News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्लेका ७८ वर्षीय धनबहादुर गुरुङको जीवनले परम्परागत ग्रामीण अभाव, खेतीपाती र समुदायसँग जोडिएको पहाडी समाजको इतिहास देखाएको छ।
- उनका छोरा कृष्णबहादुर गुरुङले १२ वर्षभन्दा बढी दक्षिण कोरियामा श्रम गरेर परिवारको घर टिनबाट पक्की बनाए र सन्तानलाई उच्च शिक्षा दिलाए।
- नाति अनिश डिजिटल युगमा सामाजिक सञ्जाल र तुलनात्मक संस्कृतिका कारण एकाङ्कीपन, हीनताबोध र पहिचानको सङ्कटसँग जुधिरहेका छन्।
लुम्ले (कास्की), पहाडी समाजको जीवन्त इतिहास, सांस्कृतिक प्रवाह र निरन्तर रूपान्तरणको एउटा सजीव बिम्व हो। पुस्तौंदेखि यस गाउँको सामाजिक संरचना, जीवनशैली र सामाजिक सम्बन्धमा क्रमिक परिवर्तन हुँदै आएको छ। समयको अविरल प्रवाह र अन्नपूर्ण हिमशृङ्खलाबाट बहने शीतल हावाको स्पर्शसँगै यस गाउँले अनेकौं पुस्ताका आशा, सङ्घर्ष र चेतनाको रूपान्तरणलाई प्रत्यक्ष नियालेको छ।
पुरानो ढुङ्गे घरको पिंढीमा बसेर बिहानको पारिलो घाम ताप्दै गरेका ७८ वर्षीय धनबहादुर गुरुङ आफ्नो विगत मात्र सम्झिरहेका छैनन्, एउटा सिङ्गो युगको मौन प्रतिनिधित्व गरिरहेका छन्। धनबहादुर, उनका छोरा कृष्णबहादुर र नाति अनिश- तीन पुस्ताको यो जीवनयात्रा एउटा परिवारको कथामा मात्र सीमित छैन। यो परम्परागत कृषि प्रणालीबाट वैदेशिक श्रम–अर्थतन्त्र हुँदै आधुनिक प्रविधिको अनिश्चित युगसम्म आइपुगेको समग्र नेपाली समाजको जीवन्त समाजशास्त्रीय र मनोवैज्ञानिक प्रतिबिम्व हो।
धनबहादुरको जीवन परम्परागत नेपाली ग्रामीण समाजको यथार्थ चित्र हो। बिहान झिसमिसेमै उठेर खेतबारीमा पसिना बगाउनु, मौसम अनुसार खेती गर्नु र साँझ चौतारीमा बसेर छिमेकीसँग सुखदुःख साट्नु उनको पुस्ताको सामान्य जीवनशैली थियो। आम्दानीको निश्चित स्रोत थिएन; ‘एक वर्षको अन्न अर्को वर्षसम्म पुग्छ कि पुग्दैन ?’ भन्ने चिन्ता सधैं रहन्थ्यो। असिना, खडेरी, पहिरो वा रोगले बाली र पशुचौपाया नष्ट गरिदिंदा परिवारको वर्षभरिको मिहिनेत एकैपटक सङ्कटमा पर्न सक्थ्यो। अपेक्षाहरू आफ्नो आर्थिक अवस्था, परिवार र स्थानीय परिवेशको सीमाभित्रै बनेका थिए।
मोटरबाटो, सञ्चार र स्वास्थ्य सेवाको पहुँच सीमित थियो। बिरामी पर्दा अस्पताल पुग्नु सहज थिएन; धामीझाँक्री, घरेलु उपचार र स्थानीय जडीबुटीमै भर पर्नुपर्ने अवस्था थियो। भौतिक अभाव, कठिन श्रम र प्राकृतिक जोखिम/विपत्ति उनीहरूको दैनिक जीवनका अभिन्न हिस्सा थिए। तर यो जीवन केवल अभावको कथा थिएन। सीमित स्रोत र अनिश्चितताका बीच पनि उनीहरूको जीवन प्रकृति, परिवार र समुदायसँग गहिरोसँग जोडिएको थियो।
धनबहादुरको पुस्ताले दुःखलाई कुनै आकस्मिक विपत्ति वा अन्याय मानेन, बरु जीवनको स्वाभाविक नियमका रूपमा सहजै स्वीकार गर्यो। उनीहरूका अपेक्षाहरू धरातलसँग जोडिएका थिए, त्यसैले निराशाको दायरा पनि सीमित थियो। कठिन शारीरिक श्रमको जीवन भए तापनि यो पुस्तामा एउटा लोभलाग्दो गुण थियो— मानसिक स्थिरता र आत्मसन्तुष्टि। कठिन श्रम र भौतिक अभावका बीच पनि धनबहादुरको पुस्तामा एउटा महत्त्वपूर्ण मानसिक सामर्थ्य देखिन्थ्यो— ‘सीमितताभित्र जीवनलाई स्वीकार गर्ने क्षमता।’
