चिकित्सा विज्ञानले पछिल्ला केही दशकमा अभूतपूर्व प्रगति गरेको छ । नयाँ प्रविधि, अत्याधुनिक उपकरण र प्रभावकारी उपचारविधिको विकाससँगै आज धेरै रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सम्भव भएको छ ।
आधुनिक चिकित्सा विज्ञानको उद्देश्य रोगको उपचार गर्नु मात्र होइन; रोगलाई समयमै पहिचान गरी सही उपचार सुरु गर्नु र बिरामीलाई लामो तथा गुणस्तरीय जीवन प्रदान गर्नु पनि हो । यही उद्देश्यलाई साकार बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको आधुनिक चिकित्सा शाखा हो– न्युक्लियर मेडिसिन ।
नेपालमा अझै पनि धेरै मानिसका लागि न्युक्लियर मेडिसिन नयाँ विषय हो । न्युक्लियर भन्ने शब्द सुन्नासाथ धेरैले परमाणु बम, आणविक दुर्घटना वा खतरनाक विकिरणको कल्पना गर्छन् । त्यसैले कतिपय मानिस परीक्षण वा उपचार गर्न डराउने गर्छन् । तर वास्तविकता भने बिल्कुल फरक छ ।
न्युक्लियर मेडिसिन आधुनिक चिकित्सा विज्ञानको सुरक्षित, प्रभावकारी र विश्वसनीय विधि हो । यसमा अत्यन्त न्यून मात्रामा रेडियोधर्मी औषधि प्रयोग गरी शरीरभित्र भइरहेका जैविक प्रक्रियाको अध्ययन गरिन्छ । यसका आधारमा रोगको पहिचान मात्र होइन, आवश्यक परे उपचारसमेत गरिन्छ ।
न्युक्लियर मेडिसिनको सबैभन्दा ठूलो विशेषता भनेको यसले शरीरको बनावट मात्र हेर्दैन; शरीरका विभिन्न अंगहरूले कसरी काम गरिरहेका छन् ? भन्ने पनि देखाउँछ । यही कारणले धेरै रोगलाई सुरुवाती चरणमै पहिचान गर्न सकिन्छ ।
कतिपय अवस्थामा रोगका कारण शरीरभित्र जैविक परिवर्तन सुरु भइसकेका हुन्छन्, तर ती परिवर्तन सामान्य परीक्षणमा देखिँदैनन् । न्युक्लियर मेडिसिनले यस्ता परिवर्तनलाई समयमै देखाइदिने भएकाले रोगको प्रारम्भिक निदान सम्भव हुन्छ । प्रारम्भिक अवस्थामै रोग पत्ता लागेमा उपचार पनि बढी प्रभावकारी हुन्छ र बिरामी निको हुने सम्भावना उल्लेखनीय रूपमा बढ्छ ।
चिकित्सकहरू प्रायः भन्ने गर्छन्, ‘सही निदानबिना सही उपचार सम्भव हुँदैन ।’ यही कारणले आधुनिक चिकित्सा विज्ञानमा सही निदानलाई अत्यन्त महत्त्व दिइन्छ ।
एक्स–रे, अल्ट्रासाउन्ड, सिटी स्क्यान र एमआरआईले शरीरका अंगहरूको संरचना देखाउँछन् । तर न्युक्लियर मेडिसिनले ती अंगहरूले कति राम्रोसँग काम गरिरहेका छन्, भन्ने जानकारी दिन्छ । त्यसैले रोग कहाँ सुरु भएको छ ? कति फैलिएको छ ? र त्यसको असर शरीरमा कस्तो परेको छ ? भन्ने कुरा अझ स्पष्ट रूपमा बुझ्न सकिन्छ ।
पेट–सिटी स्क्यान न्युक्लियर मेडिसिनको अत्याधुनिक परीक्षण हो, जसले शरीरभित्र रहेका रोगलाई प्रारम्भिक अवस्थामै पत्ता लगाउन मद्दत गर्छ । यो वास्तवमा दुई प्रविधिको संयोजन हो- पीईटीले शरीरका कोषहरूले कसरी काम गरिरहेका छन्, भन्ने देखाउँछ । सिटीले शरीरका अंगहरूको स्पष्ट संरचना देखाउँछ । यी दुवै जानकारीलाई एकै ठाउँमा मिलाएर चिकित्सकले रोगको देखिएको सही स्थान र अवस्था सजिलै पहिचान गर्न सक्छन् ।
