+
+
Shares

प्रतिनिधिसभा बैठकमा ४ विधेयक प्रस्तुत हुने, आजै ३ संसदीय समितिको पनि बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते ५:३७

२२ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नेछिन् ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नेछिन् ।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’  प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

आज तीन संसदीय समितिको बैठक बस्दै

आजै तीनवटा संसदीय समितिको बैठक पनि बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे बस्दैछ । समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ ।

यसैगरी पूर्वाधार विकास समितिको बैठकमा विद्युतको वितरण लाइन, विद्युतका पोलहरू व्यवसथापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गर्ने कार्यक्रम छ । समितिको बैठक बिहान १० बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?