कृष्णबहादुरको पुस्ताले बुबाहरूको परम्परागत र सीमित दायरालाई तोड्ने निर्णय गर्यो। बुबाहरूले अँगालेको परम्परागत कृषि र सीमित ग्रामीण जीवनलाई तोडेर पोखरा, काठमाडौंहुँदै दक्षिणकोरियाको औद्योगिक शहरसम्म पुग्ने उनको कदमले नेपालको रेमिट्यान्स–आधारित अर्थतन्त्रको यथार्थलाई स्पष्टसँग झल्काउँछ।
परदेशमा बिताएको त्यो १२ वर्षभन्दा बढी समय उनका लागि शारीरिक र मानसिक दुवै हिसाबले असाध्यै कष्टकर रह्यो। तर, कृष्णबहादुरको यो शारीरिक र भावनात्मक कष्ट निरर्थक थिएन। उनीसँग अदम्य र दृढ सङ्कल्प थियो— ‘मैले जस्तो अभाव मेरा सन्तानले भोग्नु नपरोस्।’ यही एउटा सपनाले उनलाई हरेक दिन श्रमको भुङ्ग्रोमा पेलिन ऊर्जा दिन्थ्यो। उनले भोगेको दुःखकै कारण गाउँको टिनको छाना पक्की घरमा बदलियो र सन्तानले शहरमा उच्च शिक्षा पाउने ढोका खुल्यो।
कृष्णबहादुरको पुस्ता नेपाली समाजको सङ्क्रमणकालीन पुस्ता हो; जसले परम्परा र आधुनिकताको बीचमा बसेर स्वयं कष्ट झेल्यो, तर आफ्ना भावी सन्तानलाई अभावबाट मुक्त गराई आधुनिक संसारसँग प्रतिस्पर्धा गर्न सक्षम बनायो।
अनिशको यथार्थ आजको शिक्षित, आधुनिक र डिजिटल युगमा हुर्किएको नेपाली युवा पुस्ताको प्रतिनिधिमूलक कथा हो। हजुरबुबा धनबहादुर र बुबा कृष्णबहादुरको कठोर परिश्रम तथा त्यागले उनलाई गाँस, बास र कपासको आधारभूत भौतिक अभावबाट त पूर्ण रूपमा मुक्त गरायो; तर उनको सङ्घर्ष भने अर्कै किसिमको गहिरो मानसिक र सामाजिक सङ्कटसँग जोडिएको छ।
हातमा भएको स्मार्टफोन र सामाजिक सञ्जालले उनलाई विश्वभरका घटना र जीवनशैलीसँग जोडेको छ, तर त्यही प्रविधिले उनलाई वास्तविक जीवन र आत्मीय सम्बन्धहरूबाट टाढा धकेल्दै गहिरो एकाङ्कीपनतर्फ पुर्याएको छ। इन्स्टाग्राम र युट्युबमा देखिने चम्किलो पश्चिमा जीवनशैली तथा साथीहरूको सफलताले उनमा निरन्तर हीनताबोध र अस्वस्थ तुलनाको भावना जन्माएको छ।
अघिल्ला पुस्ताहरूसँग जीवनयापनका निश्चित र सीमित लक्ष्य थिए; जसले उनीहरूलाई मानसिक रूपमा स्थिर राख्थ्यो। तर अनिशको पुस्ता भने असीमित सम्भावना र विकल्पहरूको भीडमा आफ्नो वास्तविक पहिचान र गन्तव्य भेट्न नसकेर दिशाहीन बनेको छ। डिजिटल दुनियाँमा असीम पहुँच भए पनि रातको एकान्तमा “म असीमित सम्भावनाहरूको यो भीडमा आखिर केका लागि भागिरहेको छु ?” भनी सोच्न बाध्य हुनु आजको युवाको अस्तित्वगत सङ्कट हो।
यस यथार्थले समाजशास्त्रीय र मनोवैज्ञानिक सत्यलाई उजागर गर्छ- भौतिक समृद्धि, उच्च शिक्षा र प्रविधिको असीम पहुँचले जीवनका प्राविधिक एवं संरचनात्मक जटिलतालाई सहज त बनाउन सक्छन्; तर तिनमा मानिसलाई आन्तरिक शान्ति, स्पष्ट गन्तव्य र अस्तित्वगत सार्थकता प्रदान गर्ने कुनै स्वतःस्फूर्त सामर्थ्य हुँदैन।
