News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको ह्याम्स अस्पतालमा १७५ किलो तौल र बीएमआई ६५ भएका ४१ वर्षीय पुरुषको बेरियाट्रिक सर्जरी सफल भयो ।
- शल्यक्रियाअघि करिब दुई महिनाको तयारीमा मधुमेह, उच्च रक्तचाप र स्लीप एपनिया नियन्त्रण गर्दै सीपीएपी, जाँच र आहारसम्बन्धी व्यवस्था गरिएको थियो।
१७५ किलो तौल । बीएमआई ६५ ।
‘सिभियर अब्स्ट्रक्टिभ स्लीप एपनिया’ । यो भनेको निद्रामा श्वास रोकिने गम्भीर समस्या । त्यसका लागि ४१ वर्षीय पुरुषले लिइरहेका थिए, सीपीएपीको सहारा ।
साथै, टाइप–२ मधुमेह, उच्च रक्तचाप र डिप्रेसन ।
यस्तो जटिल स्वास्थ्य अवस्थाबीच काठमाडौंको ह्याम्स अस्पतालमा ती पुरुषको बेरियाट्रिक सर्जरी गरियो । शल्यक्रियापछि ४८ घण्टामै उनलाई सुरक्षित रूपमा घर पठाइयो ।
पहिलो नजरमा हेर्दा ‘४८ घण्टामै डिस्चार्ज’ भएको एउटा असाधारण घटना जस्तो देखिन्छ । तर उपचारमा संलग्न टोलीका अनुसार यस केसको सबैभन्दा महत्वपूर्ण पक्ष समय होइन ।
शल्यक्रियाअघि गरिएको सावधानीपूर्ण तयारी, शल्यक्रियाका क्रममा अपनाइएको योजना, निरन्तर निगरानी र एनेस्थेसिया, पल्मोनोलोजी, नर्सिङ, फिजियोथेरापीलगायत विभिन्न टोलीबीचको समन्वयले यो सम्भव भएको हो ।
उपचार टोलीले पनि यसलाई ‘छिटो अस्पतालबाट निकालिएको’ उपलब्धिका रूपमा भन्दा तयारी, विशेषज्ञता, टोलीगत काम र बिरामीको सुरक्षाको परिणामका रूपमा व्याख्या गरेको छ ।
प्रश्न उठ्छ, मोटोपन घटाउन शल्यक्रिया नै किन आवश्यक भयो ?
कतिपय बिरामीका लागि विशेषज्ञले जवाफमा ‘सम्भव नहोला’ भन्ने पनि दिनुपर्ने हुनसक्छ ।
जब खानपान, व्यायाम र औषधिले पनि काम गर्दैन, त्यसको विकल्प बनेर आएको छ, बेरियाट्रिक तथा मेटाबोलिक सर्जरी ।
आखिर १७५ किलो तौल भएका यी बिरामीलाई तौल घटाउन शल्यक्रिया नै किन गर्नुपर्यो ? शरीरका भाग काटेर तौल घटाउनु पर्ने यो कस्तो शल्यक्रिया हो ?
यी प्रश्नको उत्तर खोज्नुअघि मोटोपनलाई नै बुझ्नुपर्ने हुन्छ ।
मोटोपन : तौलको मात्र समस्या होइन
मोटोपनलाई प्रायगरी धेरै खाना खाने वा व्यायाम नगर्ने व्यक्तिको व्यक्तिगत समस्या ठानिन्छ । तर चिकित्सकीय रूपमा यो दीर्घकालीन रोग हो, जसमा शरीरमा आवश्यकभन्दा बढी बोसो जम्मा हुन्छ र विभिन्न स्वास्थ्य समस्याको जोखिम बढाउँछ ।
थाइरायड, हर्मोन तथा मधुमेह रोग विशेषज्ञ डा. मधु पाण्डेका अनुसार ‘मोटोपन एउटा शारीरिक अवस्थामात्र होइन, यो आफैँमा दीर्घकालीन रोग हो । स्पष्ट रूपमा भन्नुपर्दा यो रोगहरूको विशाल आकार हो, जसले थुप्रै जटिल रोगहरूलाई जन्म दिने सम्भावना रहन्छ ।’
मोटोपन बुझ्न सामान्यतया बीएमआई प्रयोग गरिन्छ । तर यसको साथमा कम्मरको घेराइ, शरीरमा बोसोको अवस्था र अन्य स्वास्थ्य जोखिम पनि हेर्नुपर्ने उनको तर्क छ ।
किन बढ्दैछ मोटोपन ?
मोटोपनको एउटै कारण हुँदैन । शरीरले खर्च गर्नेभन्दा बढी ऊर्जा लामो समयसम्म प्राप्त हुँदा तौल बढ्छ । यससँगै आनुवंशिक, हर्मोनल, औषधिजन्य तथा वातावरणीय कारण पनि जोडिन सक्छन् । शारीरिक गतिविधि घट्दै जानु र प्रशोधित, प्याकेटका, चिल्लो तथा अत्यधिक क्यालोरीयुक्त खाना र गुलियो पेय पदार्थको प्रयोग बढ्नु मोटोपन बढ्नुका प्रमुख कारण रहेको डा. पाण्डे बताउँछन् ।
मोटोपनले शरीरमा के गर्छ ?
मोटोपनले टाइप–२ मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मस्तिष्काघात, स्लीप एपनिया तथा कलेजोमा बोसो जम्नेजस्ता समस्या बढाउन सक्छ । हिँडडुलमा कठिनाइ र छिट्टै थकान लाग्ने समस्या पनि देखिन सक्छ । यसको असर मानसिक स्वास्थ्यमा समेत पर्न सक्छ । शरीरको बनावटलाई लिएर हुने उपहास र सामाजिक दबाबले आत्मविश्वास तथा आत्मसम्मानमा असर पार्न सक्छ ।
त्यसैले, मोटोपनलाई केवल तौल वा शरीरको आकारको समस्या भनेर बेवास्ता गर्न नहुने उनको भनाइ छ ।
जब तौल घटाउनु उपचार बन्छ
मोटोपन नियन्त्रण गर्ने पहिलो उपाय सामान्यतया खानपान सुधार र शारीरिक गतिविधि बढाउनु हो । डा. पाण्डेका अनुसार प्राकृतिक तथा ताजा खानेकुरामा जोड दिनुपर्छ । जंकफुड, प्याकेटका खाना, अत्यधिक मैदाबाट बनेका परिकार, चिनी तथा धेरै तेलमा तारिएका खानेकुरा कम गर्नुपर्छ ।

आवश्यकताअनुसार चिकित्सकीय निगरानीमा इन्टरमिटेन्ट फास्टिङजस्ता आहार पद्धति पनि अपनाउन सकिन्छ । नियमित शारीरिक अभ्यासले ऊर्जा खपत बढाउन र तौल व्यवस्थापनमा सहयोग गर्छ । कार्डियो, योग तथा अन्य उपयुक्त व्यायाम गर्न सकिन्छ ।
तर सबै व्यक्तिमा जीवनशैली परिवर्तनले मात्र अपेक्षित परिणाम नदिन सक्छ । त्यसपछि चिकित्सकीय उपचारका अन्य विकल्पबारे सोच्नुपर्ने हुन्छ । त्यही विकल्पमध्ये एक हो, बेरियाट्रिक सर्जरी ।
बेरियाट्रिक सर्जरी कस्तो उपचार ?
३ वर्षदेखि ह्याम्स अस्पतालमा यो सेवा दिइरहेका कन्सल्टेन्ट बेरियाट्रिक तथा मेटाबोलिक सर्जन डा. कोसिस नन्दन पोखरेलका अनुसार बेरियाट्रिक सर्जरी मोटोपन घटाउन प्रयोग गरिने चिकित्सकीय विधि हो । ‘मोटोपन घटाउन प्रयोगमा आएको क्लिनिकल विधि हो, बेरियाट्रिक सर्जरी । यद्यपि, यसमा चिरफार गरिंदैन । बरु दूरबीनको माध्यमबाट शल्यक्रिया गरिन्छ । यसलाई सामान्य भाषामा ‘वेट लस सर्जरी’ भनिन्छ।
यसमा पेट तथा पाचन प्रणालीको संरचनामा परिवर्तन गरिने डा.पोखरेल बताउँछन् । यसको उद्देश्य पेटको क्षमता घटाउनु, एकपटकमा खाने खानाको मात्रा कम गर्नु र शरीरमा भोक तथा तृप्तिसँग सम्बन्धित प्रक्रियामा परिवर्तन ल्याउनु हो । त्यसैले, यसलाई ‘वेट लस सर्जरी’ मात्र नभई ‘मेटाबोलिक सर्जरी’ पनि भनिन्छ ।
कसलाई बेरियाट्रिक सर्जरी चाहिन सक्छ ?
