News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा आयोजना हुने २०औं एसियन गेम्सका लागि नेपालबाट २२ खेलमा १३६ खेलाडीले सहभागिता जनाउने पक्का भएको छ ।
- राष्ट्रिय खेलकुद परिषद्ले एसियन गेम्सका लागि साउन १८ गतेदेखि खेलाडीहरूलाई काठमाडौंमा बन्द प्रशिक्षणमा राखेको छ ।
- एसियन गेम्समा पदकको सम्भावना रहेका कबड्डी, बक्सिङ लगायत खेलाडी विदेशमा प्रशिक्षणमा छन् ।
२२ साउन, काठमाडौं । जापानको आइची–नागोयामा हुने २०औं एसियन गेम्सका लागि नेपालबाट २२ खेलमा १३६ खेलाडीले सहभागिता जनाउने पक्का भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार एसियन गेम्समा नेपालको सहभागिताका लागि खेल र खेलाडी संख्याको टुंगो लगाएसँगै यसपटकको नेपाली टोलीको स्वरुप स्पष्ट भएको हो ।
२०औं एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुँदैछ । प्रतियोगिताका लागि नेपालले यसपटक २२ खेलमा प्रतिस्पर्धा गर्नेछ । समूहगत खेलतर्फ महिला भलिबल, पुरुष क्रिकेट तथा महिला र पुरुष कबड्डीले नेपालको प्रतिनिधित्व गर्नेछन् भने बाँकी १९ खेल व्यक्तिगत विधाका छन् ।
सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्सको तुलनामा यसपटक नेपालको सहभागिता संख्या घटेको छ । हान्झाउमा नेपालले २९ खेलमा २५३ खेलाडी सहभागी गराएको थियो । त्यसको तुलनामा यसपटक सात खेल कम भएका छन् भने खेलाडी संख्या ११७ ले घटेको छ ।
खेल र खेलाडी संख्या घटेको देखिए पनि २०औं एसियन गेम्समा समावेश भएको २२ खेलको बारेमा पनि चर्चा र बहस भने भइरहेको छ । मिसन २०२६ को विशेष प्रशिक्षणमा त्यसको आधा खेल मात्र समावेश भएको र नेपाली खेलकुदको समग्र अन्तर्राष्ट्रिय प्रदर्शनलाई हेर्दा २२ खेल पनि धेरै भएको खेलकुद विज्ञहरूको भनाइ छ ।
अहिलेको मुख्य चासो सहभागी खेलाडीले एसियन गेम्समा कस्तो तयारी गरेर प्रतिस्पर्धा गर्नेछन् भन्नेमा केन्द्रित छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले सुरुमा नेपालबाट ३२ खेलको नाम इन्ट्री गराइएको र त्यसबाट घटाउँदै अन्तिममा २२ खेलको सहभागिता हुने टुङ्गो लागेको बताए । ‘सुरुमा दर्ता गरिएका मध्ये केही खेलहरू सुरुमै घट्यो । त्यसपछि केही खेलहरू छनोट चरण र वरियताबाट बाहिरिए र अन्तिममा २२ खेल समावेश गरिने निर्णय भएको हो ।’
अन्तिम समयमा नेपालबाट २३ खेल सहभागी गराउने तयारी थियो । तर ई-स्पोर्ट्स भने अन्तिम समयमा समावेश हुन सकेन । पब्जी टिम एसियन गेम्सका लागि छनोट भएपनि एसियन गेम्स खेल्ने सूचीमा नाम समावेश नै नभएपछि अन्तिम समयमा सहभागी हुन नपाउने भएका हुन् ।
एसियन गेम्सका लागि पठाएको लङ लिस्ट र सर्ट लिस्ट दुवैमा उनीहरूको नाम नभएकोले सहभागिता गराउन सम्भव नभएको राखेप सदस्य सचिव राम चरित्र मेहताले यसअघि नै बताइसकेका छन् ।
२२ खेलमा १३६ खेलाडी
राखेपले टुंगो लगाएको खेलाडी संख्याअनुसार एसियन गेम्समा नेपालबाट पुरुषतर्फ ८० र महिलातर्फ ५६ खेलाडी सहभागी हुने छन् ।
जसमा आर्चरीमा समान एक पुरुष र महिला खेलाडी सहभागी हुनेछन् । एथलेटिक्समा चार पुरुष र दुई महिला, ब्याडमिन्टनमा समान दुई पुरुष र महिला तथा बक्सिङमा चार पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
क्यानोइ स्लालममा दुई पुरुष तथा पुरुष क्रिकेटमा १५ खेलाडी रहनेछन् । साइक्लिङमा समान एक पुरुष र महिला तथा डान्स एन्ड स्पोर्ट्समा एक पुरुष खेलाडी सहभागी हुनेछन् ।

गल्फमा तीन पुरुष र एक महिला, जुडोमा समान तीन पुरुष र महिला तथा कबड्डीमा २४ खेलाडी रहनेछन् । कबड्डीमा १२ पुरुष र १२ महिला खेलाडी छन् ।
करातेमा तीन पुरुष र पाँच महिला, स्केटबोर्डमा दुई पुरुष, सफ्ट टेनिसमा तीन पुरुष र एक महिला तथा स्क्वासमा समान एक पुरुष र महिला खेलाडी सहभागी हुनेछन् ।
पौडीमा तीन पुरुष र दुई महिला, टेबलटेनिसमा समान तीन पुरुष र महिला, तेक्वान्दोमा दुई पुरुष तथा टेनिसमा तीन पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै महिला भलिबलमा १२ खेलाडी, कुस्तीमा चार पुरुष र दुई महिला तथा उसुमा आठ पुरुष र तीन महिला खेलाडी नेपालको प्रतिनिधित्व गर्नेछन् ।
को कहाँ तयारी गर्दैछन् ?
