News Summary
Generated by OK AI. Editorially reviewed.- ब्रेन डेथ अर्थात् मस्तिष्क मृत्यु भइसकेको अवस्थामा बिरामीको चेतना फर्किने सम्भावना नरहने वरिष्ठ न्युरोसर्जन प्रा. डा. राजीव झाले बताए ।
- मस्तिष्क मृत्यु र कोमा फरक अवस्था हुन्, जसमध्ये मस्तिष्क मृत्यु बिरामीको मस्तिष्कको कार्य अपरिवर्तनीय रूपमा बन्द भएको अवस्था हो ।
- मस्तिष्क मृत्युपछि परिवारले सहमति जनाएमा अंगदानमार्फत एक जना दाताबाट धेरै मानिसको जीवन बचाउन सकिने सम्भावना रहन्छ ।
मृत्यु भइसकेको छ । तर उसको मुटु अझै धड्किरहेको छ । भेन्टिलेटरको सहायतामा छाती उठिरहेको देखिन्छ । शरीर तातो छ ।
हातखुट्टामा कहिलेकाहीँ चलेको देखिन सक्छ । परिवारका लागि यस्तो दृश्य स्वीकार गर्न सहज हुँदैन ।
‘मुटु चलिरहेको छ, सास चलिरहेको छ भने मानिस कसरी मर्यो ?’ मस्तिष्क मृत्युका विषयमा सबैभन्दा ठूलो भ्रम यही हो ।
मस्तिष्क मृत्यु घोषित भएको मानिसको मस्तिष्कले पूर्ण र अपरिवर्तनीय रूपमा काम गर्न छाडिसकेको हुन्छ ।
उसले चेतना प्राप्त गर्न सक्दैन, आफैं सास फेर्न सक्दैन र सामान्य अवस्थामा फर्किन सक्दैन । तर भेन्टिलेटरको सहायतामा शरीरमा अक्सिजन र रक्तसञ्चार केही समय कायम रहन सक्छ ।
त्यसैले, मुटु धड्किन सक्छ र शरीरका केही अंगले काम गरिरहन सक्छन्, त्यही समय अरू कसैका लागि जीवनको सम्भावना बन्न सक्छ ।
मस्तिष्क मृत्यु भएको व्यक्तिको परिवारले अंगदानका लागि सहमति दिएमा चिकित्सकीय रूपमा उपयुक्त अंग अर्को बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ । एउटा दाताबाट धेरै मानिसले नयाँ जीवन पाउन सक्छन् । तर नेपालमा यो सम्भावना निकै कम प्रयोग भइरहेको छ ।
नेपालमा हरेक वर्ष ठूलो संख्यामा मस्तिष्क मृत्युका घटना हुन्छन् । तर अहिलेसम्म मस्तिष्क मृत्यु भएका ९ जना बिरामीबाट मात्र २५ वटा अंग दान तथा प्रत्यारोपणका लागि प्राप्त भएका छन् । पछिल्लो तथ्यांकले यही भन्छ ।
देशकै ठुलो सरकारी अस्पताल राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालकै कुरा गर्ने हो भने, यहाँ महिनामा १०–१२ वटा मस्तिष्क मृत्युका घटना हुन्छन् ।
यहाँ अंगदानसम्म पुग्ने त परको कुरा, यसबारे सुन्न र बुझ्न चाहने मानिसको संख्या नै नगन्य छ । जसले गर्दा अंगदान अहिलेसम्म यी दुई अस्पतालमा हुन नसक्नु दुखद रहेको वरिष्ठ न्युरोसर्जन प्रा. डा. राजीव झा बताउछन् ।
त्यसैले, प्रश्न मात्र ‘नेपालमा मस्तिष्क कति हुन्छ ?’ भन्ने होइन । प्रश्न यो पनि हो, मस्तिष्क मृत्यु भएको व्यक्तिबाट अरूको जीवन बचाउन सकिने अंग हामी किन बचाउन सकिरहेका छैनौं ? नेपालमा मस्तिष्क मृत्युका घटना र त्यसपछिको अंगदानको संख्याबीच किन ठूलो अन्तर छ ? आखिर किन यस्तो भइरहेको छ त ?
