News Summary
Generated by OK AI. Editorially reviewed.- मानिसले खोज्ने पूर्ण प्रेमको गहिराइमा परमात्माको उपस्थिति हुन्छ र यसले व्यक्तिलाई स्वार्थबाट मुक्त भएर दिव्य चेतनातर्फ डोर्याउँछ।
- परिवार हाम्रो चरित्रको पहिलो विद्यालय हो, जहाँ साना व्यवहार र जिम्मेवारीमार्फत अध्यात्मलाई दैनिक जीवनमा उतार्ने अवसर प्राप्त हुन्छ।
- आसक्तिले स्वामित्व खोज्छ भने प्रेमले स्वतन्त्रता दिन्छ, तसर्थ परिपक्व प्रेममा स्वार्थी इच्छाको स्थान हुँदैन र यसले जीवनलाई असाधारण बनाउँछ।
मानिसले जीवनभर सफलता, सम्मान, सुरक्षा, सम्पत्ति र सुख खोजिरहन्छ। तर यी सबै खोजहरूको गहिराइमा अर्को एउटा मौन खोज निरन्तर बगिरहेको हुन्छ, त्यो हो- पूर्ण प्रेमको खोज। यही चाहनाले बालकलाई आमाको काखतिर तान्छ, मित्रलाई मित्रतामा बाँध्छ, जीवनसाथीलाई एकअर्काप्रति समर्पित बनाउँछ र साधकलाई अन्ततः ईश्वरको खोजतर्फ डोर्याउँछ। रूप फरक भए पनि यसको अन्तिम आकाङ्क्षा एउटै हो: यस्तो प्रेम, जुन परिस्थितिले बदलिंदैन, शर्तले बाँधिंदैन र जसको स्रोत स्वयं परमात्मा हुनुहुन्छ।
त्यसैले संसारका महान् आध्यात्मिक परम्पराहरूले प्रेमलाई आत्मिक जीवनको केन्द्रमा राखेका छन्। उपनिषद्हरूले प्रत्येक जीवमा एउटै आत्मा देख्न सिकाउँछन्; बुद्धले करुणालाई मुक्तिको द्वार बनाउनुभयो; येशूले प्रेममा धर्मको सार देखाउनुभयो; पैगम्बर मुहम्मदले दया र करुणालाई ईश्वरीय गुणका रूपमा प्रस्तुत गर्नुभयो। श्रीरामकृष्ण, परमहंस योगानन्द र स्वामी क्रियानन्दले पनि फरक शब्दमा यही सत्य सम्झाउनुभयो: ईश्वरलाई प्रेम गर्ने साधना मानिसलाई प्रेम गर्न सिक्नुबाट अलग हुन सक्दैन।
तर प्रेमका बारेमा बोल्न जति सजिलो छ, त्यसलाई सही रूपमा जिउन त्यति नै गाह्रो। यदि सबैमा ईश्वर हुनुहुन्छ भने, के सबैसँग एउटै प्रकारको सम्बन्ध राख्नुपर्छ? सार्वभौमिक प्रेमको अर्थ परिवार, विवाह, मित्रता र व्यक्तिगत जिम्मेवारीलाई गौण बनाउनु हो? प्रेम र आसक्ति बीचको भिन्नता के हो? अनि ध्यानमा अनुभूत शान्तिलाई दैनिक व्यवहारमा कसरी उतार्ने? प्रेम र अध्यात्मको वास्तविक सम्बन्ध यिनै प्रश्नभित्र खुल्छ।
ईश्वरलाई अनुभव गर्ने आठ दिव्य पक्षमध्ये प्रेम
परमहंस योगानन्दका अनुसार ईश्वरलाई आठ दिव्य पक्षमा प्रत्यक्ष अनुभव गर्न सकिन्छ—प्रकाश, नाद, शान्ति, स्थिरता, प्रेम, आनन्द, ज्ञान र शक्ति । यहाँ प्रेमलाई ‘ईश्वरको आठ भागमध्ये एक भाग’ भन्न खोजिएको होइन; ईश्वर अखण्ड र पूर्ण हुनुहुन्छ। प्रेम भने ईश्वरलाई प्रत्यक्ष अनुभूति गर्न सकिने आठ दिव्य पक्षमध्येको एउटा पक्ष हो। साधकको हृदय शुद्ध हुँदै जाँदा प्रेम केवल कुनै व्यक्तिप्रतिको आकर्षण रहँदैन; त्यो समस्त जीवनमा व्याप्त परमात्माको उपस्थिति अनुभव गर्ने द्वार बन्छ।