पेट–सिटी आधुनिक हाइब्रिड इमेजिङ प्रविधि हो, जसले शरीरको संरचना र अंगहरूको कार्यक्षमता एउटै परीक्षणबाट देखाउँछ । यसले क्यान्सर, सङ्क्रमण, हड्डीका रोगलगायत विभिन्न समस्याको सही स्थान र अवस्था पहिचान गर्न चिकित्सकलाई ठूलो सहयोग पुर्याउँछ ।
न्युक्लियर मेडिसिनमा विभिन्न प्रकारका परीक्षण गरिन्छन् :
१.बोन स्क्यान
हड्डीभित्र भएका सूक्ष्म परिवर्तनहरू पत्ता लगाउने संवेदनशील परीक्षण हो । विशेषगरी क्यान्सर हड्डीमा फैलिएको छ कि छैन ?, सङ्क्रमण, लुकेका चोटपटक वा अन्य हड्डीसम्बन्धी समस्याको प्रारम्भिक पहिचानमा यसको महत्त्वपूर्ण भूमिका हुन्छ ।
२.थाइराइड स्क्यान
यसले थाइराइड ग्रन्थीको आकार, स्थान र कार्यक्षमता मूल्यांकन गर्छ । थाइराइड धेरै वा कम सक्रिय भएको अवस्था, थाइराइडमा गाँठो वा अन्य समस्याको निदानमा यो परीक्षण उपयोगी मानिन्छ ।
३.प्याराथाइराइड स्क्यान
यो शरीरमा क्याल्सियमको मात्रा नियन्त्रण गर्ने प्याराथाइराइड ग्रन्थीमा समस्या छ कि छैन ? भन्ने पत्ता लगाउन गरिने परीक्षण हो । विशेषगरी ग्रन्थीमा गाँठो वा अत्यधिक सक्रियता भएको अवस्थामा यसको सही स्थान पहिचान गर्न यो परीक्षण उपयोगी हुन्छ ।
४.लङ भी–क्यु स्क्यान
फोक्सोले हावा र रगत कत्तिको राम्रोसँग प्रवाह गरिरहेको छ ? भन्ने मूल्यांकन गर्ने न्युक्लियर मेडिसिन परीक्षण हो– लङ भी–क्यु स्क्यान । यसमा फोक्सोमा हावा पुग्ने प्रक्रिया र फोक्सोमा रगत बग्ने अवस्थालाई छुट्टाछुट्टै जाँच गरिन्छ ।
५.हिडा स्क्यान
यो कलेजो, पित्तथैली र पित्तनलीको कार्यक्षमता जाँच गर्ने न्युक्लियर मेडिसिन परीक्षण हो । यसमा सानो मात्रामा रेडियोट्रेसर नसाबाट दिइन्छ; जसले कलेजोबाट पित्तथैली हुँदै आन्द्रासम्म पुग्ने प्रक्रियालाई विशेष क्यामेराको माध्यमबाट देखाउँछ ।
६.रेनल स्क्यान
रेनल स्क्यान मिर्गौलाको कार्यक्षमता मूल्यांकन गर्ने परीक्षण हो । यसबाट दुवै मिर्गौलाले कति राम्रोसँग काम गरिरहेका छन् ?, रगतको प्रवाह कस्तो छ ? र पिसाबको निकासमा कुनै अवरोध छ कि छैन ? भन्ने स्पष्ट जानकारी प्राप्त हुन्छ ।
विशेषगरी क्यान्सर उपचारमा न्युक्लियर मेडिसिनको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । क्यान्सरको सफल उपचारका लागि रोग शरीरको कहाँसम्म फैलिएको छ ? भन्ने थाहा पाउनु अनिवार्य हुन्छ । यही जानकारीका आधारमा शल्यक्रिया गर्ने कि नगर्ने ?, किमोथेरापी, रेडियोथेरापी वा अन्य उपचार कुन क्रममा गर्ने ? भन्ने निर्णय गरिन्छ ।
न्युक्लियर मेडिसिनले शरीरभित्र रहेका सक्रिय क्यान्सरका कोषहरू पहिचान गर्न, रोगको अवस्था निर्धारण गर्न, उपचारको प्रभाव मूल्यांकन गर्न तथा रोग पुनः देखिएको छ कि छैन ? भन्ने प्रारम्भिक अवस्थामै पत्ता लगाउन मद्दत गर्छ । यसले अनावश्यक शल्यक्रिया, अनावश्यक औषधि तथा गलत उपचारबाट बिरामीलाई जोगाउन पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ ।
