Comments Add Comment

दुई महिनामा भित्रियो साढे ६ अर्बको सवारी तथा पार्टस

moters-group

९ कात्तिक, काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष सवारी साधन तथा स्पेयर पार्टसको आयात उच्च रहने देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सवारी साधन तथा पार्टसको आयात ३२.८ प्रतिशतले बढेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा जम्मा ८.२ प्रतिशतले आयात बढेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा ६ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ बराबरको सवारी तथा स्पेयर पार्टस आयात भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ४ अर्ब ८१ करोड ६३ लाख रुपैयाँको सवारी तथा पार्टस आयात भएको थियो ।

नेपालको व्यापार घाटा उच्च बनाउन ठूलो भूमिका निर्वाह गर्दै आएको सवारीको आयात हरेक वर्ष उच्च दरले बढ्दै गइरहेको छ । मानिसको आम्दानीमा भएको वृद्धि र सवारी सौखिनताले आयात बढ्दै गइरहेको व्यवसायीहरु बताउँछन् ।

सरकारले सवारी साधनलाई विलासिताको वस्तुका रुपमा लिएपनि पछिल्लो समय सवारी अत्यावश्यक साधन बन्न पुगेको छ । मुलुकभर बढ्दो सडक सञ्जालले पनि सवारी आयात बढाउन टेवा पुर्‍याएको देखिन्छ ।

शहरदेखि दुर्गम गाउँसम्म अहिले सवारी साधन हुँइकिने गरेका छन् । नेपालमा मोटरसाइकल सबैको पहुँचमा रहेको हुँदा यसको आयात उच्च रहेको छ ।

आर्थिक वर्ष २०६९/७० को पहिलो दुई महिनामा मुलुकमा ४ अर्ब ४५ करोड ३० लाख रुपैयाँ बराबरको सवारी आयात भएका थिए । पछिल्ला वर्षहरुमा सवारी साधनको आयात बढ्दै गइरहेको यातायात व्यवस्था विभागको दर्ता तथ्यांकले पनि देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment