+
+
Shares

तरकारी भाउले सेक्यो उपभोक्ताको ढाड, ५ गुणासम्म महँगियो

सम्बन्धित निकायले बजार अनुगमन प्रभावकारी नबनाउने हो भने बिचौलिया र खुद्रा व्यापारीको चेपुवामा परेर किसानले उचित मूल्य नपाउने र उपभोक्ताको भान्सा झनै महँगिने छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ साउन २० गते २१:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षायामको प्रभावले गर्दा एक महिनाको अवधिमा तरकारीको थोक मूल्य चार सय प्रतिशतसम्मले वृद्धि भएपछि सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।
  • कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार खेतमा उत्पादन घटेका कारण तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको हो ।
  • बजारमा नयाँ उत्पादन नभित्रिएसम्म तरकारीको मूल्य घट्ने सम्भावना नरहेको र मौसम प्रतिकूल बने मूल्य अझै आकासिन सक्ने चेतावनी दिइएको छ ।

२० साउन, काठमाडौं । मध्य-वर्षायाम चलिरहँदा उपभोक्ताको भान्सा अचाक्ली महँगिएको छ । ज्याला र आम्दानी उही रहे पनि दैनिक उपभोग्य तरकारीको मूल्य एक महिनामै ४०० प्रतिशतसम्मले आकाशिएपछि सर्वसाधारण उपभोक्ता चरम मारमा परेका छन् ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले असारको तुलनामा साउनमा तरकारीको भाउमा अस्वाभाविक वृद्धि भएको देखाएको छ । २० असार र २० साउनको औसत मूल्यलाई तुलना गर्दा अधिकांश हरिया तरकारी, सागपात र खुर्सानीको मूल्यले सर्वसाधारणको ढाड सेकेको छ ।

बजारमा व्यापारीलाई सोध्दा भने उनीहरूले वर्षा र बाढीपहिरोलाई बहाना बनाएका छन् । तरकारी जस्तो अत्यावश्यक वस्तुमा यसरी अनेक बहाना बनाएर दिनहुँ उपभोक्ता ठगिइरहँदा सरकार भने ‘चुपचाप मुकदर्शक’ बनेको उपभोक्ताको आरोप छ ।

उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले दिनहुँ बजार अनुगमन गर्ने गरे पनि मुख्य समस्यामा काम गर्न नसकेको र झारा टार्ने काम मात्रै गरेको उनीहरू बताउँछन् ।

सिजनकै तरकारी एक महिनाअघि २० असारमा प्रतिकिलो औसत ११ रुपैयाँमा पाइने हरियो फर्सी (डल्लो) को मूल्य २० साउनमा आइपुग्दा प्रतिकिलो ४४ रुपैयाँसम्म बढेर ५५ रुपैयाँ पुगेको छ । यो ५ गुणा मूल्यवृद्धि हो । तर, खुद्रामा भने ९० देखि १ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यसैगरी हरियो खुर्सानी पनि किन्न नसकिने अवस्थामा पुगेको छ । प्रतिकिलो २२ रुपैयाँ ५० पैसामा पाइने हरियो खुर्सानी (बुलेट) को भाउ करिब ५ गुणा बढेर ९६ रुपैयाँ पुगेको छ । एक महिनामा हरियो खुर्सानी बुलेटको मूल्यमा प्रतिकिलो ७४ रुपैयाँको अन्तर परेको छ ।

लामो हरियो खुर्सानी पनि ३० रुपैयाँबाट तीन गुणा बढेर ९६ रुपैयाँ पुगेको छ भने माछे खुर्सानीको भाउ दुई गुणा बढेर ७५ रुपैयाँ पुगेको छ । यी सबै प्रकारका खुर्सानी किन्न उपभोक्ताले १ सय ५० देखि १ सय ७० रुपैयाँसम्म तिर्नुपरेको छ ।

सागपात खानै नसकिने

स्वास्थ्यका लागि लाभदायक मानिने हरियो सागपात अहिले विपन्न र मध्यम वर्गीय परिवारको पहुँचभन्दा बाहिर जान थालेको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै पालुंगो सागको मूल्य बढेको छ । असारमा ५५ रुपैयाँ किलो रहेको पालुंगो साउनमा साढे ४ गुणा बढेर २ सय ३३ रुपैयाँ ३३ पैसा पुगेको छ ।

त्यस्तै ३५ रुपैयाँ किलोको रायो साग चार गुणा बढेर १ सय ३३ रुपैयाँ ३३ पैसा पुगेको छ भने ४५ रुपैयाँ किलोको तोरीको साग साढे २ गुणा बढेर १ सय रुपैयाँ पुगेको छ ।

