+
+
Shares

नर्सिङमा पीएचडी गर्ने पहिलो नर्स रोजी बनिन् अनुदान आयोग सदस्यसचिव

नर्सिङ शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवामा कार्यरत श्रेष्ठले नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गरेकी छिन् । उनी नर्सिङमा विद्यावारिधि गर्ने नेपालको पहिलो नर्ससमेत हुन् ।

दिनेश गौतम दिनेश गौतम
२०८३ साउन २० गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठलाई नियुक्त गरेको छ।
  • नर्सिङ विषयमा विद्यावारिधि गर्ने नेपालकी पहिलो नर्स श्रेष्ठले उच्च शिक्षाको गुणस्तर सुधार र अनुसन्धानमुखी बनाउने कार्यमा जोड दिने बताइन्।
  • तीन दशकभन्दा लामो अनुभव बोकेकी श्रेष्ठ यसअघि बीएन्डबी अस्पतालको नर्सिङ निर्देशकको रूपमा कार्यरत थिइन्।

२० साउन, काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यसचिव नियुक्त गरेको हो ।

नर्सिङ शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवामा कार्यरत श्रेष्ठले नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गरेकी छिन् । उनी नर्सिङमा विद्यावारिधि गर्ने नेपालको पहिलो नर्ससमेत हुन् ।

‘नेपालबाट नर्सिङमा पहिलो पटक पीएचडी गरेको हुँ,’ उनले भनिन्, ‘पूर्वाञ्चल विश्वविद्यालयबाट नर्सिङमा प्राध्यापक हुने पनि म पहिलो हुँ ।’

नर्सिङ शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धानको विकास तथा स्वास्थ्य सेवा व्यवस्थापनमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहेकी उनी आयोगको सदस्यसचिव बनेकी छिन् । हाल उनी बीएन्डबी अस्पतालको नर्सिङ निर्देशक थिइन् ।

डा. श्रेष्ठले पीसीएल नर्सिङ महाराजगञ्ज नर्सिङ क्याम्पसबाट हासिल गरेकी हुन् । त्यसपछि भारतको बीएम बिरला अस्पतालबाट डिप्लोमा, भारतकै लुधियाना मेडिकल कलेजबाट नर्सिङमा स्नातकोत्तर गरेकी छिन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा विज्ञान अध्ययन संस्थानबाट नर्सिङ विषयमा उनले विद्यावारिधि पूरा गरेकी हुन् । उनको विद्यावारिधि हृदय रोगीहरूको जीवनस्तरमा केन्द्रित छ ।

श्रेष्ठले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, थापाथली प्रसूति अस्पताल तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्सदेखि वरिष्ठ नर्सिङ अधिकृतसम्मको जिम्मेवारी निर्वाह गरेकी छिन् । उनी सहायक प्राध्यापक, सहप्राध्यापक हुँदै प्राध्यापक भएकी हुन् ।

अनुसन्धान र शिक्षामा पुर्‍याएको योगदानका लागि उनले सरकारबाट नेपाल विद्याभूषण ‘क’ सम्मान प्राप्त गरेकी छिन् ।

नेपालकी पहिलो नर्सिङ विद्यावारिधि प्राप्त विद्वानका रूपमा सम्मानित हुनुका साथै विश्वविद्यालय अनुदान आयोगबाट उनले पीएचडी फेलोसिप पाएकी छिन् । श्रेष्ठले भारत सरकारबाट उच्च शिक्षाका लागि छात्रवृत्ति पाएकी थिइन् ।

उनी स्वास्थ्य विज्ञान संकायका शिक्षकहरूको क्षमता विकास, अनुसन्धान प्रस्ताव लेखन, नेतृत्व विकास तथा नर्सिङ शिक्षाको गुणस्तर सुधारमा सक्रिय छिन् ।

श्रेष्ठ नेपाल नर्सिङ काउन्सिल, नेपाल नर्सिङ संघ, एसियन एसोसिएसन अफ कार्डियाक नर्सेस तथा नेपाल पीएचडी एसोसिएसन जस्ता संस्थासँग आबद्ध छिन् । आयोगको सदस्यसचिव भएपछि उनले उच्च शिक्षा सुधारमा योगदान दिने बताएकी छिन् ।

‘छिटो छरितो सर्भिस दिनु पर्नेछ । गुणस्तरीय उच्च शिक्षामा आफ्नो योगदान दिनेछु,’ उनले भनिन्, ‘त्रिविबाट समकक्षता आयोगमा सरेको छ । त्यसमा द्रुत गतिमा काम गर्नु पर्नेछ । उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन मेरो पहल रहन्छ ।’

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?