+

बच्चा जन्मिने‍बित्तिकै स्क्रिनिङ किन गरिन्छ ? चिकित्सकसँग प्रश्नोत्तर

२०८३ असोज  १३ गते ११:४५ २०८३ असोज १३ गते ११:४५
बच्चा जन्मिने‍बित्तिकै स्क्रिनिङ किन गरिन्छ ? चिकित्सकसँग प्रश्नोत्तर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवजात शिशु परीक्षणले जन्मिएको २४ घण्टापछि लक्षण नदेखिँदै कन्जेनिटल हाइपोथायराइडिज्म, एड्रिनल हाइपरप्लासिया, फेनाइलकेटोनुरिया र जीपीडी डिफिसिएन्सी जस्ता रोग पत्ता लगाउँछ।

बच्चा जन्मिँदै स्वस्थ देखिए पनि कतिपय बच्चाको शरीरभित्र गम्भीर रोग लुकेका हुन सक्छन् । रोगको लक्षण देखिँदासम्म उपचार ढिलो भइसकेको पनि हुनसक्छ ।

यो अवस्थासम्म पुग्न नदिन आजभोलि जन्मिएको केही समयमै ‘नवजात शिशु परीक्षण’ गरिन्छ । यो कस्तो परीक्षण हो ? जन्मिनेबित्तिकै सबै बच्चाका लागि कतिको अनिवार्य छ ? कुन–कुन रोग पत्ता लाग्छ ? यिनै विषयमा बालरोग विशेषज्ञ डा. प्रज्ज्वल पौडेलसँग गरिएको प्रश्नोत्तर:

१. नवजात शिशु स्क्रिनिङ के हो ?

नवजात शिशु स्क्रिनिङ जन्मिएको २४ घण्टापछि वा केही दिनभित्र गरिने परीक्षण हो । यसले शिशुमा जन्मजात रोगहरू भएमा लक्षण देखिनुअघि नै गम्भीर तर उपचार गर्न सकिने रोगहरू पत्ता लगाउँछ ।

२. किन गरिन्छ ?

धेरै जन्मजात रोगहरू सुरुमा देखिँदैन । बच्चा जन्मिँदा पूर्ण रूपमा स्वस्थ देखिन्छ । र, आमाबुबामा पनि कुनै समस्या देखिँदैन । तर केही हप्ता वा महिनापछि लक्षण देखिन थाल्छन् र त्यतिबेला शरीरमा भइसकेको क्षति प्रायः स्थायी भइसकेको हुन्छ । त्यसैले, यो परीक्षणको मुख्य उद्देश्य हो, जन्मिनुअघि नै सम्भावित रोगलाई पत्ता लगाई सुरुवाती चरणमै तुरुन्त उपचार सुरु गर्नु ।

३. यो परीक्षण गर्दा के कस्तो समस्या भएको पत्ता लाग्छ ?

यो परीक्षणले जन्मजात थाइराइड हर्मोनको कमी (कन्जेनिटल हाइपोथायराइडिज्म) पत्ता लगाउँछ, जसलाई समयमै उपचार नगरे बौद्धिक विकासमा गम्भीर असर पर्छ र शारीरिक वृद्धि पनि ढिलो हुन्छ ।

त्यस्तै, शरीरमा हर्मोन असन्तुलन गराउने जन्मजात एड्रिनल हाइपरप्लासिया पनि पत्ता लाग्छ । फेनाइलकेटोनुरिया जस्तो मेटाबोलिक रोग पनि यसबाट पत्ता लगाउन सकिन्छ, जसको उपचार नगरे दिमागमा स्थायी क्षति हुन सक्छ । ग्लुकोज–६–फस्फेट डिहाइड्रोजेनेज कमी जस्ता रगतसम्बन्धी रोगहरूले बच्चामा अचानक गम्भीर समस्या ल्याउन सक्छन् ।

यसबाहेक सिकल सेल रोग र थालासेमिया जस्ता रगतसम्बन्धी गम्भीर समस्या, फोक्सो र पाचन प्रणालीलाई असर गर्ने आनुवंशिक रोग सिस्टिक फाइब्रोसिस तथा दूधमा भएको चिनी पचाउन नसक्ने रोग ग्यालेक्टोसेमिया पनि पहिचान गर्छ ।

३. यो परीक्षण कसरी गरिन्छ, कति सुरक्षित ?

शिशु जन्मिएको करिब २४ घण्टापछि प्रशिक्षित स्वास्थ्यकर्मीले ‘हिल प्रिक’ (खुट्टाको कुर्कुच्चाको भागबाट) सानो सुईले केही थोपा रगत निकाल्छन् । त्यो रगत विशेष ‘ड्राई ब्लड स्पट’ कार्डमा राखिन्छ र प्रयोगशालामा पठाइन्छ । रिपोर्ट असामान्य आएमा परिवारलाई तुरुन्त सम्पर्क गरी थप पुष्टि परीक्षण तथा उपचार सुरु गरिन्छ । यो प्रक्रिया छिटो, सुरक्षित र प्रायः पीडारहित हुन्छ ।

४. नेपालमा यो सेवा कसरी सुरु भयो ? हालसम्म कति शिशुको परीक्षण भएको छ ?