आलु प्रतिकिलो औसत ३५ देखि ४९ रुपैयाँ किलो हुँदा प्याज प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ । २० असारमा आलु २९ देखि ३९ रुपैयाँसम्म र प्याज ५३ रुपैयाँमा किनबेच भएको थियो ।

यसबाहेक हरिया तरकारीको भाउले पनि उपभोक्तालाई निराश बनाएको छ । २० असारमा ३० रुपैयाँ ८३ पैसा रहेको मकैबोडी अहिले करिब साढे ३ गुणा बढेर ९५ पुगेको छ । १४ रुपैयाँ २५ पैसा किलो रहेको लाम्चो भन्टा ३ गुणा बढेर ४५ रुपैयाँ पुगेको छ ।

यसबाहेक ब्रोकाउली ३ गुणा बढेको तथ्यांकले देखाउँछ । प्रतिकिलो ४३ रुपैयाँबाट बढेर ब्रोकाउली अहिले १ सय २५ रुपैयाँ पुगेको छ । स्थानीय काउली ३८ बाट ८६, टाटे सिमी ४५ बाट ९५ र तनेबोडी २७ बाट ५५ रुपैयाँ प्रतिकिलो पुगेको छ । तर, उपभोक्ताले यिनै तरकारी १ सयदेखि २ सय रुपैयाँ बढी तिर्न बाध्य छन् ।

होलसेल र खुद्राबीचको खाडल

हालसेल (थोक) र खुद्रामा तरकारीको भाउ हिसाब गर्ने हो भने हिसाब नै मिल्दैन । होलसेलमा तरकारीको भाउ २०–२५ रुपैयाँ तोकेको भए पनि खुद्राका हरेक तरकारी पसलमा उपभोक्ताले त्यही तरकारी प्रतिकिलो १ सय रुपैयाँ घटी किन्नै पाउँदैनन् । होलसेलमै तरकारीको भाउ बढेपछि खुद्रा व्यापारीले मनपरी मूल्य तोक्नु र उपभोक्ता ठग्नु सामान्य जस्तै भइसकेको छ ।

‘खुद्रा व्यापारीलाई त भाउ किन बढ्यो भनेर सोध्नै हुन्न, हामीलाई होलसेलमै महँगो परेको छ, सस्तो त कसरी बेच्नु भन्ने रेडिमेड उत्तर दिन्छन्,’ शंखमुलकी सरस्वती पौडेलले भनिन्, ‘एक साताअघि २५–३० रुपैयाँमा किनेको भिन्डीलाई अहिले १ सय ३० देखि १ सय ५० रुपैयाँ अरे ! अनि कसरी खान सकिएला ?’

तरकारी औसत मूल्य २० असार  (रुपैयाँ) औसत मूल्य २० साउन (रुपैयाँ) वृद्धि (रुपैयाँ)
हरियो फर्सी (डल्लो) ११ ५५ ४४
खुर्सानी हरियो बुलेट २२ ९६ ७४
भन्टा लाम्चो १४ ४५ ३१
मकै बोडी ३० ९५ ६५
ब्रोकाउली ४३ १२५ ८२
तने बोडी २७ ५५ २८
भिन्डी २५ ४७ २२
करेला २६ ४५ १९
घिरौँला २४ ३५ ११
लौका २७ ४५ १८

खुद्रा व्यापारीहरू पनि आफ्नै तर्क र दु:ख सुनाउँछन् । शंखमुलका एक तरकारी व्यापारी उपभोक्ताले व्यापारीका दु:ख नबुझी खाली दोष मात्रै थोपर्ने गरेको तर्क गर्छन् । होलसेलमै भाउ बढेर आउने भएकाले आफ्नो खर्च उठाउन थोरै मात्रै नाफा राखेर बेच्ने गरेको उनको दाबी छ ।

‘हामीले कालीमाटी, कोटेश्वर लगायत तरकारी बजारमा तिरेका मूल्य अनुसारै बिक्री गर्ने हो,’ ती व्यापारीले भने, ‘मैले त खरिद गरेको मूल्यमा थोरै मात्रै फाइदा राखेर बिक्री गरेको छु, कति तरकारी त महँगो भनेर उपभोक्ताले किन्दैनन्, त्यसै कुहिएर फाल्नुपर्छ, तरकारी बेच्ने काम घाटाकै हो ।’

उनले तरकारीको मूल्यवृद्धि भएकाले पर्याप्त तरकारी किनेर बेच्नै नसकिने अवस्था रहेको दाबी गरे ।

तरकारीको मूल्य धेरै बढेको छैन

खुद्रा व्यापारीले होलसेलमै मूल्य बढेको बताइरहँदा थोक व्यापारी भने आफूहरूले तरकारीको मूल्य धेरै नबढाएको दाबी गर्छन् । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ अध्यक्ष भरतप्रसाद खतिवडाले बजारमा तरकारी आपूर्ति सहज रहेको र मूल्य पनि स्थिर रहेको दाबी गरे ।

