+
+
Shares

हिक्मतलाई मुख्यमन्त्रीबाट हटाउन शेरधन सक्रिय, सुनाए ओलीको सन्देश

ओलीले कोशीका इन्चार्ज रहेका पार्टी सचिव शेरधन राईलाई यो जिम्मेवारी दिएका छन् । ‘दुई दिनदेखि शेरधन राई विराटनगर बसेर यो काममा लाग्नुभएको छ,’ एक नेताले भने, ‘हिजै मात्र एक होटलमा मुख्यमन्त्री कार्कीसँग दुई घण्टा जति छलफल गर्नुभयो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते ११:४६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने निर्णयमा पुग्नुभएको छ ।
  • अध्यक्ष ओलीले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन दबाब दिनुका साथै सो जिम्मेवारी पार्टी सचिव शेरधन राईलाई सुम्पिनुभएको छ ।
  • मुख्यमन्त्री कार्कीले राजीनामा दिँदा संवैधानिक संकट आउन सक्ने तर्क गर्दै पार्टी सचिवालयको निर्णय पर्खनुपर्ने अडान राख्नुभएको छ ।

१७ साउन, काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने सहमतिबाट अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन् ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलमा ओलीले कार्कीलाई निरन्तरता दिने सहमति गरेका थिए । तर उक्त सहमतिबाट पछि हटेर कार्कीलाई हटाउन ओली आफै सक्रिय भएका छन् ।

स्रोतका अनुसार ओलीले कोशीका इन्चार्ज रहेका पार्टी सचिव शेरधन राईलाई यो जिम्मेवारी दिएका छन् । ‘दुई दिनदेखि शेरधन राई विराटनगर बसेर यो काममा लाग्नुभएको छ,’ एक नेताले भने, ‘हिजै मात्र एक होटलमा मुख्यमन्त्री कार्कीसँग दुई घण्टा जति छलफल गर्नुभयो ।’

छलफलमा राईले ओलीको सन्देश सुनाएका थिए । ‘पार्टी अध्यक्षको सन्देश तपाईंले राजीनामा गर्नुस् भन्ने छ,’ राईले भनेका थिए । तर कार्की राजीनामाका निम्ति तयार भएनन् ।

‘मैले राजीनामा गर्दा यहाँ संवैधानिक संकट आउन सक्छ भन्नेतिर ध्यान दिनुपर्छ । फेरि यसबारेमा पार्टीको सचिवालयले निर्णय लिनुपर्छ भन्ने मेरो प्रष्ट कुरा छ,’ कार्कीले भनेका थिए ।

संविधानको धारा १६८ (५) बमोजिम कार्की मुख्यमन्त्री बनेका हुन् । यो उपधारालाई सरकार बनाउने अन्तिम विकल्पमा प्रयोग हुने संवैधानिक व्यवस्था छ । यही संवैधानिक व्यवस्थाका कारण राजीनामा गर्दा संकट आउने कार्कीले तर्क गर्दै आएका छन् ।

तर एमाले पुनगर्ठन अभियानमा कार्की लागेपछि उनलाई जसरी पनि हटाउने निष्कर्षमा ओली छन् । कोशी, लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीहरु नै पुनर्गर्ठन अभियानमा लागेका थिए ।

उनीहरूमध्ये कर्णालीका मुख्यमन्त्रीबाट यामलाल कँडेल हटिसकेका छन् । बाँकी प्रदेशका मुख्यमन्त्री हटाएर आफू निकटलाई अगाडि सार्ने योजनामा छन् ।

तर उपाध्यक्ष पौडेल र महासचिव पोखरेल सहितका पदाधिकारीहरु हालका मुख्यमन्त्री हटाउन नहुने पक्षमा उभिँदा ओली दबाबमा परेका थिए । त्यसैअनुसार लुम्बिनीमा चेतनारायण आचार्य र कोशीमा कार्कीलाई निरन्तरता दिन ओली तयार भएका थिए ।

‘राजनीतिक स्थायित्व र संवैधानिक अवस्थालाई हेरेर हालकै मुख्यमन्त्रीहरु नचलाउने भन्ने कुरा भएको हो,’ एक पदाधिकारी भन्छन्, ‘तर लण्डनबाट फर्किए लगत्तै शेरधन राईलाई हिक्मत कार्की हटाउने जिम्मेवारीमा पठाइएको छ ।’

उच्च स्रोतका अनुसार ओली आफैले पनि कोशीका सांसदहरूलाई फोन गरिरहेका छन् । हिक्मत कार्कीले राजीनामा नदिए सांसदहरुको बहुमत जुटाउन ओली सक्रिय भएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?