+
+
Shares

पुष्पा भुसालको राजनीतिक छलाङ

नेपाली कांग्रेसमा महाधिवेशनबाट उपसभापति बन्ने पहिलो महिला बनिन् पुष्पा भुसाल । १५औं महाधिवेशनबाट सर्वसम्मत उपसभापति बनेकी भुसाल पार्टीको तेस्रो वरियतामा हुने छिन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ असोज २५ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको उपसभापति पदमा शैलजा आचार्यपछि पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छिन्, जससँग पार्टीको नेतृत्वमा महिलाको दोस्रो प्रवेश भएको छ।
  • भुसाल १५औं महाधिवेशनबाट उपसभापति बनेकी हुन्, र संशोधित विधानले वरिष्ठ उपसभापतिसहित पाँच उपसभापति तथा महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ।
  • अर्घाखाँचीकी भुसाल नेविसंघ, महिला संघ, संविधान मस्यौदा समिति, उपसभामुख र इलेक्सन ब्युरोको नेतृत्व गर्दै कांग्रेस राजनीतिमा अघि बढेकी हुन्।

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको ८ दशकको इतिहासमा महिलाबाट उपसभापति पदमा पुग्ने दुई महिला छन् । पहिलो, शैलजा आचार्य । दोस्रो, पुष्पा भुसाल । उनीहरू उपसभापति पदमा पुगेको विधि भने फरक छ ।

२०५३ सालमा भएको कांग्रेसको नवौं महाधिवेशनबाट सभापति बनेका गिरिजाप्रसाद कोइरालाले उपसभापति पदमा आचार्यलाई मनोनीत गरेका थिए । आचार्य उपसभापति बनेको २९ वर्षपछि विशेष महाधिवेशनबाट भुसाल सोही पदमा पुगिन् ।

विशेष महाधिवेशनले पारित गरेको विधानअनुसार नयाँ नेतृत्व चयन गर्दा भुसाल उपसभापति बनेकी थिइन् । तत्कालीन समयमा कार्यान्वयनमा रहेको विधानमा उपसभापतिका लागि छुट्टै कोटा भने छुट्याइएको थिएन । सर्वसम्मत नेतृत्व चयन हुँदा पार्टीमा तेस्रो वरियता हुने गरी भुसाल उपसभापति पदमा थिइन् ।

विशेष महाधिवेशन भएको ८ महिनापछि १५औं महाधिवेशनबाट भुसाल उपसभापित पदमा दोहोरिएकी छिन् । संशोधित विधानमा वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति हुने व्यवस्था छ ।

भुसालले महिला क्लस्टरबाट उपसभापति पदमा उम्मदेवारी दिएकी थिइन् । उनीसँग प्रतिस्पर्धा गर्न कुनै पनि उम्मेदवारले मनोनयन दर्ता नगरेपछि भुसाल निर्विरोध उपसभापति बनेकी हुन् ।

प्रतिस्पर्धाका लागि तयार भएर उम्मेदवारी दिएको बताउँदै भुसाल भन्छिन्, ‘उम्मेदवारी अरूले किन दिनुभएन, भन्न सक्दिनँ । अरू कसैले उम्मेदवारी दिनुभएको भए स्वच्छ प्रतिस्पर्धा गर्थें । सर्वसम्मत हुनैपर्छ भन्ने मान्यता थिएन ।’

१४औं र विशेष महाधिवेशनमा कार्यान्वयन भएको विधानमा उपसभापति र महामन्त्री पदका लागि छुट्टै प्रतिस्पर्धा गर्ने व्यवस्था थिएन । सहमहामन्त्रीमा भने समावेशिताको आधारमा ८ सहमहामन्त्रीमा एक जना महिला निर्वाचित हुने व्यवस्था तत्कालीन समयमा थियो ।

यस पटक सहमहामन्त्रीभन्दा माथिको पदमा समेत महिला प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान बनाइएको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा एक तिहाइ महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ ।

पदाधिकारीमा उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा महिलाका लागि छुट्टै प्रतिस्पर्धा हुने गरी विधि बनाइएको छ । सभापति पदमा प्रतिस्पर्धा गर्नसक्ने बनाउने उद्देश्यसहित महिलालाई उपसभापति पदमा छुट्टै कोटा निर्धारण गरिएको सभापति गगन थापा बताउँछन् ।

‘सहमहामन्त्रीभन्दा माथि (उपसभापति वा महामन्त्रीमा) जाने ढोका भने बन्द जस्तै भयो । त्यसैले अहिले उपसभापति र महामन्त्री पदमा पनि महिलाका लागि स्थान सुनिश्चित गरिएको छ,’ सभापति थापा भन्छन्, ‘अब कुनै दिन नेपाली कांग्रेसको सभापति महिला बन्न सक्ने बाटो खुल्यो । किनभने, उहाँहरूका लागि माथिल्लो तहको प्रतिस्पर्धामा आउने ढोका उघ्रियो ।’