सन् २०२४ सेप्टेम्बरमा परोपकार प्रसूति तथा महिला अस्पतालमा नियमित रूपमा सेवा सुरु भएपछि संस्थागत यात्रा सुरु भएको मानिन्छ । हालसम्म नेपालमा करिब १४ हजारभन्दा बढी शिशुमा परीक्षण भइसकेको छ । तीमध्ये करिब ३४ देखि ४० जनामा इन्जाइमेटिक मेटाबोलिक डिसअर्डर पत्ता लागेका छन् ।

यी बच्चाहरूलाई लक्षण देखिनुअघि नै पत्ता लगाएर निमोनिया, मृत्यु, न्युरोलोजिकल क्षति वा हेमेटोलोजिकल समस्याबाट बचाउन सकिएको छ । पुष्टि भएका अधिकांश केसहरू जीपीडी डिफिसिएन्सीसँग सम्बन्धित छन् ।

कन्जेनिटल एड्रेनल हाइपरप्लासिया, कन्जेनिटल हाइपोथायराइडिज्म र फेनाइलकेटोनुरिया समस्या देखिएका सबै शिशुहरू नियमित चिकित्सकीय निगरानी र उपचारमा छन् ।

५. के नवजात शिशुमा यो परीक्षण अनिवार्य छ ? सबै अस्पतालमा उपलब्ध छ ?

अन्तर्राष्ट्रिय स्तरमा यो परीक्षण अनिवार्य गरिएको पाइता पनि नेपालमा भने अहिलेसम्म सबै शिशुका लागि अनिवार्य बनेको छैन । सीमित अस्पताल र पाइलट परियोजनामार्फत मात्र सञ्चालन भइरहेको छ ।

नेपालमा सबैभन्दा व्यवस्थित कार्यक्रम थापाथलीस्थित परोपकार प्रसूति तथा महिला अस्पतालमा सञ्चालन भइरहेको छ । वीरगञ्ज लगायत अन्य अस्पताल र प्रसूति केन्द्रहरूबाट पनि नमुना संकलन गरी हवाईमार्गबाट काठमाडौं पठाइन्छ ।

नेशनल पाथ ल्याब ललितपुरले मेटाबोलिक रोगहरूको स्क्रिनिङ र पुष्टि परीक्षण गर्दै आएको छ, जसले विदेश पठाउनुपर्ने आवश्यकता घटाएको छ । कार्यक्रम क्रमशः विस्तार हुँदै गएको भए पनि अझै शहरकेन्द्रित छ । ग्रामीण क्षेत्र र प्रदेशस्तरीय अस्पतालमा सेवा पुर्‍याउन ठूलो चुनौती छ ।

६. सहज पहुँच नहुनुको प्रमुख चुनौतीहरू के देख्नु हुन्छ ?

मुख्य चुनौतीहरूमा सीमित बजेट, प्रयोगशाला पूर्वाधारको कमी, आयातमा निर्भर रिएजेन्ट तथा उपकरण, आपूर्ति अवरोधले सेवा रोकिने अवस्था, जनचेतनाको कमी र पुष्टि परीक्षणका लागि शिशु ट्र्याक गर्न कठिनाइ प्रमुख छन् । केही समय रिएजेन्ट अभावले सेवा नै रोकिएको अनुभव पनि भइसकेको छ ।

विस्तारका लागि हब एण्ड स्पोक मोडल उपयुक्त देखिन्छ । जस्तो कि, एउटा ठाउँमा मुख्य ल्याब राखेर वरपरका अस्पताल र प्रसूति केन्द्रबाट नमूना ल्याउने प्रणाली अपनाउन सकिन्छ । अहिले नारायणगढबाट पनि नमूना आइरहेका छन् ।

सेती र डडेलधुरामा पनि मेसिन राखिएका छन् । अहिले नै ४–५ वटा छन् । यसलाई बढाएर नेपालभर १० वटा मेसिन पर्याप्त हुन सक्छन् । यसरी विस्तार गर्दा सबै प्रदेशमा सेवा पुग्न सक्छ ।

७. यो परीक्षण नगराउँदा के हुन सक्छ ?

परीक्षण नगराउँदा जन्मजात लुकेका गम्भीर रोगहरू समयमा पत्ता नलाग्न सक्छन् । थाइराइड हर्मोन कमीले बौद्धिक विकास रोकिन्ने, बोल्न–सिक्न गाह्रो हुने, फेनाइलकेटोनुरियाले दिमागमा स्थायी क्षति पुर्‍याउने, एड्रिनल हाइपरप्लासियाले हर्मोन समस्या ल्याउने, सिकल सेल र थालासेमियाले दीर्घकालीन रक्तअल्पता हुने र बारम्बार अस्पताल भर्ना हुनु पर्ने हुनसक्छ ।

ग्यालेक्टोसेमियाले कलेजो बिग्रने, खाने समस्या र मृत्युसम्म पुर्‍याउन सक्छ । परिणाम स्वरूप बच्चा अपाङ्ग, मानसिक रूपमा कमजोर वा मृत्युको जोखिममा पर्छन् र परिवारमा आर्थिक तथा भावनात्मक बोझ बढ्छ ।

शिशु स्क्रिनिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय