+
+
Shares

कास्कीबाट सर्वपक्षीय आह्वान- नेपाली समाजको सद्‌भाव र सहिष्णुता जीवन्त राखौं

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा बसेको बैठकमा राजनीतिक दल, धार्मिक संघसंस्था, नागरिक समाज, सुरक्षा निकाय तथा अन्य सरोकारवाला सहभागी थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव सुदृढ बनाउन सर्वपक्षीय बैठकले सबैलाई सक्रिय भूमिका खेल्न आह्वान गरेको छ।
  • प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उच्च सतर्कता अपनाउँदै साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधि रोक्ने निर्णय गरेको छ।
  • दलहरूले सामाजिक सञ्जालमा अफवाह फैलाउने कार्य रोक्न र कार्यक्रम आयोजना गर्दा स्थानीय प्रशासनबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था कडाइका साथ पालना गर्ने जनाएका छन्।

१५ साउन, पोखरा । कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव, सहिष्णुता र सामाजिक एकतालाई थप सुदृढ बनाउन सरोकारवालाहरूले संयुक्त जोड दिएका छन् । शुक्रबार बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्न आह्वानसमेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा बसेको बैठकमा राजनीतिक दल, धार्मिक संघसंस्था, नागरिक समाज, सुरक्षा निकाय तथा अन्य सरोकारवाला सहभागी थिए । बैठकले नेपाली समाजलाई एकता र सद्भावले जोडिराख्ने सहमति गर्दै देशव्यापीरूपमा अपिल पनि गरेको छ ।

बैठकले समाजमा धार्मिक, जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधि हुन नदिन र मधेशलगायत देशका विभिन्न क्षेत्रमा देखिएको संवेदनशील अवस्थालाई दृष्टिगत गर्दै कास्कीमा पनि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

पोखरा–१३ मियाँगाउँका अब्दुल करिम मियाँले सामाजिक सद्भाव कायम राख्दै मधेशमा घटेको घटनामा दोषीलाई कारबाही र निर्दाेषलाई न्याय दिलाउन आग्रह गरे । धर्म र सम्प्रदायभन्दामाथि नेपाली भएर सोच्न उनको आग्रह छ ।

‘हामीहरू ४/५ सय वर्षदेखि को हिन्दु नभनिकन मिलेर बसेका हौं । हाम्रा चाडपर्वमा हिन्दु साथीभाइलाई बोलाउँछौं । हामी पनि उहाँहरूको दशैंतिहारमा जान्छौं, खान्छौं,’ करिमले भने, ‘यो सद्भाव जुगौंजुग बाँचीरहोस् भन्ने हाम्रो चाहना छ ।’

विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष सुजनबाबु पौडेलले मधेशमा फैलिएको साम्प्रदायिक दंगा साम्य पार्न आग्रह गर्दै कास्कीमा त्यसको प्रभाव पर्न नदिन एक भएर लाग्ने सहमति भएको बताए ।

‘कुनै शक्तिले द्वन्द्व बढाउँदै लैजाने काम गरिरहेको छ भने त्यो विकृति कास्की प्रवेश नगरोस् भनेर सचेत रहन सबैसँग अपिल छ,’ उनले भने ।

विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष सुजनबाबु पौडेल

मुस्लिम समुदायका अर्का ज्येष्ठ नागरिक सर्फराज मियाँले अहिले जस्ता घटना घटिरहेका छन्, त्यो राम्रो नभएको बताए ।

धार्मिक सहिष्णुता समितिका उपाध्यक्ष अब्दुर रहिमले सबै समुदाय वर्षाैंदेखि एकअर्काको सहयोग र सद्भाव कायम गरेर बसेको स्मरण गरे । एकअर्काे अफ्ठेरो र असुरक्षा हुँदा धर्मभन्दा माथि उठेर एकअर्काे सुरक्षा गरेको र अब पनि त्यही हिँडिरहन उनले आग्रह गरे ।

सर्फराज मियाँ

कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुङले सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय र सर्वदलीय सहमति गर्दै अपिलसमेत गरिएको जानकारी दिए ।

बैठकले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता भएको मुलुक भएकाले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने निष्कर्ष निकालेको छ । धार्मिक, जातीय वा साम्प्रदायिक द्वेष फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने तथा उच्छृङ्खल गतिविधिमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई सबै पक्षबाट सहयोग गर्ने प्रतिबद्धता जनाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

सार्वजनिक स्थानमा कुनै पनि कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था कडाइका साथ पालना गर्ने निर्णय गरिएको उनले बताए ।

विभिन्न धार्मिक अगुवा तथा धर्मगुरुले आफू–आफ्नो धर्म र संस्कृतिअनुसार आयोजना हुने कार्यक्रम तथा सभामा धार्मिक सहिष्णुता, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

No description available.

यसैगरी कास्कीका राजनीतिक दलहरूले पनि मधेशका जिल्लालगायत विभिन्न स्थानमा भएका घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले संयुक्त अपिल जारी गर्दै धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने, सामाजिक सञ्जालमार्फत अफवाह र द्वेषपूर्ण सामग्री फैलाउने तथा समाजमा उत्तेजना सिर्जना गर्ने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन् ।

साथै, कास्कीमा धार्मिक, सामाजिक र सांस्कृतिक एकता, सहिष्णुता तथा सद्भाव कायम राख्न सबै नागरिकसँग अपिल गर्दै शान्ति सुरक्षा कायम गर्न आआफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?