News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीले रसुवा र नुवाकोटका बस्तीका प्रभावितहरूमा रातभरि निद्रा नलाग्ने, डरत्रास र आघातका लक्षण देखिएका छन्।
- मानसिक स्वास्थ्यकर्मीका रूपमा पुगेकी लेखकले बाढीपीडितलाई सुन्न, सम्बन्धित निकायसँग जोड्न र समूहगत मनोसामाजिक विमर्श गर्नुपर्ने बताएकी छन्।
- स्थानीयले राहत समानुपातिक बाँड्न अनावश्यक फोटो तथा भिडियो खिच्ने, प्रश्नहरू सोधिरहने जस्ता गतिविधि रोक्न आग्रह गरेका छन्।
‘तीजको लहर आयो बरिलै….’ गीतमा नृत्य गरेको टिकटक भिडियो मेरो ह्वाट्स एपमा शेयर गर्दै ‘के छ सितु’ भनेर म्यासेज आयो । कयौं दिनदेखि टिकटक, फेसबुक, इन्टाग्रामबाट म हराएको थिएँ । उसको लिंक क्लिक गर्दा म पुन टिकटक एप्समा जोडिएँ । एकैछिन स्क्रोल गर्न मन लाग्यो । तीज त काठमाडौंतिर छपक्कै लागिसकेछ ।
अघिल्ला वर्षहरूमा एक हप्ता अगाडिदेखि नै तीज लाग्थ्यो । साथीसंगी, आफन्त, परिवारजनलाई दर खान बोलाउने र जाने क्रम निकै अगाडिदेखि सुरु हुन्थ्यो । त्यहाँ भेटघाट, सुखदुःख साटासाट, मन माझामाझ हुन्थ्यो । महिलाहरूका लागि नयाँ साडी, गहनासँगै हैसियत देखाउने महत्वपूर्ण अवसर बन्थ्यो, तीज । तीज सँधै सामान्य रूपमा आउँथ्यो, जान्थ्यो । तर, यसपटकको तीज भने असामान्य बन्यो ।
यसपटकको तीजमा मैले रातो साडीमा सजिएकी एउटी पनि महिला देखिनँ । पोते, हरियो चुरा, सिन्दुरले पोतिएर छमछम नाचेका दृश्यहरू मेरा आँखाले प्रत्यक्ष देखेनन् । सजिएर, पोतिएर उज्याला अनुहार मैले कहीँ कतै देखिनँ ।
देखेँ त केवल रातभरि सुत्न नसकेर र आँसुले फुलेका राता आँखा । चप्पल बिनाका गोडा, च्यात्तिएका धोति, फाटेका चोली लगाएका महिलाहरू मात्रै । उज्याला अनुहार होइन, डरत्रासले छट्पटाएका अनुहारहरू मात्रै भेटेँ ।
म नुवाकोटतिर लाग्दा तीज सुरु भएकै थिएन । भोटेकोशी बाढीले रसुवा, नुवाकोटका किनारका बस्ती, मानिस, चौपाया बगाइरहँदा काठमाडौं थिएँ । दुई दिन काठमाडौंमै बसेर सबै दृश्यहरू हेरिरहेको थिएँ । भदौ १० र ११ को रात अनिदोमै बित्यो । मेरो मात्रै होइन, त्यो त्रासदीपूर्ण घटनाले देश, विदेशमा रहेका नेपालीको मन, मस्तिष्क हल्लिएको थियो । यस्तो बेलामा काठमाडौं बसिरहँन सकिनँ । म नुवाकोट हान्निएँ ।

करिब डेढ दशकदेखि मानसिक स्वास्थ्य सेवामा खटिरहेको कारणले विपलग्रस्त क्षेत्रका मानिसहरूको मनोविज्ञान कस्तो हुन्छ भन्ने बुझेको छु । आफन्त, चौपाया, घर, बारी, खेत, घरभित्रका सबै अन्न, गहना, लत्ताकपडा गुमाएर पनि आफ्नो ज्यान जोगाएकाहरूको मानसिक अवस्था नजिकबाट नियालेको छु ।
यतिबेला उहाँहरूका कुरा सुन्ने, हेर्ने र उहाँहरूलाई सम्बन्धित निकायसँग जोडिदिने काम बाहेक अरू केही गर्न सकिँदैन ।
