+
+
Shares
पोखरामा गन्धर्व गुञ्जन :

सारङ्गीमा नेपाली समाज, कर्खामा बाढीका पीडा

गन्धर्व समुदायको सांस्कृतिक योगदानलाई बुझ्नु भनेको एउटा समुदायको कला बुझ्नु मात्रै होइन, नेपाली समाजले आफ्ना कथा कसरी सुनायो र सम्झनाहरू कसरी जोगायो भन्ने बुझ्नु पनि हो भन्ने कार्यक्रमले बुझाउन खोजेको हो । 

अमृत सुवेदी अमृत सुवेदी
२०८३ असोज २६ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा प्रज्ञा प्रतिष्ठानको ‘गन्धर्व गुञ्जन’मा ९० जना गन्धर्व कलाकारले सारङ्गी, कर्खा र मौलिक प्रस्तुति देखाए।
  • कार्यक्रममा भोटेकोशी र त्रिशूली बाढीमा ज्यान गुमाएकाको पीडा सम्झिँदै दर्शक भावुक बने।
  • पोखरामा गन्धर्व समुदायको सांस्कृतिक योगदान, विभेद र राज्यले गर्नुपर्ने सम्मानबारे छलफल गरियो।

२६ असोज, पोखरा ।

२०८३ साल भदौ १० को दिनमा

कति सपना टुटे हजुर सबै एकैछिनमा

बिहानको टाइम थियो, स्कुल अफिस जाने,

कोहीलाई मेला काममा जाने कोहीलाई खाना खाने

आयो बाढी बगायो हेर

रुने बाहेक केही छैन सम्झेर…।

र्‍याइँर्‍याइँ सारङ्गी रेटेर सम्मरबहादुर गायकले कर्खामा भोटेकोशी बाढीको घटनालाई सुनाए । सारङ्गीका धुनहरूमा डुब्दै जीवनको आरोह–अवरोहसँग सात्क्षात्कार गरिरहेका पोखरेली भावुक बने । भोटेकोशी बाढीमा परिवार र आफन्त गुमाएकाहरू सुक्सुकाए ।

पोखरा उद्योग वाणिज्य संघको पे्रक्षालयमा खचाखच भरिएका दर्शक पनि सम्मरबहादुरले रेटेको सारङ्गीसँगै दुखे । पोखरा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘गन्धर्व गुञ्जन’मा सारङ्गीका धुनहरूमा दर्शकले मान्छेका सुख–दु:खसँगै यात्रा गरे । सारङ्गीको गाथा सुने । सिंगो गन्धर्व समुदायको सम्मान गरे ।

गन्धर्व समुदायको परम्परागत संस्कृति र सारङ्गीले धानेको जीवनलाई नजिकबाट नियाले । पोखरेलीले सारङ्गीका धुनहरूमा मान्छेका जन्मदेखि मृत्युसम्मका संस्कार, घटना र संघर्षमय जीवनलाई अनुभूति गर्ने मौका पाए ।

हिजो लाहुरेका कथा, समाजका घटनालाई सारङ्गीमा सुनाउँदै हिँड्ने ‘गाइने दाइ’ लाई नजिकबाट बुझ्ने मौका पोखरेलीले पाए । गन्धर्व समुदायले कस्तो नियति बेहोरिरहेको छ र पछिल्लो पुस्ताले के सोच्छ, के गरिरहेको छ ? सिंगो गन्धर्व समुदायको जीवन र सारङ्गीले बोक्ने सिंगो देशलाई एउटै मञ्चमा अनुभूत गर्ने अवसर दिलाएको थियो, पोखरा प्रज्ञा प्रतिष्ठानले ।

भदौ १० गते पोखरामा आयोजना गर्ने तयारी थियो, ‘गन्धर्व गुञ्जन’ तर त्यही दिन भोटेकोशी हुँदै त्रिशूलीमा भयानक बाढी आयो र ठूलो जनधनको क्षति भयो । देश नै पीडामा भएका बेला यो कार्यक्रम पनि स्थगित भएर आइतबार घटस्थापनाका दिन राखिएको थियो । आइतबार पनि गोरखामा बूढीगण्डकीमा अर्को भयानक बाढीले ठूलो क्षति पुर्‍याइरहेको थियो । मानिसहरूले नेपालमा परिरहेको विपत्तिलाई सारङ्गीका धुनहरूसँगै महसुस गरे ।

