News Summary
Generated by OK AI. Editorially reviewed.- युरोपेली संघका सदस्य राष्ट्रहरूले सेउटा संकटमा स्पेनले गरेको द्रुत व्यवस्थापनको प्रशंसा गर्दै ऐक्यबद्धता व्यक्त गरेका छन्।
- स्पेनका गृहमन्त्रीका अनुसार सेउटामा प्रवेश गरेका ७२ हजार आप्रवासीमध्ये ७० हजार मानिस मोरक्को फर्किसकेका छन्।
- स्पेन सरकारले सेउटामा रहेका अभिभावकविहीन बालबालिकाको हेरचाह र संरक्षणका लागि २५ मिलियन युरोको विशेष बजेट विनियोजन गरेको छ।
२० साउन, बार्सिलोना । सेउटामा गत साता भएको अभूतपूर्व आप्रवासी संकटपछि स्पेनको आप्रवासन नीतिमाथि प्रश्न उठाएका युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रहरूको स्वर फेरिएको छ।मंगलबार बसेको आपतकालीन बैठकमा सदस्य राष्ट्रहरूले स्पेनको संकट व्यवस्थापनलाई ‘द्रुत र प्रभावकारी’ भन्दै प्रशंसा गरेका छन् भने आप्रवासन चुनौतीको सामना गर्न स्पेनप्रति ऐक्यबद्धता पनि व्यक्त गरेका छन्।
केही दिनअघि इटाली, डेनमार्कसहित २२ सदस्य राष्ट्रले स्पेनको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै आलोचनात्मक पत्र पठाएका थिए । तर, मंगलबारको बैठकपछि सार्वजनिक धारणा भने केही फरक देखिएको छ। बैठकको अध्यक्षता गरेका आयरल्याण्डका न्यायमन्त्री जिम ओ’कालाघानले आप्रवासन कुनै एक देशको मात्र नभई सम्पूर्ण युरोपको साझा चुनौती भएकाले त्यसको समाधान पनि संयुक्त रूपमा खोजिनुपर्ने बताए।
स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्दे-मार्लास्काले बैठकपछि सदस्य राष्ट्रहरूले सेउटा संकटमा स्पेनले चालेका तत्कालका कदमको सकारात्मक मूल्यांकन गरेको जानकारी दिए। उनले युरोपेली साझेदारहरूको समर्थनलाई स्वागत गर्दै संकटको सामना साझा जिम्मेवारीका साथ गर्नुपर्नेमा जोड दिए।मार्लास्काका अनुसार गत साता सेउटामा प्रवेश गरेका करिब ७२ हजार आप्रवासीमध्ये ७० हजार मोरक्को फर्किसकेका छन्। उनका अनुसार स्पेनले केही दिनमै ठूलो संख्यामा आप्रवासीलाई फर्काउन सफल भएको र अवस्था क्रमशः सामान्य बन्दै गएको छ।
उनले सेउटा शेंगेन क्षेत्रको विशेष व्यवस्थाअन्तर्गत पर्ने भएकाले त्यहाँबाट स्पेनको मुख्यभूमि वा अन्य युरोपेली मुलुकतर्फ जान अनिवार्य कागजात जाँच हुने र यस घटनाले शेंगेन क्षेत्रको स्वतन्त्र आवागमन प्रणालीलाई कुनै जोखिम नपुर्याएको बताए ।
युरोपेली आयोगले पनि सेउटा संकटमा स्पेनको द्रुत प्रतिक्रिया र सीमा व्यवस्थापनको प्रशंसा गरेको छ। आयोगले अनियमित आप्रवासन कुनै एक देशको मात्र नभई सम्पूर्ण युरोपको साझा चुनौती भएको उल्लेख गर्दै सीमा सुरक्षा थप सुदृढ बनाउन स्पेनलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यद्यपि बैठकमा स्पेनले अघि बढाइरहेको नियमितीकरण (रेगुलारिसासियोन) कार्यक्रमबारे छलफल भने जारी रह्यो। युरोपेली आयोगले सेउटामा भएको ठूलो आप्रवासी प्रवेश र नियमितीकरण कार्यक्रमबीच प्रत्यक्ष सम्बन्ध नरहेको स्वीकार गरे पनि यस्तो नीतिले युरोपका अन्य सदस्य राष्ट्रमा फरक सन्देश जान सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।
यसैबीच, सेउटा संकटमा हालसम्म स्पेनतर्फ ७५ र मोरक्कोतर्फ ११ जनाको मृत्यु भएको पुष्टि भएको छ। स्पेन सरकारले सेउटामा रहेका अभिभावकविहीन बालबालिकाको हेरचाहका लागि २५ मिलियन युरोको विशेष बजेट पनि घोषणा गरेको छ।
मार्लास्काले सेउटामा भएको अभूतपूर्व आप्रवासी प्रवेशबारे स्पेनका गुप्तचर निकायबाट यसअघि कुनै विशेष चेतावनी प्राप्त नभएको पनि दोहोर्याए।उनका अनुसार गर्मीयाममा अनियमित आप्रवासन केही बढ्न सक्ने सामान्य अनुमान भए पनि यसपटकको जस्तो ठूलो घटनाको पूर्वसूचना सुरक्षा निकायसँग थिएन।
यद्यपि मंगलबारको बैठकले स्पेनप्रति तत्कालका लागि समर्थन र ऐक्यबद्धताको सन्देश दिएको भए पनि आप्रवासन नीतिबारे युरोपभित्रको बहस भने टुंगिएको छैन। बाह्य सीमा सुरक्षा, अनियमित आप्रवासन नियन्त्रण र स्पेनको नियमितीकरण नीतिबारे सदस्य राष्ट्रहरूबीच मतभेद अझै कायम छन्।त्यसैले सेउटा संकट तत्काल नियन्त्रणमा आए पनि त्यसले युरोपको आप्रवासन नीतिबारे सुरु गरेको राजनीतिक बहस भने अझै जारी रहने संकेत देखिएको छ।
प्रतिक्रिया 4