+

नितम्बको आकार बढाउने उपचार कति जोखिमपूर्ण ? २४ घण्टामै मृत्यु भएपछि उठ्यो प्रश्न

२०८३ साउन  १९ गते १८:४३ २०८३ साउन १९ गते १८:४३
नितम्बको आकार बढाउने उपचार कति जोखिमपूर्ण ? २४ घण्टामै मृत्यु भएपछि उठ्यो प्रश्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतमा शरीरको आकार बढाउने बिना शल्यक्रियाको बीबीएल उपचार गराएकी ३३ वर्षीया एलिस वेबको उपचारको २४ घण्टाभित्रै मृत्यु भएको छ।
  • सामाजिक सञ्जालको प्रभाव र सुन्दर देखिने बढ्दो दबाबका कारण युवाहरूमा असुरक्षित कस्मेटिक उपचारको आकर्षण तीव्र रूपमा बढिरहेको छ।
  • चिकित्सकीय योग्यता नभएका व्यक्तिहरूबाट हुने यस्ता उपचारले संक्रमण र गम्भीर स्वास्थ्य जोखिम निम्त्याइरहेको भन्दै विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

शरीरको बनोट आफूले चाहेअनुसार बनाउने चाहना अहिले धेरै मानिसमा बढ्दै गएको छ । विशेषगरी नितम्बलाई ठूलो र आकर्षक देखाउन गरिने कस्मेटिक उपचारप्रति युवतीहरूको आकर्षण बढिरहेको छ ।

सामाजिक सञ्जालमा देखिने आकर्षक शरीरका फोटो, सेलिब्रेटीको जीवनशैली र सुन्दर देखिने दबाबका कारण यस्ता उपचार लोकप्रिय बन्दै गएका छन् । तर, शरीरको आकार परिवर्तन गर्ने यस्ता उपचार सधैं सुरक्षित हुन्छन् भन्ने हुँदैन ।

बेलायतकी ३३ वर्षीया एलिस वेबले पनि नितम्बलाई उठेको आकार दिन गरिने ‘बिना शल्यक्रियाको ब्राजिलियन बट लिफ्ट’ (बीबीएल) उपचार गराउने निर्णय गरेकी थिइन् ।

उनलाई लागेको थियो, केही घण्टामै उपचार सकिन्छ र उनी आफ्ना पाँच छोराछोरी लिन घर फर्किन सक्छिन् । तर, उपचारपछि उनी कहिल्यै घर फर्किन सकिनन् । उपचार गरेको २४ घण्टाभित्रै उनको मृत्यु भयो ।

एलिसको मृत्युले शरीरको आकार परिवर्तन गर्न गरिने कस्मेटिक उपचार कति सुरक्षित छन् ? भन्ने विषयमा फेरि बहस सुरु भएको छ।

नितम्ब ठूलो बनाउने उपचार कसरी गरिन्छ ?

बिनाशल्यक्रिया गरिने बीबीएल प्रक्रियामा नितम्बको आकार बढाउन ठूलो मात्रामा ‘डर्मल फिलर’ नामक पदार्थ सुईमार्फत शरीरमा हालिन्छ ।

डर्मल फिलर एक प्रकारको जेलजस्तो पदार्थ हो, जसले शरीरको कुनै भागलाई भरिएको वा उभिएको देखाउन प्रयोग गरिन्छ । यसलाई प्रायः अनुहारका चाउरी कम गर्न, छालामा भराव ल्याउन र शरीरका केही भागको आकार परिवर्तन गर्न प्रयोग गरिन्छ ।

तर, शरीरको संवेदनशील भागमा ठूलो मात्रामा यस्तो पदार्थ हाल्दा संक्रमण, तन्तुमा क्षति र अन्य गम्भीर समस्या आउन सक्ने जोखिम हुन्छ ।

एलिसको मृत्यु बेलायतमा बिना शल्यक्रियाको बीबीएल उपचारपछि भएको पहिलो मृत्युको रूपमा हेरिएको छ । उनको मृत्युको कारणबारे औपचारिक अनुसन्धान गरिँदैछ ।

