+
+
Shares
बूढीगण्डकीमा आकस्मिक बाढी :

‘अहिलेकै अवस्थामा बेनीघाट भन्दा तल खतरा छैन’

पराजुलीले भने, ‘अहिलेकै अवस्थामा त्रिशूलीमा बाढीको सतह करिब एक मिटर बढ्न सक्ने अनुमान छ । त्यसैले त्रिशूली क्षेत्रमा खासै जोखिम हुँदैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ८:५५

२५ असोज, काठमाडौं । मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बूढीगण्डकी नदीमा आकस्मिक बाढीको सतह घटबढ भइरहेको जनाएको छ ।

त्यसैले बूढीगण्डकी करिडोरमा जोखिम कायमै रहेको महाशाखाका बाढीविद् विनोद पराजुलीले बताए । बेनीघाट भन्दा तल (त्रिशूली नदी) क्षेत्रमा भने जोखिम खासै नरहेको उनको भनाइ छ ।

पराजुलीका अनुसार बूढीगण्डकी नदीको आकस्मिक बाढीले गोरखाको आरुघाटमा ७ बजेर ५० मिनेटमा खतराको तह पार गरेको थियो । तर अहिले खतराको तहभन्दा केही घटेको छ ।

आरुघाटमा ५ मिटरसम्म बाढीको सतह आएमा खतराको तह मानिन्छ । तर ७ बजेर ५० मिनेटमा बाढीको सतह ५.१ मिटर पुगेको थियो ।

जोखिम कायम रहेकाले त्रिशूली नदी दोभानसम्म सतर्कता अपनाउनुपर्ने उनले बताए । त्यसैले बाढी पूर्वानुमान महाशाखाले नदी छेउछाउ नजान र उच्च स्थानमा बस्न सुझाव दिएको छ ।

बाढीविद पराजुलीका अनुसार बाढीको सतह बढ्ने र घट्ने गरिरहेको छ । नदी थुनिने र फुट्ने गरिरहेकाले बाढीको सतह घटबढ भइरहेको अनुमान गरिएको छ ।

त्यसैले बूढीगण्डकी करिडोरमा जोखिम कायम रहेको पराजुलीले बताए । ‘बूढीगण्डकीको अधिकांश भाग साँघुरो भएकाले सतह बढेर थप क्षति पुग्नसक्छ,’ पराजुलीले भने ।

बेनीघाटभन्दा तलबाट त्रिशूलीमा मिसिने भएकाले त्रिशूली क्षेत्रमा बाढीको सतह सामान्य बढे पनि खासै जोखिम नहुने पूर्वानुमान गरिएको उनले बताए ।

पराजुलीले अनलाइनखबरसँग भने, ‘अहिलेकै अवस्थामा त्रिशूलीमा बाढीको सतह करिब एक मिटर बढ्न सक्ने अनुमान छ । त्यसैले त्रिशूली क्षेत्रमा खासै जोखिम हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?