उपसभापतिमा निर्विरोध चयन भएकी पुष्पा भुसाल लामो राजनीतिक यात्रा पार गरेर यहाँसम्म आइपुगेकी हुन् । उनी कांग्रेसको राजनीतिमा आकर्षित हुनुमा पारिवारिक कारण प्रमुख थियो ।

अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी भुसालका बुबा काशिनाथ गौतम कांग्रेसको राजनीतिमा सक्रिय थिए । गौतम पहिलो जननिर्वाचित सरकार (२०१५ साल) मा स्वास्थ्य मन्त्री थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले बहुदलीय व्यवस्था अपदस्थ गरेपछि उनको परिवार भारत निर्वासनमा गएको थियो ।

भुसालको राजनीतिक सुरुवात २०२८ सालदेखि भएको थियो । २०३६ सालमा उनी विद्यार्थी संगठन नेविसंघमा आवद्ध भइन् । नेपाल महिला संघ, महिला र कानुन विभागमा जिम्मेवारी निर्वाह गरेकी भुसाल पार्टीको केन्द्रीय समितिमा १२औं महाधिवेशनबाट प्रवेश गरिन् । १३औँ र १४औँ महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भइन् ।

भुसालले दुई पटक संविधान मस्यौदा समितिको सदस्य रहेर काम गरिन् । २०६३ सालमा अन्तरिम संविधान मस्यौदा समिति सदस्य बनेकी उनी पहिलो संविधानसभा (२०६४) को संविधान मस्यौदा समितिमा समेत सदस्य थिइन् ।

पुष्पा भुसालको संसदीय यात्रा भने २०६४ सालबाट सुरु भएको हो । २०५६ सालमा पहिलो पटक संसदीय निर्वाचनमा होमिएकी उनी पराजित भएकी थिइन् । २०६४ सालमा भने अर्घाखाँची-२ बाट प्रत्यक्षतर्फ संविधानसभामा निर्वाचित भइन् ।

२०७० सालमा पराजित भुसाल २०७४ सालमा समानुपातिक सांसद बनिन् । संसद्‌को त्यही कार्यकाल (२०७४-२०७९) मा उनी संसदीय दलको सचेतकको भूमिकामा थिइन् ।

२०७९ असारमा उनी तत्कालीन सत्ता गठबन्धनबाट उपसभामुख पदमा निर्वाचित भइन् । उपसभामुखमा उनको पदावधि भने छोटो समय रह्यो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचिनमा पराजय भोगिन् ।

विशेष हुँदै १५औं महाधिवेशनबाट राजनीतिक भूमिकामा राजनीतिक छलाङ मार्न सफल भुसालले यस अवधिमा अर्को महत्वपूर्ण जिम्मेवारी पनि प्राप्त गरिन् । चुनावमा पार्टीबाट हुने उम्मेदवार छनोटमा कार्य गर्ने गरी ‘इलेक्सन ब्युरो’ उनकै नेतृत्वमा गठन गरिएको थियो । भुसाल नेतृत्वको समितिको चुनावी रणनीति बनाउने दायित्व थियो ।

आगामी स्थानीय तहको चुनावलाई मध्यनजर गरेर भुसाल नेतृत्वको इलेक्सन ब्युरोले अध्ययन, सर्वेक्षण लगायतका कार्य गरेको छ । इलेक्सन ब्युरोले यो बीचमा विज्ञहरूसँग छलफल गरेको छ । चुनावी रणनीति तय गर्न बनेको संरचना भएको हुँदा इलेक्सन ब्युरोले पहिल्याएका विषयहरू सार्वजनिक गरिएको छैन ।

‘कांग्रेसबाट पालिकामा उठ्ने उम्मेदवारका बारेमा सूचना लिने, कांग्रेसले कस्तो उम्मेदवार उठाउँदा जिताउन सकिन्छ भनी अध्ययन गरेका छौं,’ भुसालले भनिन्, ‘दुई चरण गरेर सात वटै प्रदेशमा इलेक्सन ब्युरोले आफ्ना कार्यहरू गरेको छ ।’ नयाँ समितिले पनि इलेक्सन ब्युरोलाई निरन्तरता दिने उनले जानकारी दिइन् ।

हाल राजनीतिक दलहरूमा अर्घाखाँचीबाट उच्च तहमा पुग्ने भुसाल पहिलो महिलाका रूपमा परिचित छिन् । राजनीतिबाट उनको फरक पाटो वकालत पनि रहेको छ । कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी भुसालसँग प्राध्यापन र वकालतको अनुभव छ ।

वरिष्ठ अधिवक्तासमेत रहेकी उनी नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्यको भूमिकामा समेत थिइन् ।

उपसभापतिको पदमा रहेर पार्टी संरचनालाई थप समावेशी बनाउने आफ्नो भूमिका हुने उनले बताइन् । ‘कांग्रेसलाई आम जनतासँग जोडिने संकल्प १५औं महाधिवेशनले गरेको छ । त्यो कार्यसहित जन सरोकारका विषयसँग जोडेर महिलामा मुद्दामा काम गर्छु ।’

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?