News Summary
Generated by OK AI. Editorially reviewed.- दसैंमा खानपानको लापरबाही, चिकित्सकको सल्लाहबिना औषधि प्रयोग र नियमित औषधि छुट्दा स्वास्थ्य जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
दसैं नेपालीहरूको प्रमुख चाड हो । पारिवारिक भेटघाट, मीठा परिकार, रमाइलो जमघट र लामो यात्राले यो पर्वलाई विशेष बनाउँछन् । तर, चाडपर्वको रमझममा खानपानमा लापरबाही, नियमित औषधि सेवनमा अनियमितता र चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्ने प्रवृत्तिले स्वास्थ्यमा जोखिम निम्त्याउन सक्छ।
टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने वा अपच हुनेबित्तिकै औषधि पसलबाट औषधि किनेर खाने गरिन्छ । अझ धेरै पहिलेदेखि घरमै रहेका पुरानो औषधि प्रयोग गर्ने तथा अरूलाई सिफारिस गर्ने गरेको पनि देखिन्छ ।
यस्तो बानी स्वास्थ्यका हिसाबले जोखिमपूर्ण हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि औषधिको अनुचित प्रयोगलाई जनस्वास्थ्यको महत्त्वपूर्ण चुनौतीका रूपमा लिएको छ । डब्लुएचओका अनुसार औषधिको गलत प्रयोगले स्वास्थ्य जोखिम बढाउनुका साथै उपचारमा प्रयोग हुने स्रोतको समेत दुरुपयोग गराउँछ ।
दुखाइ र ज्वरोमा जथाभावी औषधि सेवन
दसैंका बेला लामो यात्रा, थकान, अनिद्रा र खानपानको असन्तुलनका कारण टाउको दुख्ने, शरीर दुख्ने वा ज्वरो आउने समस्या हुन सक्छ । यस्ता लक्षण देखिनासाथ कारण नबुझी औषधि सेवन गर्नु उचित हुँदैन ।
प्यारासिटामोलजस्ता औषधि सिफारिस गरिएको मात्राभन्दा बढी सेवन गर्दा कलेजोमा गम्भीर क्षति पुग्न सक्छ । रुघाखोकीका लागि प्रयोग हुने कतिपय मिश्रित औषधिमा पनि प्यारासिटामोल हुने भएकाले फरक फरक औषधि खाँदा एउटै औषधीय तत्व दोहोरिएर मात्रा बढी हुन सक्छ।
त्यस्तै, आइबुप्रोफेन र डाइक्लोफेनाकजस्ता दुखाइ कम गर्ने औषधि जथाभावी प्रयोग गर्दा पेटमा घाउ वा रक्तस्राव तथा मिर्गौलामा असर पर्न सक्छ । विशेषगरी वृद्धवृद्धा, मिर्गौला वा मुटुसम्बन्धी समस्या भएका व्यक्ति र नियमित औषधि सेवन गरिरहेका व्यक्तिले थप सावधानी अपनाउनुपर्छ।
एन्टिबायोटिकको दुरुपयोग अर्को चुनौती
घाँटी दुख्ने, रुघाखोकी लाग्ने वा ज्वरो आउनेबित्तिकै एन्टिबायोटिक सेवन गर्ने प्रवृत्ति जनस्वास्थ्यका लागि चिन्ताको विषय हो । धेरैजसो रुघाखोकी भाइरसका कारण हुने भएकाले एन्टिबायोटिकले त्यस्ता संक्रमण निको पार्दैन ।
आवश्यक नभई एन्टिबायोटिक सेवन गर्दा एलर्जी, पखाला तथा अन्य प्रतिकूल असर देखिन सक्छन् । यसको अनुचित प्रयोगले एन्टिमाइक्रोबियल रेजिस्टेन्सको समस्या हुन सक्छ । यस्तो अवस्थामा संक्रमण गराउने जीवाणुविरुद्ध औषधि कम प्रभावकारी हुन सक्छन् र उपचार कठिन बन्न सक्छ।
त्यसैले चिकित्सकीय सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने, पुरानो बाँकी औषधि प्रयोग गर्ने वा अरूलाई दिइएको औषधि खाने कामबाट बच्नुपर्छ । चिकित्सकले दिएको औषधि निर्धारित मात्रा र अवधिअनुसार सेवन गर्नुपर्छ । कुनै प्रतिकूल असर देखिएमा औषधि आफैँ परिवर्तन गर्नुको सट्टा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ।
नियमित औषधि छुट्दा बढ्न सक्छ जोखिम
दसैंमा घर जाने, आफन्तकहाँ बस्ने वा लामो दूरीको यात्रा गर्ने क्रममा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, दम तथा अन्य दीर्घरोगका बिरामीले नियमित औषधि छुटाउने सम्भावना हुन्छ। चाडपर्वका कारण खानपान र दैनिक दिनचर्या परिवर्तन हुँदा पनि औषधि सेवनमा अनियमितता हुन सक्छ।
दीर्घरोग नियन्त्रणका लागि प्रयोग गरिने औषधि आफूलाई ठीक लागेको आधारमा रोक्नु जोखिमपूर्ण हुन्छ। विशेषगरी इन्सुलिन, छारे रोग नियन्त्रण गर्ने औषधि, रगत पातलो बनाउने औषधि तथा स्टेरोइड प्रयोग गर्ने व्यक्तिले चिकित्सकीय निर्देशन पालना गर्नुपर्छ।
यात्रामा निस्कनुअघि आवश्यक औषधि पर्याप्त मात्रामा साथमा राख्ने, औषधिको नाम र सेवन गर्ने समय टिपोट गर्ने तथा नियमित समयमा औषधि सेवन गर्ने व्यवस्था मिलाउनुपर्छ। औषधि छुटेमा दोब्बर मात्रा सेवन गरेर पूर्ति गर्ने निर्णय आफैँ गर्नु हुँदैन।
प्रतिक्रिया 4