मोटोपन छ भन्दैमा सबै व्यक्तिले बेरियाट्रिक सर्जरी गर्नुपर्छ भन्ने होइन । बीएमआई, उमेर, समग्र स्वास्थ्य अवस्था, मोटोपनसँग जोडिएका रोग, यसअघि गरिएका उपचार र जीवनशैली परिवर्तनबाट प्राप्त परिणाम हेरेर चिकित्सकले निर्णय गर्छन् ।

डा. पोखरेलका अनुसार बीएमआई मोटोपनको अवस्था मूल्यांकन गर्ने महत्वपूर्ण आधार हो । मोटोपनका कारण मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या वा अन्य स्वास्थ्य जटिलता देखिएका बिरामीमा तौल घटाउनु उपचारकै महत्वपूर्ण हिस्सा बन्न सक्छ । तर ‘मोटो छु, त्यसैले सर्जरी गर्छु’ भन्ने निर्णय गर्नुहुँदैन । सर्जरीअघि बिरामीको सम्पूर्ण स्वास्थ्य अवस्था मूल्यांकन गर्नुपर्छ ।
पेट सानो बनाएर तौल कसरी घट्छ ?
डा. पोखरेलका अनुसार बेरियाट्रिक सर्जरीका विभिन्न विधि छन्, तीमध्ये स्लिभ ग्यास्ट्रेक्टोमी र ग्यास्ट्रिक बाइपास बढी प्रयोग हुने विधि हुन् । स्लिभ ग्यास्ट्रेक्टोमीमा पेटको ठूलो भाग हटाएर बाँकी पेटलाई साँघुरो आकार दिइन्छ । यसले पेटको क्षमता घटाउने भएकाले थोरै खाना खाँदा नै पेट भरिएको महसुस हुन्छ र भोकसँग सम्बन्धित हर्मोनमा समेत परिवर्तन आउन सक्छ ।
त्यस्तै, ग्यास्ट्रिक बाइपासमा पेटको माथिल्लो भागमा सानो थैली बनाएर त्यसलाई सानो आन्द्राको केही तलको भागसँग जोडिन्छ । यसले एकपटकमा खान सकिने मात्रा घटाउनुका साथै शरीरले क्यालोरी तथा पोषक तत्व अवशोषण गर्ने प्रक्रियामा परिवर्तन ल्याउनुका साथै केही बिरामीमा मधुमेहलगायत मेटाबोलिक समस्यामा समेत सुधार ल्याउन सक्छ ।
शल्यक्रिया कति समय लाग्छ ?
डा. पोखरेलका अनुसार बेरियाट्रिक सर्जरी सामान्यतया करिब डेढदेखि दुई घण्टामा सकिन सक्छ । शल्यक्रियापछि बिरामीलाई चाँडै हिँडडुल गराउने प्रयास गरिन्छ । तर प्रत्येक बिरामीको अवस्था फरक हुने भएकाले अस्पतालमा बस्ने समय पनि फरक हुन सक्छ ।
१७५ किलोका बिरामीको हकमा ४८ घण्टामै डिस्चार्ज सम्भव हुनु उपचार टोलीका लागि विशेष उपलब्धि भए पनि त्यो सबै बिरामीमा लागू नहुने उनी बताउँछन् ।
४८ घण्टाको पछाडि कति ठूलो तयारी थियो ?