धनबहादुर, कृष्णबहादुर र अनिशको जीवनयात्रा एउटा परिवारको तीन पुस्ताको कथा मात्र होइन; विगत आधा शताब्दीमा नेपाली समाजले पार गरेको सामाजिक–आर्थिक, सांस्कृतिक र अस्तित्वगत रूपान्तरणको गहन समाजशास्त्रीय प्रतिबिम्व हो।
स्थानीय कृषि अर्थतन्त्रबाट शुरु भएको यो यात्रा रेमिट्यान्स–आधारित विश्वव्यापी श्रम बजार हुँदै आज डिजिटल र अनिश्चित आधुनिक युगसम्म आइपुगेको छ। यस आधा शताब्दीको रूपान्तरणले भौतिक विकासका साथसाथै मानवीय चिन्तन, अपेक्षा र मानसिक सङ्घर्षका स्वरूपहरू कसरी बदलिए भन्ने स्पष्ट चित्र प्रस्तुत गर्दछ।
पहिलो पुस्ताका धनबहादुर भौतिक संसाधनका दृष्टिले अभावग्रस्त भए पनि उनीमा अद्वितीय मनोवैज्ञानिक सुदृढता र आत्मिक सन्तुलन थियो। उनका अपेक्षाहरू यथार्थको धरातलमा सीमित भएकाले नै निराशाको दायरा अत्यन्त सङ्कुचित थियो। उनले प्रतिकूलता र दुःखलाई कुनै संरचनात्मक अन्याय वा व्यक्तिगत असफलताका रूपमा व्याख्या गरेनन्, बरु प्राकृतिक जीवनचक्रकै एउटा अनिवार्य र अकाट्य नियमका रूपमा सहजै आत्मसात् गरे। सहज स्वीकारोक्ति नै उनको मानसिक स्थिरता र आन्तरिक सन्तुष्टिको मूल आधार थियो।
दोस्रो पुस्ताका कृष्णबहादुर नेपाली समाजको सङ्क्रमणशील पुस्ताका प्रतिनिधि हुन्; जसले निर्वाहमुखी कृषिको सीमित संसारबाट बाहिर निस्केर विश्वव्यापी श्रम बजारमा आफ्नो भविष्य खोज्यो। उनको पुस्ताका लागि गाउँमा बसेर खेती गर्नु जीवन धान्ने माध्यम त थियो, तर जीवन बदल्ने पर्याप्त आधार थिएन। त्यसैले माटो छाडे, देश छाडे र श्रम बेचेर परिवारको भविष्य किन्ने जोखिम उठाए। वैदेशिक रोजगारी उनको रोजाइभन्दा बढी बाध्यता र अवसरको मिश्रित परिणाम थियो।
उनले १२ वर्षभन्दा बढी दक्षिण कोरियाको श्रमिक जीवनमा ठूलो शारीरिक र मानसिक पीडा भोगे। तर, त्यो पीडालाई निरर्थक बन्न दिएनन्, त्यसलाई ‘छोराछोरीको उज्ज्वल भविष्य’ भन्ने उद्देश्यसँग जोडे।
दक्षिण कोरियामा बिताएको १२ वर्षभन्दा बढी समय कृष्णबहादुरका लागि केवल कमाइका वर्ष थिएनन्। ती वर्ष कठोर औद्योगिक श्रम, अपरिचित परिवेश, विषम मौसम, भाषिक–सामाजिक दूरी र परिवारबाट लामो समय अलग रहनुपरेको मानसिक पीडाका वर्ष थिए। पैसा कमाए, तर त्यससँगै पारिवारिक सामीप्यता र युवावस्था पनि गुमाए।
यस अर्थमा उनको ‘रेमिट्यान्स’ केवल विदेशबाट आएको पैसा थिएन; त्यसको पछाडि बेचिएको समय, श्रम र व्यक्तिगत जीवनको ठूलो मूल्य जोडिएको थियो। कृष्णबहादुरको सङ्घर्षको अर्थ पीडामा होइन, त्यसको उद्देश्यमा थियो। सन्तानको भविष्य बदल्ने लक्ष्यले विदेशको कठोर श्रम र पारिवारिक विछोडलाई व्यक्तिगत पीडाबाट सार्थक यात्रामा रूपान्तरण गर्यो।
