२२ असार, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारको ध्यान नेपालमा नै मर्यादित रोजगारी सिर्जना गर्नुमा केन्द्रित रहेको बताएका हुन् ।
यसका लागि श्रम क्षेत्रको नियमन र रोजगार प्रवद्र्धनका कार्यक्रमलाई तीव्र बनाएको उनले जानकारी दिए ।
श्रम अधिकार, मर्यादित काम र श्रमिक सुरक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न श्रम निरीक्षणलाई रणनीतिक प्राथमिकता दिएको उनले बताए ।
उनकाअनुसार पछिल्लो १०० दिनमा १ हजार ३ सय २१ प्रतिष्ठानमा श्रम निरीक्षण सम्पन्न गरिएको छ । श्रमिकका उजुरी, निवेदन तथा निरीक्षणका क्रममा श्रम शोषणसम्बन्धी कारबाहीबाट जरिवाना र सहमतिबापत ४ करोड ४० लाख ९६ हजार २०५ रुपैयाँ असुल गरिएको उनले जानकारी दिए ।
श्रम निरीक्षणको दर ६० प्रतिशतले वृद्धि भएको उनले बताए ।
श्रम क्षेत्रको नियमनमा कारबाहीसँगै प्रोत्साहनको नीति पनि अपनाइएको उनको भनाइ छ । यससँगै राष्ट्रिय रोजगार नीति–२०७१ लाई समयानुकूल बनाउने उद्देश्यले राष्ट्रिय रोजगार नीति–२०८३ को मस्यौदा तयार गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए । साथै, नेपालमै पहिलो पटक केयर इकोनोमी नीति निर्माण प्रक्रिया सुरु गरिएको उनले बताए ।
उनले भने, ‘मन्त्रालयले आन्तरिक रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ । सरकारले २०८३ देखीको दशकलाई रोजगार प्रवर्द्धन दशकको रूपमा घोषणा गरिसकेको छ । राष्ट्रिय रोजगार नीति, २०७१ लाई समयसापेक्ष बनाउन राष्ट्रिय रोजगार नीति, २०८३ को मस्यौदा तयार भइरहेको छ ।’
उनले वैदेशिक रोजगारीलाई पनि मर्यादित बनाउन सरकारले काम गरिरहेको बताए । उनकाअनुसार वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाहरू धमाधम फस्र्यौट भइरहेका छन् ।
उनले पछिल्लो तीन महिनामा १ हजार ४ वटा संस्थागत तथा व्यक्तिगत उजुरीमाथि कारबाही गरि ३० करोड ७ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराइएको जानकारी दिए ।
उनकाअनुसार चालु आर्थिक वर्षको साउनदेखी चैतसम्म ८ सय ८२ वटा मुद्दा फर्छ्योट हुँदा १२ करोड ६७ लाख रुपैयाँ क्षतिपूर्ति भराइएको थियो । पछिल्लो ३ महिनाको अवधिमा मुद्दा अनुसन्धान र फर्छ्योट दर २ सय ४१ प्रतिशत र पीडितले क्षतिपूर्ति प्राप्त गर्ने दर ६ सय ७२ प्रतिशतले बढेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4