मस्तिष्क मृत्यु र त्यसपछिको अंगदानबारे विस्तृत जानकारीका लागि हामीले प्रा. डा. राजीव झालाई यही विषयमा केन्द्रित रहेर प्रश्न गरेका छौं:
मस्तिष्क मृत्यु भनेको के हो ?
मस्तिष्कले चेतना, श्वासप्रश्वास, रिफ्लेक्स र शरीरका धेरै महत्त्वपूर्ण कार्य नियन्त्रण गर्छ । मस्तिष्कमा यति गम्भीर क्षति पुग्छ कि त्यसको सम्पूर्ण कार्य अपरिवर्तनीय रूपमा बन्द हुन्छ भने त्यसलाई ब्रेन डेथ अर्थात, मस्तिष्कको मृत्यु भनिन्छ ।
यसको अर्थ मस्तिष्क ‘कमजोर’ भएको होइन । मस्तिष्क ‘सुस्त’ भएको पनि होइन । र, बिरामी ‘गहिरो निद्रा’ मा गएको पनि होइन । मस्तिष्कको सम्पूर्ण र अपरिवर्तनीय मृत्यु भएको अवस्था हो ।
चिकित्सा विज्ञानमा मस्तिष्क मृत्यु भएको व्यक्तिलाई मृत मानिन्छ । तर बाहिरबाट हेर्दा अवस्था फरक देखिन सक्छ । मुटु चलिरहेको हुन्छ । भेन्टिलेटरले फोक्सोमा हावा पठाइरहेको हुन्छ । शरीरमा अक्सिजन पुगिरहेको हुन्छ । यही कारण परिवारका सदस्यलाई मृत्यु स्वीकार गर्न गाह्रो हुन्छ ।
कोमा र मस्तिष्क मृत्यु उस्तै हो ?
कोमा र मस्तिष्क मृत्यु एउटै होइन । कोमामा व्यक्ति चेतनाविहीन हुन्छ । बाहिरी संसारप्रति प्रतिक्रिया निकै कम वा नहुन सक्छ । तर मस्तिष्कका केही भागले काम गरिरहेका हुन्छन् । बिरामीको अवस्था, मस्तिष्कमा भएको क्षति र उपचारअनुसार कोमाबाट सुधार हुने सम्भावना पनि हुन्छ । ब्रेन डेथमा भने मस्तिष्कको सम्पूर्ण कार्य अपरिवर्तनीय रूपमा समाप्त भएको हुन्छ ।
त्यसैले, कोमालाई गहिरो बेहोसीको अवस्था र मस्तिष्क मृत्युलाई मस्तिष्कको अपरिवर्तनीय मृत्यु भन्न सकियो । यही अन्तर परिवारले बुझ्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।
मस्तिष्क मरेपछि पनि मुटु किन धड्किन्छ ?
यो प्रश्न स्वाभाविक हो । ‘मस्तिष्क मरिसक्यो भने मुटु किन चलिरहेको छ ?’
मुटुमा आफ्नै विद्युतीय गतिविधि हुन्छ । त्यसैले मस्तिष्कले काम गर्न छाडेपछि पनि केही समय मुटु आफैं धड्किन सक्छ । अर्कोतर्फ, भेन्टिलेटरले फोक्सोमा अक्सिजन पुर्याइरहेको हुन्छ । शरीरमा रक्तसञ्चार कायम रहन्छ । त्यसैले, केही समयसम्म मिर्गौला, कलेजो, मुटु र अन्य अंगमा अक्सिजन पुगिरहन सक्छ । यही कारण मस्तिष्क मृत्यु भएको बिरामीको मुटु चलिरहेको देखिन्छ ।
तर त्यो मानिस चेतनामा फर्किन्छ भन्ने होइन । मुटु चल्नु र मस्तिष्क जीवित हुनु एउटै कुरा होइन । यो कुरा बुझाउन कठिन भइरहको छ ।
मस्तिष्क मृत्यु के कारणले हुन्छ ?
