+

विद्युतीय गाडी चढ्नेबित्तिकै कसै-कसैलाई किन लाग्छ वाकवाकी ?

२०८३ असोज  २६ गते १२:३३ २०८३ असोज २६ गते १२:३३
विद्युतीय गाडी चढ्नेबित्तिकै कसै-कसैलाई किन लाग्छ वाकवाकी ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्युतीय गाडीमा यात्रा गर्दा वाकवाकी र बान्ता बढी हुने अनुभवबारे वैज्ञानिक अध्ययन सीमित रहे पनि थप अनुसन्धान आवश्यक भएको लेखमा उल्लेख छ।

गाडी गुडिरहेको हुन्छ । बाहिरका दृश्य पछाडि छुटिरहेका हुन्छन् । तर गाडीभित्र बसेको व्यक्तिलाई भने बिस्तारै वाकवाकी लाग्न थाल्छ । टाउको भारी हुन्छ, पसिना आउँछ र पेट मन्थन भएझैँ हुन्छ । केहीबेर सहन खोज्छ, पानी पिउँछ, आँखा चिम्लिन्छ । तर अवस्था झन् बिग्रिँदै जान्छ । अन्ततः गाडी रोक्न लगाउनुपर्ने हुन्छ।

यस्तो अनुभव पेट्रोल वा डिजेलबाट चल्ने गाडीमा यात्रा गर्दा पनि हुन सक्छ । तर पछिल्लो समय विद्युतीय गाडीको प्रयोग बढ्दो छ । पेट्रोल वा डिजेलका गाडीमा भन्दा विद्युतीय गाडीमा यात्रा गर्दा वाकवाकी लाग्ने र वान्ता आउने समस्या बढी हुने अनुभव धेरैको छ।

आखिर, विद्युतीय गाडीमा चढ्दा किन बिग्रिन सक्छ स्वास्थ्य ?

प्रेमीको गाडी चढेपछि सुरु भयो समस्या

बेलायतको उत्तरी लन्डनमा बस्ने २४ वर्षीया लोला बेयर्डलाई पहिले गाडीमा यात्रा गर्दा वाकवाकी लाग्ने समस्या थिएन । तर उनका प्रेमीले करिब दुई वर्षअघि विद्युतीय गाडी किनेपछि भने उनको अनुभव फेरियो।

एक दिन गाडीमा यात्रा सुरु गरेको करिब ४० मिनेट भएको थियो । उनलाई यति धेरै वाकवाकी लाग्यो कि प्रेमीलाई सडकको छेउमा गाडी रोक्न भन्नुपर्‍यो । त्यसपछि उनी बान्ता गर्नबाट आफूलाई रोक्न सकिनन्।

त्यसयता लामो यात्रामा निस्कँदा उनलाई पटक–पटक यस्तै समस्या हुन थाल्यो । समस्या यति बढ्यो कि उनले प्रेमीलाई गाडी नै फेर्न आग्रह गरिन् । पछि विद्युतीय ट्याक्सीमा यात्रा गर्दा पनि उस्तै समस्या भएको अनुभव उनले गरिन् । त्यसपछि मात्र उनलाई आफ्ना यी अनुभवबीच सम्बन्ध हुन सक्ने लागेको थियो।

लोला एक्ली होइनन् । विद्युतीय गाडीमा यात्रुका रूपमा बस्दा आफू वा आफ्ना बालबालिकालाई बढी वाकवाकी लाग्ने गरेको बताउने अरू मानिस पनि छन् । तर यहाँ एउटा कुरा बुझ्न जरुरी छ । यस्ता अनुभव सुनिँदैमा विद्युतीय गाडी नै यसको निश्चित कारण हो भन्न मिल्दैन । यस विषयमा भएका वैज्ञानिक अध्ययन अझै सीमित छन् । त्यसैले, विद्युतीय गाडीमा यात्रा गर्दा हुने वाकवाकीबारे थप अनुसन्धान आवश्यक छ ।

शरीरभित्र के भइरहेको हुन्छ ?

गाडीमा यात्रा गर्दा वाकवाकी लाग्ने अवस्थालाई चिकित्सकीय भाषामा ‘मोशन सिकनेस’ भनिन्छ । नेपालीमा यसलाई यात्राका क्रममा हुने वाकवाकी वा गाडी लागेको पनि भनिन्छ ।

हाम्रो शरीरले आफू चलिरहेको छ कि स्थिर छ भन्ने कुरा एउटै माध्यमबाट थाहा पाउँदैन । यसका लागि आँखा, भित्री कानमा रहेको सन्तुलन प्रणाली र शरीरका विभिन्न भागबाट आउने संकेतले एकसाथ काम गर्छन् ।

आँखाले वरिपरिको दृश्य हेर्छ । भित्री कानले शरीरको गति, टाउकोको चाल र सन्तुलनबारे जानकारी दिन्छ । त्यस्तै, शरीरका मांसपेशी र जोर्नीमा रहेका संवेदनशील भागले शरीर कुन अवस्थामा छ भन्ने संकेत मस्तिष्कसम्म पुर्‍याउँछन् ।