प्रतिकूल परिस्थितिमा पनि मानिसलाई बचाइराख्ने मुख्य शक्ति ‘जीवनको अर्थ’ हो। मानिसले परिस्थिति सधैं आफ्नो इच्छा अनुसार रोज्न नसके पनि परिस्थितिप्रतिको आफ्नो दृष्टिकोण र प्रतिक्रिया रोज्ने स्वतन्त्रता सधैं उसैसँग हुन्छ। जब मानिसले आफ्नो दुःख र सङ्घर्षलाई कुनै उद्देश्यसँग जोड्न सफल हुन्छ, तब त्यही पीडाले उनीभित्र अभूतपूर्व सहनशीलता, धैर्य र आत्मिक सामर्थ्य जन्माउँछ।
कृष्णबहादुरको जीवनले यही सत्यलाई साबित गर्छ— ‘अर्थपूर्ण उद्देश्य सामु त्याग र कष्टहरू कहिल्यै व्यर्थ जाँदैनन्।’
ठीक विपरीत, तेस्रो पुस्ताका अनिश प्रविधि, सूचना र भौतिक अनुकूलताका बीच हुर्किंदा पनि निरन्तर एउटा अमूर्त मानसिक बोझ र अस्तित्वगत अन्योलबाट पेलिएका छन्। अघिल्ला पुस्ताको त्यागले उनलाई आधारभूत भौतिक अभावबाट त मुक्त गरायो; तर डिजिटल सञ्जालले सिर्जना गरेको अस्वस्थ तुलनात्मक संस्कृति र प्रदर्शनकारी उपभोक्तावादले उनको स्वमूल्याङ्कन क्षमतालाई विकृत बनाइदिएको छ।
अघिल्ला पुस्ताहरूसँग जीवनयापनका स्पष्ट र निश्चित लक्ष्य थिए; जसले उनीहरूलाई मनोवैज्ञानिक रूपमा स्थिर राख्थ्यो। तर अनिशको पुस्ता भने असीमित विकल्प, भर्चुअल उपस्थिति र क्षणिक प्रेरणाको भीडमा आफ्नो वास्तविक पहिचान र गन्तव्य भेट्न नसकेर दिशाहीन बनेको छ।
अन्त्यमा; धनबहादुरको पुस्ता प्रकृतिप्रदत्त यथार्थको सहज स्वीकारोक्तिमा बाँच्यो; जहाँ भौतिक अभावका बीच पनि मानसिक सन्तुलन र आत्मिक स्थिरता कायम थियो। कृष्णबहादुरको पुस्ता पारिवारिक दायित्व र उद्देश्यमूलक श्रमप्रति समर्पित भयो; जसले वैदेशिक रोजगारीको कठोर शारीरिक पीडा र एकाकीपनलाई सन्तानको उज्ज्वल भविष्यका लागि सहर्ष आत्मसात् गर्यो।
तर, तिनै अघिल्ला दुई पुस्ताको त्यागको जगमा उभिएको अनिशको आधुनिक पुस्ता आज असीमित भौतिक सुविधा, डिजिटल सञ्जाल र अमूर्त आन्तरिक अन्योलको अनौठो सङ्कटसँग जुधिरहेको छ। उपभोग्य वस्तु र भर्चुअल उपस्थितिमा सन्तुष्टि खोज्दा आफ्नै वास्तविक अस्तित्व र लक्ष्य गुमाइरहेको छ।
तसर्थ, आजको युवा पुस्ताले भोगिरहेको मानसिक अशान्ति, हीनताबोध र दिशाहीनताबाट मुक्ति पाउनका लागि दुवै पुस्ताका मौलिक चेतनाको सम्मिश्रण अपरिहार्य छ। स्वीकारोक्तिले अनिश्चिततालाई स्वीकार्दै मानसिक स्थिरता र धैर्य दिन्छ भने अनुशासनले क्षणिक द्वन्द्वबाट माथि उठेर दीर्घकालीन लक्ष्य प्राप्तिको मार्गप्रशस्त गर्छ।
आधुनिक पुस्ताले जबसम्म यी दुई परिपूरक आयामहरूलाई आत्मसात् गर्दैन, तबसम्म केवल भौतिक प्रविधि र बाह्य साधनले मात्र उसलाई आन्तरिक शान्ति दिन सक्दैनन्। जब मानिसले प्रतिकूल यथार्थलाई सहजै स्वीकार्दै आफ्नो निष्ठा र लक्ष्यप्रति आन्तरिक अनुशासन कायम राख्छ, तब बाह्य अन्योल र मानसिक विचलन स्वतः समाप्त हुन्छन्।
तसर्थ, प्रविधिजन्य क्षणिक आकर्षणको भ्रमबाट मुक्त भई आफ्ना मौलिक चेतना र अस्तित्वगत मूल्यहरूलाई पुनः स्थापित गर्नु नै आजको आधुनिक मानवको मानसिक सङ्कट समाधान र आन्तरिक मुक्तिको एकमात्र बौद्धिक एवं परिष्कृत विकल्प हो।
प्रतिक्रिया 4