राखेपले खेल र खेलाडी संख्या टुंगो लगाउनुअघि नै केही खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइसकेको थियो । त्यसमध्ये कुस्ती, पुरुष कबड्डी, उसु, स्केटबोर्डिङ लगायत खेलहरु वैदेशिक प्रशिक्षणमा गइसकेका थिए ।
अजै पनि केही खेलाडीहरू वैदेशिक प्रशिक्षणका लागि जाने क्रममा छन् । एसियन गेम्सलाई लक्षित गर्दै कबड्डी, कुस्ती, तेक्वान्दो, उसु, स्केटबोर्डिङ, साइक्लिङ र गल्फका खेलाडीले विदेशमा प्रशिक्षण सुरु गरिसकेका छन् ।

स्केटबोर्ट, कुस्ती, क्यानोई र कबड्डीको महिला र पुरुष टिम सबै विदेशमा प्रशिक्षण गरिरहेका छन् । बक्सिङको सबै ७ खेलाडी यही साउन २५ गते वैदेशिक प्रशिक्षणका लागि भारत जाँदैछन् ।
नेपालमा रहेका विभिन्न खेलका खेलाडीहरूको लागि राखेपले यही साउन १८ गतेदेखि एसियन गेम्सको तयारीमा रहेका खेलाडीहरूलाई बन्द प्रशिक्षणमै राखेको छ । त्यसमा लागि खेलाडीहरूलाई दुई होटलमा राखेको छ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई सिनामंगलस्थित रोयल बुटिक र गौशालास्थित पशुपति बुटिकमा राखिएको छ ।
वैदेशिक प्रशिक्षणमा रहेको खेल
एसियन गेम्सका लागि अहिलेसम्म केही खेलका खेलाडीले विदेशमा प्रशिक्षण गरिरहेका छन् भने केही जाने क्रममा छन् । कबड्डीमा यसपटक नेपालको महिला र पुरुष दुवै टोली एसियन गेम्स खेल्दैछ । अहिले टोली भारतमा प्रशिक्षणमा रहेका छन् ।
कबड्डी नेपालको एसियन गेम्समा पदकको सम्भावना राख्ने खेलमध्ये एक हो । विगतका एसियन गेम्समा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । त्यसैले यसपटक तयारीलाई अझ व्यवस्थित बनाउने प्रयास गरिएको छ ।
यस्तै कुस्तीले पनि भारतमा तयारी गरिरहेको छ । स्केटबोर्डका खेलाडी थाइल्यान्डमा छ भने क्यानोईका खेलाडी पनि जाापन र थाइल्यान्डमा तयारी गरिरहेका छन् ।
बक्सिङ टोली एसियन गेम्सको तयारीका लागि बउने सोमबार भारतको असाम जाँदैछ ।
यस बाहेक केही खेलका भने खेलाडीहरू नेपाल र वसिदेश दुवै ठाउँमा तयारी गरिरहेका छन् ।
उसु, साइक्लिङ, गल्फ, तेक्वान्दो, टेनिस, पौडी र टेबलटेनिसका केही खेलाडी वैदेशिक प्रशिक्षणमा रहेको राखेपले जनाएको छ ।

उसुको थाउलोका खेलाडीहरू चीनमा तयारी गरिरहेका छन् भने सान्सौँका खेलाडीहरू नेपालमै प्रशिक्षण गरिरहेका छन् । सान्सौका खेलाडीहरू पनि वैदेशिक प्रशिक्षणमा जाने तयारीमा रहेको खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिए ।
यस्तै गल्फका केही खेलाडी थाइल्यान्डमा तयारि गरिरहेका छन् । तेक्वान्दोका पुम्सेका खेलाडी थाइल्यान्ड र अर्का खेलाडी नेपालमा तयारी गरिरहेका छन् । पौडीका पनि डुवाना लामा थाइल्यान्डमा छिन् भने अरु खेलाडी नेपालमै छन् । यस्तै टेबलटेनिसका दुई खेलाडी २ खेलाडी दक्षिण कोरियामा गएर प्रशिक्षण गरिरहेका छन् भने अरु खेलाडी नेपालमै छन् ।
साइक्लिङका दुई मध्ये एक खेलाडी क्यानडामा तयारी गरिरहेका छन् भने एक खेलाडी नेपालमै छन् ।
वैदेशिक प्रशिक्षणलाई अन्तर्राष्ट्रिय स्तरको तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ । एसियन गेम्समा नेपालले एसियाका बलिया खेलाडी र टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले स्वदेशमा मात्र प्रशिक्षण गरेर अन्तर्राष्ट्रिय स्तरको तयारी पूरा गर्न कठिन हुन्छ ।