मस्तिष्क मृत्यु धेरै कारणले हुन सक्छ । सडक दुर्घटनामा टाउकोमा गम्भीर चोट लाग्नु यसको एउटा प्रमुख कारण हो । त्यसबाहेक मस्तिष्कमा रक्तस्राव, स्ट्रोक, ब्रेन ट्युमरलगायतका कारणले पनि मस्तिष्कको अपरिवर्तनीय मृत्यु हुन सक्छ ।
तर टाउकोमा गम्भीर चोट लाग्दैमा सबै बिरामीको मस्तिष्क मृत्यु हुन्छ भन्ने होइन । धेरै बिरामी गम्भीर चोटपछि पनि उपचारबाट बाँच्न सक्छन् । ‘ब्रेन डेथ’ भने मस्तिष्कमा अत्यन्त गम्भीर र अपरिवर्तनीय क्षति भएको अवस्थामा मात्र हुन्छ ।
मस्तिष्क मृत्यु भएको कसरी निश्चित गरिन्छ ?
मस्तिष्क मृत्युको घोषणा कुनै एउटा लक्षण हेरेर गरिँदैन । यसका लागि चिकित्सकको टोलीले निश्चित परीक्षण गर्नुपर्छ । बिरामीको चेतना छ कि छैन, विभिन्न ब्रेनस्टेम रिफ्लेक्स छन् कि छैनन् र बिरामीले आफैं सास फेर्न सक्छ कि सक्दैन भन्ने लगायतका पक्ष परीक्षण गरिन्छ ।
त्यसअघि बिरामी बेहोस हुनुको कारण कुनै उल्टाउन सकिने अवस्था होइन भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । उदाहरणका लागि औषधिको प्रभाव वा शरीरको तापक्रम अत्यधिक घटेका कारण बिरामी अचेत भएको हो कि होइन भन्ने कुरा छुट्याउनुपर्छ ।
नेपालमा मस्तिष्क मृत्यु घोषणा गर्न सम्बन्धित रोगका विशेषज्ञ चिकित्सकसहित एनेस्थेसियोलोजिस्ट वा इन्टेन्सिभिस्ट रहेको चिकित्सक टोलीबाट परीक्षण गरिन्छ । १२ घण्टाको अन्तरालमा दुईपटक परीक्षण गर्दा आवश्यक कुनै चिह्न नदेखिएमा मस्तिष्क मृत्यु घोषणा गर्न सकिन्छ । त्यसैले ‘अस्पतालले अंग निकाल्नका लागि ब्रेन डेथ घोषणा गर्यो’ भन्ने बुझाइ सही होइन ।
ब्रेन डेथ पहिले चिकित्सकीय रूपमा प्रमाणित हुन्छ । अंगदानको कुरा त्यसपछि मात्र आउँछ ।
मस्तिष्क मृत्युपछि बचाउने कुनै उपाय बाँकी रहँदैन ?
परिवारका सदस्यले अन्तिम समयसम्म पनि सोध्ने प्रश्न हो, ‘अझै केही उपचार बाँकी छैन ?’ मस्तिष्कको सम्पूर्ण कार्य अपरिवर्तनीय रूपमा बन्द भएको अवस्थामा बिरामीलाई सामान्य अवस्थामा फर्काउने उपचार हुँदैन । तर भेन्टिलेटर र औषधिको सहयोगमा केही समयसम्म शरीरका अंगमा रक्तसञ्चार र अक्सिजन कायम राख्न सकिन्छ ।
यही समय अंगदानका लागि महत्त्वपूर्ण हुन्छ । यसलाई ‘बिरामीलाई बचाइराखेको’ भन्दा दान गर्न मिल्ने अंगलाई केही समयसम्म सुरक्षित अवस्थामा राखिएको भनेर बुझ्न सकिन्छ ।
एउटा दाताबाट आठ जनासम्मलाई जीवन बचाउन सकिन्छ भनिन्छ, नि ? यो कसरी सम्भव छ ?
