News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखामा बुढीगण्डकी नदी थुनिएर आएको बाढीले पुरानो झोलुङ्गे पुल, पक्की पुल, घर, टेलिफोन टावर र ५० बिजुलीको पोलमा क्षति पुर्याएको छ ।
- पूर्वाधार विकास मन्त्रालयका अनुसार यस वर्ष बाढी, पहिरो र जलवायुजन्य विपद्बाट पूर्वाधारमा २ खर्ब २७ अर्ब रुपैयाँ क्षतिको प्रारम्भिक अनुमान छ ।
- मन्त्रालयले विपद् केन्द्रित मर्मतसम्भार तथा डिजास्टर रेजिलियन्स युनिट स्थापना र सडक–पुलको डिजाइन कोड पुनरावलोकन गर्ने तयारी थालेको छ ।
२५ असोज, काठमाडौं । नेपालको पूर्वाधार क्षेत्रले पछिल्लो डेढ महिना अवधिमा तेस्रो ठूलो प्रहार भोग्नुपरेको छ ।
पहाडी भेगको नदी किनारका सडक, पुल र जलविद्युत् आयोजना निरन्तर बाढीको चपेटामा पर्दा मुलुकले डेढ महिना अन्तरमा अर्बौं रुपैयाँ बराबर क्षति बेहोर्नुपरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार गोरखा चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङबीच ठूलो पहिरो गएर सोही स्थान हुँदै बग्ने बुढीगण्डकी नदी थुनिई लेदोसहित ठूलो बाढी आयो ।
पछिल्लो तथ्यांक अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित सिर्दिवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । सोही स्थानमा एक घर बगेको र एक घरमा बाढी पसेको छ ।
गोरखा धार्चे गाउँपालिका–५ स्थित माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गेल पुल पनि बाढीले बगाएको छ । सोही गाउँपालिकाको सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालि र वरपरका ७/८ वटा घर बगेका छन् ।
त्यस्तै आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने पक्की पुलको कुल तीन भागमध्ये गोरखातर्फको एक भाग बगाएर क्षतिग्रस्त बनेको छ । सोही गाउँपालिका माछिखोलास्थित तल्लो बस्तीमा बाढी पस्दा २०/२२ घरमा क्षति गरेको छ ।
बाढीले आरुघाट गाउँपालिका २ र ३ वडा जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको छ । ३ सय ४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प क्षेत्र र केही निर्माण उपकरण समेत बाढीले बगाएको विवरण आएको छ । यस बाढीले सञ्चारतर्फ दुई वटा टेलिफोन टावर र ५० बिजुलीको पोलमा क्षति गरेको प्राधिकरणले जनाएको छ ।
उता, सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागको टोली सडक सञ्चालन तथा बेलिब्रिज सम्भाव्यता अध्ययनका लागि आजै स्थलगत खटिएको समेत प्राधिकरणले जनाएको छ ।
सडक विभागका अनुसार सोती खोलाको पुल पूरै बगेका कारण सोही स्थानमा यातायात पूर्ण अवरुद्ध बनेको छ । आरुघाटस्थित पुलमा भने २२ मिटर आरसीसी बगेको छ । यहाँ बेली राखेर चलाउन सकिने सम्भावनाबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।

यसअघि ८ देखि ११ असोजसम्म आएको भारी वर्षा र बाढीपहिरोले बीपी राजमार्गदेखि कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग तथा बेनी–जोमसोम र चामे–बेँसीसहर खण्डमा ठूलो क्षति पुर्याएको थियो ।
त्यसमध्ये बेनी–बागलुङ, बेनी–कोरलातर्फ यातायात अझै पूर्णरूपमा सुरु हुन सकेको छैन । उक्त खण्डमा यातायात खुल्न नसक्दा नेपाल–चीन वैदेशिक व्यापार ठप्प छ । चाडबाडको मुखमा चीनबाट आयातित सामान बाटोमै रोकिँदा व्यापारीले अर्बौ नोक्सानी बेहोरिसकेका छन् भने राज्यले समेत ठूलो राजस्व नोक्सानी बेहोर्नुपरेको छ ।
यता, बीपी राजमार्गमा ट्र्याकमात्र खोलेर यातायात सञ्चालनमा ल्याइएको छ । सोहीकारण एकझर वर्षाले पनि यो राजमार्ग तत्कालै अवरुद्ध हुने जोखिम कायमै छ । १० भदौको रसुवा–भोटेकोशी बाढीलगत्तै पृथ्वी राजमार्ग थिलथिलो बनेको छ । यस राजमार्गका विभिन्न खण्डमा पटक–पटक पहिरो जाने र राजमार्ग अवरुद्ध हुने गरेको छ ।
यसले गर्दा चाडबाडका मुखमा काठमाडौं उपत्यका छाड्ने यात्रुले चरम सास्ती भोग्नुपरेको छ । गत शुक्रबारदेखि पृथ्वी राजमार्गका गजुरी, गलौदीमा सडक भास्सिएर अवरुद्ध सडक आइतबार साँझदेखि सञ्चालनमा आएको छ ।
यहाँ सडक फराकिलो गर्ने काम अझै जारी रहेपछि सवारी चाप मध्यनजर गर्दै सवारी खुलाइएको नागढुङ्गा–नौबिसे–मुग्लिन सडक आयोजनाले जनाएको छ । यसअघि यस राजमार्गको कृष्णभिरमा सडक भासिँदा १८ दिनसम्म यातायात ठप्प भएको थियो ।
रसुवा–भोटेकोशीको खोट सुक्न नपाउँदै निरन्तर प्रहार
पूर्वाधार क्षेत्रले यस वर्ष अकल्पनीय क्षति बेहोर्नुपरेको छ । पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले अघिल्लो साता भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समिति बैठकमा प्रस्तुत गरेको तथ्यांक अनुसार यस वर्ष बाढी, पहिरो र जलवायुजन्य विपद्का कारण मुलुकको पूर्वाधार संरचनामा २ खर्ब २७ अर्ब रुपैयाँ बराबर क्षति भएको प्रारम्भिक अनुमान छ ।
यी पूर्वाधार पुनर्निर्माणमा धेरै समय लाग्छ । तर, तत्काल पुनर्निर्माणका काम थाल्न मात्र ६३ अर्ब हाराहारी पर्ने जानकारी उनले दिएका छन् ।
भोटेकोशी बाढीले ७ हजार ५ सय ७० निजी घर र ४८ सार्वजनिक भवनमा क्षति गरेको थियो । यसपछि आएको कालीगण्डकी नदीले सयौँ घरमा क्षति पुगेको छ । रसुवा बाढीले गल्छी–रसुवागढी सडक खण्डको अधिकांश भाग बगाएको थियो । यसमध्ये अस्थायी सडक सञ्चालन गर्ने काम जारी छ ।
आइतबार मात्र बेत्रावतीमा बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । यससँगै ४७ दिनपछि रसुवा जिल्ला नुवाकोटसँग जोडिएको छ । यस पुलले रसुवाको उत्तरगया गाउँपालिका–५ र नुवाकोटको बिदुर नगरपालिका–१० लाई जोडेको छ ।

सडक र पुल मापदण्ड परिवर्तन गर्न बाध्य बनाउँदै विपद्
पछिल्लो बाढी र पहिरोले राज्यलाई विद्यमान सडक र पुल मापदण्ड सोच्न बाध्य पारेको छ । सोही अनुसार डिजाइन परिवर्तनमा गृहकार्य समेत थालिएको छ ।