समयले जन्माएका घटना, समाजले भोगेका दु:ख र मानिसका सुख–दु:खलाई गीतमा उतारेर जनजनसम्म पुर्‍याउने गन्धर्वहरूको सांस्कृतिक भूमिकालाई प्रज्ञा प्रतिष्ठानले उजागर गरेको छ । गन्धर्वहरूले बसोबास गर्ने पोखराकै बाटुलेचौर जुरुक्क उठेर मञ्चमा आइपुगेको थियो । बाटुलेचौर हुँदै देशका विभिन्न ठाउँमा पुगेका गन्धर्वहरूको संस्कृति, परम्परा र संस्कारलाई ‘कथा सारङ्गी’को पोखिए ।

गन्धर्व–गुञ्जनले पाका पुस्तादेखि सारङ्गी पाठशालामा औंला चलाउन सिक्दै गरेका किशोरहरूसम्मलाई एउटै मञ्चमा ल्याएको थियो । झलकमान गन्धर्वको सहर पोखरा आइतबार साँच्चिकै उनकै समुदायको वरिपरी घुम्यो । यो समुदायले खेप्नुपरेको विभेददेखि सम्भावनासम्मको विषयलाई एकसाथ मूलधारमा ल्याउने काम प्रतिष्ठानले गरेको छ ।

गन्धर्व कलाकार, सारङ्गीप्रेमी र लोकसंगीतका पारखीका लागि यो दिन मनोरञ्जनको अवसर मात्र बनेन, आफ्नै समाजको मौलिक सांस्कृतिक सम्पदासँग पुन: जोडिने क्षण पनि बन्यो ।

गन्धर्व समुदायको पहिचान सारङ्गीको धुनसँग अभिन्न रूपमा जोडिएको छ । तर यो समुदायको योगदानलाई सारङ्गी बजाउने कलामा मात्र सीमित गरेर बुझ्नु अन्याय हुन्छ । उनीहरूले गीतमार्फत समाजका कथा बोके । घटनाका साक्षी बने । मानिसका अनुभूतिलाई जनसमुदायसम्म पुर्‍याए । उनीहरूका गीतमा प्रेम र वियोग मात्रै होइन, वीरता, करुणा, सामाजिक सम्बन्ध, जीवनका संघर्ष र समयको दस्तावेज पनि हो ।

कर्खा मौखिक परम्परामा हुर्किएको कथात्मक गायन हो, जसमा कुनै घटना, पात्र वा परिस्थितिलाई गीतका माध्यमबाट विस्तारपूर्वक प्रस्तुत गर्छ । पुरानादेखि नयाँ पुस्तासम्मले एकसाथ स्वाद लिने अवसर पाए ।

आज समाचारका लागि सञ्चारमाध्यम छन् । घटना अभिलेख गर्न लिखित दस्तावेज, तस्बिर, श्रव्यदृश्य र डिजिटल प्रविधि छन् । तर, यी माध्यम सर्वसुलभ नहुँदाको समयमा समाजका घटनालाई गीत बनाएर सुनाउने परम्पराले पनि मानिसलाई सूचना र अनुभूति दुवै दिन्थ्यो । गन्धर्वहरूका गीतले घटनाको खबर मात्र सुनाउँदैनथे, त्यसप्रति समाजको संवेदना पनि व्यक्त गर्थे । पोखरेलीले फेरि ती दिन सम्झिए ।

कर्खाको विशेषता हो– यसले घटनालाई तथ्यको विवरणमा मात्रै सीमित राख्दैन, त्यससँग गाँसिएको मानवीय पीडालाई पनि स्वर दिन्छ । त्यही स्वर पोखरा उद्योग वाणिज्य संघको हलमा आइतबार पोखिए ।

झलकमानको सम्झना

नेपाली लोकसंगीतको इतिहासमा झलकमान गन्धर्वको नाम उच्च स्थानमा आउँछ । उनले विभेद र दु:खखका चौघेरो नाघेर आफ्नो नाम रोशन गरे । तर त्यही लोपोन्मुख समुदायले भने आज पनि समाजमा आफ्नो अस्तित्वको लडाइँ लडिरहेको छ ।

झलकमानको ‘हे बरै आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ गीत आम नेपालीको बनेको छ । त्यही गीत गुनगुनाउँदै पोखरा मेयर धनराज आचार्यले उद्घाटन गरेको कार्यक्रममा गन्धर्व समुदायका ९० जना कलाकार सारङ्गीसँगै आइतबार ‘गन्धर्व–गुञ्जन’मा समेटिए ।