मनोविद्को रूपमा सामुहिक रूपमा मनोसामाजिक विमर्श गर्नु, अति जोखिममा रहेकाहरूको पहिचान गर्नु नै यतिबेलाको महत्वपूर्ण जिम्मवारी हो । त्यही जिम्मेवारीबोधका साथ म बाढीग्रस्त क्षेत्रतर्फ लम्किएको थिएँ ।
दृश्यमा हेरेभन्दा अत्यन्तै कष्टदायी र पीडादायी अवस्था रहेछ । प्रत्यक्ष आँखाले देखेँ, महसुस गरेँ ।
‘मैले ५० वर्षको उमेरसम्म कहिल्यै रक्सीको स्वाद कस्तो हुन्छ भन्ने जानेको थिइनँ तर आजभोलि रक्सी मेरो औषधि भएको छ, निदाउनका लागि रक्सी सेवन गर्न थालेको छु’ बाढीले सम्पूर्ण आफन्त गुमाउनुभएका एकजना शिक्षकले यस्तो कुरा सुनाउनुभयो ।
तनाव भुलाउन रक्सी खानुपर्छ भन्ने होइन । तर, जब तनाव व्यवस्थापनको अन्य विकल्प थाहा पाउँदैन, तब मानिसले रक्सी सेवन गर्न थाल्छ । तत्कालको समय भुलाउन सुरु गरेको रक्सी सेवन दीर्घकालीन नशामा परिणत भयो भने त्यस्तो बाढीबाट पनि जोगिएको जीवनको भविष्य कस्तो होला ? यस्ता कुराले छटपटि बढाएको छ ।

दर खाने दिन बिहानै भाइ भरतले ह्वाट्स एपमा एउटा फोटो पठायो । मिठाई पसलबाट किनिएको मिठाइको झोलाको फोटोको मुनितिर उसले लेखेको थियो, ‘दिदी कतिबेला आउनुहुन्छ, आज खाने दरको तयारी गरिरहेको छु, चाँडै आउनुस् है ।’
मन भक्कानिएर आयो । मेरो पनि त मन हो । सम्हालेँ, आफूलाई । सोचेँ, भाइ गुमाएका दिदीहरूलाई । दर खाने दिन माइतीले चेलिबेटीलाई बोलाएर दर खुवाउने चलन छ । भाइ कतिबेला लिन आउला भनेर दर खाने दिन दिदीबहिनीको आँखा बाटोमै ओछ्याएर बसेका हुन्छन् । दाइभाइ गुमाएका दिदीबहिनीहरूको त्यो पीडा सम्झिएँ । दिदीबहिनी गुमाएका ती दाजुभाइलाई सम्झिएँ । मन साँच्चै भारी भएर आयो । मैले भाइलाई भनेँ, ‘यसपालि म आउँदिन भाइ, म हराएका मन फर्काउन आएको छु, मन सम्हाल्ने हिम्मत बढाउन आएको छु, मेरो कर्तव्य निभाउन आएको छु, बोलाएकोमा तिमीलाई धन्यवाद ।’
बजारको बसाइ छोडेर म दरखाने दिन बिहानै गाउँतर्फ उक्लिएँ । सडक थिएन, पुल थिएन, बस्ती निलेको बगरलाई टेक्दै अगाडि बढेँ । बाटोमा थुप्रै डोजरहरूले बगर खोस्रिरहेका थिए । खोस्रिएको ठाउँमा आफन्तहरूले आँखा गाडेर हेरिरहेका थिए, कतै केही भेटिएला कि भनेर ।
पारी तर्नका लागि तुइनको सहारा लिएँ । त्यो तुइनको डोरी तान्ने युवाहरूको हातभरि ठेला उठेका थिए । दैनिक सयौं मानिसलाई वारि र पारि गर्दा उनीहरूका शरीर थाकेका थिए तर मन थाकेको पाइनँ । धन्यवाद ती भाइहरूलाई ।

बस्तीतर्फ पाइला अगाडि बढाइरहँदा बाटोमा जति भेटिए ती कसैका अनुहार उज्यालो थिएन । भोग्नेहरूलाई थाहा हुन्छ, पीडाको गहिराइ । कयौं योजनको त्यो गहिराइबाट उनीहरूलाई बाहिर निकाल्नु छ । पौडिन सिकाउनुछ । यहि आत्मबोध गर्दै पाइला बढाइहेको थिएँ ।
‘दिदी, के स्कुल लागिसक्यो र ?’ छोराछोरी स्कूल ड्रेसमा ब्याग बसेको देखेर कुराकानी सुरु गर्ने मेसोले सोधिहालेँ ।
टोलाएकी ति दिदीले भन्नुभयो,
‘छैन ।’
म टुसुक्क बसेँ ।
‘बाढी आएको दिनदेखि केटाकेटीले झोला राख्न र स्कुलको कपडा खोल्नै मान्दैनन् । केही आवाज आयो भने पनि ब्याग बोकेर दौडिहाल्छन् । मैले त धेरैपटक भनेँ । तर, उनीहरूको दैनिकी नै यस्तै भइसकेको छ’ धेरैबेरको मौनतापछि दिदीले थप खुलाइन् ।
मैले हेरिरहेँ, सुनिरहेँ । केही प्रतिक्रिया जनाइनँ । दिदीका आँखा फुलेका छन्, राता भएका छन् । आँखाभित्रका सेतो भाग खोज्नुपर्ने जस्तो छ ।
बाढी पछिका दिनमा कहिल्यै राम्रोसँग निदाउनै पाएकी रैनछिन् ।
‘केहीबेर निदायो भने पनि झल्यास्स ब्यूँझिन्छु, कतै ड्वाङ्ग आवाज आयो भने जुरुक्क उठेर दौडिएर माथि बारीको पाटोमा पुग्छु, वरिपरि हेरेर ढुक्क भएपछि मात्रै तल झर्छु’ उनले सुनाइन्, ‘सपना नदेखेको धेरै रात भयो ।’
खाद्यान्न, कपडा लगायतका राहत सामाग्री पाइरहे पनि ती दिदी र उहाँजस्तै कयौंको मनले राहत पाएको छैन । लक्षण फरक-फरक छन् तर मूल कारण एउटै छ । के बालबालिका, के वृद्धबृद्धा सबैको पीडा समान छन् । बिहान उज्यालो भएदेखि बेलुकी राति अबेरसम्म बगरमा हेरेर आफन्तको सम्झनामा टोलाइरहेका मनहरू थुप्रै भेटेँ ।

साँझ बास मागेर बसेँ । मोबाइलमा टिकटक स्क्रोल गर्न मन लाग्यो । टिकटकभरि राता पहिरनमा विभिन्न अगाडि राखेर रमाइरहेका महिलाहरूलाई देखेँ । अनि आँखा अगाडि रोटी सेक्दै गरेकी दिदीलाई नियालेँ । मन भारी भएर आयो । अनायासै आँखाबाट आँसु झर्यो । मोबाइल बन्द गरेर दिदीसँगै गफ गर्न थालेँ । दूधमा रोटी डुबाएर दिदी र मैले सँगै दर खायौं ।
सामाजिक सञ्जालमा देखिएको तीजको रमझमले भित्रैदेखि असहज बनाइरहेको थियो । बाढी र त्यसले पुर्याएको अपूरणीय क्षतिलाई शहरले बिर्सिन लागिसक्यो कि भन्ने कता कता लागिरह्यो ।
महादेव क्याम्पस, त्रिशुली अस्पताल, सिलादेवी सेकेण्डरी स्कूल, रणभुमी स्कुल, आयुर्वेदिक अस्पताल लगायतका ठाउँहरूमा पुग्दै, हेर्दै, सुन्दै, बुझ्दै, आवश्यकीय सहयोगका लागि निकायहरूलाई जोड्दै गर्दा तीज उत्तरार्द्धतिर पुगिसकेको थियो । स्थानीयको कुरा सुनिदिएपछि उहाँहरू आफ्नो मन अलिकति हल्का भएको महसुस गर्नुहुन्थ्यो । हाँस्नै बिर्सिसकेकाहरूका अनुहारमा मलिन भएपनि हाँसो देखिन्थ्यो । सूर्योदयअघिको आकाशमा देखिनेजस्तै रङ उहाँहरूको अनुहारमा देख्न थालिसकेको थिएँ ।
यदि जटिल मानसिक स्वास्थ्यसम्बन्धी सल्लाह आवश्यक पर्यो भने सरकारले निःशुल्क परामर्श दिने नम्बर १११५ बारे पनि स्थानीयलाई बुझाइरहेको थिएँ ।
अन्यतिरका हिन्दु नारीहरू तीजको ब्रत बसिरहेका बेला त्रिशुली र रसुवाका महिलाहरू भने पेट भर्ने खाद्यान्नको अभावमा राहतका लागि धोक्रो पट्याएर नाम्लो च्याप्दै दौडिरहेका थिए ।
