News Summary
Generated by OK AI. Editorially reviewed.- सलमान खानले इन्स्टाग्राम स्टोरीमार्फत नयाँ युट्युब च्यानल ‘बिइङ सलमान खान’ सुरु गरेको घोषणा गर्दै पहिलो भिडियोमा आफूलाई कोच र विद्यार्थीका रूपमा देखाएका छन्।
काठमाडौं । बलिउडका भाइजान हुन् उनी । उनको एउटा इशारामा सिङ्गो हल थर्किन्छ । उनको चस्मा लगाउने शैलीमा करोडौं युवाको धड्कन मिसिन्छ । उनको नाम मात्रै काफी छ बक्सअफिसमा आँधी ल्याउनका लागि । तर, समय सधैं एउटै गतिमा कहाँ बग्छ र ? डिजिटल युगको यो हुरीले कसलाई नै छुटाएको छ र ?
अक्टोबर ९ को त्यो शुक्रबार । जब सलमान खानले आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा सानो लिङ्क सेयर गरे र लेखे – शुरु से शुरु करते हैं । मेरा अफिसियल युट्युब च्यानल । ए से जेड तक सब यहाँ मिलेगा।
त्यसपछि सुरु भयो बलिउडका सुल्तानको डिजिटल अवतारको नयाँ कथा । उनी अब पर्दाका हिरो मात्र रहेनन् । आफ्ना फ्यानहरूलाई आफ्नै सिग्नेचर स्टाइल सिकाउने गुरु समेत बनेका छन् ।
सलमानले भर्खरै लन्च गरेको आफ्नो युट्युब च्यानल बिइङ सलमान खानमा भिडियोहरू हाल्न थालिसकेका छन् । पहिलो भिडियो रोचक छ, जहाँ उनी आफैं दुईवटा रूपमा देखिन्छन् । एकातर्फ अभिनय र पर्सनालिटीको कोच बनेका सलमान, अर्कोतर्फ सिक्न आएको विद्यार्थी ।
कोच बनेका सलमान आफ्ना विद्यार्थीलाई सिकाइरहेका छन् – कसरी टाउको अलिकति छड्के पार्ने ? कसरी आँखामा त्यो विशिष्ट चमक ल्याउने ? र संवाद बोल्दाको त्यो ठेस लाग्ने तरिका कसरी आत्मसात गर्ने ? जुन शैली दशकौंदेखि सलमानका ट्रेडमार्क बनेका छन्, आज तिनै कुराहरू उनले मञ्चबाट सिधै युट्युबको पर्दामा ओछ्याइदिएका छन् ।
युट्युबमा बलिउडको दौड
सलमान मात्रै होइनन्, बलिउडका ठूला बढा नामहरू पनि अब ठूलो पर्दाको पर्दाफासबाट उम्केर सिधै युट्युबका क्यामेरा अगाडि उभिन थालेका छन् । वरुण धवन, कृति सेनन, आलिया भट्ट, प्रियंका चोपडादेखि कार्तिक आर्यनसम्म – सबैको आ-आफ्नो डिजिटल दरबार छ ।
फिल्मी दुनियाँको कृत्रिम चम्किलोपनबाट बाहिर निस्केर आफ्ना फ्यानहरूसँग सिधा संवाद गर्ने यो मोह बढ्दो छ ।
कसैले घरको भान्साबाट भ्लग बनाइरहेका छन् त कसैले पर्दापछाडिका अनकहा किस्साहरू पोखिरहेका छन् । जस्तो कि, निर्देशक तथा कोरियोग्राफर फराह खानलाई नै हेरौं न ! आफ्नो कुक दिलीपसँगको ठट्टा, सेलिब्रिटीहरूको घरको भान्सामा हुने पाकेका कुराकानी र तीखो व्यङ्ग्यले फराहको च्यानललाई प्रिय बनाएको छ ।
त्यस्तै, अर्चना पुरण सिंहको पारिवारिक भ्लग होस् वा उनका छोराहरूको डिजिटल छलाङ – बलिउड अब हलमा मात्र होइन, मोबाइलको स्क्रिनमा पनि उत्तिकै जीवन्त रूपमा दौडिरहेको छ ।
व्यस्त सलमान
तर, सलमान खानको यो डिजिटल फड्को आउँदै गर्दा उनको वास्तविक दुनियाँका व्यस्तताहरू पनि कम छैनन् । उनी अहिले पनि साताको अन्त्यमा टिभीको पर्दामा बिग बोसको २०औं सिजन होस्ट गर्दै दर्शकहरूलाई नचाइरहेका छन् ।
र, सिनेमाको कुरा गर्दा ? अपूर्व लाखियाको निर्देशनमा बनेको फिल्म मातृभूमि: मे वार रेस्ट इन पिसको पर्खाइ छँदैछ । मार्चमै रिलिज हुनुपर्ने फिल्म दुई दुई पटक स्थगित भइसकेको छ । र, अहिलेसम्म यसको नयाँ मितिको कुनै अत्तोपत्तो छैन ।
प्रतिक्रिया 4