मस्तिष्क मृत्यु भएको एउटा दाताबाट चिकित्सकीय अवस्था अनुकूल भएमा आठ जनासम्मको जीवन बचाउन सकिने सम्भावना हुन्छ । तर यो अधिकतम सम्भावनाको कुरा हो । हरेक दाताबाट आठवटै अंग निकालेर आठ जनामा प्रत्यारोपण हुन्छ भन्ने होइन ।
मस्तिष्क मृत्यु भएको दाताबाट चिकित्सकीय अवस्था अनुकूल भएमा विभिन्न अंग निकालेर प्रत्यारोपण गर्न सकिन्छ । मुख्य रूपमाः दुई मिर्गौला, कलेजो, मुटु, दुई फोक्सो, आमाशय, सानो आन्द्रा जस्ता अंग प्रयोग हुन सक्छन् । त्यससँगै आँखा तथा विभिन्न तन्तु पनि दान गर्न सकिन्छ ।
कहिलेकाहीँ दुईवटा मिर्गौला र कलेजो मात्र उपयुक्त हुन सक्छन । कहिलेकाहीँ मुटु वा फोक्सो पनि प्रयोग गर्न सकिन्छ । अंगको गुणस्तर, दाताको अवस्था र प्राप्तकर्तासँगको मिलानले सबै कुरा निर्धारण गर्छ ।
दाता कति उमेरको हो, कुन रोगका कारण मस्तिष्क मृत्यु भएको हो, अंगको अवस्था कस्तो छ, संक्रमण छ कि छैन, प्राप्तकर्तासँग मिल्छ कि मिल्दैन लगायतका विषय हेरेर अंग प्रयोग गर्ने निर्णय हुन्छ ।
त्यसैले, मस्तिष्क मृत्यु भयो भने सबै अंग निकालिन्छ’ भन्ने बुझाइ पनि गलत हो । एउटा कुरा स्पष्ट छ, एक जना दाताले एकभन्दा धेरै मानिसको जीवनमा बचाउँछ ।
नेपालमा वर्षमा कति मस्तिष्क मृत्युका घटना हुन्छन् ? कति अंग प्रयोग गर्न सकिने हुन्छ ?
नेपालमा वर्षमा करिब १८०० देखि २००० सम्म मस्तिष्क मृत्युका घटना हुने अनुमान छ । तर मस्तिष्क मृत्यु भएका सबै व्यक्ति अंगदानका लागि उपयुक्त हुँदैनन् । मस्तिष्क मृत्यु भएका सबै व्यक्ति अंगदानका लागि योग्य हुँदैनन् । सबै अंग स्वस्थ र प्रत्यारोपणयोग्य नहुन सक्छन् ।
कुनै अंगका लागि उपयुक्त प्राप्तकर्ता तत्काल नहुन सक्छन् । सबै अंग प्रत्यारोपण गर्ने सुविधा अस्पतालहरूमा नहुन सक्छ ।
त्यसमाथि मस्तिष्क मृत्यु पहिचानदेखि अंग निकाल्ने र प्रत्यारोपण गर्ने प्रक्रियामा समय निकै महत्त्वपूर्ण हुन्छ । समयमै प्रक्रिया अघि बढ्न नसके अंग प्रयोग गर्न नमिल्ने अवस्था पनि आउन सक्छ ।
मस्तिष्क मृत्यु भएको बिरामी पहिचान भएपछि परिवारलाई बुझाउने, अंगदानका लागि सहमति लिने, समन्वय टोलीलाई खबर गर्ने र उपयुक्त अंगलाई समयमै निकालेर प्रत्यारोपण गर्ने प्रक्रिया व्यवस्थित हुनुपर्छ । यीमध्ये कुनै एउटा पक्ष कमजोर भयो भने सम्भावित अंग पनि प्रयोगमा आउन सक्दैन।
मस्तिष्क मृत्युपछि कुन अंग कति समय सुरक्षति रहन्छ ?
अंगदानमा समय सबैभन्दा महत्त्वपूर्ण हुन्छ । अंग शरीरबाट निकालिसकेपछि त्यसमा रक्तसञ्चार हुँदैन । त्यसैले विशेष संरक्षण गरेर सकेसम्म छिटो प्रत्यारोपण गर्नुपर्छ।
अंगअनुसार सुरक्षित राख्न सकिने समय फरक हुन्छ । मिर्गौला तुलनात्मक रूपमा लामो समय सुरक्षित राख्न सकिन्छ । विभिन्न संरक्षण प्रविधिअनुसार करिब २४ देखि ३६ घण्टासम्मको समय हुन सक्छ ।
कलेजोका लागि समय निकै छोटो हुन्छ, सामान्यतया करिब ६ देखि १२ घण्टाभित्र प्रत्यारोपण गर्नु उपयुक्त हुन्छ ।
मुटुका लागि समय झन् कम हुन्छ, सामान्यतया करिब ४ देखि ६ घण्टामै प्रत्यारोपण गरिसक्नुपर्छ । फोक्सो पनि केही घण्टाभित्र प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसैले, मस्तिष्क मृत्यु पहिचान भएपछि अंगदान प्रक्रिया तुरुन्तै सुरु गर्नुपर्ने हुन्छ ।
अंग निकाल्ने टोली बोलाउने, प्रयोगशालामा परीक्षण गर्ने, प्राप्तकर्ता छनोट गर्ने, शल्यक्रिया गर्ने र अंगलाई प्रत्यारोपण केन्द्रमा पुर्याउने काम एउटै समयरेखामा अघि बढ्नुपर्छ ।
नेपालमा अहिले सबैभन्दा ठूलो समस्या कहाँ देख्नुहुन्छ, मस्तिष्क मृत्यु पहिचानमा, परिवारलाई बुझाउनमा वा अंग प्रत्यारोपणको प्रणालीमा ?
सबैभन्दा ठूलो कुरा जनचेतनाको अभाव हो । हामीले मस्तिष्क मृत्यु भनेको के हो र मस्तिष्क मृत्यु भएपछि बिरामी बाँच्न सक्दैन भन्ने कुरा नै धेरै मानिसलाई बुझाउन सकेका छैनौं । मुटु चलिरहेको हुन्छ, भेन्टिलेटरले सास दिइरहेको हुन्छ, शरीर पनि तातो हुन्छ । यस्तो अवस्थामा परिवारले ‘मुटु त चलिरहेको छ, कसरी मर्यो ?’ भनेर सोच्नु स्वाभाविक हो । त्यसैले पहिले मस्तिष्क मृत्युको वास्तविक अर्थ नै बुझाउन आवश्यक छ ।
अर्को कुरा, परिवारलाई बुझाउन पनि निकै गाह्रो हुन्छ । आफन्त गुमाएको शोकमा रहेको परिवारसँग त्यही बेला अंगदानको कुरा गर्नुपर्छ । उहाँहरू मानसिक रूपमा निकै पीडामा हुनुहुन्छ । यस्तो अवस्थामा ‘अंगदान गर्नुस्’ भनेर मात्र हुँदैन । कतिपय परिवारले ‘खराब नियतले यस्तो गरेको पो हो कि’ भनेर समेत शंका गर्न सक्छन् । हामीले बिरामीलाई बचाउने उपचार र अंगदानको प्रक्रियालाई परिवारले अलग–अलग रूपमा बुझ्ने वातावरण बनाउनुपर्छ ।