सजिलो पहुँच, तर बढ्दो जोखिम

कस्मेटिक उपचार अहिले ठूला सौन्दर्य केन्द्रदेखि साना ब्यूटी पार्लर, भाडाका कोठा र होटलका कोठासम्म पुगिसकेको छ । बीबीसीले गरेको अध्ययनका क्रममा केही यस्ता ठाउँ भेटिएका थिए, जहाँ पर्याप्त चिकित्सकीय व्यवस्था र सुरक्षा मापदण्डबिना शरीरमा ठूलो मात्रामा फिलर हाल्ने काम भइरहेको थियो ।

कतिपय अवस्थामा चिकित्सकको सल्लाह आवश्यक पर्ने औषधिसमेत उचित जाँचबिनै दिन खोजिएको पाइएको थियो । अनुसन्धानका क्रममा सामाजिक सञ्जालमार्फत लेबल नभएका तौल घटाउने सुईसमेत बिक्री गर्न खोजिएको पाइयो ।

उपचारपछि समस्या भोग्ने महिलाको संख्या बढ्दै

अनुसन्धानका क्रममा कुरा गरिएका धेरै महिलाले आफूले कम जोखिमपूर्ण र सामान्य सौन्दर्य उपचार ठानेर गराएको प्रक्रियापछि गम्भीर समस्या भोग्नुपरेको बताएका छन् ।

कतिपय महिलामा संक्रमण देखिएको थियो भने केहीलाई अस्पतालमै भर्ना गर्नुपरेको थियो । कस्मेटिक उपचारसम्बन्धी संस्था ‘सेभ फेस’ का अनुसार उसले गम्भीर असर परेका धेरै मानिसका गुनासा पाएको छ ।

एक महिलाको आँखाको शल्यक्रिया गलत भएपछि उनले आँखाको ढकनी पूर्णरूपमा बन्द गर्न नसक्ने समस्या भोग्नुपरेको थियो । अर्की महिलाको शरीरको बोसो हटाउने उपचार (लिपोसक्सन) गर्दा आन्द्रामा प्वाल परेको थियो ।

संस्थाकी निर्देशक एस्टन कोलिन्सले यस्ता घटना निकै चिन्ताजनक भएको बताएकी छिन् । उनका अनुसार कस्मेटिक सुईसम्बन्धी उपचारलाई धेरैले सामान्य सौन्दर्य सेवाजस्तै ठानिरहेका छन्, जबकि यसमा स्वास्थ्य जोखिम पनि जोडिएको हुन्छ ।

सामाजिक सञ्जाल र सुन्दर देखिने दबाब

पहिले कस्मेटिक उपचारलाई विशेषगरी आर्थिक रूपमा सक्षम र उमेर बढ्दै गएका मानिससँग जोडेर हेरिन्थ्यो । मानिसहरू उमेरको असर कम देखाउन यस्ता उपचार गराउँथे ।

तर पछिल्लो दशकमा यसको स्वरूप निकै परिवर्तन भएको छ । अहिले युवायुवतीलाई लक्षित गरेर डर्मल फिलर, बोटोक्स र शरीरको आकार परिवर्तन गर्ने अन्य उपचारको प्रचार बढेको छ ।

विशेषज्ञहरूका अनुसार सामाजिक सञ्जाल र मनोरञ्जन क्षेत्रले पनि यसमा ठूलो भूमिका खेलेका छन् । ठूला ओठ, उभिएका गाला, भरिएको नितम्ब र सधैं जवान देखिने अनुहारलाई सुन्दरताको मापदण्डजस्तो प्रस्तुत गरिँदा धेरै मानिस त्यस्तै देखिन चाहन्छन् ।

‘सेभ फेस’ की निर्देशक एस्टन कोलिन्सका अनुसार सामाजिक सञ्जालका कारण यस्ता उपचारलाई धेरैले स्वास्थ्यसँग जोडिएको प्रक्रिया नभई सामान्य सौन्दर्य सेवाजस्तो बुझ्न थालेका छन् ।

उनका अनुसार मानिसहरू नङ सजाउने वा आँखीभौँ मिलाउने सेवाजस्तै सुईमार्फत गरिने उपचारलाई पनि सामान्य ठानिरहेका छन् ।

तर वास्तविकता फरक छ । शरीरमा सुईमार्फत गरिने यस्ता उपचारमा चिकित्सकीय ज्ञान, उचित परीक्षण र सुरक्षित वातावरण आवश्यक हुन्छ ।

योग्यताभन्दा सस्तो र सजिलो विकल्प रोज्ने समस्या

विशेषज्ञहरूका अनुसार धेरै मानिसले उपचार गराउँदा उपचार गर्ने व्यक्तिको योग्यता, अनुभव र सुरक्षाका विषयमा पर्याप्त ध्यान दिँदैनन् ।

कम मूल्य, सजिलो पहुँच र सामाजिक सञ्जालमा देखिने आकर्षक परिणामका कारण धेरै ग्राहक जोखिमपूर्ण ठाउँसम्म पुग्ने गरेका छन् ।

कतिपयलाई बोटोक्सजस्ता उपचार पनि चिकित्सकीय प्रक्रिया हुन् भन्ने जानकारी हुँदैन । यस्ता उपचार सुरु गर्नुअघि स्वास्थ्य जाँच र जोखिमबारे जानकारी दिन आवश्यक हुन्छ ।

एस्टन कोलिन्सका अनुसार सामाजिक सञ्जालमा यस्ता उपचारको सकारात्मक पक्ष मात्र देखाइने भएकाले मानिसले सम्भावित जोखिमलाई गम्भीर रूपमा नलिने अवस्था आएको छ ।

कस्मेटिक सुईको बजार तीव्र विस्तार

यस क्षेत्रमा काम गर्ने मानिसको आधिकारिक विवरण राख्ने कुनै एकीकृत व्यवस्था नहुँदा यो बजारको वास्तविक आकार कति छ भन्ने स्पष्ट छैन ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का प्लास्टिक सर्जन तथा युनिभर्सिटी कलेज लन्डनका अनुसन्धानकर्ता डा.एलेक्जेन्डर जरगरानले गरेको अध्ययनले बोटोक्ससम्बन्धी सेवामा ठूलो वृद्धि भएको देखाएको छ ।

उनका अनुसार सन् २०२५ मा बेलायतभर करिब २० हजार मानिसले यस्तो सेवा दिइरहेका थिए । जबकि सन् २०२३ मा यो संख्या करिब साढे तीन हजार मात्र थियो ।

यसले कस्मेटिक उपचारको बजार निकै तीव्र गतिमा विस्तार भइरहेको देखाउँछ ।

अध्ययनले अर्को चिन्ताजनक पक्ष पनि देखाएको छ । चिकित्सकीय योग्यता नभएका व्यक्तिबाट यस्ता उपचार गराउनेको संख्या बढिरहेको छ ।

सन् २०२३ देखि २०२५ बीचमा चिकित्सकीय योग्यता नभएका व्यक्तिले सौन्दर्य उपचार दिने अनुपात १२ प्रतिशतबाट बढेर करिब २५ प्रतिशत पुगेको अध्ययनमा उल्लेख छ ।

नियम कमजोर हुँदा बढेको जोखिम

बेलायतमा डर्मल फिलर प्रयोग गर्नका लागि अहिले पनि धेरै कडा कानुनी व्यवस्था छैन । तालिम लिएको दाबी गर्ने जोसुकैले पनि कानुनी रूपमा यस्तो सेवा दिन सक्ने अवस्था रहेको बताइएको छ ।

तर चिकित्सक, नर्स र दन्त चिकित्सकजस्ता स्वास्थ्यकर्मी भने छुट्टाछुट्टै नियामक निकायको निगरानीमा हुन्छन् । उनीहरूमाथि उजुरी आएमा छानबिन र कारबाही गर्ने व्यवस्था हुन्छ ।

कस्मेटिक उपचार दिने तर चिकित्सकीय योग्यता नभएका व्यक्तिका लागि भने त्यस्तो स्पष्ट निगरानी व्यवस्था छैन । यसै कारण ग्राहकले उपचार गर्ने व्यक्तिको वास्तविक योग्यता, तालिम र समस्या आएपछि कहाँ जाने भन्ने विषयमा अन्योल भोग्नुपर्ने अवस्था रहेको विशेषज्ञहरू बताउँछन् ।

उपचारपछि संक्रमणसँग लड्दै गरेकी जोआन

एलिस वेबको मृत्यु हुनुअघि नै यस्तै उपचारबाट समस्या भोगेकी अर्की महिला पनि थिइन् । २०२४ को जुनमा जोआन नामकी महिला बेलायतको एसेक्सस्थित एउटा अस्थायी क्लिनिकमा बिना शल्यक्रियाको बीबीएल उपचार गराउन पुगेकी थिइन् ।

