+
+
Shares

रसुवा बाढी विपद् : यस्तो छ पछिल्लो अपडेट

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते ११:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीले नदी किनाराका बस्ती र स्याफ्रुबेसीदेखि तलका भौतिक संरचनामा क्षति पुर्‍याएको छ।
  • स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार बाढीले नदी आसपासका क्षेत्र ठूलो मात्रामा क्षतिग्रस्त भएका छन्।
  • मानवीय क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन्।

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण नदी आसपासका क्षेत्रमा ठूलो मात्रामा क्षति भएको छ ।

बाढीले नदी किनाराका बस्तीहरू बगाएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार रसुवाको स्याफ्रुबेसीदेखि तलका नदी किनारामा रहेका भौतिक संरचनाहरूमा क्षति पुगेको छ । मानवीय क्षतिको विवरण अहिलेसम्म आइसेकको छैन । हेर्नुहोस् पछिल्लो अपडेटहरूः

Live Updates

६१ ताजा अपडेट
4 hours ago, 17:08:41
२५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा घाइते भएका २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये २० जनाको त्रिवि शिक्षण अस्पताल, ४ जनाको राष्ट्रिय ट्रमा सेन्टर र १ जनाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अधिकांश घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको हो, जहाँ उनीहरूको आकस्मिक तथा विशेषज्ञ उपचार जारी छ ।

5 hours ago, 16:13:22
रसुवा बाढीबारे संसद्लाई जानकारी

रसुवा बाढीबारे सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जानकारी गराएका छन् ।

यसअघि गृहमन्त्री सुधन गुरुङले जानकारी गराउने भनिएपनि  उनी  व्यस्त रहेको भन्दै परराष्ट्रमन्त्री खनालले जानकारी गराएका हुन् ।

थप पढ्नुहोस
5 hours ago, 16:12:46
बाढीका घाइते भएकाहरूको सरकारले नि:शुल्क उपचार गर्ने

रसुवा बाढीका कारण घाइते भएकाहरूको सरकारले नि:शुल्क उपचार गर्ने बताएको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यो निर्णय लिएको हो ।

‘घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूमा मिलाउने निर्णय भएको छ,’ प्रतिनिधिसभा बैठकलाई जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले भने ।

थप पढ्नुहोस
6 hours ago, 15:33:41
धादिङमा ६ शव फेला

रसुवा बाढीमा परेकाहरूमध्ये धादिङमा ६ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिका महेश दोभानमा एक महिलाको, गल्छी कै कोल्फु खोला पुलनजिकै २ जना पुरुषको, सिद्धलेक गाउँपालिका-७ स्थित त्रिशूलीकै किनारमा एक शव, बेनिघाट रोराङ गाउँपालिका बेनिघाट बजार नजिकै त्रिशूली किनारमा २ महिलाको शव फेला परेको हो ।

थप पढ्नुहोस
6 hours ago, 15:32:35
रवि लामिछाने सरकार र सरोकारवालासँग संवादमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रसुवामा बाढीले पुर्‍याएको क्षतिपछि सरकार तथा सरोकारवालासँग निरन्तर संवाद र छलफलमा रहेका छन् ।

प्रतिनिधिसभामा बोल्दै उनले विपद्को यो कठिन घडीमा प्रभावितको साथमा सिंगो रास्वपा र सरकार रहेको बताएका छन् ।

बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा बस्ती, सडक तथा विभिन्न संरचनामा क्षति पुर्‍याएको छ ।

6 hours ago, 15:24:02
‘हिमताल विस्फोट नभई यति ठूलो विध्वंश सम्भव छैन’

बाढीको सम्भावित कारणवारे त्रिभुवन विश्वविद्यालयको भूगर्भ केन्द्रीय विभागका प्राध्यापक रञ्जनकुमार दाहालसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

यहाँ गएर पढ्न सक्नुहुनेछ

थप पढ्नुहोस
6 hours ago, 15:22:46
बाढीले १९ पुल र ४० किमी सडकमा क्षति

भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ ।

त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको छ ।

6 hours ago, 15:20:58
भोटेकोशी बाढीः १२ जलविद्युत्गृहमा क्षति

भोटेकोशीमा गएको बाढीका कारण १२ जलविद्युत्गृहमा क्षति पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार ६ वटा जलविद्युत् गृह र १ सोलार गृहमा प्रत्यक्ष क्षति पुगेको छ, बाँकीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ।

११ जलविद्युत्गृह र १ सोलारगृहमा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ।
बाढीले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुर्‍याएको छ।

प्रत्यक्ष क्षति पुगेका आयोजनाहरू:

रसुवागढी — १११ मेगावाट
सलासुङ्गी (सान्जेन) — ७८ मेगावाट
अपर साञ्जेन — १४.८ मेगावाट
सान्जेन — ४२.५ मेगावाट
चिलिमे — २२ मेगावाट
लाङटाङ — २० मेगावाट
अपर त्रिशूली थ्री ए — ६० मेगावाट
अपर मैलुङ — १४.८ मेगावाट
मैलुङ — ५ मेगावाट
त्रिशूली — २४ मेगावाट
देवीघाट — १४ मेगावाट
सोलार प्रणाली — २५ मेगावाट

 

 

6 hours ago, 15:14:17
१९ पुल र ४० किलोमिटर सडकमा क्षति

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ ।

बाढीले सडक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ । सडक विभागका अनुसार हालसम्म कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुगेको छ भने केही स्थानमा सडक भत्किएको छ ।

6 hours ago, 15:14:04
त्रिशुलीमा पानीको सतह घट्यो

त्रिशुली नदीको धादिङ खण्डमा पानी सतह उल्लेख्य रूपमा घटेको छ । बुधबार आएको बाढीले त्रिशुली नदीमाथि बनेका ३ वटा मोटरेबल पुल बगाएको छ ।

6 hours ago, 15:04:12
ट्रमा र टिचिङमा १५ घाइतेको उपचार

रसुवा बाढीमा घाइते भएका १५ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

तीमध्ये १२ जनाको टिचिङ र ३ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ट्रमा सेन्टरका अनुसार तीनमध्ये एक जनाको अवस्था गम्भीर छ ।

घाइतेमध्ये अधिकांशको पेट, हात र कम्मरमा चोट लागेको छ ।

6 hours ago, 15:00:43
२९ जनाको हेलिकोप्टरबाट उद्धार

रसुवा बाढीमा घाइते तथा प्रभावित २९ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

उद्धारका लागि नेपाली सेनाका ६ हेलिकोप्टर परिचालनमा छन् भने थप २ हेलिकोप्टर जाने क्रममा छन् ।

उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन सेनाले ३ वटा ड्रोनसमेत परिचालन गरेको छ ।

6 hours ago, 14:56:04
एपीएफ अस्पतालबाट १७ स्वास्थ्यकर्मी बाढी प्रभावित क्षेत्रमा

एपीएफ अस्पताल बलम्बुबाट ५ चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीको टोली बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । टोलीले प्रभावित क्षेत्रमा उद्धारसँगै घाइतेको तत्काल उपचारमा सहयोग गर्नेछ ।

रसुवासहित नुवाकोट र धादिङमा बाढीपछि खोज तथा उद्धार तीव्र पारिएको छ । सुरक्षा निकायका तालिमप्राप्त जनशक्ति, हेलिकोप्टर, ड्रोन र उद्धार कुकुरसहितका टोली परिचालन भएका छन् ।

6 hours ago, 14:49:39
लाङटाङ जलविद्युतको सुरुङमा फसे मजदुर

रसुवाको २० मेगावाट लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसेका छन् । नदीको सतहभन्दा करिब १ सय मिटरमाथि सुरुङमा काम गरिरहेका उनीहरूसँग मोबाइल सम्पर्कसमेत हुन सकेको छैन ।

आयोजनामा करिब ६० मजदुर कार्यरत रहेकाले सबैको अवस्थाबारे पूर्ण जानकारी आइसकेको छैन । हेडवर्क्समा कार्यरत कर्मचारी भने सुरक्षित रहेको प्रारम्भिक जानकारी आएको छ ।

थप पढ्नुहोस
7 hours ago, 14:41:29
घाइतेको उपचार हुँदै

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि नुवाकोटमास्थित विभिन्न स्थानमा बाढीबाट बच्न भाग्ने क्रममा घाइते भएकाहरुको विदुरस्थित चक्रदेव अस्पतालमा उपचार हुँदै । तस्बिरः रामहरि न्यौपाने/रासस

7 hours ago, 14:39:10
स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १८ किमी सडक बगायो

बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १८ किमी सडक बगाएको छ । त्यस्तै दुई वटा विद्युत्गृहको पहुँचमार्गमा रहेका दुई पुलसहित त्रिशूली–रसुवागढी सडकमार्गमा रहेको दुई वटा पक्की पुलसमेत बगाएको रसुवा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

7 hours ago, 14:37:48
टिमुरे बजारमा कति छ क्षति ?

बाढीबाट रसुवागढी नाकास्थित नेपाल–चीन क्षेत्रका बजार र बस्तीमा ठूलो क्षति भएको र विशेषगरी गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे र घट्टेखोला बजार बढी प्रभावित छ ।

प्रहरीका अनुसार टिमुरे बजार क्षेत्रका करिब १०७ घर र घट्टेखोलामा ५० घर पूर्णरुपमा क्षति पुगेको छ ।

बाढीबाट रसुवागढीस्थित पालिका भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुख्खा बन्दरगाह र जलविद्युत्गृहमा समेत क्षति पुगेको छ ।

7 hours ago, 14:35:34
बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा कम

रसुवास्थित भोटकोशी नदीमा आएको बाढीको प्रभाव माथिल्लो क्षेत्रको तुलनामा तल्लो तटीय क्षेत्रमा कम देखिएको छ ।

जल विज्ञान तथा अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले भने बढीबाट तल्लो नदी तटीय क्षेत्रमा पनि हुन सक्ने क्षतिलाई दृष्टिगत गरी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढीका कारण फुर्केखोलास्थित जलमापन केन्द्रले १० दशमलव आठ मिटर जलसतह मापन गरेको र त्यसपछि उक्त केन्द्र तथा पुलसमेत बाढीले बगाएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढीसम्बन्धी तत्काल सूचना लिन बाढी पूर्वानुमान महाशाखाको ११५५ को २ नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सकिने महाशाखाका हाइड्रोलोजिस्ट सौगात भुसालले बताए ।

7 hours ago, 14:30:09
घाइतेका लागि एपीएफ अस्पतालमा बेड खाली

रसुवा बाढीमा घाइते भएकाहरूको उपचारका लागि एपीएफ अस्पतालमा बेड खाली गरेर तयारी अवस्थामा राखिएको छ ।

गम्भीर घाइतेको प्रभावित क्षेत्रमा नै तत्काल प्राथमिक उपचारसमेत भइरहेको छ ।

आपतकालीन सडक उद्धारका लागि मास क्याजल्टी भेइकलसहितको चिकित्सा तथा उद्धार टोली पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

7 hours ago, 14:30:08
रसुवा बाढीले त्रिशूली बजार क्षणभरमै बगर (तस्वीरहरू)

चीनको तिब्बत क्षेत्रबाट अप्रत्यासित रूपमा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी किनारका बस्ती र बजारहरू बगरमा परिणत भएका छन् ।

बाढीले भन्सार कार्यालय, अध्यागमन कार्यालय, सडक, पुल, जलविद्युत् आयोजना, प्रहरी चौकी, गाउँपालिका कार्यालय, वडा कार्यालय, सरकारी कार्यालय बगाएको छ । सयौं सवारी साधन र नदी किनारका वासिन्दाको घरखेत बाढीसँगै बगेका छन् ।

थप पढ्नुहोस
7 hours ago, 14:28:39
घट्न थाल्यो बहाव

चितवनको मुग्लिङ पार गरिसकेको त्रिशुलीको बाढीको बहाव घट्न थालेको देखिएको छ ।

मुग्लिङ पुलमा देखिएको पानीको डोब हेर्दा सतह घट्दै गएको देखिन्छ ।

यद्यपी जोखिम कायम रहेकोले सतर्क हुन आग्रह गरिएको छ ।

7 hours ago, 14:22:15
८ जनाको मृत्यु

7 hours ago, 14:19:01
जोखिम कायमै छ, सुरक्षित स्थानमा बस्नुस्- प्राधिकरण
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुँदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध गरेको छ ।