यो प्रेम व्यक्तिगत चाहना, स्वामित्व वा प्रतिफलको अपेक्षामा आधारित हुँदैन। यो असीम, निष्काम र सर्वग्राही दिव्य प्रेम हो। अहंकारको चेतनामा बाँच्ने मानिसलाई ‘निर्वैयक्तिक प्रेम’ चिसो वा अमूर्त लाग्न सक्छ, किनकि अहंकारले प्रेमलाई प्रायः ‘मलाई के प्राप्त भयो?’ भन्ने प्रश्नबाट मापन गर्छ। तर दिव्य प्रेम असीम सान्त्वनादायी हुन्छ। यसलाई निर्वैयक्तिक भन्नुको अर्थ भावनाहीन हुनु होइन; यसको अर्थ प्रेममा स्वार्थी इच्छाको कुनै दाग नहुनु हो।
अहंकारले छुट्टापनमा आफ्नो अस्तित्व खोज्छ; आत्माले एकत्वमा आफ्नो सत्य चिन्छ। त्यसैले दिव्य प्रेममा प्राप्त हुने गहिरो एकत्व आत्माले अनुभव गर्छ, अहंकारले होइन। जब प्रेम ‘तिमीले मलाई के दियौ?’ बाट ‘म तिम्रो कल्याण कसरी चाहन सक्छु?’ तर्फ सर्छ, त्यही क्षण प्रेम भावना मात्र नभई आध्यात्मिक चेतना बन्न थाल्छ।
“अरूलाई आफ्नै आत्माको विस्तारका रूपमा, र मैले ईश्वरबाट अनुभव गर्ने प्रेमको विस्तारका रूपमा प्रेम गर।” अर्थात् “हे अनन्त प्रभु, मलाई तिम्रो प्रेमको माध्यम बनाऊ! ममार्फत सर्वत्र प्रेमविहीन हृदयहरूमा प्रेमका बीउ छरिदेऊ।”
— स्वामी क्रियानन्द (भावानुवाद)
यी वचनहरूले दिव्य प्रेमका दुई आयाम स्पष्ट गर्छन्। पहिलो, अरू मानिस हामीबाट पूर्णतः अलग छैनन्; उनीहरू पनि त्यही एक आत्माको अभिव्यक्ति हुन्। दोस्रो, ईश्वरबाट प्राप्त प्रेम आफैंमा थुनेर राख्ने सम्पत्ति होइन; आफूलाई माध्यम बनाएर संसारमा प्रवाहित गर्ने शक्ति हो। त्यसैले प्रेमको आध्यात्मिक मूल्य हामीले कति गहिरो अनुभूति गर्यौं भन्नेमा मात्र होइन, त्यो अनुभूतिले हाम्रो व्यवहारलाई कति परिवर्तन गर्यो भन्नेमा देखिन्छ।
परिवार: अध्यात्मको पहिलो साधनास्थल
यदि प्रेम चेतनाको विस्तार हो भने, यसको पहिलो अभ्यास कहाँबाट शुरु हुन्छ? उत्तर धेरै टाढा छैन, आफ्नै घरबाट! मन्दिर, आश्रम, ध्यान, प्रार्थना र तीर्थयात्रा साधनाका अमूल्य माध्यम हुन्; तर तिनको उद्देश्य जीवनबाट अलग कुनै पवित्र संसार बनाउनु होइन, जीवनलाई नै पवित्र बनाउनु हो। ध्यानले हामीलाई घरमा अझ धैर्यवान् बनाएन, प्रार्थनाले हाम्रो भाषा कोमल बनाएन र साधनाले अहंकारलाई नरम बनाएन भने अध्यात्म अझै विचारमा छ, जीवनमा अवतरित भएको छैन।
घर हाम्रो चरित्रको पहिलो विद्यालय र अध्यात्मको पहिलो प्रयोगशाला हो। बाहिरी संसारमा हामी आफ्नो छवि सजाउन सक्छौं जस्तो कि विनम्र, उदार वा आध्यात्मिक देखिन सक्छौं। तर घरमा अभिनय लामो समय टिक्दैन। त्यहाँ अधैर्य, अपेक्षा, नियन्त्रणको चाहना, असुरक्षा र अहंकार बारम्बार प्रकट हुन्छन्। त्यसैले परिवारले हामीलाई प्रेम गर्ने अवसर मात्र दिंदैन; उसले हाम्रो अपरिपक्वता देखाएर त्यसलाई रूपान्तरण गर्ने अवसर पनि दिन्छ।
