News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजार नगरपालिका–७ ले आधारभूत प्राविधिक विद्यालयलाई विद्यार्थी ओसारपसार गर्न करिब ५ लाख रुपैयाँ लागतको सिटी रिक्सा हस्तान्तरण गरेको छ।
- वडा अध्यक्ष हरिशरण ठाकुरले विपन्न तथा दलित समुदायका विद्यार्थीलाई विद्यालय आउन–जान सहज होस् भन्ने उद्देश्यले रिक्सा उपलब्ध गराएको बताएका छन्।
- प्रधानाध्यापक ज्वाला मोक्तानले रिक्साको व्यवस्थाले विद्यालयका १०५ जना विद्यार्थीलाई समयमै कक्षामा उपस्थित हुन र पठनपाठन प्रभावकारी बनाउन मद्दत पुग्ने उल्लेख गरे।
३१ साउन, सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ ले आधारभूत प्राविधिक विद्यालय कदिमाटोललाई विद्यार्थी ओसारपसारका लागि सिटी रिक्सा हस्तान्तरण गरेको छ । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा वडा अध्यक्ष हरिशरण ठाकुरले विद्यालयका प्रधानाध्यापक ज्वाला मोक्तानलाई सिटी रिक्साको चाबी हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा वडा अध्यक्ष ठाकुरले विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी अति विपन्न तथा दलित समुदायका रहेको र उनीहरूलाई विद्यालयसम्म आउन–जान निकै कठिनाइ हुँदै आएको बताए।विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयको बजेटबाट करिब ५ लाख रुपैयाँमा सिटी रिक्सा खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
‘ठूलो सहयोग नभए पनि सानो सहयोगले विद्यार्थीको आवतजावतमा सहजता हुने अपेक्षा गरेका छौँ,’ अध्यक्ष ठाकुरले भने।
विद्यालयका प्रधानाध्यापक ज्वाला मोक्तानले विद्यार्थीहरू पैदल हिँडेर विद्यालय आउँदा ढिलो हुने र त्यसको प्रत्यक्ष असर पठनपाठनमा पर्ने गरेको बताए। वडा कार्यालयले सिटी रिक्सा उपलब्ध गराएपछि विद्यार्थीलाई समयमै विद्यालय आउन सहज हुने र पठनपाठनसमेत प्रभावकारी हुने उनले बताए।
प्रधानाध्यापक मोक्तानका अनुसार विद्यालयमा हाल १०५ जना विद्यार्थी अध्ययनरत छन्। गाउँ तथा आसपासका क्षेत्रबाट विद्यार्थीहरू अध्ययनका लागि आउने भएकाले विद्यालय सञ्चालन हुनुभन्दा केही घण्टा अगाडि सिटी रिक्सा सञ्चालन गरी विद्यार्थीलाई विद्यालयसम्म ल्याउने व्यवस्था गरिने उनले जानकारी दिए।
वडा कार्यालयको उक्त सहयोगले आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीलाई विद्यालय आवतजावतमा प्रत्यक्ष राहत पुग्ने विद्यालयले जनाएको छ।
प्रतिक्रिया 4