विशेषगरी कबड्डी, तेक्वान्दो र उसुजस्ता खेलमा अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षण वातावरणसँग अभ्यस्त हुनु खेलाडीका लागि महत्वपूर्ण मानिन्छ । त्यसैले सम्बन्धित संघहरूले प्रतियोगिता आयोजना हुने देश र एसियाली स्तरमा प्रतिस्पर्धी राष्ट्रसँगको प्रशिक्षण तथा अभ्यास खेललाई प्राथमिकता दिएका छन् ।
नेपालमै तयारी गर्दै भलिबल र अन्य खेल
वैदेशिक प्रशिक्षणमा नगएका महिला भलिबल टिम र अधिकांश व्यक्तिगत विधाका खेलाडी भने काठमाडौंमा बन्द प्रशिक्षणमा छन् ।
आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, जुडो, कराते,स्क्वास, सफ्ट टेनिसका खेलाडीहरू नेपालमै प्रशिक्षण गरिरहेका छन् ।
पौडी, टेबलटेनिस, टेनिस, उसुका केही खेलाडीहरू पनि स्वदेशमै तयारी गरिरहेका छन् ।
ब्याडमिन्टनले डल्लुस्थित कभर्डहलमा प्रशिक्षण गरिरहेको छ । एथ्लेटिक्स दशरथ रंगशालामा, जुडो रंगशालमा, उसु (सान्सौ) दशरथ रंगशालमा, आर्चरी पुलिसको ट्रेनिङ सेन्टरमा प्रशिक्षण गरिरहेको छ भने नेपालमै रहेका अन्य खेलका खेलाडीहरूले सातदोबाटोमा प्रशिक्षण गरिरहेको राखेप खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिए ।
नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाका अनुसार एसियन गेम्सलाई लक्षित गर्दै करातेको बन्द प्रशिक्षण सुरु भइसकेको छ । उनका अनुसार प्रशिक्षण व्यवस्थापन राम्रोसँग अघि बढिरहेको छ र खेलाडीलाई प्रतियोगिताका लागि आवश्यक वातावरण उपलब्ध गराउने प्रयास भइरहेको छ ।
नेपालले एसियन गेम्समा करातेबाट पदकको अपेक्षा राख्दै आएको छ । नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङले हान्जाउ एसियन गेम्समा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।
त्यसपछि उनले वर्ल्ड च्याम्पियनसिप देखि विश्व स्तरको कराते वान प्रिमियर लिग लगायत धेरै प्रतियोगिता खेल्दै पदक समेत जितेकी छन् भने अन्तर्राष्ट्रिय एक्सपोजर समेत बटुलेकी छिन् ।

त्यसैले प्रशिक्षणसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र उच्चस्तरीय अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।
यस्तै टिम गेमतर्फ महिला भलिबलले काठमाडौंमै प्रशिक्षण गरिरहेको छ । १९औं संस्करणमा पहिलो सहभागिता जनाएको महिला भलिबल लगातार दोस्रो पटक एसियन गेम्स खेल्ने तयारीमा छ ।
पछिल्ला वर्षमा नेपाली महिला भलिबलले दक्षिण एसियाली क्षेत्रमा आफ्नो स्तर सुधार गर्दै आएको छ । घरेलु प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिताले महिला टोलीले केही एक्सपोजर भने पाएको छ ।
तर एसियन गेम्स अहिले खेलिरहेको अन्तर्राष्ट्रिय प्रतियोगिताभन्दा निकै कठिन मञ्च हो । चीन, जापान, दक्षिण कोरिया, थाइल्यान्डजस्ता देशको स्तर निकै माथि छ ।
नेपाल बलियो टोली जापान रहेको समूहमा छ । त्यसैले नेपालले एसियन गेम्समा बलिया टोलीसँग प्रतिस्पर्धा गर्न थप अन्तर्राष्ट्रिय अभ्यास खेल आवश्यक पर्ने देखिन्छ ।
