News Summary
Generated by OK AI. Editorially reviewed.- उत्तरी गोरखाको चुम भ्यालीमाथि खसेको पहिरोले बूढीगण्डकीमा लेदो र गेग्र्यानसहितको बाढी ल्याउँदा आरुघाटको पुल बगेर सम्पर्क विच्छेद भएको छ।
- विपद् प्राधिकरणका पूर्वसीईओ अनिल पोखरेलले बाढी हिमाली क्षेत्रकै पहिरोबाट आएको देखिए पनि वास्तविक उत्पत्ति र प्रक्रियाबारे थप वैज्ञानिक अध्ययन आवश्यक भएको बताए।
- बाढीले चुमनुब्रीको निर्माणाधीन ३४१ मेगावाटको बूढीगण्डकी आयोजनाको क्याम्प, दोभानखोलाको बेलिब्रिज र सोतीखोलाको पुल बगाएको छ।
२५ असोज, गोरखा । बूढीगण्डकी बाढीको उद्गम पहिल्याउँदै हामी आइतबार अपराह्न उत्तरी गोरखाको हिमाली शृंखलासम्म पुग्यौं ।
सामुन्नेमा देखिएको चामर हिमालदेखि थोरै मुन्तिर चुङ्चेत गाउँ देखियो । त्यहाँ केही घर र छाप्रामात्रै थिए । चुङ्चेत गाउँभन्दा केही मास्तिर पहिरो खस्दा आइतबार बिहान उत्तरी गोरखाको चुम भ्याली आतंकित बन्न पुग्यो । नदीको खास रंग नीलो हो । अवस्था हेरेर यो हरियो, अनि बाढीमा धमिलो देखिन्छ । तर पहरा खसेर लेदो र गेग्रयान मिसिँदा यो नदी यतिबेला कालो बगिरहेको छ ।
अनि माथि देखिने चामर हिमाल र आसपासका हिमाल थाेरैमात्र सेता देखिन्छन् । बाँकी त सबै जलवायु विपद् भोग्दै काला पहाडमा रुपान्तरण भइसके ।
विस्तृत अध्ययन र निष्कर्ष छिट्टै प्राप्त होला, तर सुरुवाती अवलोकनबाट हेर्दा यो पहिरो एकै दिनमा खसेको नहुन सक्छ । किनभने, कतै सिंगो पहरा खसेको देखिन्छ । कतै रुखबिरुवा मडारिएर उठ्न थालेका देखिन्छन् । अनि कतै चाहिँ झट्ट हेर्दा सामान्य लाग्ने, तर सम्भवतः केही साताअघि नै त्यहाँ ठूलो मात्रामा भूक्षय भएको थियो ।
चामर हिमालमा हिउँ जमेर त्यसको भार एकैपल्ट खस्दा तल्लो भागका जंगल र पहरा एकैपल्ट झरेको आकलन गरिएको छ । लेदो र गेग्र्यानसहितको पहिरो चुम भ्यालीमा खसेको अवलोकन छ ।
भर्खरै सार्वजनिक भएको सेन्टिनेल–२ स्याटेलाइटको कृत्रिम रङयुक्त स्याटेलाइट तस्वीरले आजको बूढीगण्डकी विपद्को सुरुवात र बाढी बगेको बाटो देखाएको छ। तस्बिरमा देखिएको कालो भागले शृङ्गी हिमालमुनिबाट सुरु भएको पहिरो र भल-बाढीको बाटो देखाउँछ।

यो रिपोर्टमा उल्लेख भएको चामर हिमाल वा अर्को हिमालको नाम त्यहाँ उल्लेख छैन । भल बाढी स्यार खोलामा मिसिएर तल्लो चुम उपत्यका हुँदै सल्लेरी र जगतसम्म पुगेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले इमेज अध्ययनपछि जानकारी दिएको छ । पहिरो कहाँबाट र किन सुरु भयो, खोलालाई कसरी थुन्यो र बाढी कसरी आयो भन्नेबारे थप अध्ययन आवश्यक छ।
बुढीगण्डकीमा बाढी आएपछि अपराह्न आकाशबाट प्रारम्भिक अध्ययन गर्दा गेग्र्यान र लेदोसहितको बाढीले तल्लो तटतर्फ अहिले पनि ठूलो असर छाडेको छ । गाउँ जाने बाटाहरू बन्द भएका छन् । आधा गाउँ बगे जस्ता दृश्य पनि कतैकतै छन् ।
सो क्षेत्रका स्थानीयहरू अहिले घर छाडेर सुरक्षित स्थान खोज्दै डाँडातिर उक्लेका छन् । ‘हामी डाँडातिर उक्लेर बसेका छौं,’ जगतका स्थानीय गणेश कार्कीले भने, ‘टुलुटुल घर बगाएको हेर्ने बाहेक केही विकल्प छैन ।’