यी सबैबाट प्राप्त जानकारी आपसमा मेल खायो भने शरीरले आफू चलिरहेको वा स्थिर रहेको अवस्था सहजै बुझ्न सक्छ । तर ती संकेतबीच तालमेल मिलेन भने मस्तिष्कलाई शरीरको वास्तविक अवस्था बुझ्न कठिन हुन्छ । त्यसपछि वाकवाकी लाग्ने, चक्कर आउने, पसिना छुट्ने र कहिलेकाहीँ बान्तासमेत हुने अवस्था उत्पन्न हुन सक्छ ।

उदाहरणका लागि, गाडीमा बसेर मोबाइल हेर्दा आँखाले नजिकको स्थिर पर्दा देखिरहेको हुन्छ । तर भित्री कानले गाडी अगाडि बढिरहेको, मोडिरहेको वा गति घटाइरहेको संकेत पाइरहेको हुन्छ । आँखाले देखेको र शरीरले महसुस गरेको अवस्थाबीच तालमेल नमिल्दा वाकवाकी लाग्न सक्छ ।

विद्युतीय गाडीमा पनि यस्तै प्रक्रिया हुन सक्छ । तर यसमा केही विशेषता छन्, जसले केही मानिसको असहजता बढाउन सक्ने विशेषज्ञहरूको भनाइ छ ।

विद्युतीय गाडीमा किन बढी हुन सक्छ वाकवाकी ?

१. शरीरलाई गाडीको गति महसुस भइरहन्छ

पेट्रोल वा डिजेलबाट चल्ने गाडीमा इन्जिनको आवाज र कम्पन हुन्छ । चालकले गति बढाउँदा वा घटाउँदा आवाजमा आउने परिवर्तनबाट पनि गाडीको चालबारे अनुमान गर्न सक्छन् । यात्रुले समेत यस्ता संकेत अनुभव गरिरहेका हुन्छन् । .

तर विद्युतीय गाडी तुलनात्मक रूपमा शान्त हुन्छन् । इन्जिनको परम्परागत आवाज र कम्पन निकै कम हुने भएकाले गति परिवर्तनको संकेत फरक हुन सक्छ । किङ्स कलेज लन्डनमा शरीरको बनावट र चालसम्बन्धी अध्ययन गर्ने वरिष्ठ प्राध्यापक डा. आइरिन डी जिउलियोका अनुसार विद्युतीय गाडीमा गति बढेको महसुस गराउने परम्परागत आवाज र कम्पन नहुँदा केही मानिसमा यात्राका क्रममा हुने वाकवाकी बढ्न सक्छ ।

यसको अर्थ आवाज नआउने गाडीले सबैलाई वाकवाकी लगाउँछ भन्ने होइन । तर शरीरले गाडीको चाल बुझ्न प्रयोग गर्ने संकेतमध्ये केही फरक हुँदा संवेदनशील व्यक्तिलाई असहज हुन सक्छ ।

२. गति घटाउने तरिकाले पनि असर पार्ने

विद्युतीय गाडीको अर्को विशेषता हो, ऊर्जा पुनः प्राप्त गर्ने ब्रेक प्रणाली । यसलाई ‘रिजेनेरेटिभ ब्रेकिङ’ भनिन्छ । यस प्रणालीमा चालकले गति बढाउने पेडलबाट खुट्टा हटाउँदा विद्युतीय मोटरले जनरेटरका रूपमा काम गर्न सक्छ । यस क्रममा गाडीको गति घट्छ र केही ऊर्जा फेरि ब्याट्रीमा सञ्चित गर्न सकिन्छ ।

यो प्रविधि ऊर्जा बचतका लागि उपयोगी छ । तर यसको प्रभाव चालकले पेडलबाट खुट्टा कसरी हटाउँछन् र गाडीमा कुन किसिमको प्रणाली जडान गरिएको छ भन्ने कुरामा निर्भर हुन्छ ।

केही गाडीमा पेडलबाट खुट्टा हटाउनेबित्तिकै गति उल्लेख्य रूपमा घट्न सक्छ । गति घट्ने क्रम यात्रुले अपेक्षा गरेभन्दा फरक वा अचानक महसुस भयो भने शरीर अगाडि वा पछाडि ढल्किएझैँ हुन सक्छ ।

अमेरिकाको नर्थवेस्टर्न मेडिसिनमा स्नायु तथा सन्तुलनसम्बन्धी समस्या हेर्ने चिकित्सक डा. निकोलस हेकका अनुसार, गाडीको गति अचानक बदलिँदा शरीरमा हुने चालले यात्राका क्रममा असहजता उत्पन्न गर्न सक्छ ।