‘तरकारी आइरहेकै छ, अभाव केही छैन, बजार पनि ठिकठिकै छ, धेरै महँगो पनि छैन,’ अध्यक्ष खतिवडाले भने, ‘अहिलेको सामान्य अवस्था हो, तरकारी अभावै भनेर त्यस्तो देखिएको पनि छैन ।’

वर्षायाममा बाटोघाटो बिग्रने र पहिरो जाने कारण आपूर्तिमा समस्या भएको भन्ने तर्कलाई अध्यक्ष खतिवडाले नकारे । बाटोमा तरकारी रोकिएर बजारमा अभाव सिर्जना नभएको जिकिर उनको छ । ‘पानीले बाटोघाटो अवरुद्ध भएर बाटोमै तरकारी अड्किएको भन्ने सुन्नुपरेको छैन, बजार स्थिर नै छ,’ उनले थपे ।

ढुवानी भाडा र नाफाको बहानामा खुद्रा व्यापारीले मनपरी मूल्य लिने गरेका छन् । सरकारको फितलो अनुगमनको फाइदा उठाउँदै खुद्रा व्यापारीले उपभोक्ताको ढाड सेक्ने गरी मूल्य असुलिरहेको हुन सक्ने उनको भनाइ छ ।

नयाँ उत्पादन नआएसम्म मूल्य नघट्दैन

किसानको खेतमै तरकारीको उत्पादन घटेका कारण बजारमा आपूर्ति प्रभावित हुँदा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दाबी गरेको छ ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठ बजारमा ‘अफ सिजन’ र वर्षातका कारण उत्पादन कम हुँदा त्यसको प्रत्यक्ष असर बजार मूल्यमा परेको दाबी गर्छन् ।

‘हाम्रो बजारमा सामान आइरहेको छ, नआएको होइन, अहिले पनि दैनिक करिब ६ सयदेखि ७ सय टन तरकारी भित्रिरहेको छ,’ श्रेष्ठले भने, ‘तर, वर्षायाममा अलिकति मूल्य माथि जाने प्रवृत्ति नै हुन्छ, अहिले खेतमा नै उत्पादन घटेको वा पातलिएको अवस्था छ ।’

कालीमाटी तरकारी बजार

बजारमा सबै तरकारीको मूल्य नबढेको उनको भनाइ छ । श्रेष्ठले केही हरिया तरकारीको मूल्य बढे पनि कतिपय तरकारी अझै सस्तो रहेको बताए ।

‘होलसेलमा सबै तरकारी महँगो भएको छैन, अहिले पनि गोलभेँडा र मुलाजस्ता तरकारीको मूल्य कम नै छ भने आलु र प्याजको मूल्य करिब स्थिर जस्तै छ,’ श्रेष्ठले भने, ‘तर सिमी, बोडी, लौका, घिरौँला जस्ता तरकारीको मूल्य भने अलिकति माथि गएको हो ।’

मूल्य अझै बढ्ने सम्भावना

बजारमा नयाँ उत्पादन नभित्रिएसम्म तरकारीको मूल्य घट्ने कुनै सम्भावना नरहेको समितिले जनाएको छ । मौसम थप प्रतिकूल बने मूल्य अझै आकासिन सक्ने सूचना अधिकारी श्रेष्ठले बताए ।

‘नयाँ उत्पादन नआउँदासम्म मूल्य घट्ने सम्भावना देखिँदैन, मौसम प्रतिकूल भएन भने मूल्य यही हाराहारीमा रहला,’ श्रेष्ठले भने, ‘यदि मौसम बढी प्रतिकूल भयो र खेतमा भएको बालीनालीलाई असर गर्‍यो भने मूल्य अझै माथि जान्छ ।’

एकातिर सरकारी तथ्यांकले नै तरकारीको भाउ अस्वाभाविक बढेको देखाउँछ भने अर्कातिर थोक व्यापारी ‘मूल्य सामान्य छ’ भन्दै पन्छिन खोजेका छन् । यसको प्रत्यक्ष मारमा भने दैनिक ज्यालादारी गरेर छाक टार्ने सर्वसाधारण र सीमित आय भएका मध्यम वर्गीय उपभोक्ता परेका छन् ।

सम्बन्धित निकायले बजार अनुगमन प्रभावकारी नबनाउने हो भने बिचौलिया र खुद्रा व्यापारीको चेपुवामा परेर किसानले उचित मूल्य नपाउने र उपभोक्ताको भान्सा झनै महँगिने छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?