न्युक्लियर मेडिसिन परीक्षणमा मात्र सीमित छैन, उपचारमा पनि उत्तिकै प्रभावकारी छ । विशेषगरी थाइराइड क्यान्सर भएका बिरामीमा रेडियोधर्मी आयोडिनद्वारा उपचार विश्वभर प्रभावकारी मानिन्छ । त्यसैगरी प्रोस्टेट क्यान्सर, न्युरोइन्डोक्राइन ट्युमर तथा कलेजोका केही प्रकारका क्यान्सरको उपचारमा पनि न्युक्लियर मेडिसिनको प्रयोग बढ्दै गएको छ । साथै, हड्डीमा क्यान्सर फैलिएपछि हुने असह्य पीडा कम गर्नसमेत यो उपचार प्रभावकारी साबित भएको छ । यसले बिरामीको जीवन सहज बनाउन र जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
धेरै मानिसले ‘न्युक्लियर मेडिसिन सुरक्षित छ कि छैन ?’ भन्ने प्रश्न गर्छन् । यसको उत्तर स्पष्ट छ– ‘हो, यो सुरक्षित विधि हो ।’ यसमा प्रयोग हुने रेडियोधर्मी पदार्थको मात्रा अत्यन्त न्यून हुन्छ र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विशेषज्ञ चिकित्सक, मेडिकल फिजिसिस्ट तथा प्राविधिकहरूको निगरानीमा परीक्षण तथा उपचार गरिन्छ ।
अधिकांश अवस्थामा प्रयोग गरिएका पदार्थ केही समयभित्र नै शरीरबाट बाहिर निस्कन्छन् । चिकित्सकको सल्लाहअनुसार पर्याप्त पानी पिउने र आवश्यक सावधानी अपनाउने हो भने यसको जोखिम अत्यन्त न्यून हुन्छ ।
केही वर्षअघिसम्म नेपालमा न्युक्लियर मेडिसिन सेवा सीमित अस्पतालमा मात्र उपलब्ध थियो । धेरै बिरामी परीक्षण वा उपचारका लागि भारतलगायत अन्य देश जान बाध्य हुन्थे । तर अहिले नेपालमै आधुनिक उपकरण, दक्ष जनशक्ति र विशेषज्ञ सेवाको विस्तार भइरहेको छ ।
पेट–सिटी स्क्यानलगायतका अत्याधुनिक सेवाहरू उपलब्ध हुँदै गएका छन् । यसले बिरामीको समय, खर्च र मानसिक तनाव घटाउनुका साथै आफ्नै देशमा गुणस्तरीय सेवा प्राप्त गर्ने अवसर बढाएको छ ।
विश्व स्वास्थ्य क्षेत्रमा अहिले लक्षित उपचार र व्यक्तिअनुकूल उपचारको अवधारणा तीब्र रूपमा विस्तार भइरहेको छ । यसको अर्थ– एउटै रोग भएका सबै बिरामीलाई एउटै उपचार होइन; प्रत्येक बिरामीको रोगको अवस्था, प्रकृति र जैविक विशेषताअनुसार उपचार गर्नु हो ।
न्युक्लियर मेडिसिन यही आधुनिक अवधारणाको केन्द्रमा रहेको प्रविधि हो । यसले रोगको सही पहिचान, लक्षित उपचार छनोट, उपचारको प्रभावको निरन्तर मूल्यांकन तथा आवश्यक परे उपचार परिवर्तन गर्न चिकित्सकलाई महत्त्वपूर्ण जानकारी उपलब्ध गराउँछ ।
आधुनिक चिकित्सा विज्ञानले रोगको निदान र उपचारमा नयाँ युगको सुरुवात गरेको छ । न्युक्लियर मेडिसिन त्यस परिवर्तनको महत्त्वपूर्ण हिस्सा हो । यसले रोगलाई प्रारम्भिक अवस्थामै पहिचान गर्न, सही उपचार छनोट गर्न र उपचारको प्रभाव निरन्तर मूल्यांकन गर्न चिकित्सकलाई सहयोग पुर्याउँछ । विशेषगरी क्यान्सर उपचारमा यसले लाखौं बिरामीका लागि आशाको नयाँ ढोका खोलेको छ ।
त्यसैले चिकित्सकले आवश्यक ठानेमा न्युक्लियर मेडिसिन परीक्षण वा उपचार गर्न डराउनुहुँदैन । सही समयमा गरिएको एउटा परीक्षणले उपचारको दिशा परिवर्तन गर्न सक्छ, अनावश्यक उपचारबाट जोगाउन सक्छ र धेरै अवस्थामा जीवन बचाउनसमेत मद्दत गर्न सक्छ ।
(डा. अमरदीप चौधरी विराट मेडिकल कलेज टिचिङ हस्पिटलको न्युक्लियर मेडिसिन विभाग प्रमुख हुन् ।)
प्रतिक्रिया 4