क्रिकेट टोली टप एण्ड टी-२० सिरिज खेल्दै
पुरुष क्रिकेट टोली पनि एसियन गेम्सको तयारीअघि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ ।
नेपालले यही अगष्ट अन्तिममा अष्ट्रेलियाको नर्दन टेरिटोरीमा हुने टप एन्ड टी–२० सिरिज खेल्ने तयारीमा छ । जहाँ नेपालले ६ खेल खेल्दैछ ।

यस्तै न्युजिल्यान्ड ए टिमसँग ५० ओभरको अभ्यास खेल पनि नेपननले खेल्नेछ । यस्तो प्रतियोगितामा सहभागी हुँदा खेलाडीले उच्चस्तरीय अभ्यास खेलको अवसर पाउनेछन् ।
नेपाली क्रिकेटले पछिल्ला वर्षमा टी-२० विश्वकप देखि विभिन्न सिरिजहरू खेल्दै आएको छ । जसले गर्दा एसियन गेम्समा क्रिकेटबाट पनि राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ।
यसअघि चीनमा भएको एसियन गेम्स पनि खेलेको नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।
पदकको सम्भावना कति ?
हान्झाउ एसियन गेम्सको तुलनामा यसपटक नेपालको सहभागिता घटेको छ । १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी हुँदा करातेकी एरिकाले रजत र महिला कबड्डी टिमले कांस्य पदक जितेका थिए ।
बाँकी खेलाडी मध्ये केहिले मात्र कम्तीमा एक खेल जितेका थिए भने अधिकांश खेलाडी पहिलो खेल/पहिलो चरणमै पराजित भएका थिए ।
यस पटक १९औं संस्करण भन्दा तुलनात्मक रुपमा संख्या घटेको छ । तर अहिलेको अवस्थामा २२ खेल मध्ये पनि कति खेल पदकको सम्भावना छ भन्ने मुख्य प्रश्नको रुपमा छ ।
धेरै खेल र खेलाडी सहभागि भएर भन्दा पनि सहभागी खेलाडीको छनोट, तयारीको अवधि, अन्तर्राष्ट्रिय एक्सपोजर, प्रशिक्षकको गुणस्तर, खेल सामग्री, खेल विज्ञान र प्रतियोगिताअघिको मानसिक तयारीले नै प्रदर्शन र पदकको सम्भावना निर्धारण गर्छ ।

नेपालले एसियन गेम्समा विगतमा तेक्वान्दो, कराते, बक्सिङ, महिला कबड्डी र पाराग्लाइडिङ लगायत खेलबाट पदक जितेको इतिहास छ । अहिलेसम्म ३ रजत र २३ कांस्य जितेको छ ।
यसपटक पनि पदकको सम्भावना मुख्यतः व्यक्तिगत विधाका खेलमा रहनेछ । विशेषगरी कराते र बक्सिङ जस्ता खेलमा पदकको सम्भावना देखिएको छ ।
टिम गेमतर्फ १९औं एसियन गेम्समा कांस्य जितेको महिला कबड्डीबा६ पनि पदकको आशा गरिएको छ । पुरुष क्रिकेटले आफ्नो स्तरअनुसार प्रतिस्पर्धा गर्न सके पदक नजिक पुग्ने सम्भावना छ ।
तर पदकको सम्भावनाभन्दा महत्वपूर्ण कुरा खेलाडीले आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्न पाउनु हो । त्यसका लागि खेलाडीले प्रशिक्षण र तयारीमा पुर्ण रुपमा केन्द्रित भएर लाग्ने वातावरण पाउनुपर्छ ।
एसियन गेम्स आउन अब डेढ महिना भन्दा पनि कम समय बाँकी रहेको अवस्थामा वैदेशिक प्रशिक्ष र नेपाल भित्रै सुरु भएको बन्द प्रशिक्षणलाई उचित ढंगले अगाडि बढाउनुपर्नेछ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले यस पटक एसियन गेम्स सहभागितालाई ऐतिहासिक बनाउने बताएका छन् । ‘यस पटक हामीले विशेष खालको तयारी गरेका छौँ । एसियन गेम्सलाई ऐतिहासिक बनाउने लक्ष्य छ ।’ भारतमा वैदेशिक प्रशिक्षणमा जान लागेको बक्सिङ टोलीलाई विदाई गर्दै मेहताले भने ।
प्रतिक्रिया 4