News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिशूली आसपास पहाड हल्लिँदा लेखकले समयले मान्छेलाई बाँच्न वा मर्न सोध्ने क्षणको वर्णन गरेका छन्।
- कवितामा मृत्युले घर, पैसा, गाडी, जग्गा र प्रतिष्ठा होइन, प्रेम, आँसु, क्षमा र समय सम्झाउने बताइएको छ।
- लेखकले जीवनलाई सासको गन्ती होइन, सासबीचको चेतना भन्दै अन्तिम सन्देशमा आफ्ना प्रियजनलाई आफूहरू त्रिशूलीको आवाज र रसुवाको पहाडमा रहेको उल्लेख गरेका छन्।
प्रिय, मान्छे आखिर के लिएर बाँच्छ ?
र के लिएर जान्छ ?
सम्झ त प्रिय
हामीले पनि घर बनायौं
भित्तामा हाम्रो सुन्दर तस्वीर झुन्ड्यायौं
भविष्यका लागि पैसा बचायौं
भोलिका लागि ठूला सपना सजायौं
तर समयले
हामीलाई सोधेन
तिमी बाँच्न चाहन्छौ कि मर्न ?
एकै बिहान पहाड हल्लियो
माटो उर्लियो
सधैं शान्त रहने नदी गर्जियो
र समयले
हामीलाई उसैसँग समाहित गरायो।
यो क्षण
न हामी श्रीमान् श्रीमती रहन सक्यौं
न धनी न गरिब
न सफल न असफल
न ठूलो न सानो
रहेयौं त केवल
दुई श्वास विनाको शरीर र एक अन्तिम चेतना।
प्रिय, हामीले त आफ्नै जीवनलाई
स्थायी ठानेका थियौं
हामीले घर, सम्बन्ध, शरीर, सम्पत्तिलाई स्थायी ठानेनौं
तर प्रिय फर्केर हेर त
स्थायी त केही पनि रहेनछ
हामी बीचको ‘म’ पनि स्थायी रहेनछ।
एक चोटि सम्झ त प्रिय
हामीले जीवनभर
घर, पैसा, गाडी, जग्गा, प्रतिष्ठाको
पछि लाग्यौं
यसकै लागि लड्यौं
अहिले हेर त प्रिय
ठिङ्ग हामी बीच उभिएको मृत्युले सोधिरहेछ
‘तिमीहरूले केही लिएर आएका छौ’
यो प्रश्नको अगाडि हामी मौन छौं।
अनि प्रिय सुन त
मृत्यु अन्त्य मात्र होइन रहेछ
मृत्यु जीवनको अन्तिम ऐना रहेछ
यो ऐनाले
पद, पैसा, अहंकार, नाम देखाउँदो रहेनछ
देखाउँदो रहेछ त
हामीले साटेका प्रेम
हामीले बचाएका आँसु
हामीले दिएका क्षमा
हामीले मायाले समातेको हात
हामीले एकअर्कालाई दिएको समय।
प्रिय जीवन सासको गन्ती पनि होइन रहेछ
जीवन त सास बीचको चेतना रहेछ
सोच त
हाम्रो पुराना सपनाहरू
धेरै वर्ष सँगसँगै बाँच्ने
तर
जीवन वर्षमा होइनरहेछ
क्षणमा बाँचेको रहेछ
कति धेरै कुराहरू पछिलाई साँचेका थियौं
अब त्यो ‘पछि’ आउने छैन प्रिय
त्यसैले
प्रिय जो हुन सकेन ‘माफ गरौ है।’
बा–आमा, छोराछोरी आफन्तहरूलाई
हाम्रो अन्तिम सन्देश सुनाइदिनु–
हामी कहाँ छौं भनेर नखोज्नुहोला
हामी त्रिशूलीको आवाजमा रमाइरहेका छौं
रसुवाको पहाडको मौनतामा स्थिर छौं
आमाबुबाको आँखाको आँसुमा बग्दैछौं
छोराछोरीको भविष्यको पन्नापन्नामा हुनेछौं
समाजको त्यो मौनतामा जीवित रहनेछौं
शायद हामी त्यही प्रेमिल घरमा
प्रेम भएर फेरि जन्मिँदा
त्यहीं त्यतैतिर हुनेछौं।
प्रतिक्रिया 4