7 hours ago, 14:17:29
समन्वय गरेर काम गर्न प्राधिकरणको आग्रह

हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ, संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण विशेष अनुरोध गरेको छ ।

May be an image of ticket stub and text

7 hours ago, 14:13:53
राहत र स्वास्थ्य सेवा तीव्र

भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावितको उद्धार, खोजी तथा राहतलाई तीव्र बनाइएको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ गरी १२ जनाको उद्धार गरिएको छ ।

घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको छ भने ट्रमा सेन्टरका ६ चिकित्सक र २ नर्स प्रभावित क्षेत्रमा खटिँदैछन् ।

7 hours ago, 14:10:09
घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

रसुवामा बाढीमा परेर घाइते भएकाहरूको उद्धार जारी छ । हेलिकोप्टरमार्फत घाइतेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा पठाइएको छ ।

प्रभावित क्षेत्रबाट घाइतेको उद्धारलाई तीव्र बनाइएको छ भने काठमाडौंमा उपचारका लागि अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ ।

7 hours ago, 14:01:17
बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र टेन्ट पठाउने

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवा बाढी प्रभावितका लागि एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउने भएको छ ।

प्रभावित क्षेत्रमा २४ वर्गमिटरका १५ वटा आपतकालीन टेन्टसमेत पठाइनेछ ।

काठमाडौंका वीर अस्पताल र ट्रमा सेन्टरमा बाढीपीडितका लागि १०० आपतकालीन शय्या छुट्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म तीन घाइतेलाई उद्धार गरी काठमाडौं ल्याइएको छ।

7 hours ago, 13:59:59
सशस्त्रका ११ सय जनशक्ति परिचालन

सशस्त्र प्रहरी बलले रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धारकर्ता, स्वास्थ्यकर्मी, डग सेक्सन र ड्रोन सेक्सनसहित ११ सय जनशक्ति परिचालन गरेको छ ।

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन थप जनशक्ति र प्रविधिसहितको टोली प्रभावित क्षेत्रमा खटाइएको हो ।

7 hours ago, 13:45:59
रसुवा अस्पतालमा २४ घाइते, एकको मृत्यु

बाढीपहिरोमा परी घाइते भएका २४ जना रसुवा अस्पताल पुगेका छन् । उपचारका क्रममा एक जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ ।

घाइते आउने क्रम जारी रहेकाले अस्पतालले उपलब्ध जनशक्ति र स्रोतसाधन परिचालन गरेर उपचार गरिरहेको छ ।

प्रभावित क्षेत्रबाट हेलिकोप्टरमार्फत समेत घाइतेको उद्धार भइरहेको अस्पतालले जनाएको छ ।

7 hours ago, 13:42:28
त्रिशुलीको बाढी मुग्लिङ कट्यो

रसुवा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको बाढी त्रिशूली नदी हुँदै मुग्लिनसम्म आइपुगेको छ ।

बाढीको बहाव बढेपछि नदी आसपासका क्षेत्र र संरचनामा जोखिम बढेको छ ।

8 hours ago, 13:33:36
टिचिङ अस्पताल ‘डिजास्टर कोड’मा

रसुवा बाढीपहिरोका घाइते उपचारका लागि ल्याइने सम्भावनालाई ध्यानमा राख्दै त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर कोड’ सक्रिय गरेको छ ।

ठूलो संख्यामा घाइते आए तत्काल उपचार गर्न स्वास्थ्यकर्मी र अन्य जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ।

स्वास्थ्य मन्त्रालयको आग्रहमा अस्पतालले उद्धार कार्यका लागि दुई चिकित्सक र एक प्यारामेडिकसहित तीन जनाको टोलीसमेत प्रभावित क्षेत्रमा पठाएको छ ।

8 hours ago, 13:17:55
वीर अस्पतालको तयारी

रसुवा बाढीबाट घाइते भएर आउने सम्भावित बिरामीको उपचारका लागि वीर अस्पतालले आकस्मिक सेवा, आईसीयू, भेन्टिलेटर, रगत र औषधिसहितका सबै संयन्त्र तयारी अवस्थामा राखेको छ ।

8 hours ago, 13:07:53
३२ प्रहरी र ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

