प्लेगको नाम सुन्नेबित्तिकै धेरैको मनमा कहालीलाग्दो अवस्थाका दृश्यहरू आउँछ । शताब्दीयौं बितिसक्दा पनि यस शब्दसँग जोडिएको त्रास मानव दुनियाँमा अझै कायम छ ।
इतिहासको पानामा, यसले एउटा महामारीलाई मात्र होइन, विश्वको स्वरूप नै बदल्ने एउटा गहिरो र भयावह युगलाई प्रतिनिधित्व गर्छ । त्यो त्यस्तो समय हो, जतिबेला मानिसले आफ्नो अस्तित्व जोगाउन हरसम्भव संघर्ष गर्नुपरेको थियो ।
घटना सन् १३४७ को हो । युरोपको सिसिली बन्दरगाहमा समुद्री मार्ग हुँदै केही जहाजहरू आइपुगे । किनारमा रहेका मानिसहरू स्तब्ध भए; जहाजमा सवार अधिकांश नाविकहरू मरिसकेका थिए । जीवित रहेका थोरै मानिसहरूको शरीरमा कालो रङका फोका थिए, जसबाट पिप बगिरहेको थियो । हेर्दै त्रासदीपूर्ण दृश्य थियो ।
ती जहाजहरूले सामान मात्र होइन, मृत्युको आँधी पनि लिएर आएका थिए भन्ने कुरा कसैले पनि सोचेका थिएनन् । त्यसले एउटा यस्तो विपत्ति निम्त्यायो जसलाई पछि संसारले ‘ब्ल्याक डेथ’ को नाम दियो।
‘ब्ल्याक डेथ’ एउटा यस्तो महामारी थियो जसले सन् १३४७ देखि १३५३ को बीचमा युरोपभरि व्यापक विनाश मच्चायो । भनिन्छ कि यस रोगले निम्त्याएको विनाश त्यस समयसम्मका अन्य कुनै पनि महामारी वा युद्धको तुलनामा निकै भयानक थियो । अनुमानका अनुसार यस महामारीले २ करोड ५० लाख मानिसहरूको ज्यान लियो ।
सन् १३४७ देखि १३५३ सम्मको छोटो अवधिमा युरोप, एसिया र उत्तर अफ्रिकामा देखिएका दृश्यहरूले मानवतालाई नै स्तब्ध बनायो । सडकमा शवहरू छरिएका देखिन्थे । मृतकहरूलाई गाड्न पर्याप्त मानिसहरू थिएनन् । आमाहरू नै आफ्ना बिरामी छोराछोरीलाई छुनसमेत डराउँथे । मानिसहरू आफ्ना प्रियजनलाई एक्लै पीडा भोग्न र मर्न छोडेर बाहिरबाट ढोका बन्द गरी घरबाट भाग्थे ।

मुसा र भुसनाबाट सर्ने यो ब्याक्टेरियाले माववभित्र रहेको मानता नै क्षण बनाइदिएको समय थियो त्यो ।
आज, जब कुनै नयाँ रोग देखा पर्छ, प्लेगको इतिहास सम्झिएर कतै त्यस्तै त हुने होइन भनेर हामीमा गहिरो त्रास पैदा हुने गर्छ । सन् २०२० मा कोभिड–१९ भाइरस संसारभर फैलिँदै गर्दा सुरुमा यस्तै खालको त्रास उत्पन्न भएको थियो ।
एउटा सानो जीवाणुले पनि कति निर्दयी ढंगले मानिसको अहंकारलाई घुँडा टेकाउन सक्छ भन्ने कुराको कठोर सम्झना त्यो इतिहासले गराउँछ ।
यो रोगयेर्सिनिया पेस्टिस नामक ब्याक्टेरियाका कारण लाग्ने गर्छ, जुन मुसामा हुने भुसुनामार्फत मानिसमा सरेको थियो ।
इतिहासमा प्लेगका तीन प्रमुख महामारीहरूले विश्वको जनसङ्ख्यालाई नराम्ररी प्रभावित पारेका थिए ।
१. जस्टिनियनको प्लेग (सन् ५४१–५४९)
यो बाइजन्टाइन साम्राज्य (रोमन साम्राज्यको पूर्वी भाग) र इजिप्ट हुँदै फैलिएको थियो । यो महामारी १८ वटा अलग-अलग चरण वा लहरहरूमा देखा परेको थियो।
राजधानी कन्स्टान्टिनोपल (हालको इस्तानबुल) को अवस्था यति नाजुक भयो कि त्यहाँ दैनिक हजारौं मानिसहरूको मृत्यु हुन थाल्यो । सम्राट जस्टिनियन आफैं पनि यो रोगबाट संक्रमित भए, यद्यपि उनी बाँच्न सफल भए ।
यस लहर र त्यसपछिको अवधिमा करिब ३ देखि ५ करोड मानिसहरूको ज्यान गयो । यस विनाशले भूमध्यसागरीय व्यापारलाई ठप्प पारिदियो र रोमन साम्राज्यको पतनलाई तीव्र बनायो।
केही ऐतिहासिक तथ्याङ्कले बताएअनुसार सन् ५४१ देखि ७६७ को बीचमा प्लेगका कारण विश्वको ४० प्रतिशत जनसङ्ख्या समाप्त भएको थियो ।
२. ‘ब्ल्याक डेथ’ (सन् १३४७–१३५३)
यसलाई मानव इतिहासकै सबैभन्दा घातक महामारी मानिन्छ, जसले विश्वको नक्सा नै परिवर्तन गरिदियो ।
यो ‘सिल्क रोड’ र मङ्गोल सेनाको आवतजावतका माध्यमबाट मध्य एसियाबाट ‘ब्ल्याक सी’ सम्म पुग्यो । सन् १३४७ मा, जेनोआका व्यापारिक जहाजमार्फत इटालीको सिसिली बन्दरगाहमा यो रोग आइपुग्यो । त्यसपछि तीव्र गतिमा युरोप, उत्तर अफ्रिका तथा पश्चिम एसियामा फैलियो ।
यसका लक्षणहरूमा घाँटी, काखी र तिघ्राहरू सुन्निने, ती ठाउँमा गिर्खाहरू देखापर्ने हुन्थ्यो । जसलाई ‘ब्युबोज’ भनिन्थ्यो देखा पर्थे । ती पाक्थे र कालो रङमा परिणत हुन्थे । यी घाउँहरू धेरै पीडादायी हुन्थे । उच्च ज्वरो आउने र मुखबाट रगत बान्ता हुने जस्ता लक्षणहरू पनि देखिन्थे, जसले गर्दा रोगले च्यापेको ३ देखि ५ दिनभित्रै बिरामीको मृत्यु हुन्थ्यो । शरीर कालो हुने भएकाले यसलाई ‘ब्ल्याक डेथ’ नाम दिइएको थियो।
कस्तो विनाश निम्त्यायो ?
यो महामारीपछि जनसङ्ख्यामा आएको कमीले गर्दा कामदारहरूको चरम अभाव भयो । ‘ब्ल्याक डेथ’ ले युरोपको सामन्ती व्यवस्थाको जग नै हल्लाइदियो। अन्धविश्वासको प्रभाव बढ्यो । मानिसहरूले यसलाई ईश्वरीय प्रभावले निम्तिएको प्रकोप ठान्न थाले । अल्पसंख्यक समूहहरू बढी यसको निसानामा पारे ।
‘क्वारेन्टाइन’ अर्थात एकान्तवास को अवधारणाको सुरुवात यहींबाट भएको थियो । इटालीमा भेनिस आउने जहाजहरूलाई सहरमा प्रवेश गर्न अनुमति दिनुअघि ४० दिनसम्म समुद्रमै अलग्गै राखिन्थ्यो। आधुनिक शब्द ‘क्वारेन्टाइन’ इटालियन वाक्यांश ‘क्वारान्टा जर्नी’ बाट आएको हो, जसको अर्थ ‘४० दिन’ हुन्छ ।
३. आधुनिक प्लेग (सन् १८५५ देखि १९६० को दशकसम्म)
यसको सुरुवात चीनको युनान प्रान्तबाट भयो, यो हङकङसम्म फैलियो र त्यसपछि समुद्री व्यापारिक मार्गहरू हुँदै विश्वका अन्य भागहरूमा पुग्यो । सन् १८९६ तिर प्लेग अहिलेको मुम्बईसम्म आइपुग्यो भारतमा मात्रै १ करोडभन्दा बढी मानिसले ज्यान गुमाए । यो प्लेग मुम्बईको ‘गेटवे अफ इन्डिया’ हुँदै भारत प्रवेश गरेको थियो ।
