+
+
Shares

सत्ताको कुर्सीमा बस्नका लागि अग्रगामी मोर्चा बनाएका होइनौं : सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संविधानवाद र लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि अग्रगामी मोर्चा गठन गरिएको बताएका छन् ।
  • अध्यक्ष राउतले मोर्चा सत्ता प्राप्तिका लागि नभई देशलाई संविधान र विधिसम्मत तरिकाले सञ्चालन गर्नका लागि गठन गरिएको स्पष्ट पारेका छन् ।
  • उनले मुलुक अराजकतातर्फ धकेलिएको आरोप लगाउँदै लोकतान्त्रिक, समाजवादी र क्रान्तिकारी शक्तिहरूलाई समेटेर मोर्चाले काम गर्ने बताएका छन् ।

२३ साउन, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले विभिन्न राजनीतिक दल र समूह मिलेर गठन गरिएको अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि नभएको बताएका छन् ।

शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा अध्यक्ष राउतले संविधानवाद, संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि मोर्चा गठन गरिएको बताएका हुन् ।

देशमा राजनीतिक दल र नेतृत्वप्रति जनताको निराशा बढिरहेका बेला नयाँ राजनीतिक मोर्चाको गठन आवश्यक परेको दाबी उनले गरे । हाल मुलुक अराजकतातर्फ धकेलिएको पनि उनको आरोप थियो ।

‘हामी यहाँ संविधानवाद चाहन्छौं । देशलाई संविधान अनुसार चलोस्, विधिसम्मत तरिकाले चलोस्, ल एन्ड अर्डरमा चलोस् । कसैको मौखिक कानुन अनुसार होइन, संविधान अनुसार चलोस् भन्ने कुरा, भन्ने प्रयोजन, भन्ने उद्देश्य राखेर नै हामी यो अग्रगामी मोर्चा यहाँ गठन गरेका छौं,’ राउतले भने, ‘त्यही भएर हामी सबैलाई अनुरोध पनि गर्न चाहन्छौं कि विगतमा पनि हामीबाट गल्तीहरू भएका होलान् । त्यो मोर्चा बनाउँदाखेरि होस्, पार्टी हाँक्दाखेरि होस्, जनताको बीचमा जाँदाखेरि होस्, सरकार चलाउँदाखेरि होस्, ती सबै कमी कमजोरीहरूलाई समीक्षा गर्दै, त्यसलाई सुधार गर्दै आगामी दिनको लागि प्रतिवद्धता गर्दै हामी अगाडि बढ्नुपर्ने हुन्छ ।’

अराजकतालाई परास्त गरेर देशलाई संविधानवादमा संचालन गर्न लोकतान्त्रिक, सामाजिक लोकतान्त्रिक, क्रान्तिकारी र समाजवादी धारका शक्तिहरूलाई समेटेर अग्रगामी मोर्चा गठन गरिएको उनको भनाइ थियो ।

देश संविधान र विधिअनुसार सञ्चालन हुनुपर्नेमा मौखिक आदेश वा मनोमानी रुपमा संचालन भइरहेको पनि आरोप उनले लगाए ।

लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता र मानव अधिकारलगायतका उपलब्धिको रक्षामा मोर्चा अग्रपक्तीमा रहने उनको भनाइ छ ।

‘केही साथीहरूलाई यो मोर्चाको घोषणा भए देखि केही यस्ता पनि पात्रहरू छन्, कुर्सीमा बसेका पात्रहरू छन् जसलाई लाग्छ हाम्रो कुर्सी खतरामा पर्‍यो कि । म उहाँहरूलाई पनि आश्वस्त पार्न चाहन्छु, यो मोर्चा संघर्षको लागि बनेको मोर्चा हो, सत्ता प्राप्तिको लागि हामीले गठबन्धन गरेका होइनौं । तपाईँहरू ढुक्क कुर्सीमा बस्नुस्, कुर्सीमा बसेर चलाउनुस् । हामी तपाईँहरूको कुर्सी खोस्नका लागि यो मोर्चा बनाएका होइनौं । तपाईँ कुर्सीमा बस्नुस् तर संविधानवादमा चल्नुस्, संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता अनुसार चल्नुस्, लोकतान्त्रिक मूल्य मान्यता अनुसार चल्नुस्, त्यो चाहिँ हामी भन्न चाहन्छौं,’ उनले भनेका छन् ।

राउतले थप अघि भनेका छन्, ‘हामीले जुन दशकौंदेखि संघर्ष गरेर ल्याएका मूल्य मान्यताहरू छन्, त्यसको रक्षा गर्नका लागि हिँड्नुस्, हाम्रो सहकार्य रहन्छ, हाम्रो सहयोग रहन्छ । हामी तपाईँलाई कुर्सीबाट फाल्नका लागि यहाँ आएका होइनौं भन्ने कुरा म सुरुमै उहाँहरूलाई डराएका मान्छेहरूलाई पनि हामीले यहाँबाट स्पष्ट पार्न चाहन्छौं । तपाईँहरू यहाँ देशका कुनाकाप्चाबाट आउनुभएको छ, तपाईँहरू पनि यहाँबाट जाँदाखेरि सकारात्मक सन्देश लिएर जानुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?