रसुवामा आएको भीषण बाढीपछि नेपाल प्रहरीका ३२ जना सम्पर्कविहीन भएका छन् ।

बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुबेँसी प्रहरी चौकी, रसुवागढी र मैलुङ प्रहरी कार्यालयमा समेत क्षति पुर्‍याएको छ ।

यस्तै, बीओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरीका ९ जना पनि अहिलेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले जनाएको छ ।

8 hours ago, 13:05:41
घाइतेका लागि वीर अस्पताल ‘फुल अलर्ट’

रसुवा बाढीबाट घाइते भएर आउने सम्भावित बिरामीको उपचारका लागि वीर अस्पतालले आकस्मिक सेवा, आईसीयू, भेन्टिलेटर, रगत र औषधिसहितका सबै संयन्त्र तयारी अवस्थामा राखेको छ ।

अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार बिरामीको अवस्था हेरेर ‘ट्रायाज’ प्रणालीमार्फत तत्काल उपचार गरिनेछ ।

सामान्य, मध्यम र गम्भीर अवस्थाका बिरामीका लागि छुट्टाछुट्टै उपचार क्षेत्रसमेत तयार गरिएको छ ।

8 hours ago, 13:00:36
स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र सक्रिय

सम्भावित विपद्लाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय बनाएको छ ।

उद्धार र आपतकालीन स्वास्थ्य सेवाका लागि रेडक्रस, स्काउटसहित विभिन्न निकायसँग समन्वय भइरहेको छ।

काठमाडौंका अस्पतालमा उपलब्ध बेडको विवरण अद्यावधिक गरी बिरामी व्यवस्थापनको तयारी गरिएको छ भने एम्बुलेन्स र आवश्यक स्वास्थ्य सामग्री स्ट्यान्डबाइमा राखिएको मन्त्रालयले जनाएको छ।

आपतकालीन सहयोग वा जानकारीका लागि १११५ मा सम्पर्क गर्न सकिनेछ।

8 hours ago, 12:58:35
चितवन नजिक पुग्यो रसुवा बाढी

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जानकारी प्राप्त भएको उनले बताए ।

8 hours ago, 12:56:26
प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

रसुवालगायतका जिल्लामा बाढीले ठूलो क्षति पुर्‍याएपछि आज प्रतिनिधिसभामा तय भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित हुने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।

तर प्रधानमन्त्री वालेन्द्र शाह विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि विभिन्न संयन्त्रसँगको छलफलमा व्यस्त छन् ।

8 hours ago, 12:55:55
केउरिनी-फोस्रेटारको पुल पनि बग्यो

धादिङ सदरमुकाम जोड्ने वैकल्पिक पुल पनि बाढीले बगाएको छ । केउरिनी-फोस्रेटार हुँदै सदरमुकाम धादिङबेसी जोड्ने पुल बाढीले बगाएको हो ।

मलेखु फुर्केखोलाको पुल पनि बाढीले बगाइसकेको छ ।

No photo description available.

8 hours ago, 12:52:33
उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।

उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान गरेका छन् । साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उनले आग्रह गरेका छन् ।

8 hours ago, 12:48:13
घाइतेको उपचारका लागि वीर, टिचिङ र ट्रमा सेन्टर तयारीमा

रसुवामा बाढीपछि हुन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपत्कालीन संयन्त्र सक्रिय बनाएको छ ।

घाइतेको उपचारका लागि वीर, शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई तयारी अवस्थामा राखिएको छ ।

प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई पनि सतर्क रहन निर्देशन दिइएको छ ।

8 hours ago, 12:42:25
बाढी प्रभावित क्षेत्रमा सेनाको उद्दार

रसुवा बाढी प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हेलिकोप्टरमार्फत १२ जनाको उद्धार गरेको छ ।

9 hours ago, 12:31:24
ट्रमा सेन्टरका आकस्मिक डाक्टरको टिम बाढी प्रभावित क्षेत्रमा

राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक रसुवा क्षेत्रमा हिडेका छन् । सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको छ ।

‘अहिले केही औषधि सहित आकस्मिक टिक बाढी प्रभावित ठाउँमा पठाएका छौं,’ डा. मरासिनीले भने, ‘ अस्पतालमा पनि तयारी अवस्थामा बसेका छौं ।’