सबैलाई प्रेम गर्नु भनेको सबैसँग एउटै प्रकारको सम्बन्ध राख्नु होइन। प्रेम सार्वभौमिक हुन सक्छ, तर जिम्मेवारी सधैं समान हुँदैन। सूर्यको प्रकाश सबैमाथि पर्छ, तर रूखले आफ्नो जराबाट रस ग्रहण गर्छ। उस्तै प्रकाश ग्रहण गरे पनि विभिन्न स्वादका फल प्रदान गर्छ। त्यसरी नै हाम्रो करुणा सम्पूर्ण मानवताप्रति फैलिन सक्छ, तर पहिलो उत्तरदायित्व ती व्यक्तिप्रति हुन्छ जसलाई जीवनले हाम्रो समय, संरक्षण र सेवाको जिम्मा दिएको छ।
यदि म आफ्नी बहिनीलाई प्रेम गर्छु भने, संसारका सबै महिलालाई त्यही सम्बन्धमा बाँध्नुपर्छ भन्ने होइन। म सबै महिलाप्रति सम्मान, सुरक्षा र शुभेच्छा राख्न सक्छु; तर आफ्नी बहिनीप्रतिको जिम्मेवारी स्वाभाविक रूपमा विशेष हुन्छ। त्यस्तै, आमाबाबु, जीवनसाथी, सन्तान वा घनिष्ठ मित्रप्रतिको निष्ठा अरू सबैप्रतिको करुणासँग विरोधाभासमा हुँदैन । बरु विशिष्ट सम्बन्धमा प्रेम निभाउन सिकेपछि मात्र त्यो प्रेम विश्वव्यापी बन्ने आधार तयार हुन्छ।
आज हामी कहिलेकाहीं प्रेमको गहिराइलाई सम्बन्धको सङ्ख्या, सामाजिक सञ्जालका अनुयायी वा ‘सबै मेरो परिवार हुन्’ भन्ने घोषणाले मापन गर्छौं। तर प्रेमको सत्यता शब्दको मिठासले होइन, कठिन समयमा निभाइने उपस्थिति, निष्ठा र जिम्मेवारीले प्रमाणित हुन्छ। जसले नजिकका सम्बन्धमा प्रेम जिउन सकेन, उसका लागि सम्पूर्ण मानवतालाई प्रेम गर्ने घोषणा धेरै पटक सुन्दर कल्पना मात्र बन्न सक्छ।
आध्यात्मिक अभ्यासका अवसरहरू प्रायः साधारण देखिन्छन्: बिहान परिवारका सदस्यलाई मुस्कुराएर अभिवादन गर्नु; वृद्ध आमाबाबुको दोहोरिएको कुरा धैर्यपूर्वक सुन्नु; जीवनसाथीको असहमतिलाई आक्रमण होइन, फरक अनुभवका रूपमा ग्रहण गर्नु; सन्तानको गल्तीलाई अपमान होइन, शिक्षाको अवसर बनाउनु; र घरमा सेवा गर्ने व्यक्तिको गरिमालाई सम्मान गर्नु। यिनै साना क्षणहरूले मन परिष्कृत गर्छन् र प्रेमलाई व्यवहारमा उतार्छन्।
प्रेम, आसक्ति र विवेक
हामीमध्ये धेरैले प्रेमलाई सुन्दर भावना ठान्छौं। कसैले प्रशंसा गर्यो, आवश्यकता बुझिदियो वा विशेष महसुस गरायो भने हामी भन्छौं, ‘म उसलाई प्रेम गर्छु।’ तर भावना बदलिंदा प्रेम पनि समाप्त हुन्छ भने त्यो अझै परिपक्व प्रेम होइन। साँचो प्रेम सुखद् परिस्थितिमा मात्र टिक्दैन; कठिन परिस्थितिमै आफ्नो वास्तविक स्वरूप देखाउँछ।
आमाले बिरामी सन्तानको शय्याछेउ रातभर जाग्न सक्छिन्। वृद्ध जीवनसाथीले वर्षौंसम्म अर्कोको सेवा गर्न सक्छ। मित्रले प्रतिफलको अपेक्षा नगरी सङ्कटमा साथ दिन सक्छ। यस्ता क्षणमा प्रेम भावना मात्र रहँदैन; त्यो निर्णय, जिम्मेवारी र अन्ततः चरित्र बन्छ। प्रेमको परिपक्वता त्यसले कति आनन्द दियो भन्नेमा मात्र होइन, कति उत्तरदायित्व स्वीकार गर्यो भन्नेमा पनि देखिन्छ।
यहीं प्रेम र आसक्ति बीचको भिन्नता स्पष्ट हुन्छ । आसक्तिले अर्को व्यक्तिलाई आफ्ना अपेक्षा अनुसार बदल्न खोज्छ; प्रेमले उसलाई आफ्नो सर्वोत्तम सम्भावनासम्म पुग्न सहयोग गर्छ। आशक्तिले स्वामित्व खोज्छ, प्रेमले स्वतन्त्रता दिन्छ। आशक्ति गुमाउने डरबाट जन्मिन्छ; प्रेम विश्वासबाट। आसक्तिले भन्छ, ‘तिमी मेरो हुनुपर्छ।’ प्रेमले भन्छ, ‘तिमी आफ्नो सम्पूर्ण सम्भावनामा फुल्न सक।’
तर स्वतन्त्रता दिनु उदासीन हुनु होइन, र प्रेम गर्नु विवेक त्याग्नु पनि होइन। जहाँ हिंसा, अपमान, शोषण वा निरन्तर आत्मसम्मानको क्षय हुन्छ, त्यहाँ स्वस्थ सीमारेखा आवश्यक हुन्छ । कहिलेकाहीं सम्मानपूर्वक दूरी बनाउनु पनि प्रेमकै रूप हुन सक्छ, किनकि प्रेमको उद्देश्य आत्माको विकास हो, आत्मसम्मानको विनाश होइन। करुणा र सत्य एकअर्काका विरोधी होइनन्; परिपक्व प्रेममा दुवै सँगै रहन्छन् ।
एउटा चिकित्सकले सबै बिरामीप्रति करुणा राख्छ, तर शल्यक्रियाको समयमा आफ्नो सम्पूर्ण ध्यान एउटै बिरामीमा केन्द्रित गर्छ। यसले अरूप्रतिको करुणा घटाउँदैन; उसको तत्कालको उत्तरदायित्व स्पष्ट बनाउँछ। त्यसरी नै जीवनले दिएका सम्बन्धमा निष्ठापूर्वक बाँच्नु सार्वभौमिक प्रेमको विरोध होइन, त्यसको पहिलो प्रशिक्षण हो ।
प्रेम मानिसलाई सानो बनाउँदैन; विस्तार गर्छ । एउटा दीपकले अर्को दीपक बाल्दा आफ्नो प्रकाश गुमाउँदैन। त्यस्तै, साँचो प्रेम बाँड्दा घट्दैन; झन् उज्यालो बन्छ। यसैले प्रेम भावनात्मक सन्तुष्टि मात्र होइन—स्वार्थबाट सेवातर्फ, अधिकारबाट जिम्मेवारीतर्फ र ‘म’ बाट ‘हामी’ तर्फ चेतनालाई विस्तार गर्ने आध्यात्मिक अनुशासन हो ।
कर्म, संस्कार र प्रेमको विरासत
मानिसले संसारमा छोडेर जाने सबैभन्दा दीर्घजीवी सम्पत्ति धन वा भवन नहुन सक्छ; त्यो उसले आफ्नो व्यवहारबाट सिर्जना गरेको संस्कार हो। कर्मलाई भविष्यमा फल दिने रहस्यमय नियमका रूपमा मात्र बुझ्नु अपूर्ण हुन्छ। प्रत्येक विचार, शब्द र व्यवहारले हाम्रो चेतना, सम्बन्ध र समाजमा प्रभाव छोड्छ। दोहोरिएको व्यवहार स्वभाव बन्छ; स्वभावले चरित्र बनाउँछ; चरित्रले सम्बन्धको गुणस्तर र अर्को पुस्ताको दृष्टि निर्माण गर्छ।
एउटा बालकले आमाबाबुले हजुरबा–हजुरआमा, घरका सहयोगी, छिमेकी र अपरिचितसँग कसरी व्यवहार गर्छन् भन्ने ध्यानपूर्वक हेरिरहेको हुन्छ। उसले शब्द मात्र सिक्दैन; सम्मान, धैर्य, करुणा वा कहिलेकाहीं कठोरता, उपेक्षा र अहंकार पनि सिक्छ। हामी सन्तानलाई प्रेमको परिभाषा थोरै सिकाउँछौं, तर प्रेम कसरी जिउने भन्ने पाठ प्रत्येक दिन आफ्नो व्यवहारबाट दिइरहेका हुन्छौं।
कुनै घरमा वृद्धको आवश्यकतालाई बोझ ठानियो, कठोर शब्दलाई सामान्य बनाइयो र सम्मान औपचारिकतामा सीमित गरियो भने, बालकले त्यही सम्बन्धको भाषा ग्रहण गर्न सक्छ। वर्षौंपछि त्यही भाषा अर्को पुस्ताबाट फेरि फर्कन सक्छ। यसलाई केवल भाग्य भन्न मिल्दैन; यो व्यवहार संस्कार बनेर यात्रा गरेको परिणाम पनि हो। हामी संसारमा जे रोप्छौं, त्यो अरूको चेतनामा उम्रेर कुनै दिन फेरि हामीतिर फर्कन सक्छ।
‘मातृदेवो भव:, पितृदेवो भव:’ भन्ने सनातन वचनको गहिरो अर्थ केवल धार्मिक कर्तव्य पूरा गर्नु होइन; कृतज्ञता सिक्नु हो। जसले आफूलाई जीवन, पालनपोषण र संस्कार दिने व्यक्तिप्रति सम्मान राख्न सिक्छ, उसले सम्पूर्ण जीवनप्रति सम्मान विकास गर्ने आधार पाउँछ। कृतज्ञता केवल राम्रो बानी होइन; ‘मैले सबै कुरा आफ्नै बलले पाएँ’ भन्ने अहंकारलाई पगाल्ने आध्यात्मिक साधना हो।
यसको अर्थ अन्धअनुसरण भने होइन। सबै परिवार समान हुँदैनन्, र सबै परम्परा न्यायपूर्ण हुँदैनन्। अध्यात्मले अन्याय सहन होइन, सत्यलाई करुणा सहित सामना गर्न सिकाउँछ। स्वस्थ सीमारेखा, स्पष्ट संवाद, समयमै मागिएको क्षमा, निःस्वार्थ सेवा, क्रोधको क्षणमा सचेत मौन, यी साना कर्महरूले चेतना बदल्छन्। चेतनाबाट संस्कार, संस्कारबाट सम्बन्ध र सम्बन्धबाट समाजको भविष्य निर्माण हुन्छ।
त्यसैले प्रेम व्यक्तिगत अनुभूति मात्र होइन; विरासत पनि हो। हामी सन्तानलाई सम्पत्ति मात्र होइन, बोलीको शैली, सम्बन्ध निभाउने तरिका, क्षमा गर्ने क्षमता र मानिसको गरिमा हेर्ने दृष्टि पनि हस्तान्तरण गर्छौं। मानिसको ठूलो उपलब्धि उसले कति धन कमायो भन्नेमा होइन, उसले अर्को पुस्ताको हृदयमा कति सत्य, करुणा र प्रेम रोप्न सक्यो भन्नेमा मापन हुन सक्छ।
‘म’ बाट ‘हामी’ हुँदै समस्त सृष्टितर्फ
प्रेमको यात्रा निकट सम्बन्धबाट शुरु भए पनि त्यहीं समाप्त हुँदैन। शुरुमा मानिसले आफूलाई अलग व्यक्ति ठान्छ; त्यसपछि परिवारसँग एकत्व अनुभव गर्छ; विस्तारै त्यो अनुभूति समाज, राष्ट्र, मानवता र समस्त सृष्टितर्फ फैलिन्छ। एक दिन ‘म’ र ‘अरू’ बीचको कठोर विभाजन पग्लन थाल्छ, र जीवन एउटै दिव्य चेतनाका असंख्य अभिव्यक्तिका रूपमा देखिन थाल्छ। विभिन्न परम्पराले यसलाई मुक्ति, ईश्वरप्रेम, आत्मसाक्षात्कार वा परम शान्ति भनेका छन्।
यो विस्तार एकै दिनमा हुने चमत्कार होइन। उत्तर दिनुअघि एक क्षण रोकिने धैर्य, गल्ती स्वीकार गर्ने विनम्रता, क्षमा माग्ने साहस, अरूको सफलतामा ईर्ष्याभन्दा आनन्द अनुभव गर्ने उदारता र कसैको पीडाप्रति संवेदनशील हुने क्षमता, यिनै साधारण अभ्यासले असाधारण चेतना निर्माण गर्छन्। प्रेमलाई दैनिक जीवनमा उतार्ने बाटो साना तर निरन्तर निर्णयहरूबाट बनिन्छ।