मौसममा आएको परिवर्तनका बीच अगस्ट महिनामा त्यहाँ यसको सुरुवात भएको थियो । यो ब्रिटिश भारतको सबैभन्दा महत्त्वपूर्ण बन्दरगाह र व्यापारिक केन्द्रहरूमध्ये एक थियो । सन् १८९६ सम्ममा, उक्त सहरको जनसङ्ख्या ८ लाख नाघिसकेको थियो।
नेपालमा पनि प्लेगको महामारीले फैलिएको कुरा ऐतिहासिक लेखहरूमा भेटिन्छ । नेपालमा वि.सं १७७२ को अन्तिम तिर देखि १७७९ मध्यतिरसम्म प्लेग रहेको भनिन्छ । प्लेगका कारण कान्तिपुरका राजा भास्कर मल्लको पनि ज्यान गएको थियो । त्यो समयका शासकले उल्लेख गरेको विवरण अनुसार त्यो साढे ६ वर्षको महामारीमा १८ हजार बढीको ज्यान गएको थियो ।
पछि सन १०६० को दशकतिर पनि केही जिल्लामा स्थानीय रूपमा प्लेगका बिरामी भेटिएका तत्थ्यहरू पाइन्छ ।
वैज्ञानिक खोज सफल
यही अवधिमा वैज्ञानिकहरूले यस रोगको रहस्य पत्ता लगाए । सन् १८९४ मा, अलेक्जेन्डर यर्सिनले त्यो ब्याक्टेरिया पत्ता लगाए जसको नाम पछि उनकै सम्मानमा ‘यर्सिनिया पेस्टिस’ राखियो । सोही समयमा, रोगको सङ्क्रमणमा मुसा र भुसुनाको भूमिका रहेको पुष्टि भयो।
सन् २०२० मा सार्वजनिक भएको नेशनल लाइब्रेरीमा प्रकाशित एक प्रतिवेदन अनुसार, प्रतिवेदन सार्वजनिक हुँदासम्म प्लेगले विश्वभर २० करोड मानिसको ज्यान लिइसकेको थियो।
प्लेग डाक्टर र त्यो डरलाग्दो पहिरन
१७औँ शताब्दीको युरोपमा, प्लेगको उपचार गर्ने डाक्टरहरूको पहिरन इतिहासकै सबैभन्दा डरलाग्दो दृश्यहरूमध्ये एक बन्न पुग्यो। उनीहरू लामो छालाको कोट, पन्जा र चराको जस्तो लामो चुच्चो भएको पोसाक लगाउँथे । त्यो चुच्चोभित्र सुगन्धित जडीबुटी, कपुर र सुकेका फूलहरू भरिएका हुन्थे; किनभने त्यसबेला यो रोग दूषित हावाबाट सर्छ भन्ने विश्वास गरिन्थ्यो– जो वैज्ञानिक रूपमा गलत धारणा थियो ।
यद्यपि, यो गलत बुझाइले एउटा फाइदा पनि भयो– डाक्टरहरूले लगाएका बाक्ला कोटले उनीहरूलाई भुसुनाको टोकाइबाट जोगाउन मद्दत गर्थ्यो ।
अहिले सफल उपचार
बीसौँ शताब्दीको मध्यतिर भएको एन्टिबायोटिक्सको विकास र सरसफाइमा सुधारिएका उपायहरू अपनाएसँगै प्लेग रोग नियन्त्रणमा आयो । यद्यपि विश्वका केही भागहरूमा आज पनि यसका छिटपुट घटनाहरू देखिने गर्छन्, तर समयमै उपचार पाएमा बिरामी पूर्ण रूपमा निको हुन सक्छन् ।
अहिले एन्टिबायोटिक्सको प्रयोग गरेर प्लेगको पूर्ण रूपमा सफल उपचार सम्भव छ । तर यसको उपचार सुरु गर्दा रोग कुन चरणमा छ भन्ने कुरा भने महत्वपूर्ण हुन्छ ।
प्रतिक्रिया 4