9 hours ago, 12:30:59
रसुवा बाढी प्रभावित क्षेत्रमा ट्रमा सेन्टरका ७ चिकित्सक खटिए

राष्ट्रिय ट्रमा सेन्टरले आकस्मिक उपचारका लागि ७ जना चिकित्सकलाई औषधिसहित रसुवा बाढी प्रभावित क्षेत्रमा पठाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उपचार आवश्यक पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै टोली परिचालन गरिएको हो ।

ट्रमा सेन्टरले अस्पतालमा समेत थप बिरामीको उपचारका लागि तयारी अवस्थामा राखेको जनाएको छ ।

9 hours ago, 12:28:15
उद्धार गरिएकाको संख्या १२ पुग्यो

रसुवा बाढी प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हेलिकोप्टरमार्फत १२ जनाको उद्धार गरेको छ ।

उद्धार कार्यलाई तीव्रता दिँदै सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकोप्टर परिचालन गरिएका छन्।

यस्तै, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा पनि सुरु गरेको छ ।

9 hours ago, 12:26:14
धादिङ फुर्केखोलाको पुल बगायो

धादिङ सदरमुकाम जाने सडकलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पुल बगाएको छ ।

9 hours ago, 12:24:39
नुवाकोट ढुङ्गेबजारको अवस्था

बाढीपछि नुवाकोटको ढुङ्गे बजारको अवस्था-
May be an image of lumberyardNo photo description available.May be an image of motorcycle, road and text

तस्वीरः रासस

9 hours ago, 12:22:27
फुर्केखोलाको पुलमाथिबाटै बग्न थाल्यो बाढी

धादिङ सदरमुकाम जाने सडकलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पुलमाथिबाट बाढी बग्न थालेको छ ।

बाढीले पुल र सडकमा जोखिम बढाएपछि उक्त क्षेत्रमा आवागमन प्रभावित भएको छ ।

9 hours ago, 12:20:18
प्रतिनिधिसभामा संक्षिप्त बैठक

रसुवामा गएको बाढीका कारण आजको बैठकमा रहेका कार्यसूची हटाएर आकस्मिक समय मात्रै राख्ने गरी बैठक राख्न लागिएको हो । यसबारे छलफल भइरहेको छ ।

आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायतका कार्यक्रम छ । यो नचलाउने र अन्य कार्यसूची पनि अगाडि नबढाउने गरी छलफल भइराखेको हो ।

थप पढ्नुहोस
9 hours ago, 12:18:33
उद्धारमा हेलिकप्टर उडाउन अनुमति लिनु नपर्ने

बाढीबाट पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले अनुमति लिन नपर्ने भएको छ ।

तिब्बतबाट आएको ठूलो बाढी रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ । ठूलो मात्रामा भौतिक संरचना बाढीका कारणले क्षति पुर्‍याएको छ । बाढीका कारणले सम्पर्कविहीन हुनेहरुको संख्या यकिन हुन सकेको छैन ।

 

थप पढ्नुहोस
9 hours ago, 12:17:39
नुवाकोट, धादिङ, चितवनबाट उद्धार लागि सशस्त्रको टोली परिचालन

रसुवा बाढीपछि उद्धारका लागि सशस्त्र प्रहरी बलको ठूलो टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार ठूलो संख्यामा सुरक्षाकर्मीहरु अहिले बाढी प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।

थप पढ्नुहोस
9 hours ago, 12:16:56
टिमुरेमा बिहान के भयो ? भन्सार प्रमुखको अनुभूति

बुधबार बिहान साढे ८ देखि पौने ९ बजेको बीचमा हुनुपर्छ । हामी टिमुरे भन्सार कार्यालयमा थियौं । म कार्यालय गइसकेको थिएँ ।

एकाएक भुइँचालो आएजस्तो महसुस भयो, सबैजना आत्तियौं । अनि बाहिर निस्किएको त गड्याङ र गुडुङ गर्दै ठूलो आवाज आयो । केही सोच्न पनि नपाउँदै ज्वालामुखी विस्फोटको शैलीमा माथिबाट बाढी आएको देख्यौं ।