१७५ किलो तौल र बीएमआई ६५ भएका बिरामीको बेरियाट्रिक सर्जरी सामान्य अवस्थामा गरिने शल्यक्रिया थिएन । त्यसैले, अस्पतालले शल्यक्रियाभन्दा करिब दुई महिनाअघिदेखि नै तयारी गर्न थालेको थियो ।
डा. पोखरेलका अनुसार बिरामी पहिलोपटक आउँदा सास फेर्न गाह्रो हुने, सास फुल्ने, हिँडडुल गर्न कठिन हुने, मधुमेह र उच्च रक्तचापजस्ता समस्या थिए । त्यसैले, पहिले ती स्वास्थ्य समस्यालाई नियन्त्रणमा ल्याउने काम गरियो । बिरामीले प्रयोग गरिरहेका औषधिलाई मिलाइयो भने निद्रामा श्वास रोकिने समस्या भएकाले सीपीएपी मेसिनको प्रयोग सुरु गराइयो ।
शल्यक्रियाभन्दा करिब एक साताअघि भने बिरामीको थप विस्तृत मूल्यांकन गरिएको थियो । रगत परीक्षण, एक्स–रे, इको, अल्ट्रासाउन्डलगायत जाँच गरिए । पल्मोनोलोजिस्टसँग परामर्श गरेर सीपीएपीको सेटिङ मिलाइयो भने एनेस्थेसिया टोलीले पनि शल्यक्रियाका सम्भावित जोखिमको मूल्यांकन गर्यो ।
त्यसपछि शल्यक्रियाभन्दा करिब एक साताअघि बिरामीलाई तरल आहार सुरु गराइएको थियो । यसरी करिब दुई महिनाको तयारीपछि साउन २६ गते शल्यक्रिया गरिएको डा. पोखरेलले जानकारी दिए ।
उनका अनुसार एनेस्थेसियाको व्यवस्थापन यस केसको एउटा ठूलो चुनौती थियो । अत्यधिक तौल, स्लीप एपनिया र अन्य स्वास्थ्य समस्याका कारण शल्यक्रियाका क्रममा विशेष सावधानी आवश्यक थियो । शल्यक्रिया आफैंमा पनि चुनौतीपूर्ण भए पनि चिकित्सकहरूको टोलीले करिब एक घण्टामै शल्यक्रिया सम्पन्न गर्न सफल भयो ।
शल्यक्रियापछि पनि बिरामीको अवस्था निरन्तर निगरानीमा राखियो । करिब ४० घण्टापछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
शल्यक्रियापछि आएको सुधार अझ महत्वपूर्ण छ । उनका अनुसार अहिले बिरामीले मधुमेह र उच्च रक्तचापका औषधि खानुपर्ने अवस्था हट्नेको छ । यसका साथै एक सातामा ६ केजी तौल घटेको छ ।
एनेस्थेसिया व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण
ह्याम्स अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट तथा विभागीय प्रमुख डा. सुरज लामिछानेका अनुसार ती बिरामीको अवस्थामा तौल मात्र चुनौती थिएन, त्यससँगै रहेको स्लीप एपनियाले जोखिम थप बढाएको थियो ।
‘यस्तो बिरामीलाई सुरुमा नै एनेस्थेसिया दिन चुनौती हुन्छ । अत्यधिक तौल भएकाले औषधिको मात्रा पनि बिरामीको अवस्थाअनुसार मिलाउनुपर्छ । एनेस्थेसिया दिएपछि श्वासप्रश्वास व्यवस्थापन अर्को महत्वपूर्ण पक्ष हो’ उनी भन्छन्, ‘कतिपय अवस्थामा शल्यक्रियापछि बिरामीलाई तत्काल आफैंले राम्रोसँग सास फेर्न नसके भेन्टिलेसनको आवश्यकता पर्न सक्छ ।’
तर यस्ता सम्भावित जोखिमबारे शल्यक्रियाअघि नै मूल्यांकन र तयारी गरिने उनी बताउँछन् । यस केसमा पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर एनेस्थेसिया टोलीले आवश्यक तयारी गरेको थियो ।

‘बिरामीका लागि मात्र होइन, हाम्रा लागि पनि चुनौतीपूर्ण घडी थियो । तर उचित पूर्वतयारी, थप सावधानी अपनाइको कारण भेन्टिलेटरमै लानुपर्ने वा अरू जटिलता आएन, टिमको मेहनत र धैर्यले शल्यक्रिया सफल भयो’ डा. लामिछाने भन्छन् ।
उनका अनुसार बिरामीको अवस्था अनुसार औषधिको मात्रा व्यवस्थापन र शल्यक्रियाका क्रममा निरन्तर निगरानीका कारण एनेस्थेसिया व्यवस्थापन सुरक्षित रूपमा गर्न सकिएको हो ।
सर्जरीभन्दा पहिले के गर्न सकिन्छ ?
बेरियाट्रिक सर्जरीलाई मोटोपनको पहिलो उपचारका रूपमा बुझ्नु हुँदैन ।सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि, पर्याप्त निद्रा र व्यवहारमा परिवर्तन मोटोपन व्यवस्थापनका आधार हुन् । आवश्यकताअनुसार चिकित्सकले औषधि वा इन्जेक्सन पनि प्रयोग गर्न सक्छन् ।
डा. पाण्डेका अनुसार बजारमा मोटोपन र मधुमेह दुवै व्यवस्थापन गर्न प्रयोग हुने औषधि तथा इन्जेक्सन उपलब्ध छन् । तर यस्ता औषधि चिकित्सकीय सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।
जब जीवनशैली परिवर्तन र औषधिबाट पर्याप्त परिणाम नआउने तथा मोटोपनसँग सम्बन्धित स्वास्थ्य जोखिम गम्भीर हुने अवस्था आउँछ, त्यतिबेला बेरियाट्रिक सर्जरीबारे विचार गर्न सकिन्छ ।
नेपालमा बेरियाट्रिक सर्जरी कति सहज छ ?
नेपालमा हाल ह्याम्स अस्पतालमा मात्रै यस्तो सेवा सञ्चालनमा रहेको र विगत तीन वर्षदेखि सो सेवा दिँदै आएको डा. कोसिसनन्दन पोखरेल बताउँछन् । उनका अनुसार हालसम्म करिब १०० जना बढीमा बेरियाट्रिक सर्जरी भइसकेको छ ।
उनका अनुसार बेरियाट्रिक सर्जरीमा सर्जरी गर्ने दक्षता मात्र पर्याप्त हुँदैन, शल्यक्रियाअघिको तयारी, बिरामीको उचित छनोट, शल्यक्रियापछिको निगरानी र लामो समयसम्मको फलोअप पनि उत्तिकै आवश्यक हुन्छ । यो सबै हेर्न झन्झट, त्यही अनुसारको अस्पताल मात्र होइन, यो सर्जरी नेपालमै उपलब्ध छ भन्ने कुरा कतिपय चिकित्सकलाई समेत पर्याप्त जानकारी छैन । यही कारणले पनि यो सेवा विस्तार हुन नसकको उनको बुझाइ छ ।
परिणामस्वरूप, बेरियाट्रिक सर्जरीबाट लाभ लिन सक्ने बिरामीसमेत समयमै यो उपचार विकल्पसम्म नपुग्ने अवस्था रहेको डा.पोखरेल बताउँछन् । अर्को कुरा, शल्यक्रिया गरेर मात्र पुग्दैन, त्यसको प्रभाव कति लामो समयसम्म रह्यो, तौल कति घट्यो, स्वास्थ्यमा कस्तो सुधार आयो र जीवनशैलीमा के परिवर्तन भयो भन्ने कुरा पनि विरामी उपचार गरेर गए पछि समेत निरन्तर हेर्नुपर्ने हुन्छ ।
यसको एउटा उदाहरण आफूले हालै अनुभव गरेको उनी बताउँछन् । शल्यक्रिया गरेको आठ वर्षपछि एक बिरामीले फोन गरेर आफू अहिले ३० मिनेटसम्म हिँड्न सक्ने भएको जानकारी दिएका थिए ।
शल्यक्रियाका जोखिम पनि होलान, भन्ने प्रश्नमा उनी भन्छन्, ‘रक्तश्राव, संक्रमण तथा शल्यक्रिया गरिएको स्थानबाट चुहावट (लिक) जस्ता जटिलता आउन सक्छन् । शल्यक्रियापछि शरीरमा आवश्यक पोषक तत्वको कमी हुन नदिन मल्टिभिटामिन, प्रोटिनलगायतको पूर्ति गर्नुपर्ने हुन सक्छ ।’
विदेशमा कसरी हुन्छ यस्तो उपचार ?
मोटोपनको समस्या विश्वभर बढ्दै गएसँगै बेरियाट्रिक सर्जरी पनि धेरै देशमा स्थापित उपचार विधि बनिसकेको छ । अमेरिका, युरोप तथा एसियाका विभिन्न देशमा स्लिभ ग्यास्ट्रेक्टोमी र ग्यास्ट्रिक बाइपासजस्ता शल्यक्रिया नियमित रूपमा गरिन्छन् । केही विकसित केन्द्रमा रोबोटिक प्रविधिको प्रयोगसमेत बढिरहेको छ ।
प्रतिक्रिया 4