लन्डन । बेलायती रक्षामन्त्री वेस स्ट्रिटिङले तीन दिनअघि एउटा लेखमार्फत बेलायत एक हजार दिनभित्र युद्धका लागि तयार रहनुपर्ने बताएपछि देशभर तरंग उत्पन्न भएको छ ।
रुसले नेटोविरुद्ध आफ्नो ‘हाइब्रिड युद्ध’ तीव्र पारिरहेका बेला रक्षामन्त्री स्ट्रिटिङले ‘द टेलिग्राफ’ अखबारमा लेख लेख्दै चेतावनी दिएका छन्, ‘हाम्रा सत्रुहरू सन् २०३० सम्म बेलायतमाथि आक्रमण गर्न तयार हुन सक्छन् । हामीलाई हानि पुर्याउने उनीहरूको चाहना कुनै नौलो कुरा होइन । तर ती विरोधीको क्षमतामा भने परिवर्तन आएको छ ।’
सन् २०३० सम्म सम्भावित प्रतिद्वन्द्वी राष्ट्रको सैन्य शक्ति र युद्धका लागि आवश्यक आर्थिक क्षमता बढ्न सक्ने चेतावनी मन्त्रीको छ ।
स्ट्रिटिङले रुसबाट ‘राज्य–प्रायोजित आतंकवाद’ का लागि बेलायत तयार रहनुपर्ने स्पष्ट बताएका छन् ।
रुसी आक्रमणको सम्भावनालाई औंल्याउँदै उनले लेखमा उल्लेख गरेका छन्, ‘सबैभन्दा खराब अवस्था आउन नदिन हामीले त्यसका लागि तयारी गर्नुपर्छ ।’
आफ्ना सहयोगीहरूसँग मिलेर लड्न र युद्ध जित्न तयार रहने मिसन पूरा गर्न एक हजार दिनभन्दा केही बढी समय रहेको उनको धारणा थियो ।
उनको भनाइ छ, ‘मेरो मुख्य प्राथमिकता बेलायत युद्ध लड्न र जित्नका लागि तयार छ भन्ने सुनिश्चित गर्नु हो ।’
आफ्नो प्रतिरक्षा क्षमता बलियो बनाउँदा सम्भावित प्रतिद्वन्द्वीले बेलायतमाथि आक्रमण गर्नुअघि नै पुनर्विचार गर्न सक्ने मन्त्रीको विश्वास छ ।
सन् २०३० सम्म रक्षा खर्चलाई कुल गार्हस्थ उत्पादनको ३ प्रतिशत पुर्याउने लक्ष्यलाई लिएर पूर्वरक्षामन्त्री जोन हिलीले गत जुन महिनामा राजीनामा दिएपछि सरकारले आफ्नो ध्यान उक्त लक्ष्यबाट हटाएर सन् २०३५ सम्म ३.५ प्रतिशत पुर्याउने नेटोको व्यापक प्रतिबद्धतातर्फ केन्द्रित गरेको छ ।
बेलायतले हाल आफ्नो जीडीपीको लगभग २.६ प्रतिशत रक्षामा खर्च गर्छ भने २०२९ को मध्यमा हुने आमनिर्वाचनपछि अर्को संसद्मा ३ प्रतिशत लक्ष्य पूरा गर्ने बताएको छ ।
गत वर्ष नेटो सदस्यहरूले २०३५ सम्ममा जीडीपीको ३.५ प्रतिशत मुख्य रक्षा आवश्यकताहरूमा खर्च गर्न सहमत भएका थिए जसमा जीडीपीको थप १.५ प्रतिशत बृहत् रक्षा र सुरक्षा उपायहरूमा खर्च गर्ने सहमति भएको थियो ।
यस महिनाको सुरुमा एमआई फाइभका महानिर्देशक सर केन म्याकलमले राष्ट्रिय पूर्वाधारमा आइपर्ने खतराहरूको सामना गर्न सम्पूर्ण समाजको प्रयास आवश्यक रहेको बताएका थिए ।
उनले चेतावनी दिँदै भनेका छन्, ‘ह्याकिङका कारण बैंकिङ सेवाहरू ठप्प हुन सक्छन्, ड्रोनहरूले उडान सेवामा अवरोध पुर्याउन सक्छन् र अस्पतालहरूमा हुने साइबर आक्रमणले स्वास्थ्य उपचारमा प्रतिकूल असर पार्न सक्छ ।’
एमआई फाइभ संयुक्त अधिराज्यको गुप्तचर संयन्त्र हो जसले घरेलु प्रति–जासुसी एवं सुरक्षा एजेन्सीका रूपमा काम गर्छ ।
सरकारले केही दिनअघि २२ अक्टोबरमा ‘बी रेडी’ अभियान सार्वजनिक गर्दै प्रत्येक बेलायती नागरिकलाई प्रतिकूल मौसम, साइबर आक्रमण वा अन्य गम्भीर आपतकालबाट बच्न तीन दिनका लागि ९ लिटरसम्म पिउने पानी, लामो समयसम्म सुरक्षित रहने खालका खाना भण्डारण, टर्चलाइट, रेडियो, अतिरिक्त ब्याट्री, मोबाइल चार्ज गर्ने पावर बैंक, प्राथमिक उपचार सामग्री, आवश्यक औषधि र केही नगद घरमा सञ्चय गर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री एन्डी बर्नहामले मानिसहरूलाई आपतकालीन अवस्थाका लागि खानेकुरा र पानीको जोहो गरेर राख्न सुझाव दिएका छन् । उनले बीबीसीलाई भनेका थिए ‘यो आत्तिनुपर्ने विषय होइन । यो त केवल कठिन परिस्थिति आइपर्दा काम चलाउन पुग्ने गरी घरमा आवश्यक सामग्रीहरू राख्ने एउटा समझदारीपूर्ण कदम हो ।’