थप पढ्नुहोस
9 hours ago, 12:15:59
मनकामना केवलकार बन्द

अप्रत्यासीत आएको बाढीका कारणले चितवनस्थित मनकामना केबलकार बन्द गरिएको छ ।

रसुवाबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा अघि बढेपछि केबलकार बन्द गरिएको हो । मनकामना केबर कारका डिजीएम उज्ज्वल शेरचनले बाढीका कारणले केबलकार ११ः३० बजेदेखि सञ्चालनमा रोक लगाइएको बताए ।

9 hours ago, 12:15:09
विपद् परिषद् बैठकमा सेनाको ब्रिफिङ

रसुवा बाढीको विषयमा छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक नेपाली सेनाको तर्फबाट बाढीले पुर्‍याएको क्षतिको विवरण ब्रिफिङ भइरहेको छ ।

 

9 hours ago, 12:11:51
बाढीपछि टिमुरे बजारको अवस्था

May be an image of mountainMay be an image of fog and mountainMay be an image of mountain, crater and fog

9 hours ago, 12:10:01
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । केहीबेरमा बैठक सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

9 hours ago, 12:08:30
नागढुङ्गा-मुग्लिन खण्डमा यात्रामा रोक
9 hours ago, 12:05:32
रसुवा बाढी: सेनाको हेलिकोप्टरबाट ७ जनाको उद्धार

रसुवा बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हेलिकोप्टरमार्फत ७ जनाको उद्धार गरेको छ। टिमुरेबाट ४ र स्याफ्रुबेँसीबाट ३ जनालाई बाँस्केट विधिबाट सुरक्षित निकालिएको हो।

हाल सेनाका चार हेलिकोप्टर टिमुरे, स्याफ्रुबेँसी, मेलुङ र त्रिशूली क्षेत्रमा परिचालित छन् भने त्रिशूलीमा २० सदस्यीय मेडिकल टोली पनि खटिएको छ।

9 hours ago, 12:02:54
रसुवा बाढीबारे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

रसुवामा आएको भीषण बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहले केही बेरमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले उद्धार, राहत र थप सरकारी कदमबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।

9 hours ago, 12:00:18
उद्धारका लागि निजी हेलिकोप्टरलाई अनुमति नचाहिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि निजी क्षेत्रका हेलिकोप्टर उडाउन छुट्टै अनुमति नचाहिने व्यवस्था लागू गरेको छ।

यससँगै आपत्कालीन उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन सबै निकायलाई सहजीकरण गर्न निर्देशन दिइएको छ।

9 hours ago, 11:55:38
टिमुरेका वडाध्यक्ष भन्छन् - २०० भन्दा बढी उद्दारको पर्खाइमा

रसुवाको गोसाइकुन्ड गाउँपालिकाको टिमुरेस्थित एक जना वडासदस्य पेमा दोर्जे घलेका अनुसार अहिले त्यहाँ धेरै नागरिकहरु उद्धारको पर्खाइमा रहेका छन् ।

टिमुरेमा मात्रै सय घरभन्दा बढी थियो होला । माथिबाट आएको आवाज र बाढी हेर्दा केही पनि जोगिएको छैन जस्तो लाग्छ ।

हामी जोडिएकाहरु माथि डाँडामा आएर बसेका छौं । जो जस्तो अवस्थामा थियौं, भागाभाग गरेर यहाँ आइपुगेका छौं । साना केटाकेटीहरुलाई के खुवाउने, कसरी जोगाउने ? केही छैन । बगेको पानी खाएर बसेका छौं ।

थप पढ्नुहोस
9 hours ago, 11:55:03
मलेखु कट्यो बाढी

अप्रत्यासित रूपमा आएको बाढी धादिङको मलेखु पुगेको छ । रसुवाबाट सुरु भएको बाढी धादिङको मलेखु बजार नाघेको हो ।

धादिङका विभिन्न भागमा नदी किनाराका केही संरचनामा क्षति पुगेको स्थानीय नागरिकहरूले सामाजिक सञ्जालबाट जानकारी दिइरहेका छन् ।

बेल्खुको भुत्याहामा रहेको एउटा झोलुङ्गे पुलमा केही क्षति पुगेको स्थानीय शिक्षक ध्रुव खतिवडाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?