यद्यपि, सबै विद्युतीय गाडीको ब्रेक प्रणाली एउटै हुँदैन । गति घट्ने क्रम पनि गाडीको बनावट, चालकको शैली र प्रणालीको मिलानअनुसार फरक हुन्छ ।

३. गति छिटो बढ्दा र घट्दा शरीरलाई तालमेल मिलाउन गाह्रो

विद्युतीय गाडीले छोटो समयमै राम्रो गति लिन सक्छन् । चालकले गति बढाउँदा वा घटाउँदा हुने परिवर्तन यात्रुले अपेक्षा नगरेको अवस्थामा शरीरलाई त्यससँग तालमेल मिलाउन कठिन हुन सक्छ ।

विशेषगरी सहरका सडकमा बारम्बार गति बढाउने, ब्रेक लगाउने र मोडिने क्रम चलिरहन्छ। यस्तो अवस्थामा गाडीको चालमा आउने परिवर्तनले संवेदनशील यात्रुमा वाकवाकी बढाउन सक्छ ।

तर यसमा गाडीको प्रकार मात्र जिम्मेवार हुँदैन । चालकले कसरी गाडी चलाउँछन् भन्ने कुराले पनि फरक पार्छ । अचानक गति बढाउने, जोडले ब्रेक लगाउने र बारम्बार तीव्र रूपमा गति बदल्ने बानीले पेट्रोल, डिजेल वा विद्युतीय जुनसुकै गाडीमा पनि यात्रुलाई असहज बनाउन सक्छ ।

४. सबै मानिसको शरीरको प्रतिक्रिया एउटै हुँदैन

एउटै गाडीमा यात्रा गर्ने दुई जनाको अनुभव फरक हुन सक्छ। एक जनालाई केही महसुस नहुन सक्छ भने अर्कोलाई केही बेरमै वाकवाकी लाग्न सक्छ । यसमा वंशाणुगत प्रभाव, उमेर र व्यक्तिको संवेदनशीलताले भूमिका खेल्न सक्छन् । बालबालिकामा यात्राका क्रममा वाकवाकी हुने समस्या बढी देखिन सक्छ । केही महिलामा पनि यस्तो समस्या बढी हुन सक्छ, यद्यपि व्यक्तिअनुसार अनुभव फरक हुन्छ।

मोशन सिकनेसको अध्ययन गरेका केही विशेषज्ञले विद्युतीय गाडीमा यात्रा गर्दा यस्तो समस्या बढी हुन सक्ने अनुभव र प्रारम्भिक संकेत औँल्याएका छन् । तर यस विषयमा भएका अनुसन्धान सीमित भएकाले विद्युतीय गाडीले नै समस्या गराउँछ भन्ने निष्कर्ष निकाल्न मिल्दैन ।

विद्युतीय गाडीमा यात्रा गर्दा कसैलाई वाकवाकी लाग्नुको कारण गति परिवर्तन, ब्रेक लगाउने तरिका, यात्राका क्रममा मोबाइल हेर्ने बानी वा पहिलेबाटै रहेको यात्रासम्बन्धी संवेदनशीलता पनि हुन सक्छ ।

त्यस्तै, विद्युतीय गाडीका सबै चालक वा यात्रुले यस्तो समस्या भोग्दैनन् । कतिपय मानिसलाई पेट्रोल वा डिजेलका गाडीभन्दा विद्युतीय गाडीमा यात्रा गर्न सहज लाग्छ ।

यात्रा गर्दा वाकवाकी लागे के गर्ने ?

१. मोबाइल चलाउनु वा किताब पढ्नुको सट्टा झ्यालबाहिरको दृश्यमा आँखा लगाउने । यसले आँखाले देखेको र शरीरले महसुस गरेको चालबीच तालमेल मिलाउन मद्दत गर्न सक्छ ।

२. सम्भव भए अगाडिको सिटमा बस्ने । पछाडिको सिटमा बस्दा अगाडिको सडक देख्न कठिन हुन सक्छ । पछाडि नै बस्नुपर्ने भए अगाडिको दृश्य देखिने स्थान रोज्न सकिन्छ ।

३. टाउको स्थिर राख्ने । टाउकोलाई सिटको अडेसमा अड्याएर राख्दा शरीरको अनावश्यक चाल कम गर्न सकिन्छ ।

४. ताजा हावा लिने । सम्भव भए झ्याल खोल्ने वा गाडीभित्रको हावाको बहाव मिलाउन सकिन्छ ।

५. यात्राअघि खानपान र आराममा ध्यान दिने । पर्याप्त पानी पिउने र यात्राअघि धेरै चिल्लो वा गह्रौँ खाना नखानु उचित हुन्छ ।

समस्या बारम्बार दोहोरिन्छ भने चिकित्सक वा औषधिविज्ञको सल्लाहमा यात्राका क्रममा हुने वाकवाकी कम गर्ने औषधि लिन सकिन्छ ।

बीबीसीबाट

वाकवाकी विद्युतीय गाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय