News Summary
Generated by OK AI. Editorially reviewed.- लिनिङ १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।
- पुरुष एकलको सेमिफाइनलमा क्षितिज खनालले विष्णु कटुवालसँग र प्रफुल महर्जनले प्रिन्स दाहालसँग प्रतिस्पर्धा गर्नेछन्।
- महिला एकलतर्फ रसिला महर्जनले निता लम्सालसँग तथा रिहाना सेरचनले शेस्ना श्रीपालसँग फाइनल प्रवेशका लागि खेल्नेछन्।
२९ साउन, काठमाडौं । लिनिङ १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पुरुष तथा महिला एकलतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।
सहआयोजक यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा बिहीबार सम्पन्न समूह चरणका खेलसँगै पुरुष र महिला एकलतर्फका समूह विजेता तथा उपविजेताको टुंगो लागेको हो ।
पुरुष एकलको समूह ‘ए’ बाट एपीएफका क्षितिज खनाल तीन खेलमा तीनै जितसहित समूह विजेता बने । प्रिन्स दाहाल दुई जितसहित उपविजेता बन्दै सेमिफाइनल पुगे । क्षितिजले नेपाल पुलिस क्लबका सुनिल जोशीलाई २१–९, २१–१२ तथा प्रिन्सले पुलिसकै जीवन आचार्यलाई २२–२०, २१–१६ ले पराजित गरे ।
समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन तीनै खेल जित्दै विजेता तथा पुलिसका विष्णु कटुवाल दुई जितसहित उपविजेता बने । समूह विजेताको निर्णायक खेलमा प्रफुलले विष्णुलाई १४–२१, २१–१२, २१–१७ ले हराए । अर्को खेलमा एपीएफका देवराज रानाले पुलिसका दीपक बोहरालाई २१–१६, २२–२० ले पराजित गरे ।
अब पुरुष एकलको फाइनल प्रवेशका लागि क्षितिजले विष्णु तथा प्रफुलले प्रिन्सको सामना गर्नेछन् ।
महिला एकलतर्फ समूह ‘ए’ बाट नेपाल नम्बर एक खेलाडी तथा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन दुई खेलमा दुई जितसहित विजेता बनिन् । पुलिसकी शेस्ना श्रीपाली एक जितसहित उपविजेता बनेकी छन् । रसिलाले आर्मीकै अनुमाया राईलाई २१–५, २१–७ ले पराजित गरिन् ।
समूह ‘बी’ बाट एपीएफकी रिहाना सेरचन तीन खेलमा तीनै जितसहित विजेता तथा पुलिसकी निता लम्साल दुई जितसहित उपविजेता बनिन् । समूह विजेता तथा उपविजेताको टुंगो लगाउने खेलमा रिहानाले नितालाई १३–२१, २१–१४, २१–१२ ले हराइन् । अर्को खेलमा सिटिजन्स बैंककी नङ्गशल तामाङले आर्मीकी अमिता गिरीलाई २०–२२, २१–११, २१–१० ले पराजित गरिन् ।
महिला एकलको फाइनल प्रवेशका लागि रसिलाले निता तथा रिहानाले शेस्नाको सामना गर्नेछन् ।
नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष यू–११ एकलतर्फ पनि अन्तिम आठको समीकरण पूरा भएको छ । नेपाल पुलिसका विराट बस्नेत, सुर्खेतका सुप्रेन शाही, आर्मीका कृमोन रिजाल, इमाडोल ब्याडमिन्टनका धननारायण श्रेष्ठ, नोबल इन्भाइरोमेन्टका डेनिस थापा, सुर्खेतका माहिर बाबु श्रीपाली, जेबीएका दीप तामाङ र कस्तुरी एकेडेमीका प्रज्ञान ढकाल अन्तिम आठमा पुगे ।
महिला यू–११ एकलतर्फ आर्मीकी युमिका राई, सिन्धुपाल्चोककी रिदिना श्रेष्ठ, इमाडोल ब्याडमिन्टनकी इर्याना मगर, ग्यालेक्सीकी योन्जना मगर, आर्मीकी अरक्षा डंगोल, जेबीएकी देनिशा प्रधान, ग्यालेक्सीकी अर्चना मगर र एपीएफकी रेन्शा श्रेष्ठले क्वार्टरफाइनलमा स्थान बनाए।
प्रतिक्रिया 4