+
+
Shares

४२ जनाले जग्गा दान गरेर बन्यो पुथा उत्तरगंगाको प्रशासकीय भवन

भवन बन्यो- अब दक्ष जनशक्ति व्यवस्थापनको चुनौती

बालाराम शेर्पाली / रुकुमपूर्व बालाराम शेर्पाली / रुकुमपूर्व
२०८३ असोज २६ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको ६ करोड ६७ लाख ५९ हजार ९ सय ९६ रुपैयाँ लागतको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ।
  • भवन निर्माणका लागि ४२ जना स्थानीयवासीले २५ रोपनी जग्गा दान गरेका थिए र स्थानीय सहयोगले निर्माण सम्भव भएको गाउँपालिकाले जनाएको छ।
  • स्थानीयले भवनसँगै पर्याप्त कर्मचारी व्यवस्थापन र दुर्गम बस्तीका नागरिकलाई सहज सेवा प्रवाह सुनिश्चित गर्न माग गरेका छन्।

२६ असोज, रुकुमपूर्व । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वस्थित पुथा उत्तरगंगा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । ६ करोड ६७ लाख ५९ हजार ९ सय ९६ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवनका लागि ४२ जना स्थानीयवासीले २५ रोपनी जग्गा दान गरेका थिए ।

लुम्बिनी प्रदेश सभा सदस्य एवं प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढा, गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर र उपाध्यक्ष नरपुरा बुढा पुनले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् । स्थानीयवासीको जग्गादान र सहयोगले भवन निर्माण सम्भव भएको गाउँपालिकाले जनाएको छ ।

भवन उद्घाटन गर्दै प्रदेश सभा सदस्य बुढाले स्थानीय तहको विकासका लागि भौतिक पूर्वाधार निर्माणसँगै प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताइन् । नयाँ भवनले प्रशासनिक कामकाज व्यवस्थित बनाउन र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने उनको अपेक्षा छ ।

गाउँपालिका अध्यक्ष घर्ती मगरले विभिन्न बाधा-अवरोधका बीच प्रशासकीय भवन निर्माण सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए । भवन निर्माणका लागि जग्गा दान गर्ने ४२ जना स्थानीयवासीको योगदानको प्रशंसा गर्दै उनले स्थानीयवासीको साथ र सहयोगले विकास निर्माणका काम अघि बढाउन सहज भएको उल्लेख गरे । ‘विभिन्न बाधा–अवरोधका बीच नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न गर्न सफल भएका छौं । भवन निर्माणका लागि जग्गा दान गर्ने ४२ जना स्थानीयवासीको योगदान महत्त्वपूर्ण छ’, उनले भने, ‘आगामी दिनमा यस भवनबाट नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्नु हाम्रो लक्ष्य हो ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बि.क.ले नयाँ भवनबाट प्रशासनिक कामकाज सञ्चालन गर्न र विभिन्न शाखामार्फत प्रदान गरिने सेवाको व्यवस्थापन गर्न सहज हुने बताए । जनप्रतिनिधि र

कर्मचारीबीचको सहकार्य, समन्वय र आपसी समझदारीबाट मात्रै विकास निर्माणका काम प्रभावकारी रूपमा अघि बढाउन सकिने उनको भनाइ छ ।

भवन बन्यो, अब जनशक्ति व्यवस्थापनको चुनौती

प्रशासकीय भवन निर्माणलाई उपलब्धिका रूपमा लिइए पनि स्थानीयवासीले पर्याप्त कर्मचारी व्यवस्थापन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय सीता बुढामगरका अनुसार जनसङ्ख्याका आधारमा पुथा उत्तरगंगा गाउँपालिका सानो देखिए पनि भौगोलिक विकटताका कारण नागरिकले सरकारी सेवा लिन कठिनाइ भोग्नुपर्छ । त्यसैले नयाँ भवन निर्माणसँगै दक्ष जनशक्ति व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

स्थानीय दिपेन्द्र छन्त्यालले एउटै कर्मचारीले दुईवटा जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता रहेको बताए । दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गरी दुर्गम बस्तीका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन राज्यले ध्यान दिनुपर्ने उनले उल्लेख गरे । ‘भवनसँगै आवश्यक दरबन्दीअनुसार कर्मचारीको व्यवस्था हुनुपर्छ । दुर्गम क्षेत्रका नागरिकले पनि सरकारी सेवाबाट पूर्ण लाभ लिन पाउनुपर्छ,’ उनले भने ।

पुथा उत्तरगंगा भौगोलिक रूपमा विकट गाउँपालिका हो । गाउँपालिकाको वडा नम्बर २ का विभिन्न बस्तीबाट केन्द्रसम्म पुग्न दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ । यस्तो भौगोलिक अवस्थाका कारण नागरिकलाई सरकारी सेवा सहज रूपमा उपलब्ध गराउनु गाउँपालिकाका लागि थप चुनौतीपूर्ण छ ।

नयाँ प्रशासकीय भवन निर्माणसँगै गाउँपालिकाको प्रशासनिक कामकाज व्यवस्थित हुने अपेक्षा गरिएको छ । तर, भवनको वास्तविक उपलब्धि नागरिकले पाउने सेवाको सहजता, गुणस्तर र प्रभावकारिताले निर्धारण गर्नेछ । त्यसैले भवन सञ्चालनसँगै आवश्यक कर्मचारी व्यवस्थापन गर्नु र दुर्गम बस्तीका नागरिकको पहुँचमा सरकारी सेवा पुर्‍याउनु गाउँपालिकाको मुख्य चुनौती बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?