झलकमानदेखि खिमबहादुर गन्धर्व, धनबहादुर गायकसम्मलाई पोखरेली मञ्चले सम्झिएको छ । कृष्णबहादुर गन्धर्व, हेमन्त कान्छा रसाइलीलगायत कलाकारले सारङ्गीमा संगीतको नयाँ स्वाद पस्किए ।

सारङ्गीमा मंगल धुन बज्यो । मालश्री धुनले दशैं भित्रिएको अनुभूति दिलायो । गोविन्द गायकले पस्किएको गन्धर्वहरूको विशेष प्रस्तुति ‘निर्गुन’मा पारखीहरू डुबे । हर्क गायक, जानुका गायकले गन्धर्वहरूको इतिहास र संघर्ष खोतले । विद्यालय पढ्दै गरेका विद्यार्थीहरूले परम्परागत भजनमा झुमाए ।

सम्मरबहादुरसँगै मनिस गायकले कर्खा र घटना सुनाउँदै मानिसहरूलाई भोटेकोशी र त्यसपछिका बाढीले दिएको पीडामा मुटु नै चरक्क चर्काएको अनुभूति गराए । गन्धर्व समुदायका महिलाहरूले रत्यौली–हँस्यौली प्रस्तुत गरेर फरक स्वाद पस्किए ।

नयाँ र पुराना पुस्ताले मिलेर एकसाथ सामूहिक रुपमा दरबार नाचलगायत परम्परालाई मञ्चमा उतारे । झलकमान गन्धर्व पाठशालाका बालबालिकाहरूले सारङ्गीप्रति नयाँ पुस्ताको आकर्षणलाई फेरि एकपटक झल्कायो भने राज्यलाई विशेष ध्यान दिन पनि झक्झकायो ।

सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइरला, चलचित्रकर्मी माओत्से गुरुङ लगायतले सारङ्गी र गन्धर्वका कथाहरू अझै धेरै लेखिनुपर्ने, भनिनुपर्ने र देखाइदिनुपर्ने महसुस गरेको सुनाए । पोखरका कवि, लेखक, कलाकार र सांरंगी, गीतसंगीत तथा लोकसंस्कृति र लोपोन्मुख समुदायप्रति चिन्ति समुदायले गन्धर्वहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उनीहरूलाई हरेक क्षेत्रको मूलधारमा ल्याउनुपर्ने भाव व्यक्त गर्दै निस्किए ।

केही दिनअघि पोखराबाट निर्वाचित सांसद उत्तमप्रसाद पौडेलले गन्धर्व समुदायलाई राज्यले सम्मान गर्नुपर्ने बताएका थिए । उनले संसदमा झलकमान गन्धर्वको हुलाक टिकट वा पैसामा तस्वीर राख्नुपर्ने माग राखेका थिए । यसको मतलब राज्यले गन्धर्व समुदायलाई गर्नुपर्ने सम्मानको विम्वका रुपमा अरुले पनि महसुस गरे ।

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्त भएपछि  साहित्यकार सरस्वती प्रतीक्षाले पहिलो कार्यक्रम मौलिकमात्रै होइन, सिंगो समुदायलाई सम्मान गर्नेगरी ऐतिहासिक गराउने गरी संयोजन गरेकी छिन् । कला, साहित्य, संगीतमा भइरहने परम्परागत कार्यक्रमभन्दा भिन्न स्वाद र मौलिकलाई उनले पस्किएकी छन् । बिगतमा धर्मराज थापाहरूले गन्धर्व समुदायलाई रेडियो नेपालदेखि विभिन्न देशमा पुर्‍याएर योगदान गरेका थिए ।

अहिले प्रतीक्षा नेतृत्वको प्रज्ञा प्रतिष्ठानले सिंगो गन्धर्व समुदायलाई एउटै मञ्चमा प्रस्तुत गरेर उनीहरूमाथि सम्मान गरेकी छन् । राज्यको मूलधारमा यो समुदायलाई ल्याउन र राज्यलाई विशेष ध्यान दिन झक्झक्याउने काम पनि गरेकी छन् ।

गन्धर्व समुदायको सांस्कृतिक योगदानलाई बुझ्नु भनेको एउटा समुदायको कला बुझ्नु मात्रै होइन, नेपाली समाजले आफ्ना कथा कसरी सुनायो र सम्झनाहरू कसरी जोगायो भन्ने बुझ्नु पनि हो भन्ने कार्यक्रमले बुझाउन खोजेको हो ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?