‘छिमेकको घरमा राहतको चाङ्ग लागेको छ, तर मेरो घरमा खानेकुरा केही छैन, यस्तै अवस्था हुने हो भने भोको पेटले सम्बन्ध हेर्दैन’ एकजना स्थानीयले आक्रोशको शैलीमा भन्दै हुनुहुन्थ्यो । बँचेका परिवार सदस्यका आधारमा समानुपातिक रुपमा राहत बाँड्नुपर्छ भन्ने उहाँहरूको माग थियो ।
व्यवसाय थियो, घर थियो, पैसा, सुन, चाँदी लगायत सम्पत्ति थिए तर आज केही छैन । बाँच्नका लागि राहतको लाइनमा बसेका छन् । विपद्ले सबथोक गुमाएकाहरू बाँच्नका लागि नै संघर्ष गर्नुपर्दा पोखिएको पीडा स्वाभाविक पनि हो ।
साना विद्यार्थी, व्यवसायी, कर्मचारी र विभिन्न संघसंस्थाले तिनै भोको पेट तत्काल भर्नका लागि मनदेखि दिएको सहयोगलाई सरकारले उचित सदुपयोग गर्ला भन्ने आशा राखौं ।

अब विद्यालय खुल्नु अघि नै मानसिक रूपमा कसरी तयार हुने भन्ने चिन्ता शिक्षकलाई छ । विद्यार्थी नियमित सिकइप्रति अभ्यस्त हुन विगतको ट्रमाबाट बाहिर निस्कनु छ । आफन्त, घरबास गुमाएका स्वास्थ्यकर्मीहरूले अरूको उपचारसँगै आफ्नै मनको उपचार गर्नुपर्नेछ ।
दैनिकी चलाउने मात्र होइन अब त गुमेका सबै बन्दोबस्तीको जोहो गर्ने चिन्ता अभिभावकलाई छ । क्षतविक्षत भएको संरचनालाई पुर्ननिर्माण गर्नुपर्ने चासो सरकारलाई छ । ती सबै चिन्ता घटाई सहज बनाउन अब सरकार, मानसिक स्वास्थ्यकर्मी, संघसंस्था, सबैले एक भएर प्रतिफलमुखी योजनाका साथ लाग्नुको विकल्प छैन ।
पीडा र चिन्तामा रहेका बाढी प्रभावितहरूलाई केही अनैतिक आचरणले झन् पीडा थपिदिएको उनीहरूको गुनासो छ । होल्डिङ्ग सेण्टर र आसपासका सहज क्षेत्रमा आएर फोटो खिच्ने, तथ्यांक मात्रै संकलन गर्ने, अन्तर्वार्ता गर्ने, पीडा कोट्याउने, बालबालिकालाई काखमा राखेर फोटो खिच्ने र ती फोटोलाई सामाजिक सञ्जालमा हाल्ने खालका आचरणबाट उनीहरू आजित भएको सुनाउँछन् ।
यस्ता गतिविधि नियन्त्रण गरेर बरू उनीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श र थेरापी दिन सुरु गर्नुपर्छ । ब्रिदिङ्ग, ग्राउण्डिङका साथै तनाव व्यवस्थापन थेरापीले उनीहरूलाई सहज अवस्था ल्याउन मद्दत गर्नेछ । यस्ता कतिपय थेरापीहरू समूहमा गराउने र जटिल मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई व्यक्तिगत परामर्श गर्दै आवश्यक भएमा रिफरल गर्नुपर्ने हुन्छ ।
अब बाढि प्रभावितलाई ‘तपाईंको साथमा हामी छौं’ भनेर मायाभाव महसुस गराउनुपर्नेछ । माया, साथ, भरोसा बाँच्नका लागि सँधै चाहिन्छ ।
तीज आयो गयो, छोएन बाढीप्रभावितलाई । दशैं, तिहार, छठ आउँदैछ यसले अलिअलि छोओस् । अलिअलि खुसी पलाओस् । बाँच्ने, संघर्ष गर्ने हिम्मत बढाओस् ।
प्रतिक्रिया 4