News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा सूक्ष्म, साना तथा मझौला उद्यमको सुरक्षाका लागि बीमा प्रणाली विकास गर्नुपर्ने अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
- यूएनडीपी र नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको अध्ययनले व्यवसाय निरन्तरता र आर्थिक उत्थानका लागि बीमालाई महत्त्वपूर्ण साधनका रूपमा औँल्याएको छ ।
- पूर्वअर्थमन्त्री रामेश्वर खनालले एमएसएमईको जोखिम व्यवस्थापनमा निक्षेप तथा कर्जा सुरक्षण कोष र बीमा प्राधिकरणको भूमिका थप प्रभावकारी हुनुपर्ने धारणा राखे ।
१८ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको सहयोगमा ‘इन्टिग्रेटेड इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएस) ले गरेको अध्ययनले माइक्रो एसएमईलाई प्राकृतिक विपद्, जलवायु तथा अन्य अवरोधबाट सुरक्षित बनाउन बीमालाई विकास गर्नुपर्ने सुझाव दिएको छ ।
वित्तीय उत्पादनभन्दा पनि व्यवसाय निरन्तरता र आर्थिक उत्थानको महत्त्वपूर्ण साधनका रूपमा बीमालाई विकास गर्न अध्ययनले सुझाएको हो ।
यूएनडीपी नेपाल र नेपाल बिमा प्राधिकरणले सोमबार ‘रिस्क म्यानेजमेन्ट इन नेपाल्स एमएसएमइज: द इन्स्योरेन्स प्रोटेक्सन ग्याप’ अध्ययन प्रतिवेदन सोमबार सार्वजनिक गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सहकार्यमा सार्वजनिक प्रतिवेदनमा बीमा पहुँचका संरचनागत अवरोध पहिचान गर्दै पहुँच, वहन योग्यता र उपलब्धता सुधारका लागि विभिन्न नीतिगत सिफारिस समेत छ ।
उक्त अध्ययनले नेपालका सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) मा बीमा पहुँच विस्तार गर्न नीतिगत तथा नियामकीय सुधारको आवश्यकता औँल्याएको छ ।
यूएनडीपीको इन्स्योरेन्स एन्ड रिस्क फाइनान्स फ्यासिलिटी (आईआरएफएफ) को सहयोगमा आईआईडीएसले तयार पारेको उक्त अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा एमएसएमई क्षेत्रमा बीमा पहुँच विस्तार र वित्तीय उत्पादनशीलता सुदृढ गर्ने विषयमा उच्चस्तरीय नीतिगत संवाद समेत आयोजना गरिएको थियो ।
अध्ययनले एमएसएमईहरू रोजगारी सिर्जना, स्थानीय जीविकोपार्जन र आर्थिक वृद्धिका प्रमुख आधार भए पनि विभिन्न जोखिमप्रति अत्यन्त संवेदनशील रहेको देखाएको छ ।
त्यसैले विपद् जोखिम व्यवस्थापन र व्यवसायको दीर्घकालीन स्थायित्वका लागि बीमा प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।
नीतिगत संवादमा सरकारी अधिकारी, नीति निर्माता, नियामक निकाय, बीमा उद्योग, वित्तीय संस्था तथा एमएसएमई क्षेत्रका प्रतिनिधिले नियामकीय सुधार, नवीन बीमा उत्पादन विकास, सार्वजनिक–निजी साझेदारी विस्तार तथा दिगो वित्त र विपद् जोखिम वित्तीय व्यवस्थापनसँग बीमालाई जोड्नुपर्नेमा जोड दिएका थिए ।
पूर्वअर्थमन्त्री रामेश्वर खनालले नेपालको आर्थिक वृद्धिमा एमएसएमईको महत्त्वपूर्ण योगदान रहेकाले यस क्षेत्रको जोखिम व्यवस्थापनमा निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल बीमा प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताए ।
उनले बीमा शुल्कमा उपलब्ध सरकारी सहायता सुदृढ गरी एमएसएमईको उत्थानशीलता अभिवृद्धि गर्नुपर्ने धारणा राखे ।
यूएनडीपी नेपालका आवासीय प्रतिनिधि क्योको योकोसुकाले एमएसएमई नेपालको अर्थतन्त्रको मेरुदण्ड भए पनि विभिन्न जोखिमबाट सबैभन्दा बढी प्रभावित हुने भएकाले बीमा संरक्षणको दायरा विस्तार गर्नु व्यवसाय, रोजगारी र समग्र अर्थतन्त्रको उत्थानशीलताका लागि आवश्यक रहेको बताइन् ।
उनले समावेशी बीमा प्रणाली विस्तारका लागि सरकार, नेपाल बीमा प्राधिकरण, निजी क्षेत्र तथा विकास साझेदारसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
बीमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशीलदेव सुवेदीले अध्ययनका सिफारिसले एमएसएमईका लागि बीमालाई दिगो विकास र उत्थानशीलताको रणनीतिक लगानीका रूपमा स्थापित गर्न सहयोग पुग्ने तथा आगामी नीति तथा नियामकीय सुधारका लागि मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4