+
+
Shares

विदेशमा कागजात नभएर अप्ठ्यारोमा परेकाको उद्धार गर्दै श्रम मन्त्रालय

यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य समस्या समाधान गर्न ‘मेडिसिटी’ व्यवस्थालाई मन्त्रालय आफैँले सञ्चालन गर्ने समेत तयारी रहेको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका १५५ नेपाली नागरिकलाई कल्याणकारी कोषको सहयोगमा उद्धार गर्ने भएको छ ।
  • श्रममन्त्री रामजी यादवले मन्त्रालयले यस वर्ष स्वदेशमै एक लाख रोजगारी सिर्जना गर्न १२ वटा कार्ययोजना अघि सारेको जानकारी समितिमा दिए।
  • मन्त्रालयले ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’का नाममा हुने ठगी नियन्त्रण गर्न कार्यदल गठन गर्नुका साथै वैदेशिक रोजगार ऐन संशोधन प्रक्रिया पनि अघि बढाएको छ ।

२० साउन, काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट विभिन्न मुलुकमा रहेका कागजपत्र नभएका र भिजिट भिसामा गएर अलपत्र परेका १५५ जना नेपाली नागरिकलाई उद्धार गर्ने भएको छ ।

श्रममन्त्री रामजी यादवले आज प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जानकारी गराउँदै उद्धार प्रक्रिया अगाडि बढाइएको समेत बताए। उनले कोषमा रहेको रु १५ करोड बजेट रहेको र त्यसैको सहयोगमा उद्धार गरिने बताएका हुन् ।

समितिमा मन्त्री यादवले वैदेशिक रोजगारको अवस्था, स्वदेशी श्रमिकको अवस्था, रोजगार सिर्जना र मन्त्रालयसम्बन्धी विभिन्न ऐनको निर्माण प्रक्रियाबारे समेत जानकारी दिए। उनका अनुसार यो वर्ष एक लाख जनालाई स्वदेशमै रोजगार सिर्जना गर्ने मन्त्रालयको योजना छ ।

साथै, यसका लागि मन्त्रालयले राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत ‘ग्रिन जब मिसन’लगायत विभिन्न १२ वटा कार्य योजना तयार पारेको बताए । उनले समितिलाई जानकारी गराउँदै भने, ‘मन्त्रालयले स्वदेशमै रोजगार सिर्जना गर्ने विषयमा प्राथमिकताका साथ काम गरिहरको छ ।’

यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य समस्या समाधान गर्न ‘मेडिसिटी’ व्यवस्थालाई मन्त्रालय आफैँले सञ्चालन गर्ने समेत तयारी रहेको उनले बताए ।

यसअघि वीर अस्पतालका चिकित्सकले फोनको भरमा उपचार सेवा दिने गरेको भए पनि त्यति प्रभावकारी नभएको पनि उनले प्रष्ट पारे।

बैठकमा उनले वैदेशिक रोजगार ऐन समसामयिक बनाउँदै संशोधन प्रक्रियामा अघि बढेको बताए। साथै, ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’को नाममा हुने ठगी नियन्त्रण रोक्न आवश्यक रहेको बताउँदै मन्त्री यादवले यसको समस्या समाधान गर्न कार्यदल गठन भएको जानकारी गराए।

घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा जाने घरेलु श्रमिकको समस्या चुनौती पूर्ण रहेको उनको भनाइ थियो । उनका अनुसार नेपालमै घरेलु श्रमिकको अवसर प्रशस्त रहेको र स्वदेशमै मर्यादित, व्यवस्थित घरेलु कामदारको अवसर सिर्जना गर्न मन्त्रालयले प्रक्रिया सुरु गर्दैछ ।

वैदेशिक रोजगारको ठगीमा परेकाको उजुरी सुनुवाइ गर्न मन्त्रालयले अनलाइन उजुरी प्रणाली प्रभाकारी रूपमा लागु गरेको समेत उनले बताए । यसले उजुरी दर्ता गर्नकै लागि काठमाडौँमा धाउनुपर्ने समस्या समाधान भएको उनको धारणा थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?