघि बढाउनुपर्ने विषय बैठकमा उठेको थियो । सोहीअनुसार गृहमन्त्री सुधन गुरुङ आजै सुनसरीतर्फ गइसकेका छन् ।
सुरक्षामा मात्रै केन्द्रित नभएर राजनीतिक, सामाजिक, धार्मिक संवाद खोजिनुपर्ने भन्दै यसअघि गृहमन्त्रीलाई सुरक्षा निकायका प्रमुखहरूले सुझाव दिइसकेका थिए । आज बिहीबार गृह मन्त्रालयले मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीहरूसँग मन्त्रालयमा छलफलसमेत गरिएको गृहका प्रवक्ता रमा आचार्य बताउँछिन् ।
सुरक्षा परिषद्को बैठकअघि बुधबार प्रधानमन्त्री बालेनले सबै सुरक्षा निकायका प्रमुखहरूलाई डाकेर ब्रिफिङ लिएका थिए । जहाँ उनले गोली कसरी चल्यो, गोली चल्नुपर्ने अवस्था कसरी आयो, कसले गोली चलायो जस्ता जिज्ञासा राखेका थिए ।
गोली किन चल्यो भन्ने विषय छानबिनकै क्रममा रहँदा आज बिहीबारको अवस्थामा पनि तनावपूर्ण रह्यो । सिरहा, धनुषामा तोडफोड र आगजनी भए । सिरहामा भएको प्रदर्शनमा पनि गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भयो । केही घाइते भए ।

परिषद्को अधिकांश समय सुनसरी घटना र त्यसको असर तराईका अन्य जिल्लामा पर्नेसक्ने भन्दै छलफल हुनुका साथै वर्खायामको समय भएको भन्दै विपद् तयारीबारे पनि छलफल भएको थियो ।
विपद् प्रतिकार्यका लागि सम्बन्धीत निकायहरूबीच समन्वय गरी समयमै खोज, उद्धार र राहत कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने/गराउने विषयमा परिषद् बैठकमा छलफल भएको थियो ।
प्रतिक्रिया 4