गत महिना राष्ट्रिय लेखापरीक्षण कार्यालयले साइबर आक्रमणको बढ्दो खतरा र जलवायु संकटका कारण बेलायतको खाद्य आपूर्ति शृङ्खला जोखिममा रहेको चेतावनी दिएको थियो ।
विगत १८ वर्षदेखि लन्डनमा बस्दै आएका दिनेश न्यौपाने पछिल्ला खबरले मनोवैज्ञानिक त्रास पैदा भएको बताए । ‘बेलायतले युक्रेनलाई सहयोग गरेर रसियासंग रिसइवी साँध्न हुन्थेन । आफ्नो जनताको कल्याण र जीवनयापनमा सहयोग सट्टा युक्रेन युद्धमा प्रत्यक्ष संलग्न हुँदा रुसको टार्गेट हुनु स्वाभाविक हो,’ उनले सुनाए ।
बेलायतसँग रुष्ट रुस
आफ्नो भूभागभित्र लामो दुरीका आक्रमणहरू गर्न प्रयोग भएका ड्रोन युक्रेनलाई उपलब्ध गराएवापत रुस बेलायतसँग क्रुद्ध छ ।
किएभको ‘आतंकवादी संयन्त्र’ लाई बेलायतले जति बढी समर्थन गर्छ उसले त्यति नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी रुसले दिँदै आएको छ ।
बेलायतले गत अप्रिलमा युक्रेनको आत्मरक्षामा सघाउन सहयोग घोषणा गरेको थियो जसमा कम्तीमा एक लाख २० हजार ड्रोनसहित आर्थिक विकासलाई बढावा दिने र बेलायतभित्र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको थियो ।
त्यसपछि जुनमा बेलायतले युक्रेनका लागि ७५ करोड २० लाख पाउन्ड (९९ करोड ६० लाख अमेरिकी डलर) बराबरको सहयोग प्याकेज घोषणा गर्यो, जसमा सन् २०२६ को अन्त्यसम्म १ लाख ५० हजार ड्रोन उपलब्ध गराइने पनि समावेश छ ।
बेलायत र युक्रेनबीच भएको नयाँ रक्षा साझेदारी सम्झौता रुसलाई चित्त बुझिरहेको छैन् । रुसी रक्षा मन्त्रालयले युक्रेनी ड्रोन उत्पादन बढाउने युरोपेली नेताहरूको कथित कदमले महादेशमा ‘सैन्य–राजनीतिक अवस्था’ बढिरहेको जिकिर गर्दै आएको छ ।
रुसभित्र हालै युक्रेनले गरेका आक्रमणहरूमा बेलायतमा निर्मित ड्रोनहरू प्रयोग भएको पुष्टि भएपछि मस्कोले ‘परिणाम भोग्नुपर्ने’ चेतावनी दिएको थियो ।
क्रेमलिनले लन्डन, लेस्टर, रिडिङ र सफोकमा युक्रेनका लागि ड्रोन र उपकरणहरू उत्पादन भइरहेको दाबी गर्दै ती ठाउँमा आक्रमणको चेतावनी दिएको थियो ।
बेलायतमा ‘टार्गेट’ गरिएको एक शहर सफोकको मिल्डेन हलमा रोयल एयर फोर्स (आरएएफ) बेस अवस्थित छ ।
तर, बेलायती प्रधानमन्त्री बर्नहामले लन्डनले युक्रेनलाई १०० प्रतिशत समर्थन जारी राख्ने बताएका छन् ।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि युरोपको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ ।
बेलायती अधिकारीहरूले रुसको सैन्य क्षमता र युद्धका लागि आवश्यक आर्थिक स्रोत बढ्दै गएमा भविष्यमा नेटो सदस्य राष्ट्रहरूसमेत थप जोखिममा पर्न सक्ने आकलन गरेका छन् ।
बेलायतका पूर्वसेना प्रमुखहरूले पनि रुससँग सम्भावित द्वन्द्वको जोखिमलाई ध्यानमा राख्दै देशको सैन्य तयारी मात्रै नभई नागरिक सुरक्षा र महत्त्वपूर्ण पूर्वाधारको संरक्षणमा समेत ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।
गत वर्ष पूर्वसेना प्रमुख जनरल सर प्याट्रिक स्यान्डर्सले भ्लादिमिर पुटिन शासित रुससँग हुनसक्ने सम्भावित द्वन्द्वका लागि तयारी गर्न बेलायतसँग पाँच वर्षभन्दा कम समय बाँकी रहेको चेतावनी दिएका थिए ।
‘विश्व अहिले ‘शीत युद्ध’को समयमा जति खतरनाक थियो, त्यति नै वा त्योभन्दा पनि बढी खतरनाक बनेको छ । त्यसैले मलाई हाम्रो सुरक्षा व्यवस्थाका विभिन्न तहहरूबारे त चिन्ता लाग्छ नै, तर त्योभन्दा बढी चिन्ता हाम्रो लचकता वा कठिन परिस्थिति तथा आक्रमणहरूबाट पुनः तंग्रिने हाम्रो क्षमतालाई लिएर लाग्छ,’ उनको भनाइ थियो, ‘हामीले आफ्ना सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्छ र उनीहरूलाई यो कुरा बुझाउनुपर्छ कि यस्ता घटना अब केवल अन्यत्र मात्र हुने होइनन्, बेलायतमै पनि घट्न सक्छन् ।’
प्रतिक्रिया 4