पूर्वाधार विकास मन्त्रालयले विपद्बारे छुट्टै इकाइ गठनदेखि पुलको डिजाइन कोड परिवर्तन तयारी थालेको छ । गत साता नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘बाढीपहिरो सडक पूर्वाधारमा गरेको क्षति र अबको पुनर्निर्माण’ विषयक कार्यक्रममा मन्त्रालयका अधिकारीहरूले यसबारे जानकारी दिएका छन् ।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव भीमार्जुन अधिकारीले बाढीपहिरोका कारण बर्सेनि सडक पुल पूर्वाधारमा अर्बाैंको क्षति हुँदै आएको बताए ।
जलवायु परिवर्तनका कारण बाढीपहिरोको स्वरूप र त्यसको क्षति पनि आकलन गर्नेभन्दा बाहिरको अवस्था रहेको उनको भनाइ छ । २०५० सालमा त्रिशूली नदीमा आएको बाढीपछि नेपालमा त्यस्ता खालका बाढी नआएको भन्दै उनले भने, ‘तर, ४/५ वर्ष अवधिमै हामीले साँफेबगर, मेलम्ची, जोमसोम–कोरला, मेची राजमार्ग, बीपी राजमार्गको रोशी खोला र अहिले भोटेकोशी हुँदै रसुवामा आएको बाढी र त्यसपछिको विपद् सामना गरिरहेका छौं ।’
सरकारले अहिलेसम्म बाढीपहिरोका कारण हुन सक्ने सम्भावित क्षति र त्यसको पुनर्निर्माणका लागि छुट्टै इकाइ खडा नगरेको भन्दै उनले अहिले विपद् केन्द्रित मर्मतसम्भार तथा विपद् उत्थानशील इकाइ (मेन्टिनेन्स एन्ड डिजास्टर रेजिलियन्स युनिट) स्थापना गर्ने गरी गृहकार्य अघि बढाएको बताए ।
‘४/५ वर्षको अवधिमा ठूला महाविपद्पछि हामीले अब डिजाइन कोड नै पुनरावलोकन गर्न जरुरी छ, अहिले बाढीमा पानी मात्रै बग्दैन, त्यसमा लेदोसहित ठूलो गेग्रान पनि बगेर क्षति पुर्याएको छ,’ अधिकारीले भने, ‘माथिल्लो तटीय क्षेत्रमा बढी क्षति र तल्लो तटीय क्षेत्रमा कम असर गरेको देखिन्छ, अब डिजाइन कोड परिवर्तन गरी माथिल्लो भेगमा सोही किसिमका सडक र पुलको डिजाइन बनाउन आवश्यक छ ।’
अबका पूर्वाधार निर्माण जलवायु उत्थानशील हुनुपर्नेमा दुई मत नभएको पनि उनले बताए । पूर्वाधार निर्माण गर्दा सुरु चरणदेखि नै जलवायु उत्थानशील हुनेखालको डिजाइन र सुरक्षाका विभिन्न कोणबाट हेरिनुपर्नेमा उनले जोड दिए ।

अहिले सरकारको लगानी नयाँ परियोजनामा भन्दा पनि बढी बाढीपहिरोको विपद्पछि भत्किएका सडक पुल पुनर्निर्माणमा खर्चिनुपरेको उल्लेख गरिएको छ ।
‘अहिले हामीसँग १ लाख किलोमिटर सडक छ, तर कालोपत्र सडक कम छ,’ अधिकारीले भने, ‘६५ हजार किलोमिटर सडक कालोपत्र गर्न बाँकी भएका बेला सडक सुरक्षा चुनौतीपूर्ण बनेको छ ।’
राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले प्रत्येक वर्ष बाढी पहिरोले क्षति पुर्याउने तर त्यसका लागि छुट्टै युनिट र बजेट नहुने गरेको बताए ।
नेपाल हिन्दुकुश हिमालय शृङ्खलामा भएका कारण यस्ता समस्या आइरहने भन्दै उनले २०५० सालको बाढीपछि ३ महिनासम्म काठमाडौं उपत्यकासँगको सम्पर्क टुुटेको जानकारी दिए । त्यसबेला नेपालसँग बेलिब्रिज समेत नभएको उनले सुनाए ।
‘अहिले कम्तीमा पनि काठमाडौं र तराई जोड्ने ४/५ वटा विकल्प छन् भने केही थान बेलिब्रिज पनि छन्, अर्काे यस्तो समस्याको दीर्घकालीन समाधानका लागि २० वर्षअघि काठमाडांै–तराई दु्रतमार्गको अवधारणा ल्याइएको हो, तर त्यहाँ पनि सोचेजस्तो काम भएको छैन,’ उनले भने ।
प्रतिक्रिया 4