हामी ईश्वरलाई भेट्न तीर्थ जान्छौं, ग्रन्थ पढ्छौं, ध्यान गर्छौं र गुरुको मार्गदर्शन खोज्छौं। यी सबै अमूल्य छन्। तर अन्ततः तिनको उद्देश्य हृदयलाई यति निर्मल बनाउनु हो कि प्रत्येक सम्बन्ध, प्रत्येक जीव र प्रत्येक क्षणमा त्यही दिव्य उपस्थिति चिन्न सकियोस्। ईश्वरलाई खोज्ने सबैभन्दा सुन्दर स्थान कुनै गुफा, पर्वत वा मन्दिर मात्र होइन; त्यो हाम्रो आफ्नै व्यवहारभित्र पनि लुकेको हुन्छ।
यस अर्थमा अध्यात्म संसारबाट भाग्ने मार्ग होइन; संसारलाई नयाँ दृष्टिले हेर्ने कला हो। प्रेम यसको भावना मात्र होइन, चेतना हो। जिम्मेवारी बोझ मात्र होइन, प्रेमको अभिव्यक्ति हो। सेवा कर्तव्य मात्र होइन, उपासना हो। जब यी सत्य दैनिक जीवनमा अवतरित हुन्छन्, ध्यान जीवनबाट अलग रहँदैन, जीवन स्वयं ध्यान बन्छ; परिवार साधनास्थल बन्छ; सम्बन्ध आत्मविकासका अवसर बन्छन्।
उपनिषद्हरूको अद्वैत, बुद्धको करुणा, येशूको प्रेम, पैगम्बर मुहम्मदको रहमत, गुरुहरूको सेवा र योगानन्द तथा स्वामी क्रियानन्दले सिकाउनुभएको दिव्य प्रेम, यी सबैको केन्द्रमा चेतनाको विस्तार छ। धर्मका भाषा, संस्कृति र साधनाका विधि फरक हुन सक्छन्; तर हृदय स्वार्थबाट मुक्त भई प्रेममा विस्तार हुँदा मार्गहरू एउटै सत्यमा आएर भेटिन्छन्।
अन्ततः जीवनले हामीलाई सोध्ने प्रश्नहरू सरल हुन सक्छन्: हाम्रो सम्पर्कमा आएका मानिसले आफूलाई कति सुरक्षित, सम्मानित र स्वीकारिएको महसुस गरे? हाम्रो व्यवहारले कति हृदयलाई शान्त बनायो? हाम्रो प्रेमले कति मानिसलाई बाँधेन, बरु स्वतन्त्र बनायो? प्रेमको मापन शब्द, सम्बन्धको सङ्ख्या वा सार्वजनिक छविले हुँदैन; हाम्रो उपस्थितिले अर्को जीवनमा ल्याएको मौन परिवर्तनले हुन्छ।
एक दिन हाम्रो नाम सम्झनाबाट हराउन सक्छ र उपलब्धिहरू इतिहासका पानामा सीमित हुन सक्छन्। तर हाम्रो प्रेमले एउटा हृदयलाई उदार बनायो, एउटा परिवारलाई नजिक ल्यायो, एउटा बालकलाई करुणा सिकायो वा एउटा मानिसलाई ईश्वरप्रतिको भरोसा दिलायो भने त्यो प्रेम जीवित रहन्छ। साँचो अध्यात्म असाधारण अनुभूतिको खोज मात्र होइन; साधारण जीवनलाई असाधारण प्रेमका साथ बाँच्ने कला हो।
हामीले जीवनभर खोजेको प्रेम बाहिर कतै हराएको थिएन। त्यो त हाम्रो आफ्नै चेतना स्वार्थको साँघुरो घेराबाट मुक्त भएर विस्तार हुने प्रतीक्षामा थियो। यही प्रेमबाट अध्यात्म शुरु हुन्छ, र यही दिव्य प्रेममा अध्यात्म परिपूर्ण हुन्छ।
(लेखक लामो समयदेखि क्रियायोग साधक तथा आईआईटी दिल्लीमा इन्जिनियरिङ अनुसन्धानरत विद्यार्थी हुन्।)
प्रतिक्रिया 4