उनलाई लागेको थियो, विदेश गएर शल्यक्रिया गराउनुभन्दा यो उपाय कम जोखिमपूर्ण हुन्छ । उनको चाहना केवल नितम्बलाई अलि उठेको र आकर्षक आकार दिनु थियो । तर उपचारपछि अवस्था सोचेभन्दा फरक भयो ।

उपचारका क्रममा उनको शरीरमा करिब एक लिटर फिलर हालिएको थियो । केही समयपछि उनलाई गम्भीर संक्रमण भयो । अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गर्नुपर्‍यो ।

जोआनका अनुसार उपचार गरेको दुई वर्ष बितिसक्दा पनि उनको तिघ्रा र नितम्बमा त्यसको असर र दाग अझै बाँकी छन् ।
उनी भन्छिन्, ‘त्यो ठाउँबाट म तुरुन्तै फर्किनुपर्ने थियो ।’

सुन्दर देखिने चाहनाले बढाउँदैछ जोखिम

विशेषज्ञहरूका अनुसार शरीरको बनोट परिवर्तन गर्ने चाहना आफैंमा गलत होइन । तर यस्तो उपचार गराउँदा यसको जोखिम, उपचार गर्ने व्यक्तिको योग्यता र उपचार हुने ठाउँको सुरक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ ।

डर्मल फिलर सामान्यतया हायलुरोनिक एसिडबाट बनेको जेलजस्तो पदार्थ हो । यसलाई छाला भरिलो बनाउन र शरीरका केही भागलाई उठेको देखाउन प्रयोग गरिन्छ ।

तर जब ठूलो मात्रामा शरीरको संवेदनशील भागमा यस्तो पदार्थ प्रयोग गरिन्छ, संक्रमण, शरीरको तन्तु बिग्रिने समस्या र अन्य जटिलता आउन सक्छन् ।

युवा पुस्तामा किन बढ्दैछ आकर्षण ?

एक समय कस्मेटिक उपचार उमेर बढेपछि गरिने उपचारका रूपमा चिनिन्थ्यो । तर अहिले युवा पुस्तामाझ पनि यसको आकर्षण बढेको छ ।

ठूला ओठ, उठेका गाला, आकर्षक शरीरको बनोट र जवान देखिने चाहनाले यस्ता उपचारतर्फ मानिस आकर्षित भइरहेका छन्।

विशेषज्ञहरूका अनुसार सामाजिक सञ्जालमा देखाइने ‘पूर्ण शरीर’ को छविले मानिसमा आफ्नो शरीरप्रति असन्तुष्टि बढाउन सक्छ ।

धेरैले सामाजिक सञ्जालमा देखिने परिणाम मात्र हेर्छन् । तर त्यस पछाडि हुन सक्ने स्वास्थ्य जोखिमबारे पर्याप्त जानकारी पाउँदैनन् ।

पीडितले न्याय खोज्दा देखिएको समस्या

सन् २०२३ मा लुइज मोलर नामकी २८ वर्षीया महिलाले पनि लिक्विड बीबीएल उपचार गराएकी थिइन् । उपचार गरेको चार दिनपछि उनको स्वास्थ्य निकै बिग्रियो । उनलाई गम्भीर संक्रमण (सेप्सिस) भयो र अस्पताल लैजानुपर्‍यो ।

उनको अवस्था यति गम्भीर थियो कि संक्रमण फैलिन नदिन चिकित्सकहरूले उनको नितम्बको ठूलो भाग हटाउनुपरेको थियो ।
लुइजकी आमाले उपचार गर्ने व्यक्तिविरुद्ध उजुरी दिइन् । तर घटनाको अनुसन्धान प्रक्रिया निकै जटिल बन्यो । एक निकायले अर्को निकायलाई जिम्मेवारी देखाउने अवस्था आएपछि पीडित परिवारले न्याय पाउन कठिन भएको गुनासो गरेका थिए।

कस्मेटिक उपचार क्षेत्रमा निगरानी कमजोर हुँदा समस्या परेका मानिसले उजुरी गर्ने, दोषीमाथि कारबाही हुने र भविष्यमा यस्ता घटना रोक्ने विषय चुनौतीपूर्ण बनेको विशेषज्ञहरू बताउँछन् ।

बीबीसीबाट 

कस्मेटिक उपचार नितम्ब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय