२३ साउन,तेह्रथुम । पूर्वी नेपालको प्राकृतिक सम्पदा, जैविक विविधता, सांस्कृतिक धरोहर र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्दै दिगो आर्थिक विकास गर्ने लक्ष्यका साथ लालीगुराँस पदमार्ग पर्यटन विकास परियोजना अघि बढाइएको छ ।
कोशी प्रदेशका तेह्रथुम र संखुवासभा जिल्लालाई समेट्ने यो परियोजनाले पदयात्रा पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्यको ब्रान्डिङ, स्थानीय संस्कृति संरक्षण, साहसिक पर्यटन प्रवर्द्धन तथा समुदायमा आधारित पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाइरहेको छ ।
पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत तुम्लिङटार, खाँदबारी, नुम, गुफापोखरी, बसन्तपुर तथा विश्वप्रसिद्ध तिनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रलाई समेटिएको छ ।
परियोजनाको उद्देश्य राष्ट्रिय मापदण्डअनुसार पदमार्ग निर्माण तथा पुनर्स्थापना गर्ने, पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ, प्याकेजिङ र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने, सांस्कृतिक गतिविधिलाई व्यवस्थित गर्ने तथा स्थानीय समुदायको क्षमता तथा आम्दानी बढाउने लक्ष्य रहेको परियोजनाका पदमार्ग संयोजक अजेय राज श्रेष्ठले जानकारी दिए ।
यससँगै परम्परागत घरहरूको संरक्षण, होमस्टे प्रवर्द्धन, स्थानीय खानाको प्रचार, निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटनमैत्री नीतिगत सुधार तथा प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जिप फ्लाइङ, माउन्टेन बाइकिङ, राफ्टिङ, कयाकिङ र क्यानोइङजस्ता साहसिक पर्यटनमा निजी लगानी आकर्षित गर्ने लक्ष्य पनि परियोजनाले लिएको छ ।
स्वीस विकास सहयोग, नेपाल सरकार, कोशी प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहहरूको साझेदारीमा सञ्चालन भइरहेको यो परियोजनाले तेह्रथुम र संखुवासभाका लालीगुराँस, म्याङ्लुङ फेदाप,धर्मदेवी, मादी, चैनपुर, पञ्चखपन, सभापोखरी, मकालु, चिचिला, खाँदबारी र सिलिचोङ गरी १२ वटा स्थानीय तहलाई पर्यटन सञ्जालमा जोड्दै छ ।
यो पदमार्गको सबैभन्दा ठूलो विशेषता यसको प्राकृतिक सम्पदा हो । विश्वप्रसिद्ध तिनजुरे–मिल्के–जलजले क्षेत्र नेपालकै सबैभन्दा समृद्ध गुराँस क्षेत्रमध्ये एक मानिन्छ ।
नेपालमा पाइने करिब ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति यही क्षेत्रमा पाइने भएकाले यसलाई गुराँसको राजधानी भनेर चिनिन्छ । वसन्त ऋतुमा राताम्य हुने गुराँसका वन, चिसा खोल्सा, हरियाली र हिमाली दृश्यले यस क्षेत्रलाई देशकै आकर्षक पदयात्रा गन्तव्य बनाएका छन् ।

पदयात्राका क्रममा तिनजुरे डाँडा, मिल्के डाँडा, गुफापोखरी, रातपोखरी, धनपोखरी, खोपिङ पोखरी र ह्यात्रुङ झरनाजस्ता प्राकृतिक सम्पदासँगै मकालु, कञ्चनजङ्घा, ल्होत्से र सगरमाथा हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक सम्पदासँगै यो पदमार्ग धार्मिक र सांस्कृतिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ।
घुर्बिसे पाथीभरा, सी मिनाक्षी पाथीभरा मन्दिर, मनकामना मन्दिर, बालुथान गुम्बा, गुरुसहारा छोर्लिङ गुम्बा र माझौ गुफाले धार्मिक पर्यटनलाई टेवा पुर्याएका छन् भने माङ्सिमा, सुनाम्ला राई गाउँ, कब्ताने गाउँ र नुम बजारका बस्तीहरूले स्थानीय संस्कृति, रैथाने परिकार र आत्मीय आतिथ्यताको अनुभव गराउँछन् ।
लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले पदमार्गलाई प्रकृति संरक्षण र स्थानीय संस्कृतिसँग जोडेर विकास गरिरहेको बताए । उनका अनुसार पदमार्ग छेउछाउमा गुराँस, मालिङ्गो र पर्याङ रोप्ने, रेड पान्डाको बासस्थान संरक्षण गर्ने तथा बाह्रै महिना फूल फुल्ने बिरुवा रोपेर पदमार्गलाई अझ आकर्षक बनाउने काम भइरहेको छ । होमस्टेहरूमा रैथाने कला, संस्कृति र स्थानीय परिकारलाई प्राथमिकता दिइएको उनले बताए ।
‘हामी केवल पदमार्ग निर्माण गरिरहेका छैनौँ, प्रकृति, संस्कृति र स्थानीय जीवनशैलीलाई पर्यटनसँग जोड्ने दिगो गन्तव्य निर्माण गरिरहेका छौं’, नगरप्रमुख माबोहाङले भने ।

पर्यटन ट्रेल विकास कार्यक्रमअन्तर्गत पदमार्गमा वातावरणमैत्री पूर्वाधार निर्माण भइरहेको छ । स्थानीय ढुङ्गाको प्रयोग गरी ढुङ्गे सिँढी, सुख्खा वाल, रिटेनिङ वाल, ब्रेस्ट वाल, साइड ड्रेन, क्रस ड्रेनेज, विश्रामस्थल, सार्वजनिक शौचालय, खानेपानी तथा संकेत बोर्ड निर्माण भइरहेका छन् ।
पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष विवेक योङहाङका अनुसार पदमार्ग कटिङ, ढुङ्गे सिँढी, सुख्खा वाल र गुराँसका बिरुवा रोप्ने काम तीव्र गतिमा अघि बढिरहेको छ । ‘संरचना निर्माणसँगै पदमार्गले आफ्नो वास्तविक स्वरूप लिन थालेको छ। निर्माण सम्पन्न भएपछि यो पूर्वी नेपालको उत्कृष्ट पदयात्रा गन्तव्य बन्ने विश्वास गरेका छौं’, उनले भने ।
पदमार्ग निर्माणसँगै पर्यटकको आगमन पनि बढ्न थालेको लालीगुराँस–१ का स्थानीय चन्द्र गुरुङका अनुसार पर्यटकको चहलपहल बढेसँगै होमस्टे, होटल, कृषि उत्पादन र स्थानीय हस्तकलाको बजार विस्तार हुने अपेक्षा गरिएको छ ।
लालीगुराँस नगरपालिकाका सब–इन्जिनियर सुमन गुरुका अनुसार परियोजनामा स्वीस सरकारको ५१ प्रतिशत, स्थानीय सरकारको २२ प्रतिशत, कोशी प्रदेश सरकारको २२ प्रतिशत र नेपाल सरकारको ५ प्रतिशत लगानी रहेको छ ।
यस आर्थिक वर्षमा पदमार्ग निर्माणका लागि ४१ लाख १० हजार ६ सय ९५ रुपैयाँ तथा परिधि संरचना निर्माणका लागि १३ लाख २२ हजार ६ सय ७० रुपैयाँमा सम्झौता गरी लागतमा काम भइरहेको उनले जानकारी दिए ।
नेपालको पर्यटनलाई अन्नपूर्ण, सगरमाथा र लाङटाङजस्ता स्थापित गन्तव्य भन्दा बाहिर विस्तार गर्ने लक्ष्य बोकेको लालीगुराँस पदमार्ग परियोजनाले पूर्वी नेपाललाई नयाँ पर्यटन नक्सामा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया 4