ठीक डेढ महिनाअघि अर्थात् १० भदौका दिन रसुवामा ल्हेन्दे खोला थुन्नेगरी पहिरो जाँदा भोटेकोशीमा विशाल बाढी गएको थियो । चीनसँग सिमाना जोडिएको नेपाली भूभागमा तीव्र गति र स्केलमा जुन बाढी गयो, त्यसलाई हामीले अनलाइनखबरमा विशेष सम्पादकीय लेखेर ‘हिमाली सुनामी’ भनेका थियौं ।
यसबीचमा प्रधानमन्त्री बालेन शाह, परराष्ट्र मन्त्री शिशिर खनाल लगायतले राष्ट्रसंघ महासभामा हिमाली सुनामीले पारेको असर अनि जलवायु न्यायका बारेमा आफ्ना भनाइ राखिसकेका छन् ।

डेढ महिनापछि उत्तरी गोरखाबाट झरेको पहिरो, अनि उत्पन्न बाढीले दिएको क्षति तुलना गर्दा भोटेकोशी र त्रिशूलीको विपद्सँग दाँज्न त मिल्दैन । जनधनको क्षति अनुपात बूढीगण्डकीमा कम देखिन्छ, तर बाढीको शैली र पूर्वाधारमा दिएको असर हेर्दा हामीले सिक्ने विषय भने धेरै छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वसीईओ अनिल पोखरेलका अनुसार, प्राप्त पछिल्लो इमेजमा ठूलो पहिरो गएको देखिएकाले हिमाली क्षेत्रबाटै उत्पन्न पहिरो हो भन्न सकिन्छ । उनी पाँच वर्षअघि सोही भेगमा पुगेकाले त्यहाँको माटोको बनोट पहिल्याउन सक्छन् ।

‘त्यही माटोसहित उत्तरी गोरखाको चुम भ्यालीमाथि ठूलो मात्रामा पहिरो आयो, गेग्र्यान हेर्दा पहिरो जमेर थुनिएरै आएको हो भन्ने देखाउँछ । अहिले सबै विवरण दिन नसकिए पनि माथि ठूलो ताल नै खसेर पहिरो, अनि बाढी बनेको देख्न सक्छौं,’ विपद् प्राधिकरणका पूर्वसीईओ पोखरेलले भने, ‘तर यो एकैपल्ट नभई ठूलो पहिरो झरेर बाढी आउने, फेरि रोकिने गर्दै ५ वा ६ वटा झर्कोमा यो बाढी आएको हुनसक्छ ।’
यस्तै प्रकृतिका बाढी अन्यत्र पनि जान सक्ने भएकाले पूर्वसतर्कता अपनाउन विज्ञहरूले सुझाव दिइरहेका छन् ।
बाढी आएको क्षेत्रको अवस्थिति बुझ्न गोर्खाको भौगोलिक क्षेत्रका बारेमा केही जानकारी लिउँ । सदरमुकाम गोरखा बजारबाट करिब ४० किलोमिटर उत्तरपूर्वमा अवस्थित छ आरुघाट बजार । गोरखा बजारबाट फिनाम, बगुवा हुँदै आरुघाट पुग्न जिप वा बसमा करिब ३ घण्टा समय लाग्छ ।

तर काठमाडौंबाट आरुघाट जान गोरखाबजार जानु पर्दैन । काठमाडौंबाट आरुघाट पुग्न मुख्यत: धादिङको बाटो प्रयोग हुन्छ । मलेखुबाट धादिङबेसी हुँदै जाने मूल र छोटो मार्ग जो सबैभन्दा बढी चल्छ ।
धादिङ र गोरखाको सिमानामा बूढीगण्डकी किनारमा छ आरुघाट । आरुघाट बजारमा धादिङ र गोर्खा जोड्ने पुल यो बाढीले बगाएको छ । डेढ महिना नबित्दै यो क्षेत्रका पूर्वाधारमाथि अर्को ठूलो धक्का पुगेको छ, जसले दिएको क्षति आकलन भइसकेको छैन ।
आरुघाटबाट करिब ५० किमीमाथि अफरोड यात्रापछि न्याक्चेत अनि त्यस नजिकै फिलिम पुगिन्छ । गोरखाको उत्तरी चुमनुब्री गाउँपालिकाको मुकाम हो फिलिम । बूढीगण्डकी नदीको साँघुरो खोचमाथि समथर डाँडामा अवस्थित छ फिलिममा उत्तरी गोर्खा क्षेत्र समेट्ने क्षेत्रीय प्रशासनिक केन्द्र पनि छ । यो मनास्लु करिडोरमा पर्छ ।

फिलिमबाट करिब ५-७ किलोमिटरमाथि पुगेपछि बूढीगण्डकी नदीमा बायाँतर्फबाट मिसिन्छ स्यारखोला । केहीले त्यसलाई चुङ्चेत खोला पनि भनेका छन् । त्यहाँ पुगेपछि थाहा हुन्छ- सोही खोलातर्फ आएको बाढी बुढीगण्डकीमा मिसिएको हो ।
उक्त खोलाभन्दा माथि चुम्लिङ गाउँ देखिन्छ । त्यो गाउँ हुँदै करिब ५-७ किलोमिटर माथि उङ्गिलुङ खोला मिसिन्छ । त्यही खोलाबाट बाढी आएको देखिएको प्रत्यक्ष अवलोकनमा गएको टोलीले बताएको छ । यसबारे हामी अझै विस्तृत अध्ययन गर्नेछौं र रिपोर्ट तयार पार्नेछौं ।
यस्तैगरी, २०७८ सालको बर्खामा गोरखाको उत्तरी भेगमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको थियो । जगत, यारुबगर र चुमनुब्री क्षेत्रमा बाटाघाटा बगेका थिए । पुलहरू क्षतिग्रस्त भएका थिए र माथिल्लो भेगका बस्तीहरूको आवागमन तथा खाद्यान्न आपूर्ति प्रभावित भएको थियो।
अनिल पोखरेल त्यसबेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख थिए । इन्जिनियरिङ भूगर्भविद् डा. नारायण गुरुङ लगायतका विज्ञहरू, स्थानीय सरकार, जिल्ला प्रशासन, सुरक्षा निकाय र प्राविधिक टोलीसहित उनी जगत र चुमनुब्रीको स्थलगत अवलोकनका लागि पुगेका थिए ।

‘त्यो भ्रमणमा हामीले क्षतिग्रस्त बाटो, पुल र बस्तीहरूको अवस्था मात्र होइन, पहिरोको भूगर्भीय प्रकृति, नदी कटान र सम्भावित जोखिमको अवस्थासमेत बुझ्ने प्रयास गरेका थियौँ,’ उनले भने, ‘त्यसको तीन वर्षपछि, मनास्लु हिमनदी क्षेत्रको वीरेन्द्र तालमा अर्को हिम पहिरो खस्यो । तालमा खसेको ठूलो परिमाणको बरफ र गेग्र्यानले पानी विस्थापित गर्दा अचानक बाढी आयो र बूढीगण्डकी नदीको बहाव बढ्यो। यस घटनाले हामीलाई हिमतालको क्षेत्रफल, पानीको मात्रा वा बाँधको अवस्था मात्र हेरेर जोखिम मूल्याङ्कन गर्न पर्याप्त हुँदैन भन्ने सिकायो ।’
अर्थात् पोखरेलको भनाइमा ताल वरिपरिका अस्थिर भिरालो भूभाग, हिम पहिरोको सम्भावना र सम्पूर्ण माथिल्लो जलाधारको अवस्थासमेत बुझ्न आवश्यक छ । स्थानीयवासीहरूले कुरा गर्दै सुरुमा खोला सुकेको जस्तो देखिएको, त्यसपछि अचानक ठूलो बाढी आएको, फेरि एकछिन शान्त जस्तो गरेर अर्को ठूलो बाढी आएको बताएका छन् । विज्ञहरूले उनीहरूको भोगाइ र अनुभवमा विश्वास गर्दै यो सामान्य वर्षाजन्य बाढीको चरित्र नभएको टिप्पणी गरेका छन् । पोखरेलले यसलाई हिमाली नदीमा हुने विश्यारीको महत्त्वपूर्ण सङ्केत मानेका छन् ।

