+
+
Shares

यमनमा हुथी विद्रोहीको घातक आक्रमण, ३० सैनिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते ११:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यमनको मध्य र पूर्वी भागमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणमा परी कम्तीमा ३० सरकारी सैनिकको मृत्यु भएको छ ।
  • रक्षा मन्त्रालयले आक्रमणलाई विश्वासघाती भन्दै कडा निन्दा गरेको छ र उचित समयमा जवाफ दिने चेतावनी दिएको छ ।
  • साउदी अरबको नजरान सीमा क्षेत्रमा भएको अर्को आक्रमणमा एक महिला र बालबालिकासहित ११ जना सर्वसाधारण घाइते भएका छन् ।

२२ साउन, काठमाडौं । यमनको मध्य र पूर्वी भागमा इरान समर्थित हुथी विद्रोहीहरूले गरेको भीषण मिसाइल र ड्रोन आक्रमणमा परी यमनको सरकारी सेनाका कम्तीमा ३० जवानको मृत्यु भएको छ ।

यमनको रक्षा मन्त्रालयका अनुसार मारिब र हदरामौत प्रान्तमा रहेका विभिन्न सैन्य शिविरहरूलाई लक्षित गरी बिहीबार बिहान १०:४० बजेतिर ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत हमला गरिएको थियो ।

आक्रमणमा परी धेरै सैनिकहरू घाइते भएका छन् । पछिल्ला केही वर्षयता दुई पक्षबीच भएको यो सबैभन्दा घातक आक्रमणमध्ये एक हो ।

यमनको रक्षा मन्त्रालयले यस आक्रमणलाई विश्वासघाती भन्दै कडा निन्दा गरेको छ । मन्त्रालयले यस आक्रामक कारबाहीको जवाफ उचित समय र स्थानमा दिइने चेतावनी दिएको छ ।

उत्तर–पश्चिमी यमनको ठूलो हिस्सा नियन्त्रणमा लिएका हुथी विद्रोहीहरूले भने आफूहरूविरुद्ध सैन्य कारबाहीको तयारी गरिरहेको ‘ठूलो साउदी सैन्य भेला’लाई निसाना बनाएको दाबी गरेका छन् ।

यसका साथै, अदनको खाडीमा साउदी अरबको तेल ट्यांकर डेजीमाथि पनि मिसाइल प्रहार गरेको हुथीहरूले बताएका छन् । यस आक्रमणसँगै यमनमा पुन: गृहयुद्ध भड्किने खतरा बढेको विश्लेषकहरूले बताएका छन् ।

यसैबीच, साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाका प्रवक्ताले साउदीको नजरान सीमा क्षेत्रमा भएको अर्को छुट्टै आक्रमणमा ११ जना सर्वसाधारण घाइते भएको जानकारी दिएका छन् ।

हुथी विद्रोहीले गरेको भनिएको उक्त आक्रमणमा घाइते हुनेहरूमा एक महिला र चार वर्षीय बालकसहित सात जना साउदी नागरिक तथा यमन, पाकिस्तान र इजिप्टका चार जना विदेशी नागरिक रहेका छन् ।

साथै, साउदी अरबको नजरान क्षेत्रमै बिहीबार भीषण आगलागीसमेत भएको छ । आगोको ज्वाला र धुवाँको मुस्लो धेरै टाढासम्म देखिएको थियो भने दमकल र उद्धार टोलीहरूले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?