त्यसपछि हाम्रो धार्मिक र सांस्कृतिक मान्यता पनि आउँछ । नेपालमा विभिन्न धर्म, संस्कृति र परम्परा छन् । मृत शरीरलाई लिएर सबैका आ–आफ्ना विश्वास र संस्कार छन् । त्यसैले अंग निकाल्ने कुरा परिवारलाई सहज लाग्दैन । कतिपयले धार्मिक कारण देखाएर पनि अंगदान गर्न मान्नुहुन्न ।
यसको समाधान धार्मिक विश्वासलाई गलत ठहर्याएर मात्र हुँदैन । धार्मिक अगुवा, समुदायका प्रभावशाली व्यक्ति र स्वास्थ्यकर्मीबीच संवाद आवश्यक हुन्छ । अंगदान गरेपछि पनि मृतकको अन्तिम संस्कार सम्मानपूर्वक गर्न सकिन्छ भन्ने जानकारी दिनुपर्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको हामीले अंगदानलाई मृत्युको बेलामा मात्र सम्झिने होइन, जीवित छँदै यसबारे सोच्ने वातावरण बनाउनुपर्छ । मानिसलाई मस्तिष्क मृत्यु, अंगदान र प्रत्यारोपणबारे पहिल्यै जानकारी भयो भने परिवारले यस्तो कठिन समयमा निर्णय लिन केही सहज हुन्छ ।
जनचेतना बढाउने, परिवारलाई विश्वासमा लिने र अंगदानको प्रक्रिया स्पष्ट तथा व्यवस्थित बनाउने हो भने नेपालमा अहिलेभन्दा धेरै अंग प्रत्यारोपण गर्न सकिने सम्भावना छ ।
त्यसो भए, मानिसले मस्तिष्क मृत्यु र अंगदानको कुरा सजिलै बुझ्ने र स्वीकार गर्ने कुनै विकल्प वा उपाय छैन ?
यसको सुरुवात नै जनचेतनाबाट गर्नुपर्छ । मानिसलाई मस्तिष्क मृत्यु भनेको के हो, कोमा र मस्तिष्क मृत्युमा के फरक छ र मस्तिष्क मृत्यु भएपछि बिरामी बाँच्न सक्दैन भन्ने कुरा सरल भाषामा बुझाउनुपर्छ । अहिले धेरै मानिसलाई यी कुरा नै थाहा छैनन् ।
अंगदानको विषयलाई अस्पतालमा मात्र सीमित राखेर हुँदैन । विद्यालयको पाठ्यक्रमदेखि नै यसबारे जानकारी दिन सकिन्छ । कम्तीमा कक्षा १२ सम्म मस्तिष्क मृत्यु र अंगदानबारे आधारभूत कुरा पढाउने हो भने नयाँ पुस्ताले यसलाई स्वाभाविक रूपमा बुझ्न सक्छ ।
त्यस्तै, राष्ट्रिय परिचयपत्र वा लाइसेन्सजस्ता कागजात बनाउँदा व्यक्तिले मृत्युपछि आफ्नो अंगदान गर्न चाहन्छु वा चाहन्नँ भनेर इच्छा जनाउन सक्ने व्यवस्था गर्न सकिन्छ । मानिसले जीवित छँदै आफ्नो इच्छा व्यक्त गरेको अवस्थामा पछि परिवारलाई पनि निर्णय लिन सजिलो हुन्छ ।
अहिले समस्या के छ भने अंगदानको कुरा नै परिवारले पहिलोपटक आफन्तको मृत्युको अवस्थामा सुन्छ । त्यतिबेला उनीहरू शोकमा हुन्छन् । त्यसैले अंगदानबारे निर्णय मृत्युको बेला मात्र गर्ने होइन, मानिस जीवित छँदै परिवारमा यसबारे कुरा गर्ने वातावरण बनाउनुपर्छ ।
प्रतिक्रिया 4