खोला अचानक सुक्नु सधैँ जोखिम घट्नु नभई कहिलेकाहीँ त्यो माथिल्लो जलाधारमा ठूलो विपत्ति जम्मा भइरहेको चेतावनी भएको उनको भनाइ छ । चुम भ्याली हुँदै तल झर्दा गोरखाको चुमनुब्री गाउँपालिका सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प पनि आज बिहानको बाढीले बगाएको छ । हरियो छाना भएको आयोजनाको शिविर बाढीले बगाएको दृश्य हेर्दा बूढीगण्डकीको क्षति अनुमान गर्न सकिन्छ ।
त्यस्तै, १४-१५ मेगावाटको दोभानखोला जलविद्युत आयोजनाले बनाएको बेलिब्रिज पनि बाढीले बगाएको छ । यसपल्ट पूर्वसूचनाका लागि बिहानीको समय अनि बाढीको प्रकृतिका कारण पनि सहज भएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । बाढी आउने क्रममा केही समय खोलामै थुनिएको मौका छोपेर धेरै जनालाई जोगाउन सकिएको उनीहरूको भनाइ छ ।

फिलिम र आरुघाटको बीचमा सोतीखोलाको पुल पनि बाढीले बगाएको हामीले देख्यौं । सोतीखोला पुल बगेपछि आरुघाट गाउँपालिकाको वडा २ र ३ को सम्पर्क विच्छेद भएको छ । यो बाटोमा पर्ने जगत बजारमा पनि बाढीले क्षति पुर्याएको छ । मनास्लु क्षेत्रमा ट्रेकिङ यात्रा गर्ने पर्यटकका लागि यो जगत बजार प्रमुख बिसौनी मानिन्छ ।
शनिबार राति पनि थुप्रै पर्यटक यहाँ बास बसेको तर बाढी आएको खबर पाएकाले उनीहरूलाई सुरक्षित राख्न सकिएको स्थानीय प्रशासनको भनाइ छ । विपद प्राधिकरणका अनुसार चार वटा हेलिकोप्टर परिचालन गरी ४७ जनाको उद्धार गरिएको छ । सेना, प्रहरी र सशस्त्र प्रहरी त्यस कार्यमा सक्रिय छन् ।

हिमाली नदीलाई धेरै हदसम्म पानी बग्ने नालाका रूपमा मात्र बुझ्नु त्रुटि भएको विज्ञहरूको भनाइ छ । हिमाली नदी केवल पानीको प्रवाह नभई यो हिमनदी, पहाड, चट्टान, पहिरो, गेग्रान र बदलिँदो भू–आकृतिबीचको जटिल अन्तर्क्रियाबाट सञ्चालित प्रणाली भएकाले फरक बुझ्न उनीहरूले आग्रह गरेका छन् ।
‘पहिरो, हिम पहिरो वा ठूलो मात्रामा खसेको गेग्र्यानले नदी थुन्छ । माथिल्लो भागमा पानी जम्मा हुन्छ । अस्थायी बाँध फुटेपछि एक्कासि ठूलो बाढी आउँछ । फेरि नदी थुनिन सक्छ र फेरि फुट्न सक्छ ।

यसरी नदीको बहाव अस्वाभाविक रूपमा घट्ने, अचानक बढ्ने र पुनः घट्ने क्रम दोहोरिन सक्छ,’ विपद प्राधिकरणका पूर्वसीईओ पोखरेल भन्छन्, ‘यो घटनाको वास्तविक उत्पत्ति, नदी अवरोधको स्थान र बाढीको प्रक्रियाबारे विस्तृत वैज्ञानिक अध्ययन आवश्यक छ । तर प्रारम्भिक विवरणले विश्यारी जस्ता प्रक्रियाको अध्ययन र निगरानीलाई हामीले पर्याप्त प्राथमिकता नदिएको प्रश्न उठाएको छ ।’

तस्वीर/भिडियो : शंकर गिरी
प्रतिक्रिया 4