News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष परीक्षामा सहभागीमध्ये ४७ जना उत्तीर्ण र ६५ जना अनुत्तीर्ण भएका छन्।
२२ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष परीक्षा (स्पेसल एक्जामिनेसन) मा विदेश पढेका धेरै फेल भएका छन् ।
काउन्सिलले ७ र ८ साउनमा सञ्चालन गरेको परीक्षामा देशअनुसारको नतिजा सार्वजनिक गरेको छ । नेपाल तथा विभिन्न विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका १ हजार १३ जना परीक्षार्थी सहभागी भएका थिए ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले २२ साउनमा जारी गरेको सूचनाअनुसार परीक्षामा ९४७ जना (९३.४८ प्रतिशत) उत्तीर्ण भएका छन् भने ६५ जना अनुत्तीर्ण भएका छन् ।
नेपालका शैक्षिक संस्थाबाट अध्ययन गरेका ९१९ जनामध्ये १५ जना अनुत्तीर्ण भएका छन् ।
विदेशी शैक्षिक संस्थामध्ये भारतबाट अध्ययन गरेका परीक्षार्थीको नतिजा तुलनात्मक रूपमा राम्रो देखिएको छ ।
भारतबाट सहभागी १७ जनामध्ये १३ जना (७६.४७ प्रतिशत) उत्तीर्ण भएका छन् ।
चीनबाट अध्ययन गरेका ३७ जनामध्ये ८ जना (२१.६२ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन् भने २८ जना अनुत्तीर्ण भएका छन् ।
इजिप्टबाट सहभागी १९ जनामध्ये ८ जना (४२.११ प्रतिशत), किर्गिस्तानबाट ५ जनामध्ये २ जना (४० प्रतिशत) र फिलिपिन्सबाट ५ जनामध्ये २ जना उत्तीर्ण भएका छन् ।
यस्तै, पाकिस्तानबाट सहभागी सबै ९ जना नै उत्तिर्ण भएका छन् । अमेरिकाबाट सहभागी १ जना उत्तीर्ण छन्। बेलारुसबाट सहभागी १ जना भने अनुत्तीर्ण भएका छन् ।
चिकित्सा शिक्षा अध्ययन पश्चात काउन्सिलको परीक्षा उत्तीर्ण गरेर मात्र चिकित्सकीय अभ्यास गर्न पाइन्छ । काउन्सिलले एक वर्षमा दुई पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ ।
निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले विशेष परीक्षाको नतिजाका आधारमा नेपालमा अध्ययन गरेका चिकित्सक राम्रो र विदेशमा अध्ययन गरेका चिकित्सक कमजोर भन्ने निष्कर्ष निकाल्न नमिल्ने बताएका छन् ।
उनका अनुसार काउन्सिलले यो नतिजा कुनै संस्था वा देशको गुणस्तर मूल्यांकन गर्न नभई परीक्षाको परिणाम सार्वजनिक गर्ने उद्देश्यले सार्वजनिक गरेको हो ।
‘यो एउटा परीक्षाको नतिजा मात्रै हो। यसैका आधारमा नेपालको पढाइ राम्रो वा विदेशको पढाइ कमजोर भन्न मिल्दैन,’ डा. पाण्डे भन्छन् ।
उनले विशेष परीक्षाको नतिजा चिकित्सा शिक्षा आयोगलाई पनि पठाइने जानकारी दिँदै त्यसको विस्तृत विश्लेषण, चिकित्सा शिक्षाको गुणस्तर मूल्यांकन तथा आवश्यक नीतिगत निर्णय गर्ने जिम्मेवारी आयोगकै रहेको बताए ।
‘प्रशासनिक पारदर्शिताका लागि नतिजा सार्वजनिक गरेका हौं। यसको समग्र विश्लेषण गरेर चिकित्सा शिक्षाको गुणस्तरबारे निष्कर्ष निकाल्ने काम चिकित्सा शिक्षा आयोगको हो,’ डा. पाण्डेले भने ।
प्रतिक्रिया 4