News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान पाउने सूचीमा जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई समावेश गरेको छ।
- अर्थ मन्त्रालयले कार्यविधि संशोधन गर्दै जेनजी आन्दोलनका लक्षित वर्गलाई १५ लाख रुपैयाँसम्म स्वरोजगार उद्यम कर्जा दिने व्यवस्था मिलाएको छ।
- बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने यस्तो कर्जामा सरकारले ३ प्रतिशत ब्याज अनुदान दिने निर्णय गरेको छ।
२९ साउन, काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान लिन पाउने सूचीमा जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई समावेश गरेको छ ।
अर्थ मन्त्रालयका अनुुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०८३ मार्फत यस्तो व्यवस्था गरिएको हो ।
कार्यविधिमा यसअघि बैंक तथा वित्तीय संस्थाले दिन सक्ने सहुलियतपूर्ण कर्जा सीमाका लागि विभिन्न ८ क्षेत्र तोकिएका थिए । अहिले सरकारले जेनजी आन्दोलनका शहीद परिवार र घाइते लक्षित स्वरोजगार उद्यम कर्जा १५ लाख रुपैयाँसम्म दिन सकिने गरी सीमा तोकेको छ ।
संशोधित कार्यविधिमा कर्जाका लागि योग्यता यथावत् राख्दै नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट जेनजी आन्दोलनका शहीद परिवार वा घाइते भएको प्रमाणित हुनपर्ने प्रावधान राखिएको छ । शहीद परिवारभित्र शहीद भएका व्यक्तिको पति, पत्नी, छोरा, छोरी, बाबु र आमाले यस्तो कर्जा लिन सक्नेछन् ।
जेनजी शहीद परिवार र घाइतेले कृषि तथा पशुपन्छी व्यवसाय र घरेलु तथा साना उद्योगका लागि सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।
यसैगरी सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग, स्टार्टअप उद्यम र नेपाल सरकारले समय–समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारमूलक व्यवसायका लागि कर्जा लिन सक्ने गरी तोकिएको छ ।
कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा एकाघर परिवारका सदस्यको व्यक्तिगत वा समूह जमानीमा व्यवसाय परियोजना धितो राखी कर्जा प्रवाह गर्न सक्ने प्रावधान छ ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा लाग्ने ब्याजदरमध्ये ३ प्रतिशतले हुने रकम नेपाल सरकारबाट अनुदान स्वरूप प्राप्